Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

छोटो समयमा सबल संस्थाको रुपमा स्थापित सहकाली साकोस


२०७६ कार्तीक ६ गते , बुधवार प्रकाशित

राधेश्याम खड्का, अध्यक्ष, सहकाली साकोस

‘समुन्नत भविष्यका लागि हाम्रो संयुक्त अभियान, सहकालीमा निरन्तर बचत हाम्रो दरिलो पहिचान’ भन्ने  ध्येयका साथ २०६४ साल असारमा स्थापना भएको सहकाली बचत तथा ऋण सहकारी संस्थाले हालसम्म आइपुग्दा सहकारी अभियानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।  शुरुमा २८ जना शेयर सदस्यबाट ६ लाख ३९ हजार रकम संकलन गरी शुरु भएको संस्थाले आ.व. २०७५/७६ को असार मसान्तसम्म ९ करोड ९१ लाख ३३ हजार शेयरपूजी पु¥याउन सफल भएको छ ।

त्यसैगरी संस्थामा ३ हजार ११५ जना सदस्य आवद्ध रहेका छन् । संस्थाले गत आवको असार मसान्तसम्म जगेडा कोषमा मात्रै १२ करोड ५० लाख ९५ हजार रकम जम्मा गरेको छ । यो संस्थाको बलियो पक्ष हो । त्यसैगरी संस्थाले सो अवधिमा १ अर्ब १० करोड ५८ लाख ४० हजार बचत संकलन गरी १ अर्ब ४० लाख ७८ हजार ऋण लगानी गरेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४८ करोड २० लाख ९१ हजार पुगेको छ । संस्थाले गत आवमा ४ करोड ३९ लाख ४८ हजार नाफा आर्जन गरेको छ भने ४९ लाख २८ हजार आयकर व्यवस्था गरेको छ । 

संस्थाले केहि समय अघि आफ्नो १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राधेश्याम खड्काले मुलुकको आर्थिक तथा सामाजिक समृद्धि र गरिबी न्यूनिकरणका लागि सहकारीको अपरिहार्यतालाई मध्येनजर गर्दै मोफसलमा छरिएर रहेको पूँजीलाई एकै ठाउँमा एकिकृत गरी त्यही एकिकृत पूँजीलाई समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक समुन्नतिका लागि लगानी गरी उच्च प्रतिफल प्रदान गर्ने पवित्र अभिप्रायले २०६४ सालमा संस्था स्थापना गरिएको बताए । 

शेयरपूँजी, जगेडा कोष, बचत संकलन र कूल सम्पत्तिका हिसाबले हालसम्म आइपुग्दा सहकारी अभियानमा एउटा सबल संस्थाको रुपमा स्थापित हुन सकेको अध्यक्ष खड्काको भनाई छ । सदस्यहरुको सक्रिय सहभागिता र विश्वास कै कारण संस्थाले यो सफलता हात पार्न सकेको उनले बताए । संस्थाले दक्ष तथा अनुभवी कर्मचारीबाट सदस्यहरुलाई छिटोछरितो र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै आएको छ । हाल संस्थामा १५ जना कर्मचारी कार्यरत छन् । 

सदस्यको आवश्यकतालाई मध्यनजर गरी संस्थाले ३६५ दिने सेवा सञ्चालन गर्दै आएको छ । संस्थाले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । सदस्य केन्द्रित सेवा र सुविधाहरु प्रदान गर्दै नियामक निकायबाट प्राप्त निर्देशनहरुलाई पालना गर्दै आएको खड्का बताउँछन् । बचत ऋणमा मात्रै सीमित नगरी संस्थाले सामाजिक कार्यहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढेको छ । संस्थाले सामुदायिक विकास कोष खडा गरी समुदायमा रहेका हरेक नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

संस्थाले सञ्चालक समिति, लेखा तथा विभिन्न उपसमिति, शेयर सदस्यहरुलाई उदाहरणीय सहकारीको अवलोकन भ्रमण गराउने योजना बनाएको छ भने शिक्षा उपसमितिमार्फत सहकारी सम्बन्धी तालिम तथा गोष्ठीको आयोजना गर्ने भएको छ । त्यसैगरी सदस्यहरुलाई स्मार्ट सहकारीको सुविधा प्रदान गर्ने र जोखिमरहित सञ्चार प्रविधिको प्रयोग शुरु गर्ने, सदस्यहरुलाई कृषि र पर्यटनसँग जोडी उत्पादकत्व वृद्धिमा टेवा पु¥याउने, व्यक्तिगत जमानी र अन्य ऋणहरुमा बीमाको व्यवस्था गर्ने, आवश्यकता अनुसार सेवा केन्द्र थप गर्ने, सदस्यहरुमा उद्यमशीलता अभिवृद्धिका लागि सहयोग गर्ने, नवीनतम् प्रविधिको प्रयोग गर्ने र सहकारी संस्थाहरुसँग गाभ्ने गाभिने कार्यको थालनी गर्ने योजना संस्थाको रहेको छ ।

संस्थाले सबै उमेर समुहका सदस्यहरु सुहाउँदो साधारण, गृहणी, विशेष, शेयर सदस्य, कर्मचारी, सुपर सहकाली, सहकाली बाल, ज्येष्ठ नागरिक र लोक कल्याण जस्ता बचत खाता सञ्चालनमा ल्याएको छ । त्यसैगरी व्यवसायिक, हायरपर्चेज, व्यक्तिगत, कृषि, आवधिक जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ । आफ्नै सुविधासम्पन्न आधुनिक भवनबाट सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्था राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, जिल्ला संघ र बचत संघमा समेत आवद्ध रही सक्रिय सदस्यको भूमिका निर्वाह गर्दै आएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif