Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

करुणा साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न


२०७६ मंसीर १६ गते , सोमवार प्रकाशित

करुणा बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

कार्यक्रमका विशिष्ट अतिथिमा सहकारी बैंकका सञ्चालक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं रहेका थिए । सभामा अध्यक्ष बास्तोलाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा यस आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 



आर्थिक, सामाजिक उन्नति सहितको रोजगारमूलक समाज निर्माण गर्ने उद्देश्यले २०६५ साल श्रावण महिनामा संस्था स्थापना भएको उनले बताए । ‘सहकारी पद्धति अपनाऔं, गरिबी र बेरोजगारी घटाऔं’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्था हरेक वर्ष लक्ष्यतर्फ उन्मुख भएको अध्यक्ष बास्तोलाले बताए । ६० जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हालसम्म आइपुग्दा १३२१ सदस्य पुगिसकेको र २०८० साल सम्ममा ५ हजार भन्दा बढि सदस्य पु¥याउने लक्ष्य रहेको सभामा उनले जानकारी दिए । 

सहकारी ऐन नियमको परिधिमा रहेर सदस्यको आवश्यकता र माग अनुसार सामुहिक जमानी व्यापार, उद्योग व्यवसाय र आयमूलक क्षेत्रमा संस्थाले सहज रुपमा कर्जा लगानी गर्दै आएको उनले बताए । संस्थाले गरेको लगानीबाट सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि हुँदै गएको उनले जनाए । संस्थाले सबै उमेर समुहका सदस्यहरुलाई लक्षित गरी क्रमिक, बाल, विशेष, उज्ज्वल भविष्य, आवधिक, नारी, ३६५ दिने, १८ महिने, ज्येष्ठ नागरिक र सुपर सेभिङ बचत खाता सञ्चालनमा ल्याएको छ । 

बेरोजगारी समस्यालाई केहि मात्रामा भए पनि न्यूनिकरण गरी यूवा जनशक्तिलाई रोजगारीमुखी अभियानमा सामेल गराउने उद्देश्य संस्थाले लिएको जनाइएको छ । देशको वर्तमान अवस्थामा अर्थतन्त्रलाई अघि बढाउन सहकारीको पनि महत्वूर्ण भूमिका रहने अध्यक्ष बास्तोलाले बताए । 

संस्थाकी कोषाध्यक्ष कमला बरालले सभामा आ. व. २०७५/७६ को आर्थिक प्रतिवेदन तथा २०७६/७७ को अनुमानित आयव्यय विवरण पेश गरेकी थिइन् । संस्थाको गत आवको अन्त्यसम्म शेयरपूँजी १ करोड ४२ लाख ५८ हजार, बचत १७ करोड ४७ लाख २३ हजार र ऋण लगानी १८ करोड ५३ लाख ३७ हजार गरी कुल कारोबार २२ करोड ३८ लाख ७३ हजार पु¥याएको उनले बताइन् । 



यस आ.व. २०७६/७७ मा शेयरपूँजी १ करोड ७५ लाख, बचत २१ करोड गरी कुल आम्दानी ३ करोड ४० लाख गर्ने लक्ष्य संस्थाको छ । 

संस्थाले यस आ.व.मा स्वरोजगार कोषद्वारा कर्जा लिई उत्पादन, कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्ने भएको छ । विभिन्न सहकारी संस्थाहरुसँग अन्तरक्र्रिया गरी एकिकरणलाई अगाडि बढाउने, एसएमएस प्रणालीलाई सहज बनाउने, ज्येष्ठ नागरिक खातामा आवद्ध सदस्यहरुलाई तीर्थाटन गराउने जस्ता कार्यक्रमहरु अघि सारेको छ । त्यसैगरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनका लागि उचित तालिमको व्यवस्थासहित कृषि तथा पशुपालनका साथै आयमूलक क्षेत्रमा लगाउने योजना अघि सारेको छ । 

हाल रहेको शेयर पूँजीमा ४० प्रतिशतले वृद्धि गर्ने, सेवालाई आधुनिकीकरण गर्दै लैजाने, सञ्चालक र कर्मचारीहरुलाई समयानुकूल तालिम दिने, सदस्यहरुको सामुहिक दुर्घटना बीमा गर्ने, होम बैंकिङ, टेलि बैंकिङ र चेकमार्फत सदस्यहरुलाई कारोबारको सुविधा प्रदान गर्ने र विभिन्न रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी सदस्यहरुलाई विप्रेषण सेवा उपलब्ध गराउने लगायतका योजना संस्थाको छ । 

सभामा ज्येष्ठ नागरिक, एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र उत्कृष्ट कर्मचारीलाई दोसल्ला, नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाले रक्तदान, स्वास्थ्यशिविर र जनचेतनामूलक कार्यक्रमहरु बेलाबेलामा गर्दै आयोजना गर्ने जनाएको छ । 
सभामा उपाध्यक्ष दिल बहादुर श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने सभाको सञ्चालन शान्ति सिँजाली मगरले गरेकी थिइन् । 

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif