Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

इन्द्रेणी जस्तो रंगीन : सद्भाव र समानताको होली


२०७६ फाल्गुन २५ गते , आईतवार प्रकाशित

  पर्वहरु जो सदीयौेदेखि चल्दै आएका छन् तिनलाई कालजयी पर्व मान्न सकिन्छ । तिनको रुप या स्वरुप उस्तै रहेको छैन होला । तर तिनको,मर्म, मूल्य र मान्यताहरु सदियौदेखि कुनै न कुनै किसिमले कायम रहेका छन् । त्यस्तै पर्व हो होली, फागु या रंगहरुको उत्सव । कुनै चाड पर्वहरु आरम्भमा कसरी चलेका थिए र तिनमा के कसरी परिवर्तन हुदै आयो त्यो एउटा चाखलाग्दो खोज अनुसन्धानको बिषय हो र हुन सक्छ । चाड पर्वहरु पनि यथास्थितिमा रहँदैनन् । सामाजिक परिवर्तनसँगसँगै तिनमा पनि परिवर्तन आउदै जान्छ । तर जति जति समय बित्दै गयो त्यति त्यति नै पैmलिदै जाने बिस्तृत क्षेत्रलाई ढाक्दै जाने पर्व बनेको आजको हामीले मनाउने एउटा राष्ट्रिय पर्वमध्ये होली पनि एक हो ।

      यो हिजोकै बसन्तोत्सव र मदनोत्सवको रुपान्तरित र बिकसित भएको पर्ब भन्ने पनि मान्ने गरिएको छ । कतिपय बिद्वानहरुले इतिहासमा सातौ शताब्दीसम्म दक्षिण तथा दक्षिणपूर्व एशियाली उपमहाद्विपमा  होलीको कतै उल्लेख नभएको पनि औल्याउने गरेका छन् । तर मध्यकालीन युगमा यो क्षेत्र आइपुग्दा भने मदनोत्सव होलीमा परिणत भएको 
देखिन्छ भन्ने उल्लेख उनीहरुले गरेका छन् ।
      
      अनि होलिका दहनको जुन प्रकरण आउँदछ प्रल्हाद आख्यानमा त्यो त धेरै प्राचीन कुरा हो । त्योसँग पनि होलीको भाबात्मक तालमेल देखिए पनि वास्तबिकतासँग तालमेल नमिलेको कुरा पनि औल्याउने गरिन्छ । सम्भबतः बैष्णब धर्मको लोकप्रियताको समयमा सातौ–आठौ शताब्दीतिर यसलाई शैब–आख्यान अर्थात शिव द्वारा कामदेव–दहनलाई बैष्णबी जामा पहिराउनका लागि नृसिंह  या बिष्णु होलीका दहनका रुपमा यस कथालाई रुपान्तरित गरियो । बिद्याकी देवी सरस्वतिप्रति समर्पित बसन्त पञ्चमी पछि ढोका घच्घच्याउने ऋतुराज बसन्तबाट मदमत्ता जस्तो मदनोत्सब नै पछि गएर रंगको पर्व होली बनेको प्रसंग पनि यस क्रममा अघि सार्ने गरिएको छ । यस पर्वको प्रतीक मानिने कामदेवका अनेकौ नाम छन् । मदन, मन्मथ, कन्दर्प, प्रद्युम्न, अनंग, मकरध्वज, रतिपति, पुष्पधन्वा, रतिनायक आदि ।

   यसैसँग सुहाउँदो  यूनानी दन्त्यकथा ‘क्यूपिड’ मा धेरथोर कुरा आउँदछ । बौद्ध परम्परामा ‘मार’ पनि यसै श्रेणीमा राखिएको छ । सिग्मण्ड फ्रायडको सम्पूर्ण चिन्तन पनि यही नै हो । हिन्दूधर्ममा मानिएका चार पुरुषार्थ मध्ये एक काम  पनि यही नै हो । यसैलाई प्राण बायु, मेधा शक्ति पनि भनिएको छ । तिनकै आराधनाको मदनोत्सव परम्पराको परिवर्तित रुपमा आजको होली बिकास भएको मानिएको छ ।

      होलीको समय आनन्दमय र सुखमय प्रकृतिको बेजोड समय मानिन्छ । जति बेला शीतल मन्द सुगन्ध पवन, हरियाली नै हरियाली भारले भरीपूर्ण बोट बिरुवा, पहेलो सस्र्यूले लहलहाएका खेतबारी, फुलैफूलले प्रस्पूmटित हुदै गरेका बन उपवन, सबै पशुपंक्षी, पूmल भवरा र प्रकृति–ऋतुमा एक पटक पुनः तारुण्य आएको बेला । त्यसैले कबि कालीदासले यसलाई रघुबंशमा ऋतु–उत्सव भनेका छन् । बसन्तको आगमन नै एउटा नशा सरहको उन्माद र सम्मोहन जस्तो अबस्था मानिएको छ। भारतका चर्चित सम्राट हर्षबद्र्धनले आफ्नो नाटक रत्नावलीमा मदनोत्सवको अत्यन्तै नयनाभिराम बर्णन गरेका छन्। सातौ शताब्दीमा धानेश्वर ( भारतको आजको हरियाणा)मा यो पर्व मनाउँदा नगरबासीरु आयु, हैसियत , बर्ण कुनै कुराको भेदभाव नगरी बिशाल उद्यानमा भेला भएर नृत्य,संगीत, बाध्यका साथ साच्चै नै एउटा अबर्णनीय रमाईलो बातावरण सिर्जना गर्दथे भनिएको छ ।

     यसरी बिबिध बाद्यहरुको तुमुलध्वनी र रंगको बर्षा मनमोहक हुने गर्दथ्यो। त्यतिबेला न कुनै सम्राट रहन्थ्यो, न कुनै सेना नायक, न नारी न पुरुष सबै समान र एक भएर पिच्कारीले सुगन्धयुक्त जल एक अर्कालाई हान्ने गर्दथे । बिभिन्न रंगको धुलो हानाहान गर्दथे । त्यतिबेला ब्राह्मण, क्षत्री, बैश्य, शुद्रको भेद पनि मेटिन्थ्यो र मानिसलाई मानिससँग भेदभाव गराउने धन, पद र सम्माका सबै सम्वन्ध समाप्त हुन्थे । हास परिहास ठट्टा रमाईलो चल्थ्यो । अनि पूजा गरिने जुन सामाग्री छन् होलीका बेला ती पनि दैनिक जीबनमा नारी पुरुषले प्रयोग गर्ने सामनहरु नै छन् । त्यसैले यो पर्व जीबनको एक अभिन्न अंग बनेर चल्दै र परिवर्तित हुदै आएको देखिन्छ । यसको मूल सन्देश सबै दुःख दर्द समाप्त पारेर जीवनलाई उल्लासमय,सुखमय र सहज तुल्याइनु पर्दछ भन्ने नै हो । त्यसैले यो  पर्वको बेला सबै खाले असमानताको अन्त्य गरेर, परस्पर भाइचारा, सद्भाव, सहिष्णुता र समानता प्रकट गर्ने पर्वको रुपमा मनाउनु यसको सार्थकता हुने प्रष्ट देखिन्छ । यस पटक कोरोना भाइरसको आतंकले होलीलाई खल्लो पार्न खोजे पनि यसको जुन मर्म र रस छ  होली मनाइरहेका र मनाउन तयारी गरिरहेका सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइहरुमा राष्ट्रिय एकता, सामुदायिक सद्भाव र समानताका निम्ति होलीको सद्भावपूर्ण र सुखद शुभकाना !        

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif