Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

मेरो होइन हाम्रो भन्ने भावना सहकारीकर्मीमा चाहिन्छ


२०७६ माघ ९ गते , विहीवार प्रकाशित

जगत कृष्ण श्रेष्ठ, प्रबन्ध सञ्चालक, 
बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि.

सूर्यविनायक नगरपालिका वडा नं २, बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित भएर सदस्यको आर्थिक, सामाजिक रुपान्तरणमा  क्रियाशील छ । २०६४ सालमा स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा आफ्नै भवनबाट सदस्यहरुलाई सेवा दिँदै आएको छ भने, संस्थाको कुल कारोबार ६४ करोड नाघेको छ । सदस्यहरुलाई दिएको सेवा र समुदायलाई प्राथमिकतामा राखेर कारोबार गरेकाले नै संस्थाले छोटो समयमा उल्लेख्य प्रगति गर्न सकेको प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठ बताउँछन् । सदस्यहरुको छनौटको संस्था बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको उनले जानकारी दिए । श्रेष्ठसँग सहकारीका विषयवस्तुमा गरिएको कुराकानीको संक्षेपमाः

बंगलामुखी साकोसको स्थापना बारे केहि बताइदिनुस् न ? 
२०६४ साल साउन १६ गते हामीले यो संस्था शुरु गरेका हौं । दश लाख रुपैयाँ शेयरपूँजीबाट संस्था शुरु गरिएको थियो । युवाहरुलाई बेरोजगारीबाट मुक्त गराउन आवश्यक सीप, पूँजी र परामर्श दिई रोजगारी दिलाउने उद्देश्यका साथ यो संस्था शुरु गरेका हौं । हामीले संस्था स्थापना गरेको पनि १२ वर्ष पूरा भइसकेको छ । यस अवधिमा हामीले धेरै प्रगति गरिसकेका छौं । शुरुको वर्षमा २ सय जना शेयर सदस्य थियौं । अहिले १ हजार सात सय शेयर सदस्य पुगेका छौं । असार मसान्तसम्म शेयरपूँजी ६ करोड २७ लाख, बचत ४६ करोड २९ लाख, ऋण लगानी ५१ करोड ६७ लाख र कोषहरुमा २ करोड गरी ५८ करोड कुल कारोबार भएको छ । अहिले संस्थाको शेयर पूँजी बढेर ८ करोड पुगेको छ । बचत संकलन र ऋण लगानीमा समेत यस अवधिमा उल्लेख्य वृद्धि भएको छ । मंसीर मसान्तसम्म ६४ करोड ५० लाखको वासलात पुगेको छ । सदस्यहरुले संस्थाप्रति गरेको विश्वास कै कारण हामीले यो प्रगति गर्न सकेका छौं । 
बचतऋणका साथै सदस्यहरुलाई के कस्ता सुविधा दिनुहुन्छ ?

हामीले सदस्यहरुलाई बचत गर्ने बानी सिकाएका छौं भने बचतको अलावा सदस्यहरुले, व्यापार, व्यवसाय, उद्यम गर्न चाहेमा सहज रुपमा ऋण सुविधा दिन्छौं । सयौं जना सदस्यले संस्थाबाट ऋण लिएर व्यवसाय गरिराखेका छन् । कृषि, पशुपालन, कुखुरापालन, घर निर्माण जस्ता क्षेत्रमा संस्थाले लगानी गरेको छ । कुनै न कुनै तरिकाबाट हामीले सदस्यको आर्थिक प्रगतिका लागि टेवा पु¥याई राखेका छौं । यो संस्था शुरु हुनुभन्दा अगाडि सदस्यहरुले वित्तीय सेवा लिन टाढा–टाढा जानुपथ्र्यो । नजिकै कुनै पनि वित्तीय कारोबार गर्ने संस्थाहरु थिएन । हामीले बचत र ऋणको कारोबार गर्ने बानी विकास ग¥यौं । जसको कारण आज धेरै सदस्यहरुले आफ्नो घर बनाएका छन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाइराखेका छन् । संस्थाले सहयोग गरेकै कारण उनीहरुले यो गर्न सकेका हुन् ।

कस्तो संस्था बनाउने परिकल्पना तपाईंहरुको छ ? 

भक्तपुरमा एक नमूना र ठूलो संस्था बनाउने हाम्रो योजना छ । सहकारी विभागले मर्ज नीति ल्याएको छ । सोही अनुसार हामीले मर्जको प्रक्रिया अगाडि बढाएका छौं । एकाध संस्थाहरुसँग हाम्रो वार्ता पनि भइराखेको छ । यस क्षेत्रका स्थानीयलाई बढिभन्दा बढि सेवा दिने योजनाकासाथ हामी अगाडि बढेका छौं । 

नयाँ  सहकारी ऐनले संस्था सञ्चालनमा कत्तिको सहजिकरण गरेको छ ?

नयाँ ऐनले हामीलाई खासै असर पु¥याएको छैन । स्थापनाकालदेखि नै सदस्यकेन्द्रित भएर कारोबार गर्नुपर्छ भन्ने मान्यताकासाथ हामी लागिरहेका छौं । हामीले यो संस्थालाई मेरो नभई हाम्रो संस्थाको रुपमा विकास गरेर लगेका छौं । हामीले सहकारीलाई ऐन, नियम र नियमावलीकै अधिनमा रहेर अगाडि बढाइराखेका छौं । नीतिनियमको परिधिमा बसेर हामीले कारोबार गरेका छौं । 

स्थानीय निकायमा सहकारी हस्तान्तरण पछिको अवस्था के छ ?

हाम्रो कार्यक्षेत्र सूर्य विनायक नगरपालिकाभर हो । यहि नगरपालिकाले हाम्रो निरीक्षण गर्छ । हामीले हरेक महिना संस्थाको रिपोर्ट नगरपालिकालाई बुझाउँदै आएका छौं र पालिकाले पनि राम्रो रेस्पोन्स गरेको छ । स्थानीय तहसँग मिलेर स्थानीय जनताको आर्थिक सामाजिक रुपान्तरण गर्न सहकारीले सक्छन् । यसका लागि नगरपालिकाले पनि उत्तिकै साथ दिनुपर्छ । यस नपामा १२६ वटा सहकारी छन् । यी संस्थाले राम्रो काम गर्न सके भने यहाँको बेरोजगारी हटाउने देखि लिएर कुनै नयाँ उद्योग, व्यवसाय नै सञ्चालन गर्न सकिन्छ । नगरपालिकाले यसका लागि पहल गरे हामी लगानी गर्न तयार छौं । यसले समाजमा राम्रो सन्देश पनि दिन्छ । 

सहकारी मुलुकको लागि आवश्यक हो ? 

३ खम्बे अर्थतन्त्रमा एक खम्बाको रुपमा सहकारीलाई लिएको छ । सोही अनुरुप सहकारीले पनि आफ्नो क्षेत्रबाट काम गरिराखेका छन् । सहकारी नभएको भए यति धेरै मानिस स्वरोजगार बन्न सक्दैन थिए । सहकारीले धेरैलाई रोजगारी दिएको छ । धेरै मानिसले उद्यम गर्न पाएका छन् । बैंकहरुले भन्दा पनि सहकारीकै कारणले देश विकास भएको छ । बिना झन्झट समुदायमा आधारित भएर सहकारीले सेवा प्रदान गरिराखेका छन् । समुदायका मानिससँग सहकारीहरु घुलेका हुनाले सजिलै सेवा दिन्छन् । केहि सहकारीले बद्मासी गरेका छन् । त्यो आफ्नो ठाउँमा छ । त्यसबाहेक सबै सहकारीले राम्रो काम गरेका छन् । ६५ लाख मानिस सहकारीमा आवद्ध छन् । सहकारी नभएको भए मानिसहरु रहनसहनदेखि उन्नति प्रगतिमा यति ठूलो फड्को मार्न सकिन्थ्यो  जस्तो मलाई लाग्दैन । सहकारीलाई अहिले अलि कडा नीतिनियम ल्याएर बाँध्न खोजिएको छ । सहकारीमा यति धेरै ऐननियम ल्याएर बाँध्न खोज्नु त्यति राम्रो होइन । समुदायमा आधारित संस्थाहरुलाई प्रोत्साहन दिनुपर्ने हो, तर त्यो भइराखेको छैन । राजनीतिक पहुँचवालाले मात्रा अनुदान र प्रोत्साहनका कुरा पाइराखेका छन् । सहकारीमार्फत धेरै काम गर्न सकिन्छ तर कतिपय अवस्थामा नीतिनियमका कारण केहि गाह«ो परिराखेको छ । 

सहकारीमार्फत बचतऋणको मात्रै कारोबार बढि भयो भनिन्छ नि ? 

हाम्रो उद्देश्य भनेको नै बचत लिने र ऋण दिने हो । सहकारी मन्त्रीले बचतऋणले पनि उद्योगधन्दा खोल्नु प¥यो भन्नुहुन्छ । तर हाम्रो उद्देश्यमा बचतऋण बाहेक अरु केहि गर्न पाईंदैन । बचतऋणले पनि स्कुल, डेरी, उद्योग सबै काम गर्न पाउने स्पष्ट नीति बनाइदिए हामी त्यो गर्न तयार छौं । हामीले सदस्यमार्फत ऋण लगानी गरेका छौं । उनीहरुले कुनै न कुनै काम गरिराखेका छन् । संस्था स्वयंले लगानी गर्ने हो भने ऐन संशोधन गर्नुपर्छ ।

तपाईंले सहकारी क्षेत्र नै  किन रोज्नु भयो ? 

पहिले मेरो कार्यक्षेत्र सहकारी थिएन । हामीले सुरुमा एउटा कोष खडा गरेर काम गर्दै आएका थियौं । पछि त्यसलाई नै सहकारीमा परिवर्तन ग¥यौं । सहकारीका माध्यमबाट अरुको आर्थिक अवस्था उकास्न सकिने रहेछ । आर्थिक रुपमा पछाडि परेका र केहि गर्ने जोश जाँगर भएका व्यक्तिहरुलाई ऋण लगानी गरेर आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यकासाथ म यस क्षेत्रमा लागेको हुँ । मेरो बुझाइमा सहकारी भनेको समुदायमा रहेका व्यक्तिहरुलाई सहयोग गर्ने रहेछ । कतिपय संस्थाले अरुको सेवा गर्ने भन्दा पनि आफ्नो मात्र हित खोजेको पाइन्छ । सहकारीमा भएको बचतलाई आफ्नो ठान्नेहरु धराशायी बनेका छन् । सदस्यहरुको पैसा लिएर सुरक्षित लगानीको माध्यमबाट उचित प्रतिफल दिन सक्नुपर्छ । हामी पारदर्शी भएर काम ग¥यौं भने सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छौं । 

सहकारी धेरैवटा छाता संगठन छन्, यिनीहरुले सहकारीको विकास र प्रवद्र्धनमा खेलेको भूमिकालाई कसरी लिन सकिन्छ ? 

प्रारम्भिक संस्थाहरुलाई कसरी सबल बनाउने भन्ने नै सबै संघको मुख्य ध्येय हो । शुरुमा संघ खोल्दा त्यहि सोच सबैमा हुन्छ । तर अहिले प्रत्येक संघहरु राजनीतिक ढैगले अगाडि बढेका छन् । पार्टीगत रुपमा संघको सञ्चालक छान्ने काम भइराखेको छ । त्यो गलत छ । संघमा जाने व्यक्तिहरुले कसरी सहकारीलाई बलिायो बनाउन सकिन्छ, के गर्दा सहकारीको हित हुन्छ, त्यो सोच्नुपर्ने हो । तर सोचको कमी छ । एउटै व्यक्ति १०औं वर्ष एउटै पदमा बस्ने र काम नगर्ने प्रवृत्तिका कारण सहकारी अभियान माथि उठ्न सकिराखेको छैन । पार्टी अध्यक्ष वा मन्त्रीको पावर बिना संघको अध्यक्ष, उपाध्यक्ष बन्न सकिँदैन । क्षमता र अनुभवको भन्दा पनि पहुँचको कुरा यहाँ छ । यहाँ आलोपालो र सहकार्यता भन्दा पनि पहुँचकै भरमा नेतृत्व चयन भइराखेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif