Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

बचत होइन पूँजीको आधारमा लगानी गर्ने विषयमा बहुउद्देश्यीय सहकारी सहमत छन्


२०७६ माघ १० गते , शुक्रवार प्रकाशित

महाशंकर रेग्मी प्रबन्ध सञ्चालक, मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले यहि माघ ११ गतेबाट स्थापनाको नवौं वर्ष सफलतापूर्वक पूरा गरी दशौं वर्षमा  प्रवेश गर्दैछ । यस अवधिमा संस्थाले आफ्ना सूचकांकमा उल्लेख्य वृद्धि गर्न सकेको प्रबन्ध सञ्चालक महाशंकर रेग्मी बताउँछन् । हाल संस्थामा ११ हजार सदस्य आवद्ध रहेका छन् भने मुख्य कार्यालय सहित ५ स्थानबाट संस्थाले सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । साताव्यापी कार्यक्रमको आयोजना गरी संस्थाले स्थापना दिवस मनाइरहेको उनले बताए । बहुउद्देश्यीय संस्था भएकाले चाँडै नै प्रत्येक सेवा केन्द्रमा एउटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले जनाए । सहकारीको कारोबारमा थ्रेसहोल्ड अव्यवहारिक भएको भन्दै उनले यसलाई संशोधन गर्नुपर्ने बताए । नेतृत्वमा मतभिन्नताका कारण सहकारीमैत्री ऐन आउन नसकेको भन्दै उनले बहुउद्देश्यीय सहकारीले पूँजीलाई मात्र दिर्घकालिन क्षेत्रमा लगानी गर्न सक्ने बताए ।  सहकारीमार्फत समाजमा सिर्जनात्मक र रचनात्मक काम गर्न सकिन्छ भन्ने अभिप्रायले यस क्षेत्रमा प्रवेश गरेका रेग्मी सहकारी मुलुकको लागि अपरिहार्य रहेको धारणा राख्छन् । मेगा ड्रिमको समग्र अवस्था, सदस्यहरुलाई दिएका सेवासुविधा, बहुउद्देश्यीय सहकारीका समस्या र समसामयिक विषयमा केन्द्रित रहेर रेग्मीसँग नेपालपत्रन्यूजले गरेको कुराकानी:

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको ९ वर्षे यात्रालाई कसरी मुल्यांकन गर्नुहुन्छ ? 

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको नवौं वर्ष पूरा गरी यहि माघ ११ गतेबाट १० औं वर्षमा प्रवेश गर्दैछ । यस अवधिमा हामीले संस्थालाई ब्राण्डिङ गर्न सफल भएका छौं । ११ हजार सदस्य संस्थामा आवद्ध भएकमा छन् । हामीले स्थापना भएको छोटो अवधिमा नै आँकडामा ठूलो फड्को मार्न सफल भएका छौं । संस्थाले मुख्य कार्यालय बालाजु सहित कालिमाटी, न्यूरोड, चाबहिल र जोरपाटीबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । आ.व. २०७५÷७६ सम्म संस्थाको शेयरपूँजी १३ करोडको हाराहारीमा पुगेको छ । त्यसैगरी बचत ९४ करोड पुगेको छ भने ऋण लगानी १ अर्ब २० करोड पुगेको छ । नाफाको लागि जुन लक्ष्य निर्धारण गरेका थियौं, त्यो लक्ष्य प्राप्त गर्न सकेका छौं ।

यो अवधिमा संस्थाले के के गर्न सक्यो जस्तो लाग्छ ? 

पहिलो कुरा त संस्थाको आँकडामा वृद्धि गर्नु चुनौतीपूर्ण थियो । त्यसलाई वृद्धि गर्न हामी सफल भयौं । आजको दिनसम्म आइपुग्न संस्थाको पोर्टफोलियो अर्थात कूल वासलात १ अर्ब ५० करोड बनाउन सफल भएका छौं । यो हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धी हो । ९० जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । त्यसैगरी ११ हजार सदस्यमध्ये चार पाँच हजार सदस्यबीच ऋण परिचालन गरिएको छ । यसबाट सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासमा ठूलो टेवा मिलेको छ । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा संस्थाले उल्लेख्य भूमिका खेलेको छ । 

संस्थाले सदस्यहरुलाई के–कस्ता सुविधा दिँदै आएको छ ? 

हामीले बचतऋणको कारोबारसँगै सदस्यहरुलाई अतिरिक्त सेवा पनि दिँदै आएका छौं ।  प्रभु, आइएमई र सिटी एक्सप्रेस लगायतका केहि कम्पनीहरुसँग सहकार्य गरी रेमिटान्स सेवा दिँदै आएका छौं । सदस्यहरुलाई एटिएम सेवा उपलब्ध गराएका छौं । मोबाइल बैंकिङमार्फत सदस्यहरुले मोबाइल, एडिएसल, डिस होमको बील भुक्तानी, हवाई टिकट, ब्यालेन्स ट्रान्सफर र खातामा रहेको रकमको बारेमा जानकारी लिने जस्ता सुविधाहरु लिई राखेका छन् । हामीले प्रभु इन्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेर सब एजेन्टको रुपमा काम गरिराखेका छौं । हामीले बीमा बचत खाता सञ्चालनमा ल्याएका छौं । त्यसमार्फत सदस्यलाई सेवा दिइराखेका छौं । हामीले हरेक सदस्यको दुर्घटना बीमा गरिदिएका छौं । कर्मचारीको अनिवार्य बीमा गरिएको छ । संस्थाको साधारण सभा र वार्षिकोत्सवमा सदस्य सम्मान, बाल सदस्य सम्मान र वृद्धवृद्धा सम्मान जस्ता कार्यक्रम गर्दै आएका छौं । 

एटिएम प्रयोगमा ल्याउने थोरै संस्थामध्ये मेगाड्रिम पनि पर्छ, यसप्रति सदस्यहरुको आकर्षण कस्तो पाउनुभयो ? 

अहिले प्रविधिको जमाना हो । हामीले सहकारीलाई पनि प्रविधिमैत्री बनाउनुपर्छ भनेर नै एटिएमा सेवा शुरु गरेका हौं । हामीले कर्मचारीहरुलाई ट्याब उपलब्ध गराएका छौं । कुनै पनि सदस्यले आफ्नो कारोबारको सम्पूर्ण विवरण ट्याबमै हेर्न सक्छन् । सदस्यले ट्याब मार्फत रकम झिक्न र बचत गर्न सक्ने सुविधा दिएका छौं । जबसम्म संस्थालाई प्रविधिमैत्री बनाउन सक्दैनौं तबसम्म हामीले चाहेको उपलब्धी हासिल गर्न सक्दैनौं । हाम्रो प्रतिस्पर्धी सहकारी होइन । सहकारी सहकारीकै प्रतिस्पर्धी हुन सक्दैन । सहकारीको प्रतिस्पर्धा भनेको बैंकसँग हो । त्यसकारण हामीले एटिएम सेवालाई अपनाएर अगाडि बढेका हौं । सदस्यलाई एससिटी कार्ड उपलब्ध गराएका छौं । हामीले १ हजार कार्ड सदस्यलाई बाँडिसकेका छौं । सदस्यले एससिटी कार्ड प्रयोग गरे वापत वार्षिक २ सय ८० रुपैया लिन्छौं । 

सामाजिक उत्तरदायित्वलाई संस्थाले कसरी बहन गरिरहेको ? 

हामीले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात गरेर समुदायप्रतिको चासोलाई पनि त्यत्तिकै प्राथमिकतामा राखेर काम गरिराखेका छौं । राष्ट्रिय रुपमा पहिचान भएका व्यक्तिहरुलाई सम्मान तथा सहयोग गर्ने काम अगाडि बढाएका छौं । आर्थिक रुपमा कमजोर सदस्यलाई सहयोग गर्ने र गरिब एवं जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गर्दै आएका छौं । रक्तदान र सरसफाई जस्ता कार्यक्रम हरेक वर्ष गर्दै आएका छौं । समुदायसँग प्रत्यक्ष रुपमा सहभागि भएर यस्ता गतिविधिहरु निरन्तर सञ्चालन गर्छाैं । 

शेयर सदस्य, पूँजी र सेवा केन्द्र लगायतका हिसाबले मेगा ड्रिमले सहकारी अभियानमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ, भविष्यमा कस्तो संस्था बनाउने लक्ष्य छ ? 

हामीले संस्थाको ४ वर्षे रणनीतिक बनाउँदै छौं । सहकारी ऐन २०७४ मा आएको थ्रेसहोल्डलाई मनन् गरेर बहुउद्देश्यीय सहकारी भएकाले बचत ऋणमा मात्रै सीमित हुनुहुँदैन भनेर लागेका छौं । अन्य संघसंस्थासँग सहकार्य गरेर हामीले विगत देखि नै बहुउद्देश्यीय क्रियाकलाप गर्दै आएका छौं । छिटै हरेक सदस्य सेवा केन्द्रमा डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याउने तयारीमा छौं । हामीले एउटा विद्यालय सञ्चालन गरेका छौं । विगतमा कानुनसम्मत नभएकाले काम गर्न हामीलाई केहि गाह«ो भयो । शिक्षा ऐनले सहकारीमार्फत विद्यालय सञ्चालन गर्न रोकेको छ । अहिले हामीसँग भएका सदस्यहरुलाई सहभागि गराएर उक्त विद्यालयलाई यहि संस्था अन्तर्गत सञ्चालन गर्न लागि परेका छौं । शिक्षा र दैनिक उपभोग्य वस्तुलाई जोड्ने योजना हाम्रो छ । अहिले स्वास्थ्यको क्षेत्रमा हामीले त्यति सोचिराखेका छैनौं । आगामी योजनाहरुमा यसलाई पनि समेट्ने छौं । अहिलेको मुख्य योजना भनेको सदस्यहरुलाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने नै हो । र शिक्षालाई प्रत्यक्ष सदस्यसँग जोड्ने काम हामी गर्छौं । 

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई ७० र ३० को व्यवस्था गरेको छ, यो कत्तिको न्यायोचित छ ? 

नयाँ सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई ७० र ३० को थ्रेसहोल्ड लगाएको छ । यो व्यवहारिक छैन । यो व्यवस्था अनुसार पोर्टफोलियो मिलाएर काम गर्न सकिँदैन । बहुउद्देश्यीय सहकारीले कुनै न कुनै काम गर्नु पर्छ भनेर जिल्ला संघको अगुवाईमा प्रारम्भिक संस्थाहरुलाई समेत सहभागि गराएर एकदुई वटा परियोजना सञ्चालन गर्न हामी लागेका छौं । बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौले पनि परियोजनामा लगानी गर्छ र जिल्ला भर रहेका बहुउद्देश्यीय संस्थाले पनि आफ्नो पोर्टफोलियोको आधारमा लगानी गर्न सक्छन् । हामी पूँजीको आधारमा लगानी गर्ने विषयमा सहमत छौं । शेयर पूँजीको शतप्रतिशत नै कुनै क्षेत्रमा लगानी गर्नु प¥यो भने पनि हामी तयार छौं । यसका लागि संघले अगुवाई गर्छ र प्रत्येक संस्थाको जिम्मा हामी लिन्छौं । तर आज नै पोर्टफोलियोका आधारमा अहिले नै ७० प्रतिशत लगानी गर भनियो भने यसमा हाम्रो विमति छ । सदस्यको बचतलाई दीर्घकालिन क्षेत्रमा लगानी गर्न सम्भव छैन । संस्थागत पूँजीलाई मात्र हामी उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी गर्न सक्छौं । 

सदस्यको बचत कुनै परियोजनामा लगानी गर्छु भन्छ भने त्यो संस्था धराशायी हुन्छ । जब यो विषयमा जिल्ला संघ, केन्द्रिय संघ र महासंघ कन्भिन्स हुन्छन् तब यो बुँदा हटाउने वा सच्च्याउने भन्ने कुरामा दुईमत रहँदैन । यो विषयमा मन्त्रीज्यूको धारणा पनि सकारात्मक छ । त्यसको लागि राष्ट्रिय सहकारी महासंघले नेतृत्व गर्नुपर्छ । 

बचतऋण बाहेकका सहकारीले बचतऋणको कारोबार गर्नुहुँदैन भन्ने पनि सुनिन्छ नि ? 

त्यो गलत कुरा हो । जसले विशुद्ध बचत ऋणको कारोबार गरिराखेका छन् उनीहरुले बहुउद्देश्यीय लगायतका सहकारीले बचत ऋण गर्नु हुँदैन भनिराखेका छन् । हामी जुनसुकै संस्थाले पनि बचत ऋणको कारोबार गर्न पाउनुपर्छ भन्ने पक्षमा छौं । दुग्ध सहकारीका संस्थाले बचत गर्न कहाँ जाने? बचत गर्न फेरि अर्को बचत ऋण सहकारी खोज्ने ? त्यो असम्भव कुरा हो । यो विषयमा नेफ्स्कुनले फरक धारणा राखेको हुन सक्छ । तर अन्य प्रकृतिका संस्थाहरु बचत ऋणको कारोबारमा मात्रै सीमित हुनु भने हुँदैन । हामीले अन्य क्षेत्रमा लगानी गर्नै पर्छ । त्यसका लागि योजना तर्जुमा गर्नुपर्छ । आजको भोलि नै लगानी गर भनेर बाध्यकारी बनाउनु भने हुँदैन । 

उत्पादनशील र आयमूलक क्षेत्रमा सहकारीले लगानी गर्न सक्ने सम्भावना के छ ? 

मैले यस अघि पनि भनिसकेँ हामीले सहकारीको माध्यमबाट विद्यालय सञ्चालन गर्ने योजना बनायौं । तर शिक्षा ऐनले स्कुल सञ्चालन गर्न दिएन । यसको लागि लबिइङ गर्न सहकारी विभावमा गयौं । विभागले सहकारी ऐनमा भए अनुसारको मात्र काम गर्न सुझायो । ऐनमा बहुउद्देश्यीय सहकारीले स्कुल सञ्चालन गर्न पाउने भन्ने छ । तर शिक्षा ऐनले दिँदैन । यो विषयमा महासंघले पहल गर्नुप¥यो । सहकारी अभियानको शीर्ष निकाय महासंघ हो । प्रारम्भिक संस्थाहरुले पनि विभिन्न कार्यक्रहरुमा यो विषयमा आवाज उठाउँदै आएका छन् । यसको लागि महासंघको भूमिका महत्वपूर्ण हुन्छ । थुप्रै कानुनले हामीलाई काम गर्न बाधा पु¥याएको छ । ऐनले काम गर्न दिए हामी पनि तयार छौं । तर अन्य कानुनले काम गर्न रोकेको अवस्था छ । 

सहकारीमा राजनीतिक मतभेद र गुटगत स्वार्थले गर्दा सहकारी मैत्री कानुन आउन नसकेको हो ? 

हरेक व्यक्तिको कुनै न कुनै राजनीतिक दलप्रति आस्था हुन सक्छ ।  नेतृत्वमा विचार भिन्नता भएकै  कारण सहकारीमा समस्या आएको छ । यो कुरालाई हामीले स्वीकार्नै पर्छ । प्रारम्भिक संस्थाहरु उद्देश्य अनुसार काम गर्नुपर्छ र समुदायलाई माथि उठाउनुपर्छ भन्ने सोचमा छन् । तर नेतृत्वमा रहेका केहि व्यक्तिहरुको विचार भिन्नताका कारण समस्या पक्कै आएको छ । सहकारीमा समस्या आउन दिनुहुँदैन र त्यस विषयमा हामी सबैले खबरदारी गर्नुपर्छ । 

नेपालमा बचत तथा ऋण सहकारी मात्रै भए पुग्छ त ? 

त्यो असम्भव कुरा हो । बचत ऋणले मात्र मुलुकलाई पुग्दैन । सबै प्रकृतिका संस्था आवश्यक छ । प्रत्येक सहकारीले मुलुकलाई केहि न केहि, कतै न कतैबाट टेवा पु¥याईरहेका छन् । हिजोको तुलनामा नयाँ ऐन ७५ प्रतिशत सहकारीमैत्री छ । केहि बुँदाहरुमा संशोधन आवश्यक छ । यसका लागि हाम्रो आवाज मन्त्रालय र विभागसम्म पु¥याउनुपर्छ । 

सहकारी ऐन २०७४ र नियमावली २०७५मा भएका राम्रा कुराको कार्यान्वयन गर्नुभन्दा सहकारीलाई कस्ने कुरामा सम्बन्धित निकाय लागेको हो ? 

सहकारीका अग्रजहरुमा मत भिन्नताका कारण सहकारीमैत्री ऐन आउनुपर्ने थियो तर आएन । व्यक्ति विशेषको  लबिइङका कारण यो समस्या आएको हो । यस्तो हुनुहुँदैन भनेर हामीले आवाज उठाइरहेका छौं । नेफ्स्कुनले के भन्यो, बहुउद्देश्यीय सहकारी संघले के भन्यो भन्दा पनि महासंघको भनाई महत्वपूर्ण हुन्छ । सहकारीमैत्री ऐन कसरी बनाउन सकिन्छ भन्नेमा सोच्ने भनेको महासंघले नै हो । महासंघमा नयाँ नेतृत्व आएको छ, यो कुरालाई सम्बोधन गर्नुहुन्छ भन्ने अपेक्षा हामीले राखेका छौं ।

सहकारीमा संख्यात्मक वृद्धि बढि भयो, यसलाई घटाउनुपर्छ भन्ने आवाज पनि उठेको छ नि ?

जुनसुकै क्षेत्रमा थ्रेसहोल्ड लगाउनु राम्रो होइन । सहकारीको संख्या धेरै भएको छ । सानो भूगोल भएको ठाउँमा ३४ हजार सहकारी आवश्यक छैन । तर एकिकरणमा जाने भन्दैमा बाध्यकारी बनाउनु हुँदैन । एकिकरणमा जाने संस्थाहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ । अहिले स्वैच्छिक रुपमा धेरै संस्था एकिकरणमा गएका छन् । त्यसलाई थप सेवा सुविधा र प्रोत्साहन दिनै पर्छ । 

मुलुकको सहकारी अभियानको भविष्य कस्तो देख्नुहुन्छ ? 

मुलुकमा सहकारी अति आवश्यक छ । संविधानमा समेत ३ खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा सहकारीलाई राखिएको छ । एउटा जुत्तामा पालिस लगाउने व्यक्ति सहकारीको सदस्य हुन्छ । बैंकसम्म उसको पहुँच हुँदैन । जब ऊ सहकारीको सदस्य हुन्छ उसले आफ्नो आर्थिक अवस्था माथि उठाउन सहकारी बाट ऋण पाउँछ । यसबाट उसले आर्थिक स्तरमा सुधार ल्याउँछ । हुनेखाने र हुँदा खाने वर्गको पुलको काम सहकारीले गरिराखेको छ । सहकारीलाई शहरमुखी मात्र नबनाएर ग्रामीणमुखी बनाइयो भने सहकारीको भविष्य अत्यन्तै राम्रो छ । यसले समाज रुपान्तरणमा बलियो भूमिका खेल्न सक्छ । 

अन्त्यमा, 

हामी ९औं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गर्दैछौं । अहिले देश सहकारीमय बनेको छ । यसमा केहि ईंटा थप्ने काम मेगाड्रिमले गरेको छ । यो स्थानसम्म आइपुग्न सहयोग गर्ने शेयर सदस्य, सञ्चालक, कर्मचारी र शुभचिन्तकहरुलाई आधार प्रकट गर्न चाहन्छु र सदाझैं साथ सहयोगको अपेक्षा समेत गर्छु ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif