Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कोरोना महामारीको गरीब देशमाथि आसन्न ठूलो कहर


२०७७ बैशाख २८ गते , आईतवार प्रकाशित

—लोकनारायण सुबेदी 


हुन त कोरोना भाइरस महामारीको आरम्भिक आक्रमण अपेक्षाकृत सम्पन्न देशहरुमा नै भयो । तर यसको अन्तिम मार भने अल्प बिकसित र बिकासशील देशहरुमा बढी पर्ने अनेका कारणहरु छन् । यस स्थितिमा असम्पन्न देशहरुले यसको प्रत्यक्ष र परोक्ष असरबाट कसरी जोगिन अग्रसर हुने हो आजको यो एउटा ज्वलन्त प्रश्न बनेर खडा भएको छ । 

  यद्यपि यो बिश्वब्यापी कोरोना महामारीको एउटै सन्देश अहिलेसम्म रहेको छ । त्यो के भने कुनै पनि सीमामा नबाँधिने यो महामारी संकटको सामना गर्न पनि राष्ट्र–राष्ट्रका सीमाभन्दा माथि साझा समस्याकोरुपमा उठेर अघि बढ्नु अत्यावश्यक छ । यदि महामारीको यो सन्देशको मर्म र मानबीय मूल्यलाई बुझेर यसको परिपालना गरियो भने बिपन्न देशहरु यस महामारीको दोहोरो मारबाट जोगिन र अघि बढ्न सक्तछन् । अन्यथा उनीहरुको स्थिति अरु नाजुक हुन सक्तछ ।   यो महामारी आरम्भका दिनहरुमा जहाँ फैलिएको भए पनि यतिबेला आएर स्वास्थ्य सम्बन्धि बिशेषज्ञ के कुराको चिन्ता गरिरहेका छन् भने अब यो महमारीले अबिकसित र बिकासशील देशहरुलाई बढी सताउन र संकटपूर्ण स्थितिमा धकेल्न सक्ने स्थिति टडकारो छ । निश्चय नै उनीहरुको यो चिन्ता आधारबिहीन र काल्पनिक छैन  ।त्यसमा पनि बिज्ञहरुको सबैभन्दा बढी चिन्ता दक्षिण एशियाका देशहरु र अफ्रिकी महादेशको स्थितिलाई लिएर रहेको देखिन्छ । यी क्षेत्रका देशहरुको स्वास्थोपचार सम्वन्धि आधारभूत ढाँचा र पूर्बाधार निकै नै कमजोर र सामान्य काम चलाउ खालको मात्र रहेकोले गर्दा ती देशहरुमा संक्रामक रोगहरु फैलिने गर्दै आएका छन् ।

       हुन पनि अफ्रिका महादेशका ५५ देशहरुमध्येमा १० देश यस्ता रहेका छन् जहाँ भेण्टिलेटरको ठूलो अभाव छ । ती अफ्रिकी देशहरुका करोडौ जनसंख्याका बीच केवल २ हजार भेण्टिलेर रहेको स्वास्थ्य बिशेषहरु औंल्याउँदछन् । त्यसमा पनि कुनै नयाँ महामारीलाई अहिले एकातिर पर सार्दिने हो भने पनि तेश्रो बिश्वका देशहरुमा संक्रामक रोगबाट प्रत्येक दिनजसो हजारौको मृत्यु हुने गरेको आजको स्थिति छ । अनि थप कोराना भाइरस जस्ता नयाँ महामारी थपिदा यस्ता कमजोर पूर्बाधार भएका देशहरुका सामु बिभिन्न किसिमका अझ बढी खतरा उपस्थित हुन्छन् । बिज्ञहरु के आशंका गरिरहेका छन् भने कोरोना भाइरस महामारीबाट ती देशहरुमा जतिको मृत्यु हुन्छ त्यत्तिकै नोक्सान अन्य बिमारीहरुबाट पनि हुन सक्तछ । कोरोना भाइरसको संक्रमणबाट चिकित्साकर्मीहरुका साथसाथै अस्पतालहरु र उपचार केन्द्रहरुमा समेत यो संक्रमण फैलिन खतरा बढी नै छ । जसले गर्दा अन्य रोगका बिमारीहरले पनि औषधोपचार र चिकित्सा सुबिधा नपाउन सक्तछन् र मृतकहरुको संख्या अझ बढ्न सक्तछ ।   महामारीबाट बाहिर निस्कनका लागि ‘लक–डाउन’ जस्ता प्राथमिक उपायहरुको ठूलो आर्थिक बोझ गरीब देशहरुले लामो समयसम्म उठाउन सक्षम छैनन् र हुँदैनन् । अनि आर्थिक गतिबिधि ठप हुन जाँदा त्यसको सामना बिकसित र सम्पन्न देशहरुले त गर्न सक्छन । तर गरीब देशहरुमा त्यसको भर्पाई गर्ने सामथ्र्य छै्रन । त्यसैल,े गरीब देशहरुले ‘भाइरस र भोक’ दुबैसँग लडनुपर्ने ज्वलन्त आबश्यकता गरीब देशहरुलाई छ । यसको प्रष्ट अर्थ हो कि एकातिर संक्रमणबाट जोगिने र अर्कोतिर भोक पनि मेटाउने उपायहरुको खोजी गरिनै पर्दछ । किनकि महामारीले गर्दा आर्थिक गतिबिधिहरु ठप्प या सीमित हुनँ क्रम लामो समयसम्म चलिरहँने सम्भावना छ ।   फलतः गरीब र बिपन्न देशहरुका कामदार श्रमिकबर्गहरुका लागि जीबिकोपार्जन अत्यन्तै कष्टकर हुने स्थिति टड्कारो बन्न जान्छ । महामारीबाट तिनको रक्षा भइहाले पनि जीबिकोपार्जनका साधन गुम्नाले या अभाव हुनाले तिनको जीवनयापन या गुजारा गर्ने कुरा अत्यन्तै चूनौतिपूर्ण कष्टप्रद बन्न जान्छ । यस समस्याको सामना गर्नका लागि अर्थशास्त्रमा नोबेल पुरस्कारले सम्मानित एक बंगाली अर्थशास्त्री अभिजित बनर्जीले महामारीबाट मानिसहरुलाई आर्थिक सुरक्षा दिलाउनका लागि न्यूनतम आयको सुभाव दिएको छ । यो अबधारणालाई गम्भीररुपमा लिइनु पर्ने देखिन्छ । यो बिपन्न परिवारका खाद्यान्न लगायतका सामानहरुको आबश्यकता पर्ने परिबारहरुका लागि आय प्रदान गर्ने र कामको लागि खाद्यान्न लगायतका सामाग्री प्रदान गर्ने एउटा संकटकालीन आर्थिक बिधि मानिएको छ । यसै प्रकारको अबधारणा अभिजित बनर्जी र उनकी पत्नी एस्थर डुफलोले हालसालै प्रकाशित पुस्तक ‘गुड इकोनोमिक्स फर हाई टाइम्स’ अर्थात् ‘बिषम समयमा सही अर्थशास्त्र’ मा कोरोना महामरीको जस्तो स्थिति उत्पन्न हुँदा सरकारहरुले यस्तो आर्थिक बिधिको अबलम्बन गर्नुपर्ने सुझाब दिएको छ । त्यसमा उनीहरुले ‘यूनिभर्सल अल्ट्रा बेसिक इनकम(निश्चित धनराशी जम्मा गराउन) सुझाव दिएको छ र त्यस अन्तर्गत मानिसहरुको खातामा निश्चित रकम जम्मा गरिन्छ । भाइरस महामारीको बर्तमान चक्रलाई हेर्दा यसको असर कयौं महिना र बर्षौसम्म पनि लाग्न सक्ने देखिन्छ । न्यूनतम आयको यो अबधारणाको सफल कार्यान्वयन हुन सकेमा  बिपन्न बहुसँंख्यक मानिसहरुलाई  ‘भाइरस र भोक’ दुबैबाट बचाउने एउटा अल्पकालीन रामबाण सरह सहायक सिद्ध हुन सक्तछ ।
    बस्तवमा आज बिश्व अर्थब्यवस्थामा आएको यो ठूला बिपत्ती र नोक्सानीको सामना गरीब देशहरुले कसरी गर्न सक्तछन् अनि ठूलो जनसंख्या भएका गरीब देशरुका लागि न्यूनतम आयको सुनिश्चितता कसरी हुन सक्ला यो कम कठिन प्रश्न होइन । यसका लागि सम्पन्न देशहरुले आपसमा मिलेर गरीब देशलाई उदारपूर्बक आर्थिक सहायत  प्रदान गर्लान या तिनले दिएको ऋण माफी मिनाहा गरिदेलान् ? यसो होला भनेर भन्न एकदमै कठीन छ । चिकित्सा उपकरणहरु र सहायक औषधीहरु हासिल गर्नमा सम्पन्न देशहरुले स्वार्थी प्रबृत्ति अपनाएको देखिदै आएको छ । बर्तमान कोरोना भाइरस महामारीका बेला चीनबाट अफ्रिकी देशलाई पठाइने भनिएको चिकित्सा सामाग्री अमेरिकाले बढी मूल्य तिरेर हत्यायो । आज चिकित्सा बिशेषज्ञ के सन्देह प्रकट गर्दछन् भने यो २०२० को अन्त्यसम्ममा यदि कुनै खोप बिकसित भयो भने पनि के यो आबश्यक परेका बिश्वका सबै देशका लागि सर्बसुलभ होला र पाइएला ?          यदि अमेरिकामा अरु देशमा भनदा यस्तो खोप(भ्याक्सिन) बन्छ भने उसले सबैभन्दा पहिला त आफ्ना नागरिक अनि अमेरिकाका मित्र देशहरुलाई नै देला । यो नयाँ खोपसँग बौद्धिक सम्पदा अधिकार (इण्टेलेक्टुअल प्रोपर्टी राइट्स) पनि जोडिएर रहको हुन्छ नै । त्यसले त्यो खोपको मूल्यमा पनि प्रभाव पर्ने नै छ । अनि खोप निर्माता कम्पनीहरुले पनि पूराका पूरा पैसा असुल गर्छन् कि केही मानबीयतालाई ध्यानमा राखेर यसको मूल्य कम गर्छन् त्यो पनि देखिने नै छ । यसैले आज निश्चय नै कोरोना महामारीको एउटा सार्थक सन्देश के हुन सक्छ भने कुनै पनि देशको सीमानको वारपार  फैलिने यस्तो बिशाल महामारी संकटको सामना अबश्य पनि सीमाभन्दा माथि उठेरै गरिनु पर्दछ । अनि यो सन्देश ब्यवहारमा लागु भए गरीब देश पनि यो महामारीको दोहोरो मारबाट बच्न सक्ने थिए । अन्यथा असम्पन्नता, अभाव तथा असुरक्षाले पृथ्बीमा अपूर्ब र अनपेक्षित अबस्था उत्पन्न हुनसक्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif