Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

बुडोल सामुदायिक साकोसको २१ औं वार्षिकोत्सवमा ३ सहकारी बीच एकिकरणको घोषणा


२०७६ माघ २१ गते , मंगलवार प्रकाशित

बुडोल सामुदायिक साकोसले आफ्नो २१ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । 

विगत २१ वर्षदेखि आफ्ना सदस्य एवं समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक स्तरोन्नतिका लागि अनवरत रुपमा लाग्दै आएको, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा विभिन्न पुरस्कार तथा सम्मानहरु प्राप्त गर्न सफल संस्थाले एशियाली ऋण महासंघ (आकु) बाट २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड, २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड र त्यसपछिका वर्षहरुमा अनवरत रुपमा ब्रोञ्ज ब्राण्ड प्राप्त गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामहरि के.सी. को सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । समारोहमा बुडोल सामुदायिक साकोसको रूपमा संचालन हुने गरी बुडोल सामुदायिक, जनमैत्री र चाँदनी साकोसबिच एकीकरण घोषणा समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडाललाई “बुसा सहकारी साधना सम्मान २०७६” प्रदान गरिएको थियो ।

सम्मानपछि छोटो मन्तव्य राख्दै बडालले सम्मान आफूलाई नभइ समग्र सहकारी अभियान, सहकारीका सबै अवयव र सहकारी क्षेत्रमा क्रियाशील सबै व्यक्तित्वहरुलाई गरिएको सम्मानको रुपमा लिएको बताए । २०४८ सालमा सहकारी ऐन बनाउँदाको प्रसंग स्मरण गर्दै नेपालको हालसम्मको सहकारी अभियान सन्तोषजनक नै रहेको तथापि भविष्यमा धेरै कामहरु भने गर्न बाँकी रहेको उनले औँल्याए । 

आफू काभ्रेकै सन्तान भएको र काभ्रे जिल्लाका उत्कृष्टमध्येको एक बन्न सफल बुडोल सामुदायिक साकोसबाट सम्मानित हुन पाउनु गौरवको विषय भएको भन्दै बुडोल सामुदायिक मुलुककै नमूना साकोस बन्न सकोस् भन्ने शुभकामना दिए । 



कार्यक्रमका प्रमुख अतिथि कँडेलले विश्वमै सबैभन्दा ठूलो सञ्जाल भएको क्षेत्र सहकारी भएको बताउँदै नेपालको सहकारी अभियानलाई विश्वले नै अनुकरणीय मानेको दृष्टान्त पेश गरे । सहकारी क्षेत्र राज्यको परिपूरक एवं सहयोगी भएको हुनाले राज्यले सहकारीमैत्री ऐन निर्माण गर्नुपर्ने उनले जोड दिए । सहकारीहरु अब एकीकरणमा जानुपर्ने र सहकारीको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यावरण हुनुपर्ने कुरामा जोड दिँदै सहकारीमैत्री वातावरण निर्माणको लागि महासंघको तर्फबाट आफूले पहल गर्ने आश्वासन उनले दिए । सहकारीले उत्पादनलाई विशेष महत्व दिनुका साथै शहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नको लागि सहकारीको भूमिका अह्म हुने भएकाले सोही अनुरुप लागिपर्न  उनले आग्रह समेत गरे ।  

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष दिपक पनेरू, अतिथिहरू प्रस्तावित बागमति प्रदेश संघका तदर्थ समितिका संयोजक उद्धव सापकोटा, जिल्ला बचत संघका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ र सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा आ.व.०७५।०७६ मा उत्कृष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयरखरीदकर्ता सदस्यहरू, उत्कृष्ट रक्तदाताहरू र आ.व.०७५।०७६ को संरक्षित पूँजी फिर्ता केषबाट अधिकतम रकम प्राप्त गर्ने २० सदस्यहरूलाई समेत कार्यक्रममा प्राप्त रकम सहित सम्मान गरिएको थियो । समारोहकै अवसर पारी संस्थाले बचत र ऋणमा योगदान गर्ने १४,५८४ सदस्यहरूलाई ४/४ प्रतिशतका दरले कुल रू.६९,०६,०३५।०० संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गरेको छ । 

समारोहमा बनेपा हेल्थ केयर प्रा.लि. को प्राविधिक सहयोगमा निःशुल्क सुगर तथा ब्लडप्रेसर जाँच शिविर सञ्चालन गरिएको थियो । शिविरबाट २२४ जना सदस्यहरुले रक्तचाप तथा १०३ जना सदस्यको सुगर परीक्षण गरिएको थियो । 

संस्थाका कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले संचालन गरेको कार्यक्रममा सचिव प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य र लेखा समिति संयोजक जयराम थापाले धन्यवाद ज्ञापन गरेका थिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif