Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

अर्थ बहुउद्देश्यीयले १६ प्रतिशत लाभांश दिने


२०७६ माघ ५ गते , आईतवार प्रकाशित

अर्थ बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको हालै सम्पन्न दशौं वार्षिक साधारणसभाले सदस्यलाई १० प्रतिशत शेयर लाभांश र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष अरविन्द चन्द्र अमात्यको सभापतित्वमा सम्पन्न सभामा सहकारी विभागका उपरजिष्ट्रार शशिकुमार लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । 

अध्यक्ष अमात्यले नयाँ सहकारी ऐन २०७४ र नियमावलीले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई मुख्य कारोबारको आधारमा प्रतिशत तोकेकाले आफूहरुले यस वर्ष देखिनै बचत तथा ऋण कारोबार र अन्य कारोबारको अनुपातलाई मिलाएर लैजान शुरु गरेको बताए । सहकारी मूल्यमान्यतालाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा संस्था निरन्तर लागिरहेको र सदस्यहरुलाई गुणस्तरीय एवं भरपर्दो सेवा दिइ जिल्लाको एक अग्रणी तथा सुरक्षित संस्थाको रुपमा स्थापित गर्न सकेको उनले बताए । संस्थाले कृषि, यातायात, पर्यटन, स्वास्थ्य, शिक्षा, बीमा लगायतका क्षेत्रको अध्ययन गरी उचित प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी बढाउने उनले बताए ।

संस्थाले यस वर्षदेखि सदस्यहरुको जीवनरक्षाका लागि निर्जीवन तथा सामुहिक म्यादी जीवनबीमा सञ्चालन गर्ने उनले जानकारी दिए । त्यसैगरी सदस्यहरुको आवश्यकता र मागलाई ध्यानमा राखी सेवाकेन्द्र विस्तार गर्ने समेत उनले बताए । संस्थाले यस आ.व.मा सदस्यहरुलाई एटिएम तथा ई–बैंकिङ उपलब्ध गराउने, विप्रेषण सेवालाई विस्तार गर्ने, संस्थाको आफ्नै भवन खरिदका लागि कोष व्यवस्थालाई निरन्तरता दिने, स्वरोजगार कोष तथा अन्य संघसंस्थाबाट कर्जा लिइ कारोबार वृद्धि गर्ने जस्ता योजना रहेको उनले बताए । संस्थाले सदस्यको मृत्यु हुँदा आर्थिक राहत उपलब्ध गराउँदै आएको र सबै सदस्यहरुलाई अधिकतम शेयर खरिद गर्न समेत उनले आग्रह गरे । 
संस्थाले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म ९५ लाख ७८ हजार शेयरपूँजी, ६ करोड ६२ लाख बचत संकलन र ७ करोड ६२ लाख ऋण लगानी गरेको थियो । 
सभामा उपाध्यक्ष प्रकाशमान श्रेष्ठले स्वागत मन्तब्य, लेखा समिति संयोजक मिलन श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालक समिति सदस्य विक्रम श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । 
सभाले अरविन्दचन्द्र अमात्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif