Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

लक डाउन हुँदा के गर्ने ?


२०७६ चैत्र १३ गते , विहीवार प्रकाशित


इन्द्रनारायण सुबेदी


थोत्रो बाइक घ्यार्रघ्यार्र नकुदा ए मूर्ख मर्छस् अब।
क्वारेन्टाइनमा सबै बसिसके तेरो छ यो उत्सव।
सिन्को भाँच्नु परेन काम अहिले के नै बिते झैँ गरी।
लाई फुर्ति यताउता सडकमा के गर्दछस् यो घरी।१।

आमा बाबु उता बसेर घरमा सम्झेर रुन्छन् अरे।
तेरो चर्तिकला बुझेर बहुतै बेहोस हुन्छन् अरे।
कोरोनासँग ख्याल ख्याल जसले गर्दैछ त्यो मर्दछ।
आआफ्नै घरमा सुरक्षित हुँदै लौ बस्नु पो पर्दछ।२।

संसारैभर फैलिएर अहिले यस्तो महामारी छ।
सिङ्गो विश्व लपेटिएर बहुतै आक्रान्त दिक्दारी छ।
यस्तो निर्मम कष्टपूर्ण खतरा देखी नडर्ने किन।
तेरो निम्ति बनी सिकार अहिले हो हामी मर्ने किन।३।


 देख्दैछस् कि युरोपका मुलुकमा संहार भो दिन्दिन।
निस्किन्छस् घरबाट यो बखतमा भै मूर्ख यस्तो किन।
फर्की जा घरमा खुरुक्क अब ता छोडी तमासाहरू।
सीमा नाघ्नु हुँदैन पुस्तक कुनै खोजेर जा पढ् बरु।४।

कोरोना खतरा छ यो छिनछिनै फोहोरले सर्दछ।
पानी साबुनको प्रयोजन भए आउन्न यो टर्दछ।
खाना शुद्ध र शक्तिवर्धक सधैं होस् पुष्टकारी पनि।
कैल्यै बिर्सिनु हुन्न स्वास्थ्य हितका आधार जे छन् अनि।५।


 हाच्छ्यूँ आउँछ खोक्नु पर्दछ भने छोपेर आफ्नो मुख।
साथीभाइ र इष्ट मित्र घरका आफन्तका सम्मुख।
जोगाएर पछाडि फर्किनु कतै हेरेर टाढा हुनू।
पानी साबुनले रुमाल सहितै ती हात गोडा धुनू।६।

अन्धाधुन्ध हिँडी यता सडकमा फर्की नआएस् अब।
शङ्का लाग्छ त अस्पतालातिर गै चाँडै जँचाएस् सब।
आफू बाँच्नु बचाउँदै सबजना कर्तव्य ऐले छ यो।
बेवास्ता अझ गर्दछस् यदिभने सर्वस्व तेरो गयो।७।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif