Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न नौ विद्यार्थी संगठनको माग


२०७६ कार्तीक १० गते , आईतवार प्रकाशित

नौ विद्यार्थी संगठनले सबै निजी मेडिकल कलेजहरु तत्काल राष्ट्रियकरण गर्न माग गरेका छन् । संयु्क्त विद्यार्थी संगठनले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपालको मेडिकल शिक्षाका समस्या र समाधान’ विषयक एक अन्तरक्रिया कार्यक्रममा  बोल्दै ती विद्यार्थी संगठनका प्रतिनिधिले निजी मेडिकल कलेजहरुको मनोमानी अन्त्य हुनुपर्ने बताए । सरकारले निर्धारित गरेभन्दा बढि मनपरी शुल्क उठाउने, लिएको अधिक शुल्क फिर्ता नगर्ने कलेज सञ्चालकहरुको गतिविधिका कारण विद्यार्थीहरु शोषणमा परेको उनीहरुको भनाई थियो ।  

कार्यक्रममा बोल्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सदस्य मना जिसीले मेडिकल शिक्षामा रहेको विकृति अन्त्य गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा पीडित विद्यार्थीले आफूहरुले तिरेको पैसा कहिले फिर्ता हुन्छ त भन्ने प्रश्नमा जिसी अनुत्तरित रहिन् । उनले नेशनल मेडिकल कलेज बिरगंजमा भएको घटनाका दोषीहरुलाई भने कारवाही गरिने जनाइन् ।

नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि कालुसिंह खत्रीले निजी मेडिकल कलेजहरुको राष्ट्रियकरणबाट मात्रै समस्या समधान हुन सक्ने भनाई राखे । निजी मेडिकल कलेजहरुको चुक्ता पूँजी र ऋण रकम बापत ६ अर्ब रुपैया भुक्तानी गरे सरकारले लिन सक्ने उनको भनाई थियो । 

कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री प्रेम जोशी, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी र अनेरास्ववियू पाचौंका अध्यक्ष घनश्याम मिश्रले आफ्ना धारणा राखेका थिए । 

विद्यार्थी संगठनहरुको तर्फबाट कार्यपत्र पेश गर्दै अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले समाजवादोन्मुख भनिएको संविधानको धार ३१ र ३५ ले समेत शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा ग्यारेन्टी गरेको तर मेडिकल शिक्षा जनसामान्यको पहुँचभन्दा धेरै टाढा रहेको उल्लेख गरे । यदि सरकारले लगानी गर्न नसके आम जनतालाई शेयर विक्री गरेर ती मेडिकल कलेज चलाउन सकिने मिश्रको सुझाव थियो । 

अधिक शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरु लामो समय देखि आन्दोलनमा रहेको तर तोकेभन्दा बढि शुल्क लिने कलेजहरुले शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयले दिएको निर्देशन समेत उल्लंघन गरेको कार्यपत्रमा उल्लेख छ । 

कार्यक्रममा आफ्नो धारणा राख्न प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको तर निजी मेडिकल कलेजका तर्फबाट कोही पनि उपस्थित नभएको मिश्रले जानकारी दिए । 

नेविसंघका पूर्व उपसभापति ऋषिकेष शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा पीडित विद्यार्थीहरु उपस्थित रहेका थिए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif