Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

अमर शहीद गंगालालको ऐतिहासिक मार्मिक चिठी


२०७६ माघ १६ गते , विहीवार प्रकाशित


बा !     तपाईको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्तै सकिन, म सक्तिनँ । आज रातभर निन्द्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु, सम्झिनुपर्ने पाठ चै मैले बिर्सनै आँटेछु ।

         आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाईरहेका भोका अगणित भाइहरुको पहेला सुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । 


       अन्तसंस्करणबाट आगो रुमलिएर आयो । के के असैह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु, आफै सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनोस् । 
    तपाई मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईको आज्ञाले म पछि हट्न सक्तिन । म तपाईको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिन ।

   अब मेरो माया मारिदिनोस् । मेरा अरु भाईहरु छँदैछन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ ।   अत्याचार र अन्यायको विरुद्द लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु । बालक पुत्र गङ्गालालको दण्डवत सेवा ! 
 
 

(यो चिठ्ठी १९९७ सालमा सहीद गङ्गालाल पक्राउ भएपछि उनको घरमा खानतलासी भएर सिंहदरवारमा थुपारेको कागजबाट बालकृष्ण समले पाएका थिए) 
(सिद्धीचरण श्रेष्ठको जेल संस्मरणबाट साभार)    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif