Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सहुलियत र अनुदान दिए सहकारी उत्पादनशील क्षेत्रमा जान सक्छन्


२०७६ चैत्र ७ गते , शुक्रवार प्रकाशित

बसन्त श्रेष्ठ, कार्यालय प्रमुख
उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. 

काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्दै आएको छ । २०६० सालमा बचत समुहबाट शुरु गरी २०६२ साल चैत्र ८ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौमा उक्त संस्था विधिवत् रुपमा दर्ता भएको थियो । ‘सुनिश्चित भविष्यका लागि बचत गर्ने बानी, यहाँहरुको साथमा उत्तरबाहिनी’ भन्ने नारालाई आत्मसात गरी अगाडि बढेको उक्त संस्थाले सदस्यहरुको खरखाँचो टार्ने देखि कृषि, पशुपालन, व्यापार र व्यवसाय र स्वरोजगारको क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउँदै आएको छ । 

समुदायमा छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गरी सदस्यहरुलाई सहुलियत व्याजदरमा ऋण लगानी गर्ने गरेको संस्थाका कार्यालय प्रमुख बसन्त श्रेष्ठ बताउँछन् । 

स्थापनाकालमा यस क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका र कृषकहरुको आर्थिक उन्नतिमा टेवा पु¥याउने उद्देश्यले  संस्था शुरु गरिएको उनले बताए । संस्था बहुउद्देश्यीय भएकाले सदस्यहरुलाई अनुदानको रासायनिक मल वितरण गरी कृषिजन्य उत्पादनमा वृद्धि ल्याउन संस्थाले भूमिका खेलेको उनी बताउँछन् । 

गोकर्णेश्वर क्षेत्रमा कृषकहरुको बाहुल्यता रहेको र सहकारीले उनीहरुलाई लक्षित गरी रासायनिक मल विक्री वितरण गर्ने गरेको श्रेष्ठले जानकारी दिए । संस्था स्वयंले कृषि र हार्डवेयर पसल सञ्चालनमा ल्याएको भएपनि पछिल्लो समयमा हार्डवेयर व्यवसाय भने बन्द भएको उनले जनाए । संस्थाले कसैलाई बढि त कसैलाई कम ब्याजमा भन्दा पनि सबैलाई समान व्याजदरमा ऋण लगानी गर्दै आएको छ । संस्थाले १५ प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने गरेको र यसबाट सदस्यहरुलाई राम्रै फाइदा पुगेको उनले बताए । 

हालको गोकर्णेश्वर नगरपालिका २ देखि ९ नम्बर वडा र कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ४ लाई संस्थाले कार्यक्षेत्र बनाएको छ । 

हाल संस्थामा १ हजार ४०० शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाको शेयरपूँजी यस आ.व.को पुष मसान्तसम्म २ करोड ७७ लाख पुगेको छ । त्यसैगरी संस्थाले १६ करोड ९७ लाख बचत संकलन गरी १८ करोड २८ लाख ऋण लगानी गरेको छ । संस्थाले विशेषतः कृषि, पशुपालन, साना उद्योग र यातायातको क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले सामुहिक जमानीमा २ लाखसम्म र धितोमा ३० लाखसम्म ऋण दिने गरेको श्रेष्ठले बताए । त्यसैगरी संस्थाले युवा स्वरोजगार कोषबाट दुई पटक ४५ लाख र ६७ लाख सहुलियत ऋण लिएर युवा उद्यमीहरुलाई लगानी गरिसकेको छ । यसपटक पनि संस्थाले त्यसका लागि आवेदन दिएको जनाएको छ । सहुलियत ऋणबाट कृषि, व्यापारव्यवसाय, पशुपालन, तरकारी खेती गर्ने हरुलाई ठूलो राहत मिलेको उनले बताए । 

संस्थाले नियमित बचतलाई प्राथमिकताकासाथ अगाडि बढाएको छ । मासिक २०० रुपैयाका दरले सदस्यहरुले ६० वर्षको हुँदासम्म रकम जम्मा गर्नुपर्ने छ भने ५९ वर्ष लागेकाहरुका लागि पेन्सन बचत योजना शुरु गरेको छ । उक्त योजना अन्तर्गत ५०० का दरले बचत गर्दै जानुपर्ने र ७५ वर्ष पुगेपछि महिनाको १००० का दरले पेन्सन दिइने उनले बताए । 

त्यसैगरी संस्थाले सदस्यहरुको मृत्यु भएमा आश्रित परिवारलाई ८ हजार रकम उपलब्ध गराउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले रक्तदान, स्थानीय मठमन्दिरको सरसफाई र संरक्षण जस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बचतऋणका अलावा संस्थाले सदस्यहरुलाई आइएमई, प्रभु, वेष्टर्न, सिटी, हिमाललगायतका रेमिटान्स सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले सोही नगरपालिकाको वडा नं. ४ मा आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको र एकदुई वर्षमा नै भवन निर्माण गर्ने लक्ष्य लिएको छ । 

सहकारीबाट निम्न र मध्यम वर्गले लाभ पाएको श्रेष्ठको बुझाई छ । निम्न वर्गले बैंकबाट वित्तीय सेवा लिन कठिन हुने भएकाले सहकारी यो वर्गको लागि सहयोगी बनेको उनको बुझाई छ । सहकारीले आवश्यकता परेका बेला सदस्यको ससानो खरखाँचो टार्ने देखि व्यापार व्यवसायमा समेत टेवा पु¥याउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनले बताए । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले बहुउद्देश्यीय सहकारीलाई केहि अप्ठेरो पारेको अनुभव उनको छ । बहुउद्देश्यीय सहकारीलाई ७० र ३० प्रतिशतको सिलिङ तोकिनु अव्यहारिक भएको उनले बताए । तरकारी खेती गर्दा एक केजी गोलभेँडा उत्पादन गर्न २५ देखि ३० रुपैया लाग्छ, उनले भने ‘बेच्ने बेलामा १५/२० रुपैयामा बेच्नु पर्छ । उत्पादनमूलक क्षेत्रमा कसरी लगानी गर्ने ?’ राज्यले लगानीको पूर्ण जिम्मा लिइ सहुलियत र अनुदान दिए उत्पादनशील क्षेत्रमा जान सकिने उनको धारणा छ । 

लागत भन्दा कम मुल्यमा वस्तु विक्री गर्न नसकिने भन्दै राज्यले सहुलियत दिए मात्र त्यो सम्भव भएको उनले बताए । पशुपालन र नयाँ जातको चराचुङ्गीमा लगानी गर्न सकिने भएपनि ठूला उद्योग व्यवसायमा लगानी गर्न कठिन हुने उनले जनाए । 

(कुराकानीमा आधारित)

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif