Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

राष्ट्र, राष्ट्रियता र जनतन्त्रका लागि जनता नै मूल आधार


२०७६ फाल्गुन ३० गते , शुक्रवार प्रकाशित


—लोकनारायण सुवेदी

         हामी के कस्तो अर्थ–सामाजिक संरचना र स्थितिमा छौं राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा त्यसले नै हाम्रो राष्ट्रियताको आधार निर्माण गर्दछ । यो मनोगत र भावनात्मक कुरा मात्र होइन । हामीले राष्ट्रिय क्षमता बिकास गर्नेे बिकास रणनीति लिएका छौं कि यसलाई कमजोर तुल्याउने र पराश्रयी बनाउने त्यसले हामी कता गइरहेका छौ भन्ने प्रष्ट पार्दछ । हिजोको कुरा पनि त्यही हो र आजको कुरा पनि त्यही नै हो । केही बीर बहादुरहरुले राष्ट्रियता बलियो तुल्याउन कुरा न हिजो सम्भव थियो  न आज नै सम्भब छ । झन आजको  युगमा त यो हुने कुरा होइन । हामीले हाम्रो राष्ट्रियताको कुरा गर्दा लाखौ लाख झोपडीहरुको एकताको, तिनको सर्बांगिण सम्बृद्धिको खोजी गरेका छौ कि छैनौ, ती झोपडीहरुलाई तिनका नैसर्गिक हक हित र अधिकार — राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक हक अधिकारले – सम्पन्न तुल्याउने कुरा गरेका छौं कि छैनौ त्यसले नै हामी एउटा ठोस र सबल राष्ट्रियताको पक्षमा खडा छौ कि अहिले धर्मको ब्यापार र धन्धा चलाउन खोजे जस्तै राष्ट्रियताको पनि एउटा खोक्रो माला जपेर बस्तुतः पराइलाई पोस्ने काम गरिरहेका छौ भन्ने कुरा बिकसित र  प्रदर्शित हुन्छ । जुन भइ रहेको पनि छ ।

         नेपालको जमिन, जल, जंगल, जडिबुटी जनशक्ति  जे जति प्राकृतिक र मानबीय बिकासका श्रोत साधानहरु छन्, अर्थात पहाड पर्वत, उपत्याका, तराईका फाँट आदि ती कसका लागि कसरी परिचालित र प्रयुक्त  भइरहेका छन् तिनको बस्तुगत लेखाजोखा गरेर मात्र हाम्रो बिकास र हामी कता गइरहेका छौं भन्ने कुराको ठोस निरोपण हुनसक्छ । किनकि त्यहाँ कामगरी खाने जनता जो लाखौंको संख्यामा त्यहाँ बस्छन् तिनको जीबिकोपार्जन के कसरी भइरहेको छ, जीवन ब्यतित कसरी भइरहेको छ, बर्तमान र भबिष्यबारे उनीहरुको सोच बिचार र दैनन्दिन गतिबिधि के कस्ता रहेका छन् ती सबै कुरा श्रोत साधनहरुसँग उनीहरुको सम्वन्ध र पहुच के कस्तो रहेको छ त्यसमा  भर पर्दछ ।

         बिश्वमा आएको बिज्ञान र प्रबिधिको अकल्पनीय बिकास र बाह्य प्रभावले हामी पनि २१औं शताब्दीका सभ्य मानिस जस्तो देखिए पनि हाम्रा ठोस बास्तविक स्थिति त्यस्तो छैन । हाम्रो बोझ बनिरहेको  गरीबी, अशिक्षा, अभाव, असुरक्षा सबै कुराले हामी आज जसरी आक्रान्त छौ., जसरी केही मुठ्ठीभर ब्यक्तिहरु रातारात मालामाल बन्ने र अधिकांश जनता कंगालीकरण हुने बर्गीय र सामाजिक बिभेदको स्थिति बिद्यमान छ, आर्थिक समाजिक असमानता र बिभेद जस्तो किसिमले बिद्यमान र ब्याप्त छ त्यहा राष्ट्रियता र राष्ट्रिय एकता सबल र सुदृढ छ भन्ने कुरा नै सही र यथार्थ हुन सक्तैन । त्यो केवल एउटा ढोंगी आडम्बर मात्र ठहरिन्छ । त्यसैले हामीले राष्ट्रियतालाई अत्याधिक ठूलो जन समुदाय अर्थात् आम जनताको आजीबिका, उनीहरुको अबस्था र आवश्यकताभन्दा भिन्न किसिमले हेर्न मिल्दैन र हेर्नु गलत हुनेछ ।

  निश्चय नै हामीले लाखौ लाख दीनहीन जन समुदाय, उनीहरुको श्रोत साधन बिहीनता र अनिश्चित भबिष्यको बीचमा राष्ट्रियताको दुहाई दिनु केवल एउटा ढोंगी र सत्ता स्वार्थको लागि यसलाई तुरुप बनाउने कुरा मात्र हो । फेरि यो कुनै ढाकछोप गरेर, लुकाएर भित्र एउटा कुरा बाहिर अर्कै कुराको प्रदर्शन गर्ने बिपय पनि बिल्कुलै होइन । यो स्वतः पारदर्शी र प्रकट हुने र भइरहेको कुरा हुन्छ कि कुन देश र त्यो देश बिशेषका जनताको अबस्था र हैसियत के कस्तो छ र के कस्तो बन्दैगएको छ । अनि ती देश बिशेषको राजनीतिक अबस्था, राजनीतिक सँस्कार र सँस्कृति के कस्तो रहेको र बिकसित हुँदै आएको छ यस कुराले समेत देशको राष्ट्रियता, देशभक्ति र अरु राष्ट्रहरुको सम्बन्धको मापन गर्दछ र गरिरहेको हुन्छ ।

  त्यसैले जनता जनता बीचको परस्पर सम्वन्धमा समानता छ कि छैन, सत्ता र जनताको बीचको सम्वन्ध र अन्तर सम्बाद  औपचारिक अनौपचारिक के कस्तो रहदै आएको या रहेको छ त्यसले नै कुनै देशको राष्ट्रियता सबल या दुर्बल के कस्तो रहेको छ त्यसलाई दर्शाउँद छ । बास्तवमा जनता बीचको एकता,परस्पर समानता, सम्मान र सहिष्णुतको भावले राष्ट्रिय एकतालाई सबल तुल्याउदछ भने त्यसको बिपरीत भावले कमजोर पार्दछ । यसो हुनुमा उपलब्ध र बिकसित हुने श्रोत साधनसँग जनताको सम्वन्ध – स्वामित्व र अपनत्वको छ कि पराधीनताको छ त्यसले आधारभूतरुपमा राष्ट्रियता कमजोर छ कि सबल भन्ने कुराको बोध गराउँदछ ।

  त्यसैले शासक बर्ग श्रोत साधन सम्पन्न, सर्बत्र पहुच भएको छ तर आम जन साधारण श्रोत सधनबिहीन र परमुखापेक्षी रहेका छन् भने त्यहाँ जतिसकै राष्ट्रियताको ढोल पिटे पिटाइए पनि त्यो राष्ट्र कमजोर र त्यसको राष्ट्रिय भाबना र राष्ट्रभक्ति पनि कमजोर भएर रहन्छ । त्यसैले पनि राष्ट्रियता र जनतन्त्र एक अर्कासँग अभिन्नरुपले गाँसिएका हुन्छन् भनिएको हो । जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता बिनाको राष्ट्रियताको कुनै अर्थ हुँदैन भन्नुको कारण पनि यही नै हो ।

  हाम्रो जस्तो भाषिक, जातिय, साँस्कृतिक बिबिधिताले भरीपूर्ण र भौगोलिक भिन्नता र बिषमताका कारण उपलब्ध भएको जैबिक बिबिधतालेयुक्त देशमा राष्ट्रियता र त्यसको सबलता तिनै कुराबाट निःसृत हुने हो । ती सबै जन समुदायको साझा मान्यता, भावना र साझा लक्षले नै यसलाई बलियो र टिकाउ बनाउदछ । अन्यत्र खोजेर राष्ट्रियता पाइदैन र  राष्ट्रको बिकास पनि हुँदैन ।  त्यस्तो हुन्छ भन्ने भ्रम छरिनु पनि हुदैन । 

  हुन पनि यो पृथ्वी पृथ्बीबासी सबैको साझा हो ।  यो पृथ्बीका सबै देशहरुमा बसोबासो गर्ने सबै मानिस उत्तिकै समान छन् र तिनको बिबिधतालाई समान किसमले सम्मान गरिनु पर्दछ भन्ने मान्यता बिकसित भएको हो । यही कुरा एउटा देशभित्र पनि उसै गरी लागु हुन्छ । कोही बिशेष कोही सामान्य भन्ने किसिमले भेदभावजन्य हिसावले सोच्ने र ब्यवहार गर्ने स्थिति रहनु र रहन दिइनु हुँदैन । यसले राष्ट्र राष्ट्रियताको भावनाको सही प्रतिनिधित्व पनि हुन सक्तैन । यद्यपि यो राष्ट्रियताको कुरा पनि समय, परिस्थिति र युग सापेक्ष र गतिशील कुरा हो र तिनमा परिवर्तन र बिकाससँगसँगै यो राष्ट्रियताको भावना पनि बिकिसित र परिमार्जित हुँदै जान्छ । मानब सभ्यताको बिकासले यही कुरा दर्शाउँदछ । त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको कुरा गर्दा राष्ट्र बिशेषमा बसोबास र आजीबिका चलाइरहेका आम जनतालाई केन्द्र बिन्दूमा राखेर तिनको समोन्नति, प्रगति र त्यसमा ती जन समुदायको सक्रिय सहभागित तथा अपनत्वको भावना सिर्जना हुने आधार बिनाको खोक्रो राष्ट्रबादको कोरा नारा आजको युगमा एउटा छल प्रपञ्चको कुरा मात्र हुनजान्छ भन्ने बुझ्नु बुझाउनु आबश्यक छ । सत्ताले राष्ट्रिय  बिकासको कुन बाटो लिन्छ त्यसमाथि नै यो कुरा भर पर्दछ । बास्तवमा भ्रष्टाचाररहीत एबं जनकेन्द्रित बिकासको माग यसै अर्थमा सर्बत्र हुँदै आएको पनि हो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif