Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

सिद्धान्तनिष्ठ क्रान्तिकारी योद्धा क.एकदेब आलेलाई शब्दाञ्जली !


२०७६ माघ ११ गते , शनिवार प्रकाशित


—लोकनारयण सुवेदी देश जनताको दुराबस्थामा परिबर्तन ल्याउन र उनीहरुको जीबनलाई समानतामा आधारित, सम्मानपूर्ण, समुन्नत र समृद्ध तुल्याउन निरन्तर निष्ठापूर्वक र निस्वार्थभावले लगनशील भएर आजीबन लाग्ने मानिसहरु बहुतै कम पाइन्छन् । त्यस्तै दु्र्लभ व्यक्तित्वमध्ये एक कर्मठ, अविचल, अथक तथा अबिश्रान्त शतत संघर्षशील ब्यक्तित्व थिए क.एकदेब आले ! जीवन र कर्मवाट देश र जनताले भोगिरहेका वर्गीय एवं सामाजिक भेदभाव,असमानता र पछौटेपनावाट मुक्ति, न्याय, प्रगति र समानताको मार्गमा लाग्न चाहने जो कसैले पनि क. आलेबाट धेरै मूल्यवान र व्यवहारिक कुरा सिक्न र प्रेरणा लिन सक्छन् । अनि आफ्नो जीवनलाई एउटा सार्थक तथा उदात्त वाटोमा समर्पण गर्न र मोड्न सक्छन् । वास्तवमा जनता र देशको निम्ति आफूले अवलम्वन गरेको सिद्धान्तमा अडिग रहदै उदेश्य प्राप्तिको निम्ति संगठन र संघर्षमा दत्तचित्त भएर कस्तै कठीन परिस्थितिमा पनि डटिरहने लोभलाग्दो व्यक्तित्वका पर्याय हुन् दिबंगत अग्रज योद्धा आले ।

  एक गरीव किसान परिवारको वर्गीय पृष्ठभूमिमा तनहुँ जिल्लाको मानौं गाउँमा जन्मेका क. आले सामन्ती शोषण र ऋणवाट मुक्त हुन अरु आफ्ना दौतरी नेपाली दाजुभाइहरु जस्तै तन्नेरी उमेरमा बृटिश गोर्खा सेनामा भरना हुन गए । दोश्रो विश्व युद्धको त्यो ताका उनी नाजी जर्मनी र फासिष्ट इटालीको सेनासँग धावा वोल्न पुगेका हुन् र अनि पक्रा परी युद्ध वन्दीकोरुपमा रहेका पनि हुन् । युद्धको समाप्ति पछि बेलायती सरकारले बृटिश गोर्खा सेनाको आवश्यकता देखेन र ‘काम चलुञ्जेल भाँडो, चल्न छोडेपछि ठाँडो’ भने झै विदा गर्यो । त्यसपछि अरु नेपाली बृटिश गोर्खा सिपाही जस्तै आले पनि स्वदेश फर्किए । त्यतिबेला बिदेशी सेनामा रहँदा उनमा आफ्नो देशको अवस्था र विभिन्न देशको विकास र प्रगति भएको देखेर वेग्लै अनुभव भइरहेको थियो । आफ्नो देशलाई पनि त्यस्तै समुन्नत कसरी वनाउने भन्ने छटपटी र हुटहुटी उनको मनमा पनि चल्न थालेको थियो । यस पृष्ठभूमिमा स्वदेश निर्माणको राष्ट्रिय भावनाकासाथ आफ्नो देश फर्केका आले देशमा चलिरहेको एकतन्त्री हुकुमी राणा शासन विरोधी आन्दोलनमा सकृय भएर होमिन पुगे । त्यहीनै उनको सकृय राजनीतिक जीबनको आरम्भ पनि भयो ।


त्यति वेला हाम्रो देशको समग्र विकासको वाधक वनेर रहेको एकतन्त्री जहाँनियाँ राणाशाही शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गर्नु पहिलो र सर्बोपरी अनिवार्य राष्ट्रिय आवश्यकता वनेको थियो । राणा शासनको अन्त्य गर्न शुरु भएको २००७ सालको सशस्त्र आन्दोलनलाई सहयोग पुर्याउन क.आलेले आफ्नै पहलमा मुक्ति सेना गठन गरेर भिडेका थिए । उनको सैनिक पृष्ठभूमीले गर्दा त्यस्तो सेना गठन गर्न आफ्नो अनुभवले उनलाई ठूलो मद्दत पुगेको थियो । तर क्रान्तिले पूर्णता नपाउदै विचैमा दिल्लीमा राणा, राजा र नेपाली काग्रेस बीच सुलह समझौता गराइएकोले त्यो क्रान्ति आधा अधुरो नै रहन गयो । क. आले लगायतका क्रान्तिकारी योद्धाहरुलाई त्यो सम्झौताप्रति पटक्कै चित्त वुझेको थिएन । मुक्ति सेनाका कयौं मानिसहरुले दिल्ली सम्झौताको विरोध गरेर संम्झौतापछि पनि हतियार नविसाएकोले उनीहरुलाई पक्राउ गरी थुनामा राखिएको थियो । त्यसरी पक्राउ परेर जेलमा थुनिए पछि त्यहाँ थुनिएका कम्युनिष्ट साथीहरुको सम्पर्क र विश्व कम्युनिष्ट आन्दोलनका रचनाहरुको अध्ययनवाट प्रभावित भएर क. आले नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भए र आजीवन अत्यन्तै निष्ठापूर्बक र सकृयताकासाथ कम्युनिष्ट आन्दोलनमा डटि रहे । उनलाई नेपाली कम्युनिष्ट आन्दोलनका सुत्रधार, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालले जेलवाट छुटेपछि कम्युनिष्ट पार्टीको सदस्यता दिइ तनहु जिल्लामा सम्पर्क राख्न पठाएका थिए । क. आलेको जन्म थलो पनि तनहू जिल्लाकै मानौं गाउ भएकाले तनहू जिल्ला पार्टी किसान फाट र्हेर्ने जिम्मेवारी पाए पछि क आलेले उत्साहकासाथ किसानहरुलाईृ सामन्ती शोषण, अन्याय र थिचोमिचोका विरुद्ध सङ्गठित गरी संर्षमा उतारेका थिए । वाझो र पर्ती जमिनमा सुकुम्वासीलाई वसाउने कामको पहिलो प्रारम्भ त्यतिवेला यसरी क. आलेले नै गरेको आन्दोलनको इतिहास रहेको छ । हुनत ‘कित जोत हलो कित छोड थलो, यदि होइन भने अव हुन्न भलो’ भनेर सामन्तशाहीलाई ललकार्ने भिमदत्त पन्त जस्ता योद्धा पनि त्यही कालखण्डमा पश्चिम नेपालमा कृयाशील भएका हुन । अनि पूर्बमा रामप्रसाद राईहरुले पनि त्यतिवेला सामन्ती व्यवस्थाको विरुद्धको संघर्षलाई सक्दो ऊर्जा प्रदान गरेका थिए । हुन पनि हाम्रो देशको राणा शासन बिरोधी आन्दालेनको इतिहासमा के आई सिहको ‘सिहदरवार काण्ड’ या ‘केआई सिंह काण्ड’ भन्ने जुन चर्चित काण्डको उल्लेख छ त्यो इतिहासका निर्माता अरु कोही नभएर क.एकदेव आले र रामप्रसाद राईहरु नै थिए । यसवारे जन आन्दोलनका इतिहासका अध्येताहरुले अरु थप अन्वेषण गर्नु र बाँकी रहेका यथार्थहरुलाई उजागर गर्नु अझै पनि आवश्यक छ ।

  निश्चय पनि जनता र देशप्रतिको कत्र्तब्य वोधले अुनप्राणित भएर आघि वढ्दै जाँदा गाउ घरको एउटा गरीव परिवारको मानिस एउटा हली,गोठालो र लाहुरेवाट पनि कसरी असल र क्रान्तिकारी राजनीतिक नेता बन्न सकिदो रहेछ भन्ने कुरा नै कामरेड आलेको संघर्षमय राजनीतिक जीवन यात्राको सार संक्षेप हो । राणा शासन बिरोधी आन्दोलन सम्झौतामा टुंगिएयताको एक दशकको अपेक्षाकृत खुल्ला बहुदलीय ब्यबस्थलाई पनि समाप्त पारेर राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनायकबादी पञ्चायती शासन नेपाली जनतामाथि लादिए पछि त्यस शाही सामन्ती ब्यवस्थाका बिरुद्ध क.आले २६ जनवरी १९६८ सम्म निरन्तर लड्दालड्दै क्यान्सरको रोगले भारत प्रवासमा असामयिक दुःखद निधन हुन पुगेको थियो ।


त्यतिवेला दिबंगत आलेको असामयिक दुःखद देहाबसान हुन गएकोमा कामरेड पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट श्रद्धाञ्जली प्रकट गर्दै त्यो पीडालाई यसरी व्यक्त गरेका थिए — ‘‘कामरेड आलेको निधन त्यतिवेला भयो जतिवेला उहाँको सवभन्दा वढी आवश्यकता थियो । उहाँको जीवन एक संघर्षमय जीवन रहेको छ । आफ्नो इलाकाको सामन्ती शोषणवाट वच्नका लागि उहाँले बृटिश गोरखा पल्टनामा भरना हुन वाध्य हुनु पर्यो । राणशाहीको विरोधमा उहाँले प्रजातन्त्रको निम्ति संर्घष गर्नु भयो । पार्टी भित्र संशोधनवाद,इलाकावाद,तटस्थवाद र राजावादी रुझानका विरुद्ध उहाँले निरन्तर संघर्ष चलाउनु भयो । आज क. आले हामीहरुका वीचमा हुनुहुन्न । तर जुन उदेश्यका निम्ति उहाले आफ्नो जीवनको न्यौछावर गर्नुभयो सो उदेश्य हम्रा समक्ष छ । पार्टीका निम्ति उहाँले आफ्नो स्वार्थ जसरी त्याग्न गर्नुभयो सो हमीहरुको समक्ष छ । देशका शोषित पीडितहरुलाई संगठित गर्न जसरी उहाँ तल्लिन हुनुहुन्थ्यो सोे हामीहरुको निम्ति अनुकरणीय छ । समाजवादको निम्ति उहाँको अटल विश्वास थियो त्यो सवैको निम्ति आदर्शस्वरुप छ । अन्तिम घडीमा पनि आफ्नो देशको माटोमा जनता र देशको निम्ति लड्दै मर्ने जुन इच्छा उहाँले व्यक्त गर्नु भयो त्यो हामी सवैलाई उहाँको आत्माको पुकारको रुपमा अनुकरणीय छ ।’’

हुन पनि देश र जनताका समस्यालाई सही किसिमले वुझने र त्यसको उपयुक्त समाधान खोज्ने दिशामा सिद्धान्तनिष्ठ किसिमले काममा निरन्तर लागिरहने कामेरड एकदेव आले जस्ता राजनीतिक व्यक्तित्वको आज मुलुकमा अत्यन्तै ठूलो अभाव र खडेरी छ । कम्युनिष्ट आन्दोलन विर्सजनवादी सत्तालोलुपता र निम्न पूजीवादी प्रबृत्तिले नराम्रोसँगग्रस्त छ । यस घडिमा कामरेड आलेलाई साच्चै सहीरुपमा सम्झना गर्ने हो भने आलेकै जस्तो उच्च विचार,नैतिकतायुक्त सरल व्यवहार र सादा जीवनको मार्ग अनुसरण गर्न र क्रान्तिलाई सही दिशा र गति दिन डटिरहन सक्नु र सिक्नु पर्दछ । नत्र कामरेड आले जस्ता असल तर सरल उच्च ब्यक्तित्वलाई भजाएर संकीर्ण राजनीतिक स्वार्थ साधना गरेको मात्र ठहरिने छ । आज मुलुकमा एकातिर बर्गीय शोषण र सामाजिक उत्पीडनका आन्तरिक समस्याहरु समाधान भएका छैनन् भने अर्कोतिर बाह्य शक्ति राष्ट्रहरुको षडयन्त्रपूर्ण गतिबिधि निम्त्याउने काम गरेर देशलाई पुनःद्वन्दको भुबरीमा धकेल्ने तारतम्य े देखिदै आएको छ । यस स्थितिबाट मोडेर मुलुकलाई सही बाटोमा लैजान क. एकदेब आलेजस्ता सहासी क्रान्तिकारी तथा ब्यबहारिक योद्धाको मुलुकलाई अत्यन्तै खाँचो खट्किएको छ । सामन्तबाद तथा साम्राज्यबादलाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रबाट समूल नष्ट नगरिएसम्म देशमा लोकतन्त्र फस्टाउन पाउदैन भन्ने प्रष्ट दृष्किोण लिएर काम गर्ने क. आले जस्ता नेताहरुको परिपूर्ति नहुदासम्म मुलुकमा लोकतन्त्र, शान्ति र प्रगतिको कुरा कुरैमा मात्र सीमित हुन जाने फेरि पनि अनुभवले प्रष्ट पारेको छ ।

  अहिले पनि बिभिन्न रुप र रंगका गणतन्त्रात्मक लोकतनत्र बिरोधी देशी बिदेशी शक्तिहरुले नै एक वा अर्को किसिमले फाइदा उठाइरहे छन् । सत्तामा उनीहरुकै बर्चश्व र हाली मुहाली चलिरहेको छ । आम जनता अर्थात् मजदुर, किसान, महिला, उत्पीडित जन समुदायका सबै तह र तप्काका बहुसँख्यक नेपाली श्रमजीबी जनता ‘ताबाबाट भुंग्रोमा’ परेजस्तै अबस्थाबाट गुज्रिनुपरिरहेको कुरा इतिहासले छर्लंङ्ग पारिसकेको पारिरहेको कुरा छ । त्यति मात्र होइन, लोकतन्त्रात्मक गणतन्त्र, स्वाधीनता, शान्ति र सम्बृद्धि माथिको खतरा अझ बढेको र समस्या जटील र पेचिलो बन्दै गएको आजको अबस्थाले झ प्रष्ट पारेको । यो पराधीनताको यो पासोबाट देश र जनतालाई बाहिर निकाल्न र जोगाउन यो स्थितिमा अग्रगामी आमूल परिवर्तन ल्याउने र जनता तथा राष्ट्रलाई सही दिशामा मोड्ने संयुक्त जन आन्दोलनको क्रान्तिकारी र अनुभवसिद्ध सही बाटोमा लगाउन र लाग्न सकेमा मात्र क्रान्तिकारी नेता एकदेब आलेको स्मरण गरेको सार्थक र सही ठहरिनेछ । यी नै भावनाकासाथ नेपाली जनताका संघर्षशील नेता कमरेड एकदेब आलेप्रति भावपूर्ण शब्दाञ्जली !

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif