Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

मेरो देश र म


२०७६ मंसीर १७ गते , मंगलवार प्रकाशित


  शारदा सुवेदी  

बन्धक होइन मेरो देश
अनि दासी होइन म
तिम्रो भेष अनि लबजको
तिम्रो उत्पादन अनि व्यवहारको ।

अरूको हस्तक्षेप
मेरो स्वीकार होइन
अरूको हैकम
मेरो शिरोधार्य होइन
सम्यक् आत्मगौरवको
परिचय बोकेर
सगरमाथाको शिर
उचाल्ने मेरा पौरखी हातहरूले
मेरो देश अडाउन सक्छन्
काँडासङ्ग जुध्ने मेरा पाइलाहरूले
जलनका छापहरूलाई मेटाउन सक्छन् ।

 

स्वीकार्य छैन देशलाई
अरूको पराधीनता
त्यसैले यहाँ मेरो अखण्डता,
सार्वभौमसत्ता
अनि मेरो स्वाधीनता देश उठ्छ
यहाँ नासेर उदासीनता ।

मेरो राष्ट्रभक्तिमाथि
स्वीकार छैन ओझेल
त्यसैले यहाँ
सुरक्षा, व्यवस्था र मेरो आस्थामाथि
प्रहार गर्ने दुष्टहरूलाई
चिहानमा पुर्न तयार रहनुछ
हरपल न त छु म अन्यौलपूर्ण
न त छु म असहाय
जीवितै छ देशका लागि
अनन्त सम्वेदना
धैर्यता र संयमताले सिर्जिएको
मेरो सभ्यता हतियार उठाउँछौ
हेरेर आवश्यकता ।

अरूको इसारामा नाच्न स्वीकार छैन
देशलाई तिम्रो इसारा
अनि चाहना पुरा गर्नैपर्ने
मेरो बाध्यता नठान
मित्रताको हात बढाउनु
चापलुसी नठान
प्यारो छ हामीलाई
आफ्नो स्वाभिमान ।

मेरो स्वाधीनता
मेरो आत्माको गीत हो
मेरो देश मेरो चोखो प्रीत हो
अपुरो छु म मेरो देशविना
देशका लागि
आस्था, विश्वास र सुरक्षाको कवच हुँ म
देश रोएका आँसुहरूलाईमोती बनाई
चम्काउन अठोट गर्ने नेपाली हुँ म ।
( 'भोको पेट')

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif