Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

नेपाली क्रान्तिको मूलबाटो - नयाँ जनवाद नै किन ?


२०७६ फाल्गुन १ गते , विहीवार प्रकाशित

—लोकनारायण सुबेदी

         आफुलाई कम्युनिष्ट आन्दोलन भित्रका मान्ने बिभिन्न घटकहरु मध्ये कतिपयले ‘बर्ग शत्रु नै फेला परेको छैन, कसका बिरुद्ध लड्ने’ भन्दैछन् भने कतिपयले ‘माओवाद, माओबादी भन्नै पर्दैन, नेपालमा काग्रेस र कम्युनिष्ट भने पुग्छ’ भन्न थालेका छन्, कोही  नामै फेरेर अरु घटकलेले राखेको ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम कब्जा गरिरहेका छन् भने कोही पार्टीको नामै बदलेर खुलैरुपमा गैर कम्युनिष्ट बाटो अख्तियार गरेर संसदीय बाटोको नया मुल्ला बन्न खोजिरहेका छन् । वास्तवमा यो नेपालको कम्युनिष्ट आन्दोलनमा माओबादीको हेटौडा महाधिबेशन र एमालको पछिल्लो नबौं महाधिवेशन पछि तिनले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भइसक्यो भन्ने आधिकारिक र संस्थागतरुपमा ठूलो भ्रम छरेपछि  प्रत्युत्पन्न भएको स्थिति हो । अहिले एउटै नाम राखेर सत्तामा रहेका ती दुबै पार्टी (एमाले र एमाओादी)ले त्यतिखेरै अबको बाटो भनेको समाजवादतिर लाग्ने हो र त्यो संसदबाटै प्राप्त हुन्छ  भन्ने उहिल्यै यूरोपतिर असफल भइसकेको पूँजीवादमा पत्तन हुने सार निकालेका हुन् । यसरी उनीहरुले नेपाली समाजवाट सामन्तबाद र साम्राज्यवादको शोषण, उत्पीडन,अन्याय, थिचोमिचो, दमन र दबाव मूलतः अन्त्य भएको भन्ने सर्बथा गलत र भ्रमपूर्ण निष्कर्श  निकालेका हुन् र ती हाम्रो देश र जनता दोहन गर्ने शक्तिहरु बिरुद्धको जनताको आन्दोलनलाई कमजोर पार्ने दिशा त्यतिबेलैदेखि खुलस्त पक्रदै आएका हुन् । यस सन्दर्भमा आजको नेपाली समाजको बस्तुगत  यथार्थ – उत्पादक शक्ति र उत्पादन सम्वन्धको वास्तबिकता के हो भन्ने कुरा एक पटक फेरि अत्यन्तै महत्वपूर्ण,गम्भीर,  र गहन छलफल र राष्ट्रिय बिचार बिमर्श र बहसको बिषय बन्न पुगेको छ । 

          वस्तुतः कम्युनिष्ट ‘ब्राण्ड’ लिएर बसेको अहिलेको सत्ताधारी डबल नेकपा(नेकपा) – जो एमाले र माओवादी–माके मिलेर बनेको हो) नेतृत्वले एकातिर कम्युनिष्ट आन्दोलनभित्र यस्तो भ्रम सिर्जना गरेको छ भने अर्कोतिर  बिगतदेखि अहिलेसम्म शासन सत्तामा गएर उनहरुलेर के के गरे, कस्तो चरित्र प्रदर्शन गर रे गरिरहेका छन्  भन्ने कुराले समेत उनीहरुले जनतामा छर्दै आएको भ्रमलाई  निकै हदसम्म चिर्न मद्दत गरेको छ । सचेत जनताले उनीहरुमा कम्युनिष्ट सिद्धान्त, चरित्र,नैतिकता, इमानदारीता समाप्त भएको, उनीहरु बिलाश र बैभको घोर उपभोक्ताबादी एकदमै गलत बाटो लागेको, छलप्रपञ्च, तिकडमबाजी र लेनदेनको संसदीय राजनीतिक भाषमा चुर्लुम्म डुबेको देखेका छन् र उनीहरुको जीवनशैली र ब्यवहारबाट यथार्थ के हो एक हदसम्म बुझेका पनि छन् । उनीहरुका यस्ता प्रकृतिका घोर गैर कम्युनिष्ट आचरण र अवसरबादी कृयाकलापले कम्युनिष्ट आन्दोलनको मूल मर्म, सत्व र भावनामाथि नै प्रहार गरेको र गम्भीर चोट पु¥याएको अनुभव पनि जनताले  गरिरहेका छन् । बर्गीय आन्दोलनबाट बिचलित भएर भौतारिएपछि कमाउने, जमाउने र रमाउने संकीर्ण  बाटोमा पत्तन हुनु अनिबार्य हुँदोरहेछ भन्ने कुरा पनि आज छर्लंग हुँदै गएकोछ र शोषित पीडित जनताले पनि उनीहरुले भन्ने गरेको सिद्धान्त र गर्ने गरेको बिपरीत ब्यवहारबाट यो कुरा आज निकै हदसम्म बुझ्न थालेका छन् ।

           हुन पनि आरम्भमा एमाले नेतृत्वले नयाँ जनवादको जुन सैद्धान्तिक खोल ओढेको थियो त्यसलाई बीच बाटोमै उतारेर बहुदलीय जनवादको बर्गसमन्वयबादी खुुल्ला संशोधनबादी बाटो पक्रेपछिदेखि नै खुलस्त रुपमा बिचलन देखापर्दै आएको हो । हिजो पनि बहुदल कालमा राप्रपाको नेतृत्वमा सरकारमा जाने र आज गणतन्त्र आइसकेपछि पनि राप्रपासँगको चुनाबी तथा गैर चुनावी साँठगाँठले समेत यो कुरा प्रष्ट दर्शाइरहेको छ । यही चरित्र घुमाउरो पाराले अनुसरण एमाओवादी(पछि  माके बनेका)ले पनि गरेपछि उनीहरुका बीच एकातिर बैचारिक सैद्धान्तिक सन्निकटता र तादाम्यता बढ्दै गएको थियो  भने अर्कोतिर नयाँ जनवादी क्रान्तिमाथिको भ्रम र हमला पनि निक्कै तीब्ररुपमा बढ्दै गएको छ । त्यसैले आज पूँजीवादी बर्गमा समर्पित यथार्थतः जनताको सर्बोच्चता भन्ने गरिए पनि पूँजीको सर्बोच्चता रहने संसदीय बाटोबाटै समाजवाद ल्याउने जुन नेपाली काग्रेसकै सामाजिक लोकतन्त्रको बाटो हो, त्यसैलाई कम्युनिष्ट झण्डा उचालेर उनीहरुले पक्रेका छन् ।  त्यो उनीहरुले अज्ञानताबश या अनुभवहीनताको कारणले पक्रेका होइनन् । यो उनीहरुमा आएको गैर कम्युनिष्ट, सुबिधाभोगी,घोर उपभोक्ताबादी सँस्कृति एबं बर्गीय र सैद्धान्तिक बिचलन तथा स्वभावतः त्यसबाट उत्पन्न हुने औसरबादी राजनीतिक र सैद्धान्तिक बिसंगतिको अनिवार्य परिणति नै हो ।

            वास्तवमा ढिलोचाडो जुन कुरा  एक वा अर्कोरुपमा आउनै पर्दथ्यो र आयो पनि । त्यसैले अब  नेपालमा नयाँ जनवादको कुरा गर्नेहरु – बर्गीय शोषण र सामाजिक उत्पीडनबाट जनता र राष्ट्रको मुक्तिको कुरा गर्नेहरु — मजदुर, किसान, राष्ट्रिय पूँजीपति बर्गको मुक्ति र प्रगतिको कुरा गर्नेहरु, राष्ट्रिय स्वाधीनता, साबैभौमिक अखण्डता र स्वतन्त्रताको कुरा गर्नेहरु, उनीहरुको दृष्टिमा ‘असामयिक’ र ‘असान्दर्भिक’ र ‘जडसूत्रबादी’ बनेका या लाग्न थालेका छन् । यसको सोझो बर्गीय अर्थ हो कि उनीहरुका लागि अब मजदुर, किसान, राष्ट्रिय पूँजीपति, बर्ग तथा महिला, यूवा–बिद्यार्थी, उत्पीडित जाति, जनजाति, अल्पसंख्यक, सीमान्तिकृत र लोपोन्मुख समुदायका मुक्तिका लागिको आन्दोलनहरुको कुनै अर्थ छैन । बर्ग संघर्षलाई कुर्सीको लागि संघर्षमा परिणत गरेपछि राष्ट्रिय मुक्ति र जनमुक्तिको आमूल तथा अग्रगामी परिवर्तनको आन्दोलन, त्यसको सैद्धान्तिक एवं बैचारिक आधार अब नरहेको र उनीहरुलाई त्यो असम्भव लाग्नु उनीहरुको पथभ्रष्ट, संकीर्ण, यथास्थितिबादी सोचको परिणाम हो भन्ने कुरा आज दिनप्रतिदिन  छर्लङ्ग हुदै गएको छ । बर्तमान संबिधान लागु भए पछिको पहिलो स्थानीय चुनावको बेला उनीहरु जसरी प्रतिगामी, यथास्थिबादी र जनबिरोधी शक्ति र दलहरुसँग एकाकार हुन पुगे र संसदबाट प्रतिगामी निर्बाचन कानुन बनाएर गणतन्त्र पछिको पहिलो स्थानीय चुनावमै निर्दलीयताका बिरुद्ध तीन दशकभन्दा बढी समयदेखि लड्दै आएको नेपाल कम्युनिष्ट पार्टी लगायत पुराना र अरु नयाँ दलहरुलाई चुनाव चिन्ह नदिने निषेध गर्ने र प्रतिबन्ध लगाउने कार्य गरे त्यसले पनि धेरै कुरा उदाङ्ग पारेको थियो  र अनि बिप्लबले नेतृत्व गरेको दलमाथि प्रतिबन्ध लगाएपछि उनीहरु पूँजीवादी बहुदलीय ब्यवस्थाले दिनेसम्मको राजनीतिक स्वतन्त्रता दिन पनि तयार छैनन् भन्ने कुरा छर्लङ्ग पारेको छ ।

           देशमा राजतन्त्रको अन्त्य भएको, गणतन्त्र आएको र शासन सत्तामा कम्युनिष्टहरु पनि गइसकेको भन्ने कुराका आधारमा उनीहरुले देशमा पूँजीवादी जनवादी क्रान्तिको कार्यभार पूरा भइसकेको जुन निष्कर्श निकालेका छन् त्यो बिल्कुलै गलत छ । गणतन्त्र हुँदैमा र राजतन्त्र जाँदैमा नयाँ जनावादी क्रान्तिको कार्यभार पूरा भएको भन्ने बस्तुगत आधारहरु बनेका हुँदैनन् । त्यसो हुन्थ्यो भने त चीनमा १९११ मा नै बिश्वमा १९१७ को महान अक्टोबर समाजवादी क्रान्ति नहुदै डा. सनयात सेनको नेतृत्वमा भएको क्रान्तिबाट मंचु बंशले नेतृत्व गरेको चीनको अन्तिम राजा र राजतन्त्र त्यहाँबाट समाप्त भएर गणतन्त्र आएको थियो । जुनबेला चीनमा कम्युनिष्ट पार्टीको स्थापना  पनि भएको थिएन र रुसमा महान अक्टोबर समाजवादी क्रान्ति पनि भएको थिएन  । चीनीयाँ कम्युनिष्ट पार्टी त झन अक्टोबर क्रान्ति सम्पन्न भएको ५ बर्षजति पछि १९२१ मात्र स्थापना भएको हो । त्यतिबेला रुसी समाजवादी क्रान्तिका नेता सर्बहारा बर्गका गुरु लेनिनले अर्ध औपनिवेशिक र अर्ध सामन्ती देशका कम्युनिष्टहरुले रुसको जस्तो समाजवादी क्रान्ति गर्न सक्ने आधार बिकसित भएको छैन भन्दै त्यस्ता मुलुकहरुले क्रान्तिको छुट्टै बाटो लिनुपर्ने आवश्यकता औल्याएका थिए । त्यसै आधारमा चीनमा चीनीयाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले चीनीयाँ कम्युनिष्ट पार्टीको छुट्टै क्रान्तिको कार्यक्रम — ‘नयाँ जनवाद’ अघि सार्दै त्यसलाई चीनीयाँ समाजमा माक्र्सवाद लेनिनवादको सिर्जनात्मक प्रयोग र त्यसको सामुहीक अनुभवको उपजकोरुपमा ब्याख्या गरेका थिए । त्यसैले १९४५ भएको चीनीयाँ कम्युनिष्ट पार्टीको सातौ ऐतिहासिक महाधिवेशन — जुन झण्डै दुइ महिनासम्म चलेको थियो, ले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई अनुमोदन ग¥यो र चीनीयाँ कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त त्यसपछि माक्र्सवाद, लेनिनवाद र माओबिचारधारा हुने कुरा पार्टीको बिधानमा नै राखियो र प्रष्टसँग अघि सारियो । यो नयाँजनवादी क्रान्ति — मजदुर बर्गको नेतृत्वमा किसान मजदुर एकताका आधारमा सम्पूर्ण शोषित उत्पीडन जन समुदायलाई एकाकार गर्दै अर्ध सामन्ती र अर्ध औपनिवेशिक अबस्थाको समाजलाई आमूलरुपमा परिवर्तन गरेर समाजवादको पृष्ठभूमि तयार गर्ने क्रान्ति हो भन्ने सुस्पष्ट ब्याख्या गरियो । अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरणबाट गुज्रिरहेका समाजहरुलाई त्यो शोषण र उत्पीडनबाट मुक्त गर्ने क्रान्ति योभन्दा अर्को हुन सक्तैन भन्ने कुरा यसले अझ स्पष्ट ग¥यो । यसरी बिश्व कम्युनिष्ट आन्दोलनको एउटा खाश सामाजिक चरण अर्थात ती समाज बिशेषहरु जो देशीय सामन्तबाद र बिदेशी साम्राज्यवादको प्रत्यक्ष या परोक्ष शोषण उत्पीडनको चरणबाट गुज्रिरेहका छन्, हुन्छन्, तिनको मुक्तिको बाटो नयाँ जनवादी क्रान्तिको बाटो हो र समाजवादमा प्रवेश गर्ने बैज्ञानिक बाटो नै यही हो भन्ने बैज्ञाकिन मान्यता बिकसित भएको हो । नेपाल कम्युनिष्ट पार्टीले शुरुदेखि नै अर्थात् — पार्टीको प्रथम राष्ट्रिय सम्मेलनदेखि नै ठीक यही नयाँ जवादी क्रान्तिको प्रारुप अघि सारेको कुरा स्मरणीय छ ।

        नेकपाको प्रथम राष्ट्रीय सम्मेलनमा महासचिव क. ततलीन पुष्पलालद्वारा प्रेषित भई सम्मेलनद्वारा पारित ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ शीर्र्षकको दस्ताबेजको कम्युनिस्ट ‘पार्टी र शासन व्यवस्था’ उपशीर्र्षकमा ‘जनताको सार्वभौमिकता अर्थात् देशको सबै शक्ति जनताको हातमा रहने राज्यको सर्वोच्च अदालत जनताले चुनेका प्रतिनिधिको हातमा राख्ने’ जनताले चुनेका  ‘यी जनप्रतिनिधिलाई निर्वाचनको बहुसंख्यकले चाहे फिर्ता बोलाउन सक्ने’ (राइट टु रिकल)व्यवस्था गर्ने कुरा पनि उल्लेख छ । त्यस्तै नयाँ जनवादी व्यवस्थामा ‘१६ वर्ष पुगेका सबै पुरुष र महिलालाई सार्वजनिक समानता र प्रत्यक्ष भोटको अधिकार दिने, बालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनाव गराउने’ आदि कुराहरु पनि उल्लेख छ । क. पुष्पलालद्वारा प्रेषित उपर्युक्त दस्ताबेजमा ‘राजनीतिक पार्टीलाई आनुपातिक प्रतिनिधित्वको अधिकार दिने’ उल्लेख गर्दै ‘गुप्त मतदान प्रणालीको चलन चलाउने’ समेत उल्लेख छ । यसबाट नयाँ जनवादी व्यवस्थामा सामन्तबाद र साम्राज्यबाद बिरोधी  राजनीतिक दलहरुको भूमिका पनि प्रष्ट पारिएको र  उल्लेख गरिएको छ ।

      यस प्रकार २००८ सालमै क. पुष्पलालले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी पारित भएको दस्ताबेजमा नै आज हाम्रो देशमा चर्चा र बिचार बिमर्श भइरहेको स्थानीय स्वशासनको पनि उल्लेख छ । त्यहाँ, ‘स्थानीय र इलाकीय सरकारको व्यापक चलन गराउने, यी सरकारलाई बालिग जनताले चुन्ने र यिनीहरुलाई स्थानीय समस्यासम्बन्धी धेरै अधिकार दिने’ उल्लेख गरिएको छ । त्यस्तै माथिबाट नियुक्त हुने हाकिम, वडाहाकिम आदि अफिसर स्थानीय सरकारले नै नियुक्त गर्ने व्यवस्थाको पनि त्यसमा उल्लेख छ । त्यस दस्तावेजमा नागरिक अधिकार र स्वतन्त्रतासम्बन्धी कम्युनिस्ट पार्टीको नीति पनि स्पष्ट पारिएको छ । त्यसमा भनिएको छ ः ‘धर्म, जात, योनी, वर्ण आदिको भेदभाव नगरी सबैलाई नागरिक अधिकार दिने’  त्यस्तै अर्काे बुँदामा ‘छलफल, भाषण, प्रेस संघ, हडताल, धर्म संघ समेत बनाउने पूर्ण अधिकार दिने’ कुरा समेटिएको छ । यी कुराले प्रष्ट पार्दछन् कि २००८ सालमै नयाँ जनवाद बारेको प्रारुप तयार हुदै थियो ।त्यसबेला न्यायाधीशहरुको नियुक्ति पनि प्रकृयाका बारेमा नयाँ जनवादमा जनताद्वारा निर्वाचित न्याय बिभाग खडा गर्ने, न्यायाधीशलाई चुन्ने पनि जनतालाई अधिकार दिने सरकारद्वारा नियुक्ति दिने होइन भन्ने प्रस्ताव गरिएको थियो । कुनै पनि पूँजीवादी मुलुकको शासन ब्यवस्थामा नभएको प्राबधान यसरी नयाँ जनवादी ब्यवस्थामा रहने कुरा त्यसमा उल्लेख थियो । 

         तर बिडम्बना के भने जुन नयाँ जनवादी क्रार्यक्रमको प्रारुप क. पुष्पलालले त्यतिबेलै अर्थात आजभन्दा ७ दशक जति पहिला नै अघि सार्नु भयो र त्यो सम्मेलनले पारित पनि ग¥यो त्यसैबेलादेखि नयाँ जनवादका बिरुद्ध षडयन्त्र पनि शुरु भएको थियो । त्यसैले उहाँलाई बहुमतको आधारमा महासचिवको पदबाट हटाइयो । त्यो पारित कार्यक्रमलाई लागु गराउनेभन्दा त्यसलाई निष्कृय राख्ने र गलत ब्याख्या गर्ने दिशातिर पार्टी नेतृत्वको बहुमत अग्रसर भयो र सामन्ती ब्यवस्था बिरुद्ध उठ्दो अत्यन्तै महत्वको ऐतिहासिक किसान आन्दोलनलाई पनि त्यो नेतृत्वले ‘अप्रिय’ भन्ने संज्ञा दिएर आन्दोलनलाई कमजोर र निस्तेज तुल्याउने काम गरेको थियो । यसरी अहिले मात्र होइन हिजैदेखि नयाँ जनवादी क्रान्ति र कार्यक्रमका बिरुद्ध र त्यस आन्दोनलको मूख्य बाहक शक्ति किसान बर्गको सामन्ती ब्यवस्था बिरोधी आन्दोलनका बिरुद्ध षडयन्त्र पार्टी भित्रै शुरु भएको थियो । त्यसै क्रममा पार्टीको तेश्रो महाधिबेशन २०१९ सालसम्म आइपुग्दा त्यसले नयाँ जनवादको साटो ‘राष्ट्रिय प्रजातन्त्र’ नामको संशोधनबादी क्रार्यक्रम नै पारित गर्न पुग्यो र त्यसपछि त कम्युनिष्ट पार्टी नै समाप्त प्रायः र निष्कृय हुन पुग्यो । त्यो अबस्थालाई चिर्दै कमरेड पुष्पलाल सहीत नयाँ जनवादी क्रान्तिका पक्षधर पार्टी नेतृत्वका ६ जना कामरेडहरु मिलेर पुनः नयाँ जनवादी क्रान्तिको ब्यापक र बिस्तृत ब्याख्याकासाथ नेपाली क्रान्तिको  दस्तावेज निमार्ण गर्नु भयो र २०२५सालमा सम्पन्न गोरखपुर सम्मेलन(जसलाई तेश्रो ऐतिहासिक सम्मेलन पनि भनिन्छ)ले नेपाली क्रान्तिको मूलबाटो ‘नयाँ जनवाद’ पारित ग¥यो ।

        आज  नेपाल कम्युनिष्ट पार्टी ठीक त्यही कामरेड पुष्पलालले अघि सार्नु भएको नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गरेर नेपाली समाजको आमूल परिवर्तन गरी देशबाट सम्पूर्ण सामन्ती अबशेष तथा साम्रज्यबादी, भारतीय एकाधिकार पूँजीवादी प्रभूत्वबादी शोषण र उत्पीडनका बिरुद्ध  पुनर्र्सगठित भएको हो  । यस प्रकार सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवाद(जसले प्रभूत्ववाद र बिस्तारबादको चरित्र समेत लिएको छ) नै नेपाली समाजमाथि लादिएका शोषण र उत्पीडनका आजका समस्या हुन् र यी समस्याको सही निराकरण बिना नेपाली समाज आमूल र अग्रगामी परिवर्तनको सही दिशामा एक पाइला पनि  अघि बढ्न सक्तैन भन्ने आधारभूत र बस्तुगत यथार्थको आधारमा यो पार्टी पुनसंगठित भएर संघर्षशील छ । यस कार्यक्रमलाई आगामी दिनमा सामयिक र सिर्जनात्मकरुपमा अझ बिकसित एबं सम्बृद्ध तुल्याउन आवश्यक छ । कमरेड पुष्पलालले प्रस्तुत गर्नु भएको यो नयाँजनवादी कार्यक्रमलाई सही किसिमले र ब्यापकरुपमा बुझ्न उहाँले नै लेख्नु भएको भएको ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’, ‘नेपाल कम्युनिष्ट पार्टीको १८ बर्षको सिंहावलोकन’ तथा ‘दस्तावेजको अध्ययन कसरी गर्ने’ भन्ने जस्ता कृतिहरुको पनि सबै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले अध्ययन गर्नुपर्ने आवश्यकता छ । त्यसरी नै मात्र हामी नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पन्न गरिएका भ्रम र तिनको निराकरणका बारेमा अझ प्रष्ट हुन र आजका समस्यारुको सामना गर्न अझ बढी सक्षम हुनेछौं । अनि नेपाली क्रान्तिको कार्यभार नयाँ जनवादी क्रान्तिलाई पूरा गर्न सम्पूर्ण शोषित उत्पीडित जनसमुदायलाई गोलबन्द गर्न र क्रान्तिको मूलबाटोमा परिचालन गर्दै नेपाली समाजको यो अपरिहार्य कार्यभार सम्पन्न गर्न सक्षम हुनसक्ने बस्तुगत आधार पनि तयार हुनेछ । यो यथार्थलाई आज सच्चा क्रान्तिकारीहरुले बुझ्नु, आत्मसात गर्नु कार्यान्वयन गर्नु परेको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif