Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

नजाओ युवा देश रित्तो हुँदैछ


२०७६ पौष २५ गते , शुक्रवार प्रकाशित

इन्द्रनारायण सुबेदी   
विदेशी नशाको बढेको छ चाह।
उतै हान्निए देश हाँक्ने अथाह।
महारोग झैँ यो यता फैलँदैछ।
नजाओ युवा देश रित्तो हुँदैछ ।१।


बनी दास अर्कै पराई घरैमा।
कतिञ्जेल टिक्छौ करैमा डरैमा।
बुझी त्यो दशा देश आफैं रुँदैछ।
नजाओ युवा देश रित्तो हुँदैछ।२।


सके गर्न मिल्छन् यतै रोजगार।
गरौं यत्न आफैं जुटी बार बार।
धराधाम स्वाधीन आफ्नै छँदैछ।
नजाओ युवा देश रित्तो हुँदैछ।३।


कला सभ्यता संस्कृति मेटिएला
हराए बिलाए कहाँ भेटिएला।
यही रोगले देश खोक्रो हुँदैछ।
नजाओ युवा देश रित्तो हुँदैछ।४।


छ सामर्थ्य तिम्रा दुबै पाखुरामा ।
उचाल्छौ तिमी देश यो टाकुरामा।
गरे हुन्न के स्वच्छ माटो छँदैछ।
नजाओ युवा देश रित्तो हुँदैछ।५।

गनी नोट सित्यैँ कहाँ मिल्नु हात।
पचाएर कैयौँ थरी बज्रपात।
कुनै बेचिने माल झैँ बिक्नुपर्छ।
नजाओ युवा देश रित्तो हुँदैछ ।६।


इलाम, चुुरेघाँटी     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif