Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

मातृ भाषा दिवस र आजको सन्दर्भमा यसको बढ्दो महत्व


२०७६ फाल्गुन ९ गते , शुक्रवार प्रकाशित


-लोकनारायण सुवेदी



         यो निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएको हुन्छन् । वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्नजान्छ । यसै कुराको सम्झना गराउनका निमित्त संयुक्त राष्ट्र संघको यूनेस्कोले २१ फेब्रुअरीका दिनलाई 'अन्तर्राष्ट्रिय मातृ भाषा दिवस' घोषित गरेको देखिन्छ । यसको पछाडि एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ । त्यसलाई जान्नु बुझनु पनि महत्वपूर्ण र आवशयक छ । वास्तवमा आजको पाकिस्तान बन्नुभन्दा पहिला नै त्यहाँ के बहस चलेको थियो भने त्यो देशको राष्ट्र भाषा कुन हुने - त्यस महत्वपूर्ण बहसको प्रश्नलाई वेवास्ता गर्दै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले १९४८ मा 'ऊर्दू' भाषालाई पाकिस्तानको राष्ट्र भाषा घोषित गरिदिए । त्यस घोषणाले तत्कालीन पूर्बी पाकिस्तान(आजको बंगलादेशमा)मा ठूलो प्रतिकृया उत्पन्न भयो र त्यहाँ 'बंगला भाषालाई  राष्ट्रिय भाषा बनाइनु पर्ने माग लिएर आन्दोलन छेडियो । त्यतिबेला ढाका बिश्वबिद्यालयका बिद्यार्थीहरुद्वारा 'राष्ट्र भाषा संग्राम परिषद' नै गठन गरेर मार्च १९४९ का दिन 'बंगला राष्ट्र भाषा दिवस' मनाउने घोषणा गरिएको थियो । त्यस घोषणाकासाथ बिरोधमा सडकमा उत्रेका बिद्यार्थी आन्दोलनकारीहरुमाथि लाठी चार्ज गरिनुकासाथै अश्रुग्यास पनि प्रहार गरियो । त्यसबाट त्यो भाषा आन्दोलन दबेर जानुको साटो झन् तीब्र भएर फैलियो । अनि त्यस आन्दोलनको तीन बर्ष बित्दानबित्दै बिद्यार्थीहरुको त्यो संघर्ष बृहत राजनीतिक संघर्षको रुपमा बिकसित भयो ।



यस्तो स्थितिमा २१ फेब्रुअरी १९५२ का दिन ढाकामा बिधान सभाको बैठक बस्ने तिथिमिति तय थियो । भाषा आन्दोलनकारीहरुले त्यस सभालाई ज्ञापनपत्र दिने निर्णय गरेका थिए । त्यस क्रममा आन्दोनलकारीहरु जब ढाका बिश्वबिद्यालयबाट बाहिर मूल सडकमा निस्किन शुरु गरे पुलिसले तिनमाथि गोली चलायो, जसमा परेर कयौं मानिसहरु मारिए । त्यस घटना पछि पूर्बी पाकिस्तानमा हरेक बर्ष २१ फेबु्रअरीका दिनलाई 'भाषा शहीद दिवस' कोरुपमा मनाउन थालियो । यसरी त्यो दिन जीवन संघर्षको प्रेरणाको प्रतीक बन्न पुग्यो । भाषबाट सँस्कृति, सँस्कृतिबाट स्वायत्तता र स्वायत्तताबाट स्वाधीनताको माग उठ्दै गयो । यस प्रकार त्यो भाषिक आन्दोलन अघि बढ्दै गएर पूर्वी पाकिस्तानको भाषा आन्दोलनले बंगलादेश मुक्ति संर्घष्ाको रुप लियो र अन्ततः एउटा नयाँ देश जन्मिन पुग्यो ।

बंगलादेशको भाषा शहीद दिवसलाई संयुक्त राष्ट्र संघले पनि केही बर्ष पहिला 'मातृ भाषा दिवस'को रुपमा मान्यता दियो । हुन पनि मातृ भाषाबाट मानिसहरुको एउटा बिशेष पहिचान बन्दछ । 'अग्रेज' र्'जर्मन' 'चीनीयाँ' या 'नेपाली' 'बंगाली' जस्ता शब्दहरु जत्तिको भाषासँग जोडिएका छन् त्यत्तिकै तिनले समुदाय बिशेषको पनि बोध गराउँदछन् । भाषालाई मानिसले निश्चय नै बिकास गर्दछन् या गढ्दछन । अनि के कुरा पनि उत्तिकै सत्य हो भने भाषाले पनि मानिसको या समुदाय बिशेषको रचना गर्दछ र त्यसले तमाम बिशेषताहरु, क्षमताहरु, मूल्य दृष्टिहरु पनि स्थापित गर्दछ । त्यसो हुनु स्वभाविक किन हुन्छ भने जीवनका सारा कुरा अर्थात् आ-आफ्ना दुःख दर्द, हास-परिहास, लाभ-हानी,यश-अपयश मानिसले भाषाको माध्यमबाट स्वयम महसुश गर्दछ र अरुलाई पनि त्यसको महसुश गराउँदछ । भाषासँगको मानिसको यो सम्वन्ध यत्ति गहिरो र अटुट हुनजान्छ कि त्यो जीवनकै पर्याय बन्दछ ।

स्वाभाविक परिस्थितिहरुमा जन्मकासाथ साथै प्रत्येक बाल बच्चाले एउटा खाश किसिमका ध्वनीहरु र तिनबाट बनेका भाषाहरुको बातावरण पहिलादेखि नै तयारीरुपमा प्राप्त गर्दछन् । त्यसभन्दा पनि अझ गम्भीर कुरा त के हुन्छ भने भाषा उपयोगको उपकरण पनि बाल बच्चाका शरीरका अन्य अंगहरुको तुलनामा बढी तयार र सक्रिय रहेका हुन्छन् । एक किसिमले ती भाषाको लागि तत्पर अर्थात् 'रेडिनेश'ले सुसज्जित भएरै यस संसारमा बाल बच्चाहरुको पदार्पण हुन्छ भने पनि फरक पर्दैन । यसरी बाल बच्चाहरुको पहिलो भाषा 'मातृ भाषा' नै हुन्छ । त्यसैले भन्ने गरिन्छ कि 'आमाको काखमा बच्चाले जुन भाषा सिक्दछ त्यही नै बच्चाको मातृ भाषा हो' । सुत्दा जाग्दा बच्चाले हर पल मातृ भषाको गुञ्जन सुन्ने गर्दछ । त्यसरी त्यो भाषा सिक्न सहज र एक किसमले अनायास नै सजिलो पनि हुन्छ । त्यसैले पनि प्राथमिक शिक्षा मातृ भाषामा दिइनुपर्ने कुरामा जोड दिइएको हो ।

बैज्ञानिक अध्ययनहरुले के बताएका छन् भने आठ महिनाको आयुमा नै बाल बच्चाहरु धेरैजसो ध्वनीका रुपहरुलाई ग्रहण गर्न सक्षम हुने गर्दछन् । उनीहरु बाह्र महिनाको पुग्दा नपुग्दै पहिलो शब्द बोल्न थाल्दछन र त्यस बेला नै झण्डै पच्चास शब्द सम्झने गर्दछन् । अठार महिनाको पुग्दा बच्चाहरुले ५०-६० शब्द बोल्न थाल्छन् र तिनका दोब्बर या तेब्बर शब्दहरुलाई याद गर्न थाल्दछन्। यस प्रकार लेख्ने, पढ्ने कतिसम्म भने बोल्ने क्षमता अउनुभन्दा पहिला नै बच्चाहरुले त्यस भाषाका अनेकौ शब्दहरुको अर्थ बुझन शुरु गर्दछन् । यो स्वभाविकरुपले हुने गर्दछ । किनकि मातृ भषामा सिक्न सरल हुन्छ । हुन पनि बाल बच्चाले त्यसै भाषामा श्वास लिन्छन् र बाच्दछन् । त्यो उनीहरुको आफ्नो भाषा हुन्छ । अनि त्यस भाषालाई ब्यवहारमा ल्याउनु बच्चाको मानब अधिकारकै कुरा बन्दछ । तर आज राजनीतिक, आर्थिक तथा प्रबिधिको बिकासको कारणले भाषा र मातृभाषको प्रश्न जटील बन्दै गएको छ । आजको कटु वास्तविकता के छ भने भाषागत साम्राज्यवादका कारणहरुले अग्रेजी प्रभु भाषाकोरुपमा स्थापित छ र आजको प्रतिस्पद्र्धी तथा भूमण्डलीकृत बिश्वमा त्यसैलाई स्वीकारेर बसेको देखिन्छ ।

वास्तवमा हामी के बिर्सन्छौ भने भाषा सिक्ने बनी बनाऊ आधार मातृ भषा नै हुने गर्दछ र त्यसैको माध्यमबाट बिचार, अबधारणा आदि सिक्न नि सजिलो हुन्छ । यसो नगरेर हामीले बाल बच्चाहरुको सम्झने र बुझ्ने बिषयलाई छोडेर एउटा अर्को अर्थात् बिदेशी भाषा सिकाउनमा लगाइदिन्छौ र त्यसरी कुनै पनि बिषय सिक्नुले केवल अनुवादको मानसिकतालाई मात्र बल पुग्दछ । साथै प्रत्येक भाषा कुनै न कुनै सँस्कृति र मूल्य ब्यवस्थाहरुको बाहिका -बाहक) हुने गर्दछ । हामीले अग्रेजीलाई अँगालेर आफ्नो आचरण र मूल्य ब्यवस्थाहरुलाई बदल्दछौ र त्यसै क्रममा आफ्ना साँस्कृतिक धरोहरुलाई पनि बिस्मृतिको गर्भमा धकेलिदिन्छौं । आज अग्रेजी माध्यममा बिद्यालयहरुको जुन बाढी आएको छ त्यससँग जोडिएर उच्च बर्गमा शामिल हुन पाउने सम्भावना जस्तो देखिन्छ भने अन्य मातृ भाषाको स्थिति भने अझ कमजोर भएर गएका देखिन्छ । सम्मान प्राप्त नहुँदा तिनले नराम्रोसँग उपेक्षाको सामना गर्नु परिरहेको छ । कतिपय बिद्यालयहरुले त मातृ भाषाको प्रयोगलाई नै दण्डनीय जस्तो पनि बनाएको पाइन्छ ।

यस स्थितिमा न मूल भाषामा प्रबीणता आउन पाउँदछ न अग्रेजी प्रयोगको क्षमताकै अभिबृद्धि हुन सक्तछ । बाल बच्चा मात्रै होइन, यस परम्परामा दीक्षित प्रौढहरु पनि सोच-बिचार र मौलिक चिन्तनभन्दा धेरै बढी अनुबादको काममा नै लागेका हुन्छन् । सिर्जनात्मकताको दृष्टिले यसरी आज मानिसको मानस नै अधकल्चो बन्ने गरेको छ । यस प्रकार भाषिक अपरिपक्कताको कमी जीन्दगीभरी नै भोग्नुपर्ने र त्यसबाट पिढी पछि पिढी प्रभावित हुदै जाने गर्दछ ।

यस प्रसंगमा के बुझनु पनि अत्यावश्यक छ भने अग्रेजीको हौवा केवल भ्रममा टिकेको छ । बिभिन्न देशहरुमा गरिएको अध्ययनबाट के पत्ता लागेको छ र स्थापित भएको छ भने मातृ भाषामा सिक्नु प्रभावकारी तरीकाले सिक्ने मूल आधार हो । आज 'सबैकोलागि शिक्षा' लक्ष सामाजिक बिकासका लागि महत्वपूर्ण मानिएको छ । यो लक्ष प्राप्ति गर्न मातृभाषाको माध्यामले मात्रै सम्भव हुन सक्तछ । मातृ भाषाको माध्यमले सिक्नाले बौद्धिका बिकासमा बहु आयामिक र सकारात्मक प्रभाव पर्दछ । त्यसो भएको हुनाले आरम्भिक शिक्षाका लागि मातृभाषालाई माध्यम नबनाउनु आजको एउटा गम्भीर समाजिक तथा साँस्कृतिक चूनौति बनेको छ । जसको उपेक्षा गर्न सकिदैन ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif