Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

हस्तकला व्यापार मेला मङ्सिर दोश्रो साता


२०७६ कार्तीक २० गते , बुधवार प्रकाशित

काठमाडौं । सत्रौं हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म  हुने भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो । 

महासङ्घले आज एक पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । 

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका  युरोपका विभिन्न मुलुकमा २० भन्दा  बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । 

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्य, नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल, महासङ्घका उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले मेलाको बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

नेपाली हस्तकलाका वस्तुको आन्तरिक बजारमा करिब १० अर्बको खरिदविक्री भइरहेको छ भने सोही अनुपातमा भारत लगायत तेश्रो मुलुकहरुममा निर्यात हुँदै आएको महासंघले जनाएको छ । विश्वका २५ भन्दा बढि मुलुकमा निर्यात हुँदै आएको हस्तकलाजन्य वस्तुको प्रवद्र्धन गर्न सके व्यापार घाटा न्यनिकरण गर्न सहयोग पुग्ने महासंघले जनाएको छ । 





 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif