Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

नयाँपाटी साकोसले गर्‍यो अर्धवार्षिक समीक्षा, गागलफेदीमा सेवा केन्द्र विस्तार गर्ने


२०७६ माघ २२ गते , बुधवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २०७६÷७७ का लागि लिएको लक्ष्य र हालसम्म भएको प्रगतिका विषयमा समीक्षा गर्न उक्त कार्यक्रम गरेको हो ।

संस्थाका विजयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको सञ्चालक समिति, उपसमिति, पूर्व सञ्चालक, सल्लाहकार समिति, संस्थापक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले यस आवको पौष मसान्तसम्म गरेको उपलब्धीका बारेमा जानकारी दिइएको थियो । 

संस्थाले यस आवका लागि लिएको सम्पूर्ण लक्ष्य ६ महिनासम्म आइपुग्दा उत्साहजनक रहेको र आवको समाप्तिभित्र लक्ष्यभन्दा बढि उपलब्धी हासिल गर्न सकिने संकेत देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

संस्थाले पहिलो ६ महिनामा शेयर पूँजी ८५ लाख ६८ हजार थप्ने लिएकोमा १ करोड १३ लाख ३९ हजार थप गर्न सफल भएको छ । त्यसैगरी बचत तर्फ ४ करोड ६९ लाखले वृद्धि गर्ने लक्ष्य राखेकोमा ८ करोड १५ लाख ४१ हजारले वृद्धि गरेको छ । त्यसैगरी ऋण लगानीतर्फ ५ करोड ४४ लाख ५९ हजारले वृद्धि गर्ने लक्ष्य राखेकोमा ६ करोड ८९ लाख १७ हजार वृद्धि गर्न सफल भएको संस्थाका सहायक व्यवस्थापक शिव मानन्धरले जानकारी दिए । 

संस्थाको पौष मसान्तसम्म शेयर पूँजी १० करोड २४ लाख ८५ हजार, बचत ६४ करोड ५३ लाख २६ हजार, ऋण लगानी ६५ करोड ५७ लाख ९९ हजार गरी कुल सम्पत्ति ८८ करोड ५५ लाख ४२ हजार पुगेको उनले बताए । 

संस्थाको संस्थागत पूँजीकोषमा ६ करोड ४६ लाख ८२ हजार रकम पुगेको छ । संस्थामा बाल बचतकर्ता, लघुवित्त समूह र शेयरसदस्य गरी ९ हजार ५९५ जना आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले आगामी फाल्गुन ३ गते कागेश्वरी मनोहरा न.पा. १, गागलफेदीमा सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरेको संस्थाले जनाएको छ । 

सेवा केन्द्र उद्घाटनका अवसर पारेर संस्थाले शेयर सदस्य बन्दा प्रवेश शुल्क ५० प्रतिशत छुट र एटिएम कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ । यो सुविधा ०७७ असार मसान्तसम्म दिइने संस्थाले जनाएको छ । 
गागलफेदीमा लघुवित्त समुह सक्रिय रहेको र त्यहाँको समुदायलाई समेत सहजरुपमा सेवा दिने उद्देश्यले सेवाकेन्द्र विस्तार गर्न लागिएको जनाइएको छ । संस्थाले यसअघि गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । 

कृषि तथा पशुपालन गर्न चाहनेलाई ९ देखि १३ प्रतिशत र प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई १० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने योजना संस्थाले ल्याएको छ । 




 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif