Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

अर्ध–सामन्ती अबस्था


२०७६ माघ ४ गते , शनिवार प्रकाशित

  अहिले नेपाली समाज पूँजीबादी बनिसक्यो कि अर्ध सामन्ती  अबस्थाबाटै गुज्रिरहेको  छ भन्ने बहस चलिरहेको छ । पूँजीबादी क्रान्ति सम्पन्न भइसक्यो भन्नेहरुले सामन्तबाद समाप्त भएको र अब पूँजीबादबाट समाजबादतिर जाने हो भन्ने कुरा गरिरहेका छन् । अनि पूँजीबादी क्रान्तिले पूर्णता पाउन नसकेको र मूलतः नयाँ खालको पूँजीबादी जनबादी क्रान्ति सम्पन्न हुन बाँकी रहेको छ भन्नेहरुले देशको अर्थ–सामाजिक संरचना मूलतः अहिले पनि अर्ध–सामन्ती नै छ भनिरहेका छन् । तर तर्कपूर्ण, बस्तुगत र उचित बहस गरेर समाजलाई निकास दिने दिशा पक्रिने भन्दा पनि आ–आफ्नो अड्डी लिएर सामाजिक परिबर्तनको बाटोलाई कुण्ठित गर्ने गलत हिसाब किताब नै यतिबेला हाबी र प्रभावी रहेको देखिन्छ । 
    समाज बिकासको क्रममा सामन्तबादी उत्पादन सम्बन्ध त्यो भन्दा उच्च चरणको बिकासका लागि स्वयं बाधक बन्न जान्छ । त्यो बाधालाई हटाउन नै पूजीवादी शक्तिले सामन्तबादी शक्तिका बिरुद्ध क्रान्ति गर्ने र समानता, स्वतन्त्रता र भातृत्वको नारा दिने गरेको हो । तर पूँजीबाद आफ्नो बिकासको क्रममा साम्राज्यबादी चरणमा प्रवेश गरेपछि यसले पनि समाज बिकासको माथिल्लो चरणतिर जाने बाटोलाई आफै अबरुद्ध गर्ने र आधारभूतरुपमा यथास्थितिमै रहेर श्रमको अधिकतम शोषण र पूँजीको केन्द्रिकरण गर्ने बाटो लियो । आजको बिश्वको तस्बीर यही हो । त्यसैले हिजो पूँजीबादको बिकास गर्न बिकासको बाधक सामन्तबादका बिरुद्ध लड्ने पूँजीबाद अब सामन्तबादलाई आडधाप दिएर त्यसलाई कामय राख्ने र शोषणमा सामन्ती शक्तिलाई हिस्सेदार बनाएर प्रगतिशील बहुसँख्यक सामाजिक उत्पादक बर्ग र समुदायका बिरुद्ध खडा हुन पुग्यो ।
    यसरी आज सामन्तबादी र साम्राज्यबादी शक्तिको एउटा बिश्वब्यापी मोर्चा या किल्ला बन्न गएको छ । प्रगतिशील उत्पादक शक्तिका बिरुद्धको यो मोर्चा आज बिश्वब्यापी रुपमा देखिन्छ र खाशगरेर बिकासशील र बिकासोन्मुख देशहरुको सस्तो श्रम र सस्तो कच्चा पदार्थमा केन्द्रित भएर ती देशहरुको आँत सुक्ने गरी शोषण गर्ने र  त्यसका लागि युद्ध थोपर्ने,हस्तक्षेप गर्ने, दबाब दिने र तहसनसह पार्ने सम्मका काम गर्दै आएको छ । आजका क्षेत्रीय युद्धहरु, लादिएका असमान सन्धि सम्झौताहरु र हस्क्षेपका गतिबिधिहरुलाई यसै बस्तुगत आधारमा मात्र बुझ्न सकिन्छ ।   त्यसैले के निष्कर्श निस्कन्छ भने साम्राज्यबादका स्वार्थले गर्दा समेत अति कम बिकसित र बिकासशील देशहरुबाट सामन्तबादको अन्त्य हुन नसकेको स्थिति छ । अझ उल्टै सामन्तबादी शक्ति नब सामन्तबादी दलाल पूँजीबादी शक्तिको रुपमा परिबर्तन भएर सामाज्यबादी शक्तिको बृहत शोषणको सानो हिस्साको रुपमा खडा भएको छ । त्यसैले गर्दा आजका पिछडिएका देशहरु न सामन्तबादबाट न साम्राज्यबादी शोषण उत्पीडनबाट मुक्त हुन सकेका छन् न राष्ट्रिय रुपमा खडा हुन सकेका छन् । यस्तो अबस्थामा तिनै शक्तिसँग परोक्ष या पत्यक्षरुपमा सम्झौता गरेर आएका राजनीति परिर्बतले उपरी संरचनामा सतही राजनीतक परिवर्तन ल्याएको देखिए पनि अधारमा अर्थात् उत्पादन सम्बन्ध र उत्पान प्रणालीमा आमूल र आधारभूत परिवर्तन ल्याउन सकेका छ्रैनन् ।      नेपाल जस्ता बिकासोन्मुख देशहरुमा राजनीतिक परिवर्तन पछि पनि नयाँ आवरणमा पुरानै शक्तिहरु देखापर्नु र सत्तामा हाबी हुनुले जनता जिल्ल पर्ने गरेका छन् । यो नब सामन्त र दलाल पूँजीवादकै कारण उत्पन्न भएको स्थिति हो ।    बिश्व यसै दशकमा बिभिन्न किसिमका एकतन्त्री हुकुमी शासनबाट मुक्त भएका देशहरुको अर्थ–राजनीतिक–सामाजिक–साँस्कृति अबस्थालाई सर्सरी मात्र बिश्लेषण गर्दा पनि यस्तै निष्कर्श निस्कन्छ । जहाँ जहाँ पूँजीवादी क्रान्तिले पूर्णता पाउन सकेको छैन, राष्ट्रिय पूँजीको लगानी, पुनर्लगानी र पुनरुत्पादन हुने स्थिति बनेको छैन र बाह्य पूँजीले पनि राष्ट्रिय पूँजीलाई सहयोग पुग्ने स्थिति  बन्ने  देखिएको छैन । यस स्थितिबाट पार पाउन तथा स्वाधीनता कायम गर्न नयाँ जनबादी क्रान्तिको औचित्य र आवश्यकता अझ बढी आवश्यक र सान्दर्भिक बन्न गएको छ । जसको अभावमा बैज्ञानिक समाजबादमा प्रवेश गर्ने चरण नै बिकसित हुनै सक्तैन ।   हाम्रो अर्थतन्त्र पिछडिएको सामन्तबाद र कुण्ठित पूँजीवाद मिश्रित अर्थतन्त्र भएकोले यसलाई अर्ध–सामन्ती भनिएको हो । अहिले पनि कृषिमा हाम्रो अर्थतन्त्रको श्रमबार ६५ प्रतिशत छ र त्यसमा आश्रित परवारको संख्या समेतलाई जोड्ने हो भने ८२ प्रतिशत पुग्छ । यो तस्वीरलेनै प्रष्ट पार्दछ कि यसको ब्यवसायिकरण र यान्त्रिकरण हुन सकेको छैन । हाम्रो राष्ट्रिय श्रमको ऊर्जा कि खेर गएको कि पलायन भएको छ । अझ कृषिमा आधारित जनसंख्यानै सबैभन्दा बढी जातपात, छुवाछुत, अन्धबिश्वास, कुरीति, सामाजिक असमानता जस्ता सामान्ती मूल्य मान्यताबाट आक्रान्त भएकोले यो अर्थ–सामन्ती स्थितिमै छ । यसको अन्त्य हुनुपर्दछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif