Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

यतीलाई प्रेम प्रस्ताव


२०७६ माघ २९ गते , बुधवार प्रकाशित

   

शशी श्रेष्ठ
 


मेरो यती,
तिमी यतैकतै छौ,
ट्राभल एजेन्सीहरुमा तिमी,
ब्रुअरी फ्याक्ट्रीहरुमा तिमी,
त्यो चिसो सोलुखुम्बुमा तिमी,
गोकर्ण रिसोर्टमा तिमी,
शिवपुरी डाँडामा तिमी,
हो, तिमी जताततै छौ।


 तिम्रो प्रगतिको पाइलाले
सगरमाथाको फेदी चुमिसक्यो
त्रिशुली र गण्डकी हुँदै
ओसनको यात्रामा
तिमी हिँडीसक्यौ
अरे वाह ! मेरो यती !
म तिम्री हुनुमा गर्व गर्छु
तिम्रो आँट र हिम्मतमा
सधैँ साथ र सहयोग दिनेछु।

    
हेर त प्रिय,
प्राकृतिक सुन्दरताले
तिमीसँगै मलाई पनि छोएछ ।
हामी इलामका चिया बगानमा 
डेटिङ जाऔँला,
त्यो बगानभित्र 
भ्यूटावर बनाउने मेरो सपना,
चारकोशे झाडीभित्र 
एउटा महल बनाउने
मेरो सानो इच्छा, 
पेरिस डाँडामा बसेर 
मञ्जुश्रीको चोभार
दृश्यपान गर्ने रहर,
त्यो पनि त तिमीले
अवश्य पुरा गर्नेछौ।

   
त्यसैले यती !
म तिमीसँग खुशी छु ।
मेरो भ्यालेन्टाइनको नाम
संसारभरी सुनाउन चाहन्छु।
नेपोलियनको लभलेटर तिमी नहेर,
इतिहासका प्रेम कहानीमा तिमी नडुब,
हामी त एक्काइसौं शताब्दीका युगल जोडी हौँ ।


तिमी  पैसाको प्रेममा,
 म तिम्रो प्रेममा,
पैसा र प्रेमको मिलनमा 
हामी एक अर्काको सहारा हुनेछौँ।
मेरो यो प्रस्ताव स्वीकार प्रिय !
तिमी पनि प्रेमी,  म पनि प्रेमी,
आऊ ! अब हामी 

एकअर्कालाई प्रेम गरौँ !
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif