Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

बहुउद्देश्यीय सहकारीहरुलाई जैविक कृषि उत्पादनमा लाग्न सुझाव


२०७६ पौष २६ गते , शनिवार प्रकाशित

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले अहिले शुद्ध खाद्यान्न उत्पादन हुन छाडेकाले बहुउद्देश्यीय सहकारीहरु स्वस्थकर अर्गानिक कृषि उत्पादनमा लाग्नुपर्ने बताएका छन् । बहुउद्देश्यीय सहकारी संघ ललितपुरको सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै बाँस्कोटाले बहुउद्देश्यीयको उद्देश्य एक नभई अनेक हुने भएकाले कृषि र पर्यटनमा लाग्न सुझाव दिएका हुन् । 

किसानका नाममा करप्शन बढेकाले सहकारीले कृषिमा लगानी गरी सरकारलाई नै सकारात्मक सन्देश दिन सक्ने सम्भावना रहेको उनले बताए । विषादीयुक्त खानपान र अस्वस्थ बातावरणका कारण विभिन्न रोगव्याध बढेको भन्दै उनले जैविक उत्पादनको अभियान बहुउद्देश्यीय संघले चलाउन सुझाव दिए । 

सदस्यहरुलाई एकिकृत खेतीमा प्रोत्सादन दिइ उनीहरुद्वारा उत्पादित बस्तुको बजारीकरणमा संघले सहजिकरण गरे कृषिमा आत्मनिर्भर बन्न सकिने उनको धारणा थियो । 

त्यसैगरी राष्ट्रिय सहकारी महासंघकी नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीलाई उत्पादनमा लाग्न बाधा पुग्ने ४७ वटा विभिन्न कानुनहरु परिमार्जन नभएसम्म उत्पादनमा लाग्न कठिन हुने धारणा व्यक्त गरिन् । ती ऐनले उद्योग व्यवसाय गर्नका साथै सहकारी ट्रेडमार्क लिन व्यवधान गरेकाले आफूहरुले सबै ऐन संशोधनका लागि विभागीय मन्त्रीसँग पहल गरिरहेको उल्लेख गरिन् । 

सहकारीमा जबर्जस्ती एकिकरण नहुने भन्दै उनले विशेष कार्यविधि ल्याएर एकिकरण अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । जापान जस्तो मुलुकमा १४ हजारबाट एकिकरण भएर एक हजारमा सहकारीको संख्या झरेको उदाहरण दिँदै उनले नेपालमा आवश्यकता भन्दा बढि संस्था रहेको उल्लेख गरिन् । संघलाई उत्कृष्ट संघको रुपमा स्थापित गर्न सल्लाह दिँदै उनले महासंघको तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा महासंघका नवनिर्वाचित सञ्चालक राजेन्द्र पौड्यालले सहकारीमा सैद्धान्तिक र दार्शनिक कुरा असाध्यै राम्रो भएपनि व्यवहारमा त्यस्तो नहुँदा सहकारी अभियानले अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताए । नयाँ ऐन र नियमावलीले सबै संस्थालाई विकास गरी अगाडि बढाउन कठिन भएको भन्दै उनले आफूहरुसँग भिजन र मिसन भएपनि ऐनकै कारण काम गर्नबाट पछि हट्नु परेको जनाए । अहिलेकै ऐनले ५ हजार लगानी गर्न कठिन हुने भन्दै पौड्यालले ७० र ३० को प्रावधान अत्यन्तै अव्यवहारिक भएको बताए । 

संघका अध्यक्ष शरदकुमार महर्जनले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बहुउद्देश्यीय सहकारी संस्थाहरु संघको सञ्जालबाट बाहिर रहनु हुँदैन भन्ने अवधारणाबाट अगाडि बढेको र सबै संस्थाका लागि सधैं सदस्यता खुल्ला गरिएको बताए । संघका विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाहरुमार्फत सदस्य संस्थाहरुको संस्थागत विकास गरी दीगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम भएको उनले बताए । 

संघले सदस्य संस्थाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा समिट, अन्तरलगानी, गोष्ठी जस्ता गतिविधि गर्दै आएको महर्जनले बताए । सहकारी नियमावली २०७५ मा केहि जटिल व्यवस्था रहेको र सो व्यवस्थाले सहकारीको पूँजी पलायन हुन सक्ने सम्भावना रहेको हुँदा सहकारी ऐन संशोधन पश्चात् नियमावली समेत संशोधन गरी त्यसमा रहेका जटिलताहरुलाई व्यवस्थापन गर्न उनले माग गरे । सहकारी क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि स्थानीय र प्रदेश कानुनहरु सहकारीमैत्री हुनुपर्ने बताउँदै उनले त्यसका लागि संघहरुको भूमिका महत्वपूर्ण हुने जनाए । 

संघले यस आवमा पनि शिक्षा तथा तालिम कार्यक्रमलाई नियमित गर्ने, प्रविधिका माध्यमबाट सूचनाहरु आदानप्रदान गर्ने, सदस्य संख्या १३० पु¥याउने, सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि अध्ययन, तालिम र अवलोकन भ्रमण आयोजना गर्ने, जिल्लामा रहेका विषयगत संघहरु र अन्य निकायसँग सम्बन्ध स्थापित गरी सहकारी अभियानलाई निरन्तर रुपमा प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम रहेको उनले उल्लेख गरे ।

संघका कोषाध्यक्ष दिपेन्द्र दुलालले आर्थिक प्रतिवेदन पेश गर्दै गत आवको असार मसान्तसम्म शेयरपूँजी १८ लाख ६६ हजार, बचत ३ करोड ४३ लाख २३ हजार र कूल सम्पत्ति ३ करोड ७० लाख ३१ हजार पुगेको जानकारी दिए । 

सभामा कर्मचारी तर्फ सहायक प्रबन्धक प्रतिमा बञ्जारा, उत्कृष्ट कारोबार गर्ने संस्थातर्फ अभिवादन बहुउद्देश्यी सहकारी संस्था र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई सम्मान गरिएको थियो । 

सभामा महासंघमा नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष मल्ल र सञ्चालक पौड्याललाई समेत सम्मान गरिएको थियो ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif