Sunday, 29 November, 2020    |    २०७७ मंसीर १४ गते , आईतवार

बुद्धपूर्णिमा २०७७ : बुद्धलाई सही किसिमले बुझौं !


२०७७ बैशाख २५ गते , विहीवार प्रकाशित

       
बुद्ध बिश्वमा यस्तो धर्मका प्रबर्तक हुन जसको जयन्ति र बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण एकै दिन भएको मानिएको छ । बुद्धको जन्म इशा पर्व ५६३ मा बैशाख पूर्णिमा दिन नेपालको लुम्बिनी कपिलबस्तुमा भएको भएको थियो । बैशाख पूर्णिमा कै दिन इशा पूर्व ५२८का दिन उनलाई भारतको गयामा बुद्धत्व प्राप्त भएको मानिन्छ भने इशा पूर्व ४८३ बैशाख पूर्णिमाकै दिन कुशीनगरमा तथागत अर्थात बुद्धको महापरिनिर्बाण (अनन्त यात्रा) भएको थियो ।
 
 
बिश्वको इतिहासमा यस्ता अनेक उदाहरण पाइन्छन् जहाँ मानिसहरुले सामाजिक परिवर्तनको आन्दोलनलाई राज्यसत्ता प्राप्तिको आन्दोनलसम्म पु¥याएका छन् । तर बुद्धले भने राजपाठ छोडेर सामाजिक परिवर्तनको बौद्धिक  आन्दोलन  चलाएर नेपाल र भारतमा सदियौंदेखि चल्दै आएको बर्ण ब्यवस्थामा आधारित सामाजिक संरचना अर्थात जातिपातिको ब्यबस्थालाई ठूलो चूनौति दिएका थिए । 

बुद्धको समयमा समाजमा असमानताको बिगबिगी थियो । यसकारण उनले समाजलाई समानता, स्वतन्त्रता र बन्धुत्वको सन्देश दिए । बुद्धले के प्रष्ट पारे भने कुनै पनि कुरालाई तर्क–बिर्तक तथा सत्यको कसीमा घोटे पछि नै के हो के होइन मनेर मान्नु पर्दछ यस आधारमा होइन कि यो कुरा बुद्धले भनिरहेका छन् या यो कुरा सदियौदेखि चल्दै आएको या ठूला मानिस या बिद्वानहरुले यसो भन्दै आएका हुन् भनेर या ग्रन्थहरुमा लेखिएको छ भनेर । 

बुद्ध अहिंसाबादी र युद्धका घोर बिरोधी थिए । उनको मान्यता थियो कि युद्धमा लाखौ मानिसहरुलाई जित्ने ब्यक्ति बिजेता हुन सक्तैन । सही अर्थमा त्यो मानिस बिजेता हुन्छ जसले स्वयंमाथि बिजय प्राप्त गर्दछ ।  तर नेपाल भारत लगायत बिभिन्न देशहरुमा कुटील शासकहरुले बुद्धको अहिंसाबादी सन्देशलाई समय समयमा उपहास गर्ने प्रयास गरे । बुद्धलाई कर्मकाण्डकोरुपमा चलाउने काम गरे। बद्धका शाश्वत कुरालाई बिकृत तुल्याए र जनताको शक्ति बन्न सक्ने बुद्ध बिचारलाई राजामहाराजा र शासक बर्गको सत्ता रक्षाकोरुपमा दुरुपयोग गरे । जनतालाई बुद्ध बुझ्नै दिएनन् र अहिलेसम्म पनि दिएका छैनन् । बुद्धलाई सही अर्थमा बोध गर्नु  आवश्यक छ ।

उतिबेला बुद्ध सभाहरु कसरी चल्दथे भन्ने बारेमा ‘डिस्कभरी अफ इण्यिा’ पुस्तकमा पण्डित नेहरुले लेखेका छन् — ‘धेरैलाई यो कुरा थाहा पाएर आश्चर्य लाग्ला कि आजको दुइ हजार बर्षभन्दा पनि पहिला आजको संसद जस्तै नै बुद्ध सभा हुने गर्दथे । लोक सभाका सभामुख जस्तै बौद्ध सभाहरुमा पनि सभामुख हुने गर्दथे । बौद्ध सभाका  सदस्यले सदनमा बिधेयक प्रस्तुत गर्दथे, अनि त्यसमा छलफल हुन्थ्यो । त्यसलाई कानुनी रुप दिनभन्दा पहिला त्यसलाई तीन पटक पढ्ने गरिन्थ्यो र त्यसमाथि तीन पटकसम्म बहस गर्ने प्रचलन थियो । त्यसो गर्दा पनि बिधेयकमा कुनै बिबाद  रहेमा गोप्य मतदानद्वारा त्यसको हल गरिन्थ्यो र अनि मात्र त्यसले कानुनी रुप लिन्थ्यो’। यो राजनीतिज्ञहरुका लागि यो   कम महत्वको कुरा होइन ।
    
तथागत बुद्धले आफुलाई कहिल्यै पनि कुनै अबतारको रुपमा मानेनन् । यद्यपि अबतारबादीहरुले उनलाई बिष्णुको अबतार भनेर कल्की भिराइदिए । तर पनि उनीहरुले बिष्णुसरह बुद्धको पूजा आराधना भने गर्ने गर्दैनन् । अनि बिष्णु जस्तो मन्दिमार पनि बुद्ध कतै देखिदैनन् । यसै कारणले शायद डा. भीम राव अम्बेडकरले भनेका होलान् कि ‘ती अबतारबादीले चाहे जेसुकै भनुन् बौद्धबादीहरुले बुद्ध बिष्णुका अबतार हुन् भन्ने कुरा मान्नु हुँदैन । किनकि यो अबैज्ञानिक र मनगढन्त कुरा हो’ । बौद्ध बिचारक आनन्द कृष्णको पुस्तक ‘भगबान बुद्धः धम्म–सार तथा धर्म चर्चामा के उल्लेख छ भने ‘बिपस्सनाका प्रधान शिक्षक एस.एन. गोयन्का तथा काँची कामकोटी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीले ११ नोभेम्बर १९९९का दिन सारनाथमा संयुक्तरुपमा घोषणा गरे कि बुद्ध बिष्णुका अबतार थिएनन्’ । के कुरा प्रष्ट छ भने बुद्ध  अन्धबिश्वास, कुरीति र बिसंगतिहरुका बिरुद्ध थिए । आज आफुलाई बुद्धका अनुयायी भन्नेहरुले पनि बुद्धाचणको परिपालना गर्न सकेको देखिदैन । उनीहरुले पनि आफुलाई बिभिन्न पथ – महायान, हीनयान, बज्रयान आदिमा बिभाजन गरेका सम्प्रदायबादी बनेका छन् । बुद्धको जीवन र कर्मले एउटै महत्वपूर्ण कुरा अघि सारेको देखिन्छ त्यो हो — सामाजिक समानता, स्वतन्त्रता र बिश्व बन्धुत्व । आजको भूमण्डलीकरणको बिश्वमा यी मूल्यहरुको स्थापना गर्न सकियो र तदनुरुपको आचरणको परिपालना गर्न सिकियो भने मात्र सही अर्थमा बुद्धलाई बुझेको ठहरिने छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif