Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

बजारको रहस्यमय तिलस्मी जादु र दादागिरीको वास्तविकता


२०७६ कार्तीक २० गते , बुधवार प्रकाशित

—लोकनारायण सुबेदी


   बिश्वमा आज कसैको जमाना छ भने बजारको जमाना छ । वास्तवमा आज मानिसको पूरै अस्तित्व बजारको नियन्त्रणमा गइरहेको छ । जे बाँकी बचेको छ त्यो पनि चाडै नै बजारको परिधिमा धकेलिने खतरा बिद्यमान छ । कसले के खाने, कहाँ जाने, के पढ्ने, के हेर्ने, के सुन्ने सबै कुरामा आज यही बजारले पहरा दिइरहेको छ । बजारले नै यी सबै कुरा निर्धारण गर्दछ र आफ्नै हिसावले हाम्रा सामुमा पस्किने गर्दछ । हाम्रो स्वाद अर्थाता  हाम्रो जायका सबै आज बजारको इशारामा नाचिरहेका छन् । ज्ञान र कर्मका सम्पूर्ण इन्द्रियहरुमाथि आज बजारको नियन्त्रण बढ्दै गएको छ । सर्सरी माथिबाट हेर्दा त लाग्दछ कि बजारले स्वतन्त्रता दिन्छ, छनौट गर्ने छुट दिन्छ र मानिसलाई एक हदसम्म समर्थ भएको महसुश पनि गराउँदछ । यस्तो स्थितिमा मानिसले आफुलाई शक्तिशाली पनि ठान्न थाल्दछ । तर यो मानिसको मनको कोरा भ्रम मात्रै हो । किनभने यसको आधार मानिसको आफ्नो बुद्धि या बिवेक नभएर लोभलाग्दा बिज्ञापन हुने गर्दछन् । जसले एउटा नौलो यथार्थको बिकास गर्दछन् । अनि त्यो छ, आकर्षक र भरोसा दिने खालको जस्तो छलकारी यथार्थ !

  वास्तवमा आज बिज्ञापनले हामीलाई रचना गर्न थालेको छ र बिज्ञापनको डोरो ब्यापारीको हातमा छ जसको नजर केवल आफ्नो मुनाफामाथि केन्द्रित रहेको हुन्छ । आज नूनदेखि लिएर सुनसम्म, सियोदेखि लिएर बायुयानसम्म पनि सबै कुराको बिज्ञापन हुने गर्दछ । बजारको परिभाषामा बिज्ञापन एउटा न्यायोचित र अनिवार्य ब्यवहार हो र केवल ब्यापारी मात्रै होइन सामाजिक संस्थाहरु र सरकार समेत यसबाट अछुतो रहेका छैनन् । प्राय हरेक ब्यापारमा बिज्ञापनका लागि निक्कै ठूलो बजेट राखिएको हुन्छ । अनि बिज्ञापन बनाउनका लागि ठूल्ठूला प्रशिक्षित बिशेषज्ञ हुन्छन् । यी बिज्ञापनहरुले केवल सूचना मात्र दिदैनन् । तिनले (नक्कली) साक्ष पनि उपलब्ध गराउने गर्दछन् । अर्थात सबै अमुक चीज, अमुक अभिनेता, गायक, नर्तकया खेलाडीसँग जोडिएका हुन्छन् प्रायः  यी सबै बिज्ञापनहरु ! उनीहरु ती बस्तुहरु मन पराउँदछन् या ती बस्तुहरु उपयोग गर्ने कशम खान्छन र तिनलाई उपयोगमा ल्याउने सल्लाह दिन्छन् । दर्शकका लागि उनीहरुका आफ्ना मन परेका नायक नायिकाहरुले बोलेको कुराको निक्कै नै ठूलो महत्व हुन्छ र प्रभाव परेको हुन्छ । तिनको प्रतिष्ठासँग जोडिएका ती बिज्ञापित सामाग्रीहरुले यसरी ती यथार्थतः बास्तविक भएकोभन्दा नयाँ अर्थ पाउँदछन् । अनि यस्ता सामाग्रीहरुसँग आफुलाई जोड्न ग्राहक मग्न हुने गर्दछन् । स्पष्ट छ, यसरी आवश्यकताहरुको ब्यापार र सौदा हुने गर्दछ । बिज्ञापनले आवश्यकता बेच्दछ आवश्यक अनाबश्यक दुबै किसिमका आवश्यकताहरु ! अनि हामी यी अन्तहीन आवश्यकताहरु किन्दै जान्छौं । यसलाई सही ठहराउनका लागि सही गलत बिभिन्न किसिमका तर्क गढ्ने गरिन्छ । आवश्यकता कायम रहिरहोस्, कम नहोस् यसका लागि के बताइन्छ भने आवश्यकता बासी रहिरहेका छन् र यसो हुनु आधुनिक हुनेका लागि नोक्सानदायी हुन्छ । यस्तो बद्लिदो मन र मिजाजका लागि नयाँ जमानामा यदि कसैलाई कम आवश्यकता परेमा त्यसलाई गँवार या असभ्य भएको कल्की भिराइने गरिन्छ ।

  हुन पनि बजारले आफ्नो आवश्यकता अनुसार आवश्यकताहरु बेच्ने गर्दछ । त्यसका लागि बजारलाई खुल्ला छुट मिलेको छ । हामी आज बिज्ञापनको प्रखर र प्रबल छाया मुनि जीवन बिताइरहेका छौं । समाचार पत्रहरु, टेलिभिजन, सडक किनाराका होर्डिङ्ग बोर्ड, नियोट लाइटको सेतो दुधिया बल्ब आदि सबै एकजुट भएर बिज्ञापनको एउटा प्रभावकारी संरचना खडा गर्दछन्, जसको असरबाट सामान्य मानिसलाई आफ्नो चञ्चल मन सुरक्षित बचाएर राख्न धेरै ठूलो चुनौति बन्न जान्छ । साधारण मानिस यसरी फँस्छ र बेहिसाव किनमेल गर्दछ । यो किनमेललाई सजिलो बनाउनका लागि रुपिया होइन, त्यसकै प्रतिरुप प्लास्टिकको क्रेडिट कार्ड तयार छ । सर्सरी र्हेदा के लाग्दछ भने एक पैसा खर्च नगरी काम बडो सहज किसिमले भइरहेको छ । यो भ्रम केवल किनमेल बढाउनका लागि मात्र हो । वास्तविकता के हो भने मानिसहरु क्रेता भएर आफु स्वय बिकिरहेका छन् र कठिनाइहरु यत्तिका धेरै छन् कि मानिस यसबाट अभिशप्त भएर आत्महत्या गर्ने भावावेशमासम्म पुग्दछ ।


  यस बजारको तिलश्मी जादुको बृहत सन्दर्भमा हाम्रो देशको कुरा गर्ने हो भने त झन यो ब्यापारिक पूँजीवादको खोक्रो आडम्बरमा भरमार र भयावहरुपमा चलेको छ । औद्योगिकरण छैन, रोजगारी छैन, उत्पादन छैन । ती सबैका लागि चाहिने ऊर्जा छैन । तर पनि देश चलेको छ । बिदेशी सामान लदाबदी छ । हामी राष्ट्रबादको खोक्रो नारा लगाउन पटक पटक तम्सन्छौ । तर शीरदेखि पाउसम्म बिदेशी लत्ता कपडा, घडी, सिक्री लगाएका छौं । घरमा बिछ्याउने कार्पेट होस कि दुइ छाक भर्नुपर्ने पेट होस् सबै हामीलाई बिदेशबाट आउँछ । लाउने, खाने, बस्ने, उठ्ने, गुड्ने, उड्ने सबै कुरा हामी अन्तैबाट पाउँछौ र त्यसैमा रमाउछौं र अझ ’पिओर’ बिदेशी सामान भनेर बढो  गर्ब समेत गर्छौं । ब्यापार घाटा बिकराल छ, परनिर्भरता असीमित र ब्यापक छ । त्यसको असर सत्ता, राजनीति र्सबत्र ब्याप्त छ । तर पनि हामी गतिलै छौं भन्ने ठूलो भ्रम पालिरहेका छौं एउटा झूटो तामझाम खडा गरिरहेका छौ । यसरी हामीले बजार बढाइरहेका छौ । किनमेल हाम्रा हैसियत जाच्ने कसी भएको छ । यो ठूलो प्रतिष्ठा र सभ्यताको बिषय बस्तु बनेको छ । प्रतिस्पद्र्धा नै यसैका लागि चलिरहेको छ । चालढाल, बद्लिदो फेशन आदि सबै कुरा बजारले चलाइरहेको छ । जति बढी किनमेल उत्ति बढी सम्वन्ध बिस्तार अनि त्यसलाई कायम राख्ने कुरा । किनमेल यसरी हुन थालेको छ कि त्यो एउटा ब्यसन या दुब्र्यसन जस्तै बनेको छ । अनि जसले किनमेल गर्दछन् ती सन्तुष्ट त कम छन् तर जसले किनमेल गर्न सक्तैनन् तिनमा असन्तुष्टी अझ धेरै छ । तर यो बजारले भने दिनका दिन नयाँ नयाँ बस्तु प्रवेश गराएर तिनको कमी र अभाव जताउन र किन्न प्रेरित गर्न कुनै कसर बाँकी राख्दैन ।

  अनन्त किनमेलको यो क्रममा कच्चा माल प्राप्त गर्न नैसर्गिक पर्यावरण नष्ट पार्न पनि पछि नपर्ने, पर्याबरण सन्तुलन गुमाउने, उत्पादनमा बिषैला रसायनहरु प्रयोग गर्ने, यन्त्रहरुको सहायताले कम लागतमा झट्ट हेर्दा निक्कै आकर्ष चीजबीजहरु उत्पादन गर्ने जस्ता ती सबै धेरै नै ‘आवश्यक परेका चीजबीज’ बनाएर प्रस्तुत गर्ने एउटा ठूलो प्रपञ्च जस्तै भइरहेको छ । यस प्रकार एउटा निरन्तर यस्तो क्रम बन्दै र बढ्दै गएको  छ जसले मानिसलाई किनमेल गर्न बिवश बनाइदैछ । पूँजीबादको अगस्थी  लाभको लोभको अगाडि सबै सत्यहरु झूट बन्ने र हुने गरेका छन् । यसरी मानिस नै एउटा बस्तु बन्दै गइरहेको छ । यद्यपि बजारको बिन्यास र चरित्र बद्लिदै गएको छ । कुनैबेला बजार मेलाठेलाको उत्सव जस्तो हुने गर्दथ्यो तर अब बजार बिमानबीकरण(Dehumanization)को  बहाना बन्दै गइरहेको छ । यस अत्यन्तै कठिन घडीमा मानिसले के बुझन अत्यावश्यक छ भने बजार मानिसको लागि हो, मानिस बजारको लागि होइन । जीवन बाच्ने बिवेक भएन भने न यो धरा(पृथ्वी) बाच्ने छ, न मानिस नै । किनभने पृथ्वीको कोष असीमित र सधैका लागि सबैका लागि छेलोखेलो रहेको छैन । यो कटु यथार्थ हो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif