Monday, 21 September, 2020    |    २०७७ आश्विन ५ गते , सोमवार

“सदस्य संस्थाको दिगोपनाका लागि समिट लाभदायक छ”


२०७६ फाल्गुन ९ गते , शुक्रवार प्रकाशित

रामहरि बजगाईं,
अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.




ललितपुर बचत तथा ऋण सहकारी संघको आयोजनामा चौंथो ललितपुर साकोस समिट हुने भएको छ । आगामी फागुन २२ देखि २४ गतेसम्म गोदावरीको भ्यू भृकुटी होटलमा ३ दिने समिट हुन गइरहेको छ । नयाँ सहकारी ऐन र नियमावली आएपछि आयोजना गरिएको यो समिट निकै फलदायी हुने विश्वास बचत संघ, ललितपुरका अध्यक्ष रामहरि बजगाईंको छ । समिटबाट सहभागिहरुले सहकारीको बारेमा मात्रै नभई मानव जीवनका विविध पक्षमा सिक्न पाउने अध्यक्ष बजगाईंले जानकारी दिए । समिटका विषयवस्तु अत्यन्त ओजपूर्ण र प्रस्तुतिकर्ताहरु पनि आआफ्नो विषयवस्तुका बारेमा प्रखर भएकाले सहभागिले धेरै कुरा सिक्न सक्ने उनको विश्वास छ । सकारात्मक सोच सहितको सहकारी नेतृत्व, साकोसमा जोखिम व्यवस्थापन र संस्थागत सुशासन, सहकारीमार्फत गरिबी न्यूनिकरण, सहकारीमा एकिकरणको अवसर र चुनौती, सहकारीमा दक्ष जनशक्तिको उत्पादन र सरकार र सहकारीबीचको अन्तरसम्बन्ध जस्ता धेरै विषयमा प्रशिक्षण दिइने उनले बताए । ललितपुरको समिट भएकाले बचतऋण लगायत सबै प्रकृतिका संस्थाहरुले सहभागिता जनाउन सक्ने जानकारी उनले दिए । फागुन १५ गतेसम्म नाम दर्ताको लागि समय तय गरिएकाले सहभागिहरुलाई यथाशीघ्र आफ्नो सिट सुरक्षित राख्न उनको आग्रह छ । समिट र ललितपुरको बचत अभियानका बारेमा अध्यक्ष बजगाईंसँग नेपालपत्र न्यूजले गरेको कुराकानी :



चौथो ललितपुर सहकारी समिट आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारिदिनुस् न,

जिल्ला भित्र ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थाको अभिभावक संघको रुपमा बचत संघ सधैं क्रियाशील छ । अहिले सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ । सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयन र सहकारीका विद्यमान समस्या तथा चुनौतीहरुको विषयमा गहन छलफल गरी एउटा निचोड निकाल्नुपर्ने छ । जिल्लाको सहकारी अभियानलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आफ्ना सदस्य संस्थासँग गहन छलफल र बहस गरी निचोडमा पुग्ने उद्देश्यका साथ यो समिट आयोजना गरिएको हो । साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट महत्वपूर्ण कोशेढुंगा हुनेछ भन्ने विश्वास मैले लिएको छु । 

बचत संघले यस अघि पनि ३ वटा समिट गरिसकेको छ । यो चौथो समिट के कारणले भिन्न छ ? 

बचत तथ ऋण सहकारी संस्थाको सन्दर्भमा सम्भवत जिल्लास्तरमा भएका समिटमध्ये ललितपुर नै पहिलो हो । पहिलो पटक धुलिखेल, दोश्रो पटक नगरकोट र तेश्रो पटक पनि धुलिखेलमा हामीले समिट ग¥यौं । चौंथो समिट हामी ललितपुरकै रमणीय नगरी गोदावरीस्थित भ्यू भृकुटी होटलमा गर्दैछौं । पहिलो समिटमा संस्थाहरुको कसरी बृहत्तर हित गर्न सकिन्छ, संस्थाहरुको समस्याहरु के के छन् भन्ने सन्दर्भमा जानकारी हासिल गर्न सक्यौं । त्यसैगरी दोश्रो र तेश्रो समिटमा पनि सहकारी अभियानका साझा समस्या र चुनौतीको विषयमा छलफल गरी जिल्लाको अभियानलाई अगाडि बढाउन मार्गनिर्देशन दिने काम भयो । अहिलेको समिट हामीले ललितपुर जिल्लामा नै गर्ने तयारी गरेका छौं । ललितपुर साकोस समिट भन्ने र अन्य जिल्लामा गएर समिट गर्ने परिपाटी अन्त्य गरी ललितपुरमा नै यो समिट गर्न खोजेका छौं । दोश्रो कुरा, सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा जिल्ला भित्रका सहकारी अभियानमा लागेका संस्था, संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापक, र सहकारी अभियन्ताहरुलाई आन्तरिक पर्यटनमा सहभागी गराउने उद्देश्यले गोदावरीलाई नै समिटको लागि छनोट गरेका हौं । ललितपुर भित्र आवासीय तालिम सञ्चालनको लागि ठाउँको पनि अभाव छ । ललितपुरको भूगोल तीन प्रकारको छ । दक्षिणी भेगलाई ललितपुरको कर्णाली पनि भनिन्छ । काँठ क्षेत्र शहरोन्मुख र तेश्रो शहरी भूभागको क्षेत्र छ । यी सबै क्षेत्रलाई समायोजन गरेर सबैको केन्द्रको रुपमा गोदावरीको भ्यू भृकुटीलाई नै छनौट गरेका हौं । 

यो समिटमा तीनचार वटा विषयलाई विशेष जोड दिएका छौं । पहिलो, नयाँ ऐन को कार्यान्वयनको चुनौती र समस्या समाधानको विषयमा छलफल गरिनेछ । त्यसैगरी सहकारी कुन मोडलमा जाने भन्ने सन्दर्भमा पनि छलफल हुनेछ । सहकारीमा एकिकरणको आवश्यकता छ कि छैन भन्ने विषयमा छलफल चलाइनेछ । त्यसैगरी नेपाल प्रहरी र सहकारी बीचको अन्तरसम्बन्ध र समुदायप्रति चासो कसरी व्यक्त गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रहरीसँगको सहकार्यमा कार्यक्रम गर्छौं । अब सहकारी उत्पादनशील क्षेत्रमा जाने भनेका छौं । ऐनमा बचत तथा ऋण सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भनेको छैन । प्रदेश ऐनमा उत्पादनमा जानु र लगानी बढाउनु पर्ने एवं उद्योग, कलकारखाना सहकारीले खोल्न पाउने भनेर आएको छ । यस्ता जटिल विषयहरुमा स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको अन्तरसम्बन्धका बारेमा पनि घनीभूत छलफल हुनेछ । यी विषयवस्तुको कारण पनि समिट अर्थपूर्ण हुन्छ भन्ने विश्वास हामीले लिएका छौं । अहिले सहकारी संस्थामा सुशासनको जरुरी छ । संस्था एकिकरण गरी दिगो बनाउँदै सुशासनयोग्य संस्था बनाउनुपर्ने हाम्रो चुनौती छ । यस सन्दर्भमा पनि हाम्रो ध्यानाकर्षण गरेका छौं । 

ललितपुरमा ३ प्रकारका सहकारी संस्था छन् । एउटा पूर्ण समुदायमा आधारित संस्था, जसले सदस्यको आर्थिक सामाजिक रुपान्तरणको काम गरिराखेका छन् । अर्को विशुद्ध लहैलहैमा खुलेका संस्था, अरुले खोलेपछि हामीले किन नखोल्ने, यो व्यवसाय गर्न त असाध्यै राम्रो रहेछ भन्ने बुझाईले खुलेका । तेश्रो, विशुद्ध रुपमा कमाउनका लागि खुलेका सहकारी जसबाट सीमित व्यक्तिले फाईदा लिइरहेका छन् । तर पनि अरु जिल्लाको तुलनामा यहाँको सहकारी अभियान राम्रो छ । प्रारम्भिक संस्था, संघ र स्थानीय सरकार बीचको समबन्धलाई पनि हामीले प्रगाढ रुपमा अगाडि बढाएका छौं । अहिलेको समिट स्थानीय तहसँग पनि मिलेर गर्दैछौं । विशेषतः आफ्ना संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति यसले महत्वपूर्ण भूमिका खेल्नेमा पूर्ण विश्वास हाम्रो छ । 

समिटमा कुन कुन विषयमा कसकसले प्रस्तुतिकरण दिनुहुनेछ ? 

दुई दिनको आवासीय सहित ३ दिनको कार्यक्रम भएकाले यो समिटमा धेरै विषयमा अन्तक्र्रिया गरिनेछ । सहकारी बैंकका सीइओ बद्री गुरागाईंले कोष विभाजन, संरक्षित पूँजी फिर्ता कोष र सदस्यता केन्द्रियता अवधारणा(अवधारणा, कानुनी व्यवस्था र कार्यान्वयन) विषयमा, नेशनल इन्ष्टिच्यूट फर लिडरशीप डेभलपमेन्टकी म्यानेजिङ डाइरेक्टर उषा मल्ल सिंहले तनाव तथा द्वन्द व्यवस्थापन, नेतृत्व विकास र समय व्यवस्थापन विषयमा, विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले एकिकरणका अवसर र चुनौतिहरु विषयमा, राष्ट्र बैंकको एक्जेक्युटिभ डाइरेक्टर सहकारीमार्फत गरिबी न्यूनिकरणका विषयमा प्रस्तुति दिनुहुनेछ । 

त्यसैगरी विकु साकोसका सीइओ माधव पौडेलले सफल सहकारी संस्थाको कथा, सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन ढकालले सरकार र सहकारीबीचको अन्तरसम्बन्ध, डा. विकाशानन्द योगीले सफलताको पूर्वाधार र सफल जीवनको रोडम्याप विषयमा र सहकारी मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले संस्थागत सुशासन लगायतका विषयमा प्रस्तुतिकरण दिनुहुनेछ । सफल व्यवसायी बिनोद चौधरीले व्यवसाय गर्न चाहिने टिप्सहरु प्रस्तुत गर्नुहुनेछ । सहकारीका बारेमा  मात्रै नभई मानव जीवनमा आउने हरेक समस्याको बारेमा समिटमा सिकाइनेछ । 

उप–राष्ट्रपति नन्दकुमार पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुनेछ भने समापनमा बाग्मती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री दोर्जे लामाको प्रमुख आतिथ्यता रहनेछ । जिल्ला भित्रका २ सय सहकारीकर्मीलाई कार्यक्रममा सहभागि गराउनेछौं । यो समिटमा सहभागि हुन सबैलाई पत्राचार गरिसकेका छौं । पहिलो आउनेलाई प्राथमिकता रहनेछ । समिटमा अपेक्षा गरिएभन्दा बढि सहभागि हुनेमा हाम्रो विश्वास छ । 

समिटले सहकारी क्षेत्रको समस्याको पूर्ण समाधान दिइ नयाँ आयामबाट अघि बढ्न सहयोग पुग्ने हो ? 

ललितपुरको बचत तथा ऋण सहकारी अभियानलाई केन्द्रित गरेर समिट आयोजना गरिएको छ । समिटमा प्रस्तुतिकरण गर्ने सहजकर्ताहरु समग्र सहकारी अभियानमा राम्रो दख्खल र ज्ञान भएका व्यक्तिहरु हुनुहुन्छ । जसले गर्दा सहकारीलाई व्यवस्थित एवं सुदृढ गर्न, ऐन कानुनलाई कसरी पालना गर्ने, कोष विभाजन, संरक्षित पूँजीकोष फिर्ताको फाइदा तथा बेफाइदा जस्ता विषयमा धेरै कुरा सिक्न पाइनेछ । 

यो समिटले संघ र प्रारम्भिक संस्थाबीच आत्मियता पनि बढाउँछ । विगतमा निर्वाचन आउने बेलामा मात्र सदस्यहरुकहाँ पुग्ने चलन थियो । अहिले संघ र सदस्यको सम्बन्ध ग्लुकोज र पानी बनाएर जाने र सदस्यहरुको सुखदुखको सारथी बन्ने रणनीति हामीले लिएका छौं । यसकै निम्ति समिट एउटा प्रयास हो । विषयवस्तु अत्यन्त ओजपूर्ण भएकाले सम्पूर्ण सदस्यहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । समिटबाट एउटा निचोडमा पुग्ने र घोषणापत्र जारी गर्दै सबै संस्थाले कार्यान्वयन गर्ने बातावरण हामी बनाउने छौं । 

अहिले केन्द्रिय र विषयगत संघहरुले पनि समिट गर्दै आएका छन् । बचत संघ ललितपुरले आयोजना गरेको समिट कुन–कुन कुराले भिन्न छ ? 

समिटमा प्रतिनिधिमूलक व्यक्तिको मात्र सहभागिता रहनेछ । प्रत्येक संस्थाबाट   एकजनालाई मात्रै आमन्त्रण गरेका छौं । त्यसमा पनि मुख्य व्यक्तिलाई सहभागि हुन भनेका छौं । त्यसैगरी सकारात्मक सोच सहितको सहकारी नेतृत्व विकास गर्ने हाम्रो लक्ष्य हो । इस्युको बारेमा नै छलफल गर्ने भएकाले यो समिट आफैंमा महत्वपूर्ण छ । हरेक विषयवस्तुमा छलफल तथा अन्तरक्रिया हुनेछ । यसबाट भावनात्मक विकास गरी अभियानमा नयाँपन ल्याउन सकिन्छ । जिल्ला भित्र र जिल्लाकै कार्यक्रम भएकाले सहभागिले धेरै कुरा सिक्न सक्छन् । 

बचत संघले सदस्य संस्थालाई सबल बनाउन कसरी काम गर्दै आएको छ ? 

संघले दिगो साकोसमार्फत सम्वृद्धि समाज निर्माणको भिजन अगाडि सारेको छ । यो भिलन अन्तरगत नै हामी अगाडि बढेका छौं । विशेषतः संघको आधार नै जिल्ला भरका प्रारम्भिक संस्थाहरु हुन् । प्रारम्भिक संस्थाहरुको क्षमतामा आवश्यकता अनुसार वृद्धि गरी समुदायमा आधारित प्रतिस्पर्धी वित्तीय संस्थाहरु निर्माण गर्ने हाम्रो ध्येय हो । बचत तथा ऋण सहकारीले नै आर्थिक सम्वृद्धिको मुद्दालाई सम्बोधन गर्छ भने हाम्रो विश्वास हो । ललितपुरमा ६ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहका एउटा सहकारीले बेरोजगार, न्यून आय भएका र विपन्न वर्गलाई माथि उठाउन काम गर्नको निम्ति हामीले अपील गरेका छौं । यो कुरा समिट पछि जारी हुने घोषणापत्रमा पनि समावेश गर्छौं । समिटमा सामुहिक छलफल गरेर हामी अगाडि बढ्छौं र यसले साकोसहरुलाई गुणस्तरीय बनाउन सहयोग मिल्छ । सहकारीहरु नीति, विधि र प्रविधिमा आधारित भएर अगाडि बढ्नको निम्ति प्राविधिक संस्कारको पनि विकास गर्नुपर्नेछ । नीतिमा संस्थाहरु चल्नुपर्नेछ । विधि बनाएर संस्थाहरुलाई अगाडि बढाउनु छ । यसका लागि पनि समिटले ठूलो टेवा पु¥याउँछ । हामीले शिक्षा, तालिमलाई अगाडि बढाएका छौं । संस्थाहरुलाई निःशुल्क तालिम दिँदै आएका छौं । संस्थाहरुले प्रशिक्षक माग्नासाथ निःशुल्क उपलब्ध गराएका छौं । 

एकिकरणको लागि संघले एकिकरण तथा अनुगमन समिति नै बनाएर समितिमार्फत संस्थाहरु एकिकरण गर्न पहल गरेका छौं । ललितपुर महानगरपालिका र स्थानीय तहसँग मिलेर कार्यक्रमहरु गर्दै आएका छौं । यो समिट पनि उहाँहरुकै सहयोगमा अगाडि बढाउँदै छौं । स्थानीय तह, विभिन्न संघसंस्थाको सहकार्यमा न्यूनतम शुल्कमा यो समिट गर्न गइरहेका छौं । सदस्य संस्थाहरुको लिखित तथा मौखिक सुझाव लिएर सोही अनुसार हामी अगाडि बढेका छौं । रणनीतिक योजना बनाएका छौं । यस अन्तर्गत बचत संघले वित्तीय मात्रै नभई आफ्ना संस्थालाई चाहिने सबै प्रकारका सुविधा उपलब्ध गराउँछ । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif