Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

बहु आयामिक माघी थारु समुदायको खाश पर्ब


२०७६ पौष २९ गते , मंगलवार प्रकाशित

—लोकनारायण सुवेदी

माघी या मघिया जे नामले परिचय दिए पनि तराई तथा भित्री मधेशमा बसोबासा गर्ने आदिवासी थारु समुदायले मनाउने नयाँ बर्ष बिशेष पर्ब हो यो । यस पर्बलाई नेपालका सबै  थारू समुदायले र बिशेष गरेर पश्चिम नेपालका थारु समुदायले बडो धूमधामकासाथ प्रमुख चाडकोरुपमा मान्दछन् । वास्तवमा थारु समुदायको मौलिक संस्कृतिले भरीपूर्ण यो नै सबैभन्दा महत्वपूर्ण पर्ब हो र बृहदरुपमा यसलाई मनाइन्छ र लिइन्छ पनि ।    माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुष महिनाको अन्तिम दिन खासगरी नेपालको पश्चिमका थारु समुदायका घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ’जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमै झुण्डिएको प्रतीत हुन्छ । यो माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने यो विशेष ‘मघौटा’ नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यस स्नानलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन  छ । त्यसैले यस दिनलाई ’खिचरहवा’ भन्ने गरिन्छ । 


 यो माघी चाडमा बिशेष गरी आफ्ना–आफ्ना चेलीबेटीहरूलाई बिभिन्न उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला त्यही आफुले  उपहारस्वरुप पाएको निसराउ लिएर जान्छन् ।    यस पर्वको दिन बिहानै स्नान गरी तिलको आगो ताप्नाले वर्षभरीकै पाप पखालिन्छ भन्ने मान्यता र बिश्वास पनि थारू समुदायमा पाइन्छ । यस सम्बन्धमा खाशगरी दाङ–देउखुरीमा पर्ने धार्मिक स्थल ‘रिहार’ थारू समुदायको परम्परागत देवस्थलको रूपमा रहेको छ । त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन थारु समुदायका भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थालुहरू आउँने गर्दछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने पनि धार्मिक विश्वास रहिआएको छ । यसैगरी दाङ–देउखुरीकै गोबरडिहाको जङ्गल वा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरी जाग्राम बसी पूजाआजा गर्छन् । यसलाई ‘बाघनाथ बाबा कुट्टी’ भनिन्छ। त्यस्तै, दाङ–देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने पनि जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा ‘खौराबाबा’को नामले प्रख्यात छ । खौराबाबालाई शिवजीको अर्को रूपमा लिइन्छ ।


  माघी आशिर्बाद र शुभ कामना आदान प्रदान गर्ने दिन पनि हो । माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ। यसलाई ‘सेवाढोग वा सेवा सलाम लग्ना’ भनिन्छ। यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने पर्बको रूपमा पनि लिइन्छ।   यस पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब शुरू गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको पनि नवीकरण गरिन्छ ।



    माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्नेजस्ता कुराको छलफल हुन्छ । घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन्। जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, ’बहरिया’ (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ । भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा पनि गरिन्छ । जसलाई ‘घर फुटाइ’ भन्ने गरिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका भर–भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाउने चलन हुन्छ।   गाउँको विकास कसरी गर्ने भन्ने सवालमा पनि माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ’भुरा खेल(ख्याला)’ भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा आदि पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ। नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना समेत तोक्छ । बरघरको महत्वलाई दृष्टिगत गर्दै  केही वर्षयतादेखि जिल्ला बरघर समिति समेत गठन हुन थालेको छ। यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम यो माघीमा नै गर्ने गरिन्छ ।   हुन त विगतमा भने माघी थारूका लागि अभिशाप नै जस्तो सावित हुन्थ्यो । किनभने जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते यता कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा भने अझै पनि कायमै छ । कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले अझै पनि हालसम्म कम्लहरीको उचित ब्यवस्थापन  गर्न सकेको छैन। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने  केटीलाई कम्लहरी भनिन्थ्यो । यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्थ्यो । उनीहरुमध्ये कैयौंको यौन शोषण पनि हुने गरेको थियो ।


  यो माघी पर्व पहिला पहिला खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थिए । राजधानीमा बसोबास गर्ने थारूहरूले विगत केही वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका छन्। विशेष गरी सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहटका सबै क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको हो। माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । माघी पर्बको थारु समुदाय लगायत सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर सद्भाव,स्नेह, सम्मान र सौहाद्र्रताका एबं एकताबद्ध प्रगतिका लागि मंगलमय शुभकामना !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif