Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

शुरुदेखि अन्त्यसम्म धानबाली किसानका समस्यै समस्या


२०७६ पौष ६ गते , आईतवार प्रकाशित

  यतिबेला नेपाली किसानलाई धानबाली भित्र्याउने चटारो छ । कार्तिक मंसीर महिना नेपाली किसानहरुले धानबाली भित्र्याउने महिना नै हो । असार साउनमा अधिकांशतः धान रोपाई गर्ने र यतिबेला यसरी धान काट्ने, चुटने र भित्र्याउने गरिन्छ । हाम्रो देश कृषि प्रधान भन्नु नै  अन्य बालीनाली — नगदेबाली, फलफूल खेती र यी सबैभन्दा मूख्य — धान खेती हो भन्दा अत्युक्ति हुँदैन । हुन पनि कृषि क्षेत्रबाट सकल राष्ट्रिय उत्पादन – जीडीपी – मा पनि धानबालीबाटै सबैभन्दा बढी योगदान हुने गरेको छ । यसैले धानबालीको नेपालमा कति ठूलो महत्व र आबश्यकता छ भन्ने कुरा छर्लङ्ग छ । 

  धानबालीको यति ठूलो महत्व भए पनि सरकारले धानबालीमा किसानलाई उत्साह प्रदान गर्ने कुनै प्रभावकारी ठोस नीति अघि सार्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने तिर ध्यान केन्द्रित गर्न सकेको छैन र गर्ने कुनै तत्परता पनि देखिएको छैन । फलतः धान  लगाउन शुरु गर्दादेखि बाली थन्क्याएर विक्री गर्दासम्म कतै पनि वास्तबिक किसानहरुले सन्तोष गर्न सकिने ठाउँ रहेकोे छैन । त्यसैले बालीनाली भित्र्याउँदा खुशी हुनुपर्ने  धान किसानहरू यतिबेला पनि प्राय सबै बर्षेनी असन्तुष्ट रहँदै आएका छन् ।

देशका मूख्य उत्पादक शक्ति किसान  यसरी पीडामा पर्नु र कृषि क्षेत्र अनाकर्षक बन्नुले हाम्रा खाद्यान्न बालीदेखि लिएर अरु सबै बालिनालीहरुको उत्पादनशीलता र उत्पादन घट्ने गरेको छ र कृषि प्रधान देश भएर पनि खाद्यान्न लगायत  प्राय सबै कृषि उपज, फलफूल, तकारी, दूध दुग्धजन्य पदार्थ तथा मासु समेत  आयात गर्नु परिरहेको छ । फलस्वरुप हामीले अर्बौ अर्ब रुपैयाँ  कृषिजन्य बस्तु आयातमा खर्च ब्यहोर्नु परेको स्थितिबाट देश गुज्रिरहेको छ । यस्तो स्थिति भए पनि  यतबिेला धान बाली भित्र्यादेखि व्यापारीको गोदामसम्म धान पु¥याउँदा किसानहरु खुशी देखिनुपर्नेमा उनीहरूको अनुहारमा खिन्नताको भाव झल्किन्छ । धानबालीको मात्र होइन कि किसानहरुले उनीहरुले उत्पादन गरेका हरेक बाली नालीको उचित र लाभकारी मूल्य पाउने गरेका छैनन् । चाहे त्यो धान लगायतको अन्न बाली होस्, चीया या उखु लगायतको नगदे बाली होस्, दूध होस्  या दुग्धजन्य अन्य पदार्थ होस्,  तरकारी होेस् या  फलफूल होस् सबैमा किसान र उपभोक्ता सधैं मारमा पर्ने र बिचौलियाहरु मालमाल हुने स्थिति कायम रहेको छ र यो कृषि उपजको मूल्यको  एक किसिमले घोषित या अघोषित रुपमा सेटिङ्गमा तय  हुने र किसान   र उपभोक्ता नराम्ररी मारमा पर्ने गर्दै आएका छन् । 

    मूलतः यहाँ धानालीको कुरा गर्दा सर्ब प्रथम धानको बीउको समस्याको कुरा आउँदछ । हाम्रो देशमा हावापनी र भू–धरातको असमानताले गर्दा असारदेखि भदौ महिनाको मध्यसम्म किसानले खेतमा धान रोप्छन्। धान रोपाई गर्नुभन्दा करिब महिनाअघि देखि उनीहरू बीउको खोजीमा हुन्छन् ।

  कतिपयले आफ्नै ढुकुटीमा धानको बीउ जोहो गरेका हुन्छन् भने कतिपय चाहिँ कृषि सामग्री संस्थान, कृषि सहकारी तथा कृषि ज्ञान केन्द्र त कतिपयले सीमा पारी भारततर्फ पनि उन्नत जातको बीउको खोजीमा जाने गर्छन् ।  यस क्रममा किसानहरुले कतिपय अवस्थामा उन्नत जातका भनिएकै धानको बीउमा पनि समस्या आउने गर्छ । यस पाली पनि त्यस्तो भयो र कतिपय ठाउँमा धान पसाएन र गेडा नलाग्ने स्थिति भयो । अहिले त्यसबाट ३० करोड जतिको नोक्सानी हुन पुगेको हिसाब किताब गरिएको छ ।


  यस  वर्ष  देशका विभिन्न स्थानमा विभिन्न सहकारी संस्थाद्वारा वितरित गरिमा जातको धानमा बाला नलागेर किसान मर्कामा परेका विवरणहरू सार्वजनिक भएका हुन् । अहिल नेपालमा रञ्जित, मन्सुली, बासमती, कालो नुनियालगायतका विभिन्न स्थानीय तथा उन्नत जातका धानको बीउहरु प्रचलनमा ल्याइएका छन् । तर उन्नत जात, उन्नत खेतीको तरीका, सन्तुलित मलखाद र बाली बिरुवाको उचित सुरक्षा अनि सिचाईको पर्याप्तता नहुनाले धानको उत्पादन अपेक्षित र आवश्यक मात्रामा हुन सकिरहेको छैन । बर्षेनी धान चामल आयात गर्ने त हाम्रो नियति र स्थाई चलनै बस्तै आएको छ । नेपालबाट अर्बौ रुपैया चामल खरिद गर्दा बाहिरिने गरेको तथ्यांक छ । 
  नेपालका  धानबाली विज्ञ डा. भोलामानसिंह बस्नेत – जसलाई म नेपालका धान गुरु भन्ने गर्दछु — ले औंल्याएका छन् कि   ठाउँ अनुसार धानको बीउ छनोट र गुणस्तरमा ध्यान दिन नसक्दा नेपालको धान उत्पादनमा ह्रास आउने गरेको छ । उनी थप भन्दछन् – “कुन धान कसरी, कुन स्थानमा लगाउने भनेर विज्ञले सुझाव दिनुपर्ने हो, तर हाम्रा विज्ञ किसानसम्म पुग्दै पुग्दैनन् ।’’ बास्तबमा नेपालका बालीनाली बिज्ञहरुको बिज्ञता त्यसै खेर जाने गरेको छ  । यसका अतिरिक्त धानबाली उत्पादनमा यो मात्रै बाधा रहेको छैन, अरु अनेक समस्याहरुले यो क्षेत्र आक्रान्त छ ।

  खेतीयोग्य जमिन भएर पनि सिँचाइको असुविधा धानबालीका उत्पादनमा ह«ास आउने  समस्याहरुमध्ये एउटा प्रमुख समस्या हो । तराईका कतिपय जिल्लाका किसानहरुले अनुकूल बर्ष हुँदा त राम्रैसँग धानबालीको उत्पादन लिन्छन् तर बर्षा समयमा भएन भने धानबालीबाट खानसम्म पनि नपुग्ने स्थिति बन्दछ । नेपालमा अहिले कूल खेतीयोग्य जमिन २६ लाख ४१ हजार हेक्टर छ । तर त्यसमध्ये त्यसमध्ये १७ लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा र्पुयाउन सकिने भए पनि अहिलेसम्म केवल १४ लाख ७० हजार हेक्टर जमिनमा मात्र सिचाई सुविधा पु¥याउन सकिएको सरकाको सिंचाई  विभाग जनाउँदछ । धानबाली बिज्ञ बस्नेतका अनुसार सिँचाइ सुविधा नपुगे धानबालीको उत्पादन सुध्रने अवस्था हुँदैन । यद्यपि बिज्ञ बस्नेतले सिँचाई नहुने र बर्खामा पानी जमेर डुवान हुने क्षेत्रमा पनि लगाउन र उत्पादन बढाउन सकिने धान बाली नेपालको अनुसन्धानबाट निस्केको र त्यसो गर्न सके अहिले उत्पादन भइरहेको धानबालीको तेब्बर बाली उत्पादन बढाउन  सकिने कुरा बारम्बार राख्दै आएका छन् ।
  प्रमुख खाद्यान्न धानबाली लगायत अरु पनि हाम्रा बालिनालीको अर्को प्रमुख समस्या उचित जनशक्ति अभाव हुनु पनि हो । हाम्रो देशको सबैजसो यूवा जनशक्ति कामको अभावमा बिदेशिन बाध्य हुन  थालेपछि गाउँघर बुढाखाडा, सुत्केरी महिला र साना केटाकेटी मात्र बाँकी रहेकाले यो समस्या उत्पन्न भएको हो । समयमा खेती लगाउन र त्यसको हेरचाह गर्ने जन शक्ति नभए पछि स्वतः उत्पादन घट्ने नै भयो । मुलुकमा अहिले स्थिति यस्तै छ ।
  हाम्रो पहाडका २२ जिल्लाको उत्पादन हुने खाद्यान्न खाशगरी धान बाली एउटै झापा जिल्लमा हुने गर्दछ । त्यही झापा जिल्लामा नै धानको सुपर जोन योजना पनि लागु भएको छ । तर ७० बर्ष नाघेका बुढाखाडाले धान खेती धान्न सक्ने स्थिति छैन, जसले गर्दा उब्जाउ भूमि झापाको पनि अधिकतम उपयोग हुन नसक्ने स्थिति  खडा भएको छ । पहिलाको जस्तो अर्मपर्म गरेर धान रोप्ने, थन्याउने स्थिति जन शक्तिको अभावमा  हुन सक्तैन । भारतबाट धान काट्न ज्यालादारीमा कामदारहरु मगाउँदा बढी लागत लाग्छ । तुरुन्तै नगद दिनु पर्ने स्थिति  हुन्छ । किसानको लागत बढ्छ । उत्पादन नबढेपछि त झनै किसानलाई कम आम्दानी हुने नै भयो । त्यसमाथि भारतमा कम लागतमा उत्पादन भएको धान नेपालमा बैध अबैधमरुपमा भित्रिएर नेपालमा सस्तोमा बिक्ने गरे पछि हाम्रा धान उत्पादक किसानहरु ठहरै हुने कुरा निश्चित नै हुन्छ । 

यस्तो यस्थितिमा यो बर्ष  धानको  उत्पादन घट्ने  प्रष्टै छ । समग्रमा यस पाली एक लाख मेट्रिक टन धान उत्पादन कम हुने बताइएको छ । यसको परिपूर्ति बाहिरबाट गर्दा अर्बौ रुपैया लाग्ने कुरा निश्चितै छ । एउटा कृषि प्रधान देशको यो हबिगत कम बिडम्बनापूर्ण दुःखलाग्दो कुरा होइन । किसानले एक त उत्पादन बढाउन सक्तैनन् र बढी हाले पनि उचित र लाभकारी मूल्य पाउन नसक्ने स्थिति यसरी बनिरहेको छ । 
  मलखादको अभाव

धानबाली उत्पादनमा कमी आउनुको अर्को महत्वपूर्ण समस्या समयमा सन्तुलित मल अभाव हुनु धानबालीमा लगाउन नसक्नु र नपाउनु हो । खेतमा रोपेको धान हुर्किँदै गएपछि त्यसलाई चाहिने पोषक तत्व जमिनबाट नपाउने स्थितमिा मल हाल्नुपर्ने कृषि विज्ञहरु बताउँछन् । तर जहिले पनि बालिनाली लाउने बेलामा हामीकहाँ मलको अभाव खडा गरिने गरिन्छ ।  यसरी बर्षेनी किसानले बालनीनाली लगाउने याममा या बालीलनालीमा मल दिनुपर्ने बेलमा मलको अभाव किसानले बर्षेनी झेल्नु परिरहेको छ । किसानहरुले मूख्य बाली लगाउने याममा पनि कृषि सामग्री संस्थान तथा विभिन्न कृषि सहकारीहरूमा लामो लाम लाग्दा पनि  मल नपाएको र मलको हाहाकार भएको  गुनासो बर्षेनी किसानहरुले गर्ने गर्छन् । हामीकहाँ मल कारखाना खोल्न सकिने पर्याप्त सम्भावना भए पनि र उत्पादन भएको गुणस्तरीय उन्नत मल निर्यात गर्न सकिने स्थिति रहे पनि मल कारखानले खपत गर्ने आबश्यक बिद्यूतको नियमित श्रोत नरहको स्थितिले त्यस्तो महत्वपूर्ण कारखान खुल्न पनि सकेको छैन । अनि सरकारले आयात गर्ने मलको स्थिति पनि समयमा नआउने भएकाले किसानहरुले जहिले पनि क्षति बेहोर्नु परिरहेको छ । किसानहरु भन्दछ् –समयमा सरकारले  रासायनिक मल उपलब्ध गराउन नसकेको पीडाको त कुरै नगरौँ। युरिया, डीएपी तथा पोटास पाउनै गाह्रो। अवैध रूपमा भारतबाट ल्याएको मल पनि प्रयोग गर्नुपर्छ । त्यो प्रायजसो गुणस्तरहीन र कमसल खालको हुन्छ ।
रोगको प्रकोप, धानबालीमा आगो

कुनै पनि बालीनाली  लगाए पछि किसानले सामान्यतया ती बालीमा रोग किरा नलागोस् भनेर कामना गरिरहेका हुन्छन् ।तर विभिन्न किसिमका रोग तथा किराको प्रकोपले धानबाली नष्ट गरिदिएका विवरणहरू आउने गरेका छन् । केही महिना अघि फौजी किराले धानबाली सखाप पारेको समाचार सञ्चार माध्यमहरुमा आएको थियो ।यसरी रोग तथा किराको निदान नहुँदा किसान चिन्तित बनिरहेका हुन्छन्। यसपालि पनि कतिपय ठाउँमा धानमा लाग्ने डडुवा रोगले धेरै किसानको बाली नष्ट गरिदिएको कुरा पनि प्रकाशमा आएको हो । यसबाट पीडित किसानहरुल धान उत्पादनका लागि प्रमुख जिल्ला मानिएको झापाको २ सय २५ बिघा जमिनमा लगाइएको धानबालीमा  आगो नै लगाइदिएको कुरा कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले नै बताएका हुन् । उनका अनुसार फड्के किराको प्रकोपका कारण किसानले धानबाली खेतमै आगो लगाएर नष्ट गरेका हुन्। किनभने त्यसले उत्पादन त नहुने नै भयो । त्यसमाथि त्यो किरा लागेको पराल समेत  गाईवस्तुले नखाने भएकाले किसानले खेतमै धानबालीमा आगो लगाई डढाएको हो ।
  लगानी नै नउठ्ने न्यून मूल्य किसानले मेहेनत गरे अनुरूप वस्तुको मूल्य नपाउने अवस्था नेपालमा नौलो होइन । तर जुन वस्तुको मूल्य सरकारले नै तोक्छ त्यही मूल्य पनि किसानले पाउँदैनन्। नेपाल अहिले देशभरका धान उत्पादक किसानको त्यही हालत छ ।   किसानको भकारीमा धान भए पनि त्यसको मूल्य न्यून छ। केही समयअघि मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि मोटा धानको प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसा न्यूनतम समर्थन मूल्य तोकेको थियो । तर त्यो मूल्यले पनि किसानलाई केही फाइदा नदिएको किसानहरुको गुनासो रहेको छ । ब्यापारीले भने केवल रु ७०० प्रतिमन(४० किलो) मूल्य दिने गर्दछन् । किसानले बाध्य भएर त्यही मूल्यमा आफ्नो मेहनतको कमाई बेच्नु परिरहेको अबस्था छ ।   धानबाली विज्ञ भोलामानसिंह बस्नेतका अनुसार धानको समर्थन मूल्य गलत समयमा तोकिएकाले किसान जहिले पनि ठगिन्छन्।उनले धानबाली लगाउन पूर्व नै न्यूनतम समर्थन तोकिनुपर्ने र किसानले लाभकारी मूल्य पाउनु पर्ने सुझाव दिने गरेका छन् । तर सरकारले समर्थन मूल्य तोकिदिए पछि त्यतिमै ब्यापारीले किनिदिने कुरा हुँदैन । सरकार पनि किन्न बाध्य छैन । कहिले भण्डारण गर्ने क्षमता नै नभएको भनेर पञ्छिने गर्दछ । रोग किरा लागेर धान मासिएको स्थितिमा क्षतिपूर्ति लिन पनि किसानलाई गाह«ो छ । यसरी नेपालको मूख्य बालीमै यी यावत समस्याले गर्दा  अन्न बालीको बिकल्प नहुँदा पनि किसानले उचित र आकर्ष मूल्य पाउने स्थिति नबनाइदा धानबालीको अधिकतम् उत्पादन बढ्ने र राष्ट्रिय आमदानी बढ्ने तथा किसानको गोजी पनि गरम हुने एउटा सन्तुलित र सन्तोषजनक स्थिति सिर्जना हुदैन । कृषिलाई उच्च प्राथमिकता दिएको भन्न नथाक्ने राज्य र सरकारले यो नीतिमा आमूल परिवर्तन गरेर किसान–मैत्री नीति बनाउन जरुरी छ । अन्यथा आयातमै देश आयातमै जन्मिने र आयतमै मर्ने बाहेक अरु केही नहुने कुरा निश्चित छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif