Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

नागरिक विकास साकोसको दशौं वार्षिक साधारणसभा


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै सांसद बस्नेतले सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।



सभामा संस्थाका अध्यक्ष नुनम सुब्बाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थालाई सधैंभरी रचनात्मक र प्रतिस्पर्धात्मक बनाई गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढाउने उनले बताए । संस्थाले प्रदान गर्ने गुणस्तरीय सेवाको निरन्तरता एवं स्तरोन्नति गरी दीगो र विश्वासिलो संस्था बनाउन आफूहरु लागि परेको सो अवसरमा उनले जानकारी दिए । सहकारी ऐन नियम र निर्देशनलाई पालना गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्था निरन्तर लागिरहने उनको भनाई थियो ।

संघीयतामा सहकारी अभियान बलियो भए यसको सकारात्मक प्रभाव समग्र क्षेत्रमा पर्ने भन्दै उनले जनताको समृद्धिको आधार नै सहकारी भएको उल्लेख गरे । प्रतिस्पर्धात्मक वित्तीय बजारमा नयाँ भन्दा नयाँ प्रविधि प्रयोग गरेर छिटोछरितो सेवा प्रदान गर्न संस्था क्रियाशील रहेको उनको भनाई थियो ।

संस्थाले आव २०७५।०७६ को अन्त्यसम्म २ करोड ५३ लाख ६० हजार शेयरपूँजी, जगेडा कोष १ करोड ७ लाख ३१ हजार, बचत संकलन ४२ करोड ७१ लाख १९ हजार र ऋण लगानी ३५ करोड ५५ लाख ७९ हजार गरेको छ । सो अवधिमा संस्थाले ५१ लाख ७६ हजार खुद मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षमा ५ करोड ४५ लाख शेयर पूँजी, ५२ करोड ७० लाख बचत संकलन र ४४ करोड ६० लाख ऋण लगानी गर्ने लक्ष्य संस्थाको छ ।

सभामा विभिन्न विधामा उत्कृष्ट हुने सदस्य र एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

कार्यक्षेत्रभित्रका शेयरसदस्यहरुलाई थप सुविधा दिन निकट भविष्यमा नै महालक्ष्मी नगरपालिकाको इमाडोलमा सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

संस्थाले आवधिक, साधारण, बालशिक्षा, नागरिक विशेष, किसान, नारी उत्थान, नागरिक कल, नागरिक पेन्सन, नागरिक व्यापार, नागरिक बेलन, सरल तथा सहुलियत बचत योजना सञ्चालनमा ल्याएको छ । त्यसैगरी संस्थाले नागरिक पुलेसो, घर, लघु, हायर पर्चेज, सामुहकि, आवधिक रसिद जस्ता ऋण लगानी सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif