Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

धर्मनिरपेक्षताको अपब्याख्या र धर्म


२०७६ माघ ७ गते , मंगलवार प्रकाशित

  धर्मनिरपेक्षताको बहसलाई एकदमै संकीर्ण राजनीतिक स्वार्थका निमित्त गलत किसिमले चलाउँदा देश र जनतालाई भ्रमित पार्ने काम आज सर्बत्र भइरहेको छ ।  यसले आधुनिक लोकतान्त्रिक राज्य निर्माण गर्न पटक्कै  मद्दत गर्दैन । बरु सामन्ती राज्यका अवशेषलाई एक वा अर्को किसिमले कायम राख्न मात्र  मद्दत गर्दछ । यसले एकातिर धर्मको सारतत्व बुझ्नबाट बञ्चित गरिएका तर धर्मभीरु हुन अभ्यस्त पारिएका जनताका बीचमा अझ उग्र किसिमले परस्पर घृणा, सन्देह र अबिश्वास पैदा गराउँदछ र सहिष्णुताको अन्त्य गराउँदछ भने अर्कोतिर धर्मनिरपेक्षतालाई पनि गलत ब्याख्या गरेर यो धर्मान्तरण र अहिन्दूकरण हो भन्ने भ्रम सिर्जना गर्दछ । समाजमा एक पटक प्रगतिशील भूमिका खेलेको धर्मलाई शोषक बर्गले जनतालाई बिभाजन गर्ने र लडाउने माध्यम बनाए पछि यसको सान्दर्भिकता र उपादेयता हराउदै गएको र यो सामन्तबाद र साम्राज्यबादको सेवामा प्रयुक्त माध्यमकोरुपमा आज कायम रहन गएको छ । 
    त्यसैले कुनै पनि धर्मलाई आधुनिक लोकतान्त्रिक राज्यले काखी च्याप्नु हुदैन भन्ने मान्यता बिकसित भएको हो र यही नै धर्मनिरपेक्षताको मूल सारतत्व हो । राज्यले कुनै पनि धर्मको समर्थन या बिरोध गर्ने कुरा होइन ।  धर्मान्तरणसँग  त झन धर्मनिरपेक्षताको सपनाको साइनो पनि छैन र हुँदैन  ।  कुनै पनि धर्मले समाजिक उत्पीडन र बर्गीय शोषण  अन्त्य गरेको इतिहास छैन । बिश्वभरीको इतिहास हेर्दा धर्मको नाममा बिनाशकारी युद्ध थोपरिएका अनेक उदाहरणहरु पाइन्छन् । जसको परिणाम सामाजिक बिद्वेष र प्रतिशोधको भावना फैलाउने र थोपर्ने बाहेक अरु केही भएको देखिदैन । धर्मलाई जनता लडाउने माध्यम बनाउने काम गरिदा त्यसले अन्ततः जनतालाई नै सँधै कमजोर र निरीह तुल्याउने गरेको पनि हामीले देख्दै, सुन्दै आएका छौं । धर्मकै नाममा साम्राज्य फैलाउने काम पनि भएको बिर्सनै नसकिने इतिहास छ । अर्कोतिर धर्मकै आडमा मानिसलाई आफ्नै क्षमतामा आफ्नो भाग्य र भबिष्य निर्माण गर्ने र गर्नसक्ने कुराबाटच्यूत  र आत्मबिश्वासबिहीन तुल्याउँदै जे गर्छ पारलौकिक शक्तिले गर्दछ, जे भइरहेको छ त्यो त्यही पारलौकिक शक्तिका कारणले भइरहेको छ भन्ने बिभ्रम सिर्जना गरिदै आएको लामो श्रुंखला छ  । त्यसले शोषण, अन्याय, अत्याचार, असुरक्षा, ब्यभिचार, अराजकता जे भइरहेको छ त्यो सबै पारलौकिक शक्तिकै खेल हो अनि मानब समाजमा जे जति घटनाहरु हुन्छन् तिनको कारण मानिस होइन, यो संसार र चराचर जगत होइन, त्यही अलौकिक शक्ति हो, जे गर्छ उसैले गर्छ भन्ने खालका अन्ध मान्यता स्थापित गरेर फाइदा उठाउने गरिएको छ । धर्म नैतिक आचरण, सद्गुण, मर्यादा र सद्भावको बस्तुकोरुपमा मात्र स्वीकार गर्ने कुरामा सीमित छैन भन्ने यथार्थ यसरी प्रष्ट हुन्छ ।
    यी कुरालाई छलफलकै क्रममा राख्ने हो भने पनि अहिले धर्मनिरपक्षेता र सापेक्षताको कुरा उठाएर जसरी जनतालाई एकाबद्ध हुन नदिने प्रपञ्च रचिदैछ त्यो शोषक शासक बर्गको निहीत स्वार्थको उपज बाहेक अरु केही होइन । धर्म निरपेक्षताले कुनै पनि धर्मका मानिसलाई न धर्म परिवर्तको निमित्त उक्साउने, दबाव दिने वा प्रलोभन दिने काम नै गर्दछ । यसले जुनसुकै धर्मका जनता या जन समुदायलाई आ–आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्दछ । राज्यको कुनै धर्म हुँदैन, धर्म केवल नागरिकहरुको सरोकारको बिषय हो भन्ने मात्र यसको एक मात्र ठोस मान्यता हो । त्यसैले धर्मनिरपेक्षताले सबै धर्माबलम्बीहरु, मताबलम्बीहरुलाई समान किसिमले सम भाव राख भन्दछ । यो भन्दा कुनै अरु कुरा धर्मनिरपेक्षताको सरोकारको बिषय बन्नै सक्तैन र बन्नै हुँदैन ।
    दोश्रो कुरा राज्यको दैबी सिद्धान्तको मान्यताका बिपरीत सामाजिक अनुबन्धको सिद्धान्तमा यो धर्मको कुरा सम्बन्धित छ । अब राज्य, शासन, राजनीति यो कुनै दैबी कुरा नभएर मानबसँग प्रत्यक्ष गाँसिएको समाजिक कुरा हो भन्ने मान्यता यसले बिकसित गरेको र अघि सारेको हो । मानिसले नै मानिसका लागि राज्य, शासन, राजनीति चलाउने हो अरु कुनै बाह्य, अदृष्य र काल्पनिक शक्तिले होइन भन्ने कुरा हो यो । अनि शासन प्रशासन र राजनीतिमा मानिसलाई जबाफदेही तुल्याउने र यो गलत भए  मानिसले फेर्न बदल्न सक्छन्, शासन प्रशासन राज्य र राजनीतिक प्रणाली अभेद्य र अपरिबर्तनीय छन् भन्ने कुरा होइन भन्ने यसको आधारभूत कुरा हो । अर्थात् यो ‘सर्ब शक्तिमान इश्वर’ को कुरालाई भजाएर निरंकूश शासन सत्ता टिकाउने कुराका बिपरीत शासक, शासन सबै मानिसले चलाउने र बदल्न सकिने कुरा हुन् भन्ने मान्यता हो यो धर्मनिरपेक्षता । त्यसैले यो जनतान्त्रिक शासन पद्धतिको एउटा अपरिहार्य तत्व हो । सबै धर्म, समुदाय, आदि समान छन् र उनीहरुलाई धर्म, जात, लिङ्ग, बर्ण जस्ता कुनै कुराको आधारमा पनि भेदभाव गर्न पाइदैन र गर्नु हुँदैन भन्ने मान्यता हो । यसको अनर्थकारी अर्थ लगाएर नयाँ किसिमले जनतालाई बिभाजन गर्ने र परस्पर लडाउने कुटील चालबाट  जनतलाई जोगाउनु पर्दछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif