Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

चिकित्सा शिक्षामा माफियागिरी अन्त्य गर्न निजी कलेजको राष्ट्रियकरण


२०७६ कार्तीक २२ गते , शुक्रवार प्रकाशित

मनिष भट्टराई
मेडिकल आन्दोलन अभियन्ता


यतिबेला तपाईंहरु के गर्दै हुनुहुन्छ ?

मुलुकमा रहेका नीजि मेडिकल कलेजभित्रका बेथिति विरुद्ध आन्दोलन गण्डकी मेडिकल कलेजबाट सर्वप्रथम एउटा आन्दोलनको अगुवाई हामीले गर्‍यौं । त्यसपछि यसले अहिले देशव्यापी रुप लिएको छ । विभिन्न मेडिकल कलेजहरुमा अतिरिक्त शुल्क फिर्ताका लागि आवाज बुलन्द पार्ने काम भएको छ । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले यसको शुरुवात गरेका थियौं । आन्दोलनले एउटा उचाई हासिल गर्‍यो । विभिन्न चरणमा वार्ता र सहमति भएपनि, शिक्षा मन्त्रालय र विश्वविद्यालयका सम्बन्धित निकायले ताकेता गरेपनि हाम्रो मुख्य माग कलेज प्रशासनले लिएको बढि शुल्क फिर्ता भएको छैन । आन्दोलनरत नै रहे पनि विद्यार्थी भएका नाताले हामीले छुटेको परिक्षा दिनुका साथसाथै पढाईलाई पनि कभर गर्नुपर्ने थियो । अब हामी यस आन्दोलनभित्र विगत देखि हालसम्म भएका गतिविधिलाई समीक्षा गर्दै बृहत् अन्तक्र्रिया, छलफल गरी अझ सशक्त आन्दोलन उठाउने तयारीमा हामी छौं । यो दुइतिहाइको सरकार, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयहरु, नेपाल मेडिकल काउन्सिल, विभिन्न विद्यार्थी संगठनले यसबीचमा खेलेका भूमिकालाई पनि हामी केलाउँदै छौं, गहिरोसँग मुल्यांकन गर्दैछौं । 

गण्डकी आन्दोलनको तपाईं सुत्राधार मानिनुहुन्छ, मेडिकल रिभोलुशनको एउटा बीउको रुपमा विद्यार्थीहरुले लिएपनि तपाईं नेपथ्यमै रहनुभयो नि, किन ? 

गण्डकी मेडिकल कजेल आन्दोलनको परिकल्पनाकारको रुपमा तपाईंले जसरी मलाई भन्नुभयो यो मेरा लागि गौरबको विषय हो । ह्वाईट एप्रोन रिभोलुशनको एउटा बीउको रुपमा लिनुमा पनि म गर्व नै गर्छु । यो सत्य पनि हो । जहाँसम्म पर्दा पछाडि रहेको विषयको कुरा छ, आन्दोलनलाई उठाउन हरेक मोर्चामा म क्रियाशील रहेको थिएँ, हरेक वार्ता, अन्तरक्रिया कार्यक्रममा मैले सक्रिय रुपमा सहभागिता जनाएको हुँ । आन्दोलन आम विद्यार्थीको हित माग उठाएर गरिएको थियो । यसको नेतृत्व गरिरहँदा हामी आफूलाई चिनाउन भन्दा पनि विद्यार्थीका जायज माग स्थापना गर्नतर्फ बल गरिरह्यौं । वास्तवमा त्यस्तो देखिएको मात्र हो ।

गण्डकी आन्दोलन मेडिकल शिक्षाभित्रको विकृतिहरुका विरुद्ध एउटा माइलस्टोन बनेपनि हालसम्म शुल्क फिर्ताको माग पूरा हुन सकेन नि ? 

हो शुल्क फिर्ता भएको छैन । गण्डकी मेडिकल कलेजको विषयमा एक महिनाभित्र शुल्क फिर्ता गर्ने भनेर तोकियो । शिक्षा मन्त्रालयमा भएका बैठकहरुले बारम्बार निर्देशन दिए पनि अहिलेसम्म शुल्क फिर्ता भएको छैन । हाम्रो माग जायज छ तर हामी सशंकित छौं । कतैबाट आन्दोल तुहाउन, विद्यार्थीको आक्रोश मत्थर पार्न मात्र ती निर्णय र निर्देशन भएका त होइनन् । हामी पर्ख र हेरको स्थितिमा छौं । चितवन मेडिकल कलेज लगायतमा पनि आन्दोलन उठ्यो । त्यहाँपनि महिना दिन भित्र शुल्क फिर्ता गर्ने कुरा उठ्यो । फिर्ता भएन । विद्यार्थीहरु आन्दोलन चाहँदैनन् । तोकिएको शुल्क तिरेर मेडिकल शिक्षा हासिल गर्न चाहन्छन् । त्यसैले शुल्क फिर्ता गर्ने बातावरण बनोस् भन्ने यसैगरी हामीलाई अल्मल्याउने मात्र, अनिर्णयको बन्दी बनाउने हो भने हामीले यस्ता गतिविधिको भण्डाफोर गर्दै पुनः जोडदार आन्दोलन उठाउँछौं । 

गण्डकी मेडिकल कलेजबाट विद्यार्थी आन्दोलन त उठ्यो तर यसले कुनै निष्कर्षमा पुर्‍याउन सकेन नि ? 

हो अहिलेसम्म हाम्रो आन्दोलनको मुख्य माग पूरा भएको छैन । विद्यार्थीहरु संयमित भएर सहमति कार्यान्वयनको बाटो हेरेर बसेका हुन् । त्यसको मतलब अब विद्यार्थी सेलाए, आन्दोलन नै तुहियो, कलेज सञ्चालकहरुले फेरि आफ्नै मनोमानि लाद्ने स्थिति बन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम मात्र हो । ह्वाइट् एप्रोन आन्दोलनले मेडिकल विषय अध्ययन गर्ने संयमित विद्यार्थीहरु, पढाई आफ्नो प्रमुख एजेण्ड हो आन्दोलन होइन भन्नेहरु आज आफूमाथि भएको अन्यायका विरुद्ध सडकमा उत्रेर विद्रोहको आवाज ओकल्न सक्ने भएका छन् । यो नै गण्डकी आन्दोलनले लिएको ठिक दिशा हो । हो निष्कर्षमा भने पुग्न बाँकी छ । जहाँसम्म माग पूरा नहुँदै आन्दोलन मत्थर भयो कि, यसभित्र कुनै बार्गेनिङ, लेनदेन पो भएको छ कि भन्ने तपाईंको आशय हो भने म आव्हान गर्छु सबै साथीहरुलाई ढुक्क हुनुस् आम विद्यार्थीको हित विपरित यो आन्दोलन कुनै पनि हालतमा टुंगिन एकदुईतीन दिइने छैन । आन्दोलनको एक चरण मात्र पार भएको हो । 


गण्डकी मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको आन्दोलन देशव्यापी कसरी बन्यो ? 

हो, आन्दोलन देशव्यापी बनेको छ । हिजोका दिनमा हामीभन्दा सिनियर विद्यार्थीहरु शुल्कमा ठगिएका भएपनि आवाज दबाएर बसेका थिए । आज आवाज प्रष्फुटित भएको मात्र होइन कलेज सञ्चालकले विभिन्न प्रकारका मानसित्र त्रास, दवाव दिँदा समेत गुण्डागर्दी र साँघातिक हमला हुँदा समेत डटेर लड्ने शक्ति बनेको छ । यसलाई हामीले उठान गरेको  आन्दोलनको उपलब्धी म मान्छु । व्यक्तिगत रुपमा मलाई यसले उर्जा प्रदान गरेको छ । तर जहाँ सत्तासँगको निकटता भएको आडभरमा नेशनल मेडिकल कलेजका संचालक बसिरुद्दीन अन्सारीले दिनदहाडै विद्यार्थीहरुमाथि गुण्डागर्दी गराएका छन् । यूनिभर्सल कलजेमा विद्यार्थीलाई बन्धक बनाउने जस्ता क्रियाकलाप भएका छन् । यसले मेडिकल शिक्षामा माफियाको हातमा रहेको भन्ने आम बुझाई सही देखिन्छ । जिल्ला प्रशासनकै रोहबरमा सम्झौता भएपनि ती कार्यान्वयन नहुने, विद्यार्थीहरुमाथि कलेज सञ्चालकको निर्देशनमा साँघातिक हमला जस्ता हर्कत हुँदापनि सुरक्षा निकायले केहि कदम नचाल्नुले मफियागिरीको प्रभावमा सुरक्षा निकाय, प्रशासन त छैन भन्ने गम्भीर शंका उत्पन्न भएको छ । 

के मेडिकल कलेजमा चलिरहेको आन्दोलनमा सत्तापक्ष र विपक्षमा विभाजित भएको हो ? 

आन्दोलन नै विभाजित भएको भने पक्कै होइन । म त्यो मान्दिन । आन्दोलन दुइटा फ्र्याक्सनमा गएको छैन । तर आन्दोलन उठिसकेपछि वार्तामा बसेर पटकपटक सम्झौता भए तर कार्यान्वयन भएन । हाम्रै गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा आन्दोलन पछि भएका सम्झौता कार्यान्वयनमा आएन । सरकारले त्यो लागु गराउन गम्भीरता देखाएन । त्यसले सरकारको रवैया प्रति स्वभाविक रुपमा आन्दोलनकारीले सरकार नै माफियाको चंगुलमा छ कि भन्ने आशंका गर्ने ठाउँ छँदैछ । विश्वास गर्ने बातावरण छैन । एकाथरी विद्यार्थी संगठनहरु पुराना समस्या समेत गाँसिएकाले सरकारले चाहेर पनि गर्न नसकेको जिकिर गरिरहेको तर त्यसलाई विश्वास गर्न सक्ने ठाउँ नभएकोले सत्ताधारी निकट विद्यार्थी संगठनप्रति स्वतः अविश्वास सिर्जना भएको छ । 


मेडिकल शिक्षामा के कस्ता सुधार गर्नुपर्ने तपाईहरुको माग हो ? 

आज एउटा न्यून वर्गका मजदुर किसानका छोराछोरीको त कुरै छाडौं मध्यम वर्गका परिवारले पनि चिकित्सा शिक्षा पढाउन सक्ने अवस्था छैन । सरकारले तोकेको शुल्कभन्दा बाहिर गएर एक करोड रुपैयासम्म रकम लिइएको छ । कमजोरभन्दा कमजोर आर्थिक अवस्था भएका परिवारका छोराछोरी बौद्धिक क्षमता भएर पनि मेडिकल शिक्षा पाउनुपर्छ । तर आज सरकारले तोकेको शुल्कमा नै पनि ९० प्रतिशत जनताले शिक्षा प्राप्त गर्न सक्ने स्थिति छैन । आजको दिन मेडिकल कलेजहरुले लिने एक करोड रुपैयाको हाराहारी रकम तिरेर चिकित्साशास्त्र पढ्न सक्ने हैसियतमा १ प्रतिशत जनसंख्या पनि छैन जस्तो लाग्छ । त्यसका लागि जग्गाजमीन धरौटी राखेर वा विक्री गरेर वा भ्रष्टाचारजन्य तरिकाले रकम आर्जन गर्न कतिपय अभिभावकहरु बाध्य हुनपरेको छ । सुशासनको कुरा यसमा जोडिएर आउँछ । तसर्थ सर्वसाधारणको पहुँचम मेडिकल शिक्षा हुनुप¥यो । सरकारी संयन्त्र, स्थानीय निकाय, कर्मचारी, राजनीतिक दल, विद्यार्थी संगठन सबैले यसका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्‍यो । 

निजी मेडिकल कलेजका सञ्चालकहरु सरकारी रेटमा पठनपाठन गराउन सक्दैनौं भनेर सरकारलाई तालाचाबी बुझाउँछौ भन्दैछन् नि ? 

निजी मेडिकल कलेजका एकदुईजना सञ्चालकले सरकारलाई धम्की दिने, घुक्र्याउने, शिक्षा मन्त्री नै हटाइदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएको पाइन्छ । त्यो सबै सुनेर लाचार बस्ने सरकार नै नालायकी हो भन्ने मलाई लाग्छ । मेडिकल कलेजहरु राष्ट्रियकरण गर्नु जरुरी छ । केहि वर्ष अघि शिक्षामा १८ प्रतिशत बजेट छुट्टयाइएको थियो । त्यो नै अपर्याप्त छ भनेर हामीले आवाज उठाइरहेका थियौं । अहिले त जम्मा ९ प्रतिशत बजेटमात्र शिक्षाका लागि छ । हाम्रो माग शिक्षामा २५ प्रतिशत बजेट छुट्टयाइनु पर्छ । शिक्षालाई प्राथमिकतामा राखिनु नै पर्छ । त्यसो भयो भने मेडिकल शिक्षामा मात्र होइन पूरै शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउन सक्छ । सरकारले मेडिकल कलेजहरु राष्ट्रियकरण गर्न सक्दैन भनेर हौवा मच्चाइएको छ । त्यो वास्तविकता होइन । ती कलेजहरु राष्ट्रियकरण गरिसकेपछि यी तमाम प्रकारका विकृति, मेडिकल मफियाका धाकधम्की र डरत्रासको अन्त्य भएर जान्छ । 

नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि कालु सिंह खत्रीले एक अन्तक्र्रिया कार्यक्रममा ऋण र चुक्ता पुँजीको आधारमा ६ अर्ब रुपैयामा हाल मुलुकमा सञ्चालन भइरहेका निजी मेडिकल कलेज राष्ट्रिकरण गर्न सकिने बताएका थिए । त्यो ६ अर्ब रुपैया नपुग भएर सरकारले राष्ट्रियकरण गर्न नसक्ने भन्ने प्रश्नै उठ्दैन । 

तपाईंहरुले भनेजस्तो थोरै शुल्कमा गुणस्तरीय मेडिकल शिक्षा सम्भव छ त ? 

कशुल्क धेरै–थोरै भन्दा पनि सम्पूर्ण निजी कलेजलाई राष्ट्रियकरण गरेर सरकारले मुलुकको आवश्यकता निर्धारण गरेर सोहि संख्यामा सम्पुर्ण विद्यार्थीहरुलाई छात्रवृत्तिमा मेडिकल शिक्षा दिनुपर्‍यो । त्यसो भएमा मेडिकल शिक्षामा मात्र गुणस्तर प्राप्त हुने होइन स्वास्थ्य क्षेत्रमा नै गुणस्तर निर्माण हुन सक्छ । अहिलेको शिक्षाले प्रत्यक्ष असर कहाँ पारिरहेको छ त भन्दा स्वास्थ्य सेवा दिनदिनै अस्वाभाविक रुपमा महँगो हुँदै गइरहेको छ । यदि कुनै व्यक्तिले ४२ लाख ४५ हजार वा करोडौँ रुपैया तिरेर शिक्षा लिन्छ भने उसले त्यो रकम उठाउनुपर्ने प्रेसर परिवार र समुदायबाट पाइरहेको हुन्छ । स्वाभाविक छ त्यो उसले विरामीहरुबाट उठाउन खोज्छ । आवश्यकता भन्दा बढि टेस्टहरु गर्न लगाउने, सेवामा लापरवाही हुने जस्ता घटना बढ्दै गएका छन् ।

मेडिकल शिक्षामा सुधारका लागि डा. गोविन्द केसी बारम्बार अनसनमा बसिरहनु भएको छ भने यता विद्यार्थीहरु स्वयं आन्दोलनमा होमिनु पर्ने, कस्तो अवस्था हो ? 

हो डा. केसीको अनसनले मेडिकल शिक्षाको क्षेत्रमा उपलब्धी प्राप्त भएकै हो । उहाँको अनसन पछि बनेको शुल्क निर्धारण कमिटिले शुल्क तोक्ने काम गर्‍यो । तर त्यो लागु भएन । तर डा. केसी एक्लैको आन्दोलनले नपुग्ने रहेछ । आन्दोलन त तिनले गर्नुपर्‍यो जो अन्यायमा परेका छन् । जो कि हामी विद्यार्थी । आफ्नो लागि हामी आफैं लड्ने वा अरु कसैले लडिदिए हुन्थ्यो भनेर बस्ने ? नीति त बन्यो तर कार्यान्वयन भएन । पीडित विद्यार्थी आफैंले आवाज बुलन्द नगरे कसले गर्ने । यो लडाईं हामी मेडिकल कलेज पढ्ने चारपाँच सय विद्यार्थीको मात्र होइन । यो तमाम नेपालीसँग जोडिएको लडाईं हो । त्यसैले डा. केसी एक्लैलाई मात्र यो जिम्मा दिने होइन । हामी सबै उठ्नुपर्छ । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

सरकारले निर्देशन दिन्छ, मन्त्रीमण्डलले निर्णय गर्छ । तर त्यसको कार्यान्वयन हुँदैन । त्यो टुलुटुलु हेरेर सरकार मौन बस्छ । कुनै एक्सनमा जाँदैन । राज्यका निकाय देखेनदेखे झैं गरेर बस्छन् । मिडियामा विद्यार्थीहरुबाट फलानाफलाना कलेजले यतियति शुल्क बढि लिएको भने तोकेरै सार्वजनिक हुँदाहुँदै सत्ता हलनचल बसेको छ । यसले स्पष्ट पार्छ मेडिकल माफियाको चंगुल माथिसम्म छ । उनीहरुको सिण्डिकेट, मफियागिरी माथिदेखि स्थानीय प्रशासनसम्म छ । त्यसविरुद्ध लड्नुको विकल्प छैन । विधिको शासन नमान्ने, नीतिनियम नमान्ने, सरकार भन्दा माथि आफू छौं भन्ने माफिया सञ्चालकहरुलाई कानुनी दायराभित्र ल्याएर तुरुन्तः कारवाही हुनुपर्छ । तिनीहरुको कलेज खारेज गर्नुपर्ने हो, मुद्धा दायर गर्नुपर्ने हो या अन्य कानुनी कारवाही गर्ने हो त्यो गर्नुप¥यो । विधिभन्दा बाहिर मनोमानि गर्न उनीहरुलाई उन्मुक्त छाड्न भएन । छाती खोलेर संघर्षको मैदानमा हामी उत्रिन तयार छौं । विद्यार्थी साथीहरुलाई अब फेरि एक पटक टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रन तयार बस्नुस् भन्न चाहन्छु । आम जनसमुदायमा मेरो अपील के छ भने यो आन्दोलनलाई मेडिकल विद्यार्थीको आन्दोलन त हो नि भनेर एक्लै नछाडिदिनुस् । यो ३ करोड नेपालीको भविष्यसँग गाँसिएको प्रश्न छ । यसलाई साथ समर्थन दिनुस् भनेर आव्हान गर्न चाहन्छु । 


 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif