Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

असंलग्न आन्दोलनको आजको अबस्था र यसको औचित्यता


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित


लोकनारायण सुवेदी आज कतिपयले असंलग्न आन्दोलनको औचित्यका बारेमा नै आज प्रश्न उठाइरहेका छन् । हुन पनि यो आन्दोलन शीत युद्धको समाप्तिपछि एक किसिमले हलनचलको अबस्थामा पुगिसकेको थियो भने अहिले आएर त झन आइसीयू आर्थात् सघन उपचार इकाईमा उपचारको स्थितिबाट गुज्रिरहेको प्रतीत हुन्छ । अनि यसका सदस्य देशहरु त्यस्तो नातेदारहरुको रुपमा खडा भए झैं लाग्दछ जसले यो आन्दोलनमा आफ्नो उपस्थिति यसकारणले मात्र दर्ता जनाउँदछन् कि उनीहरुलाई कसैले संबेदनाहीन या कठोर न सम्झिउन् । पछिल्लो यसको १७औं आयोजना भएको थियो यो र त्यतिबेला यस असंलग्न आन्दोलनलाई आईसीयूबाट बाहिर निकाल्नेसम्मको प्रयास मात्र भएको भन्दा बढी अरु केही भन्न मिल्ने स्थिति नरहेको बताइएको थियो । आज यसको १८औं शिखर सम्मेलन असंलग्न आन्दोलनसँग हिजो खासै सरोकार नभएको देश अजुरबैजानामा हुन गइरहेको छ ।

यस आन्दोनलको इतिहास हेर्दा बीसौ शताब्दीका दुइटा महाबिनाशकारी बिश्व युद्धको बिभिषिकाको असैह्य स्थितिलाई झेलेपछि पनि बिश्वमा शीत युद्धको खतरा मडारिन नछाडेको स्थितिको सन्दर्भमा यो आरम्भ भएको यसको इतिहास छ । यसैले त्यतिबेला औपनिवेशिक तथा अर्ध औपनिवेशिक दासताबाट स्वतन्त्र भएका या अर्ध स्वतन्त्र भएका देशहरुमाथि के दबाव बढ्न थाल्यो भने उनीहरु बिश्वमा ध्रुबीकृत भएका दुइ शक्ति राष्ट्रहरु – अमेरिका या रुस – मध्ये कुनै एकको पनि पक्षमा नलागुन् या खडा नहुन् । बिश्व शान्तिको लक्ष यो दुइ ध्रुबीय शक्तिराष्ट्रहरुको तानातानीमा कहिले पनि पूरा हुन पाउँदैन भन्ने निष्कर्श निकाल्दै त्यतिबेला बिश्व राजनीतिमा निक्कै दख्खल राख्ने तत्कालीन यूगोस्लोभाकियाका प्रसिद्ध नेता मार्शल जोसेफ ब्रज टिटो, इजिप्टका चर्चित नेता अब्दुल गमार नासेर तथा बृटिश साम्राज्यवादको दासबाट भर्खरै मुक्त भएको भारतको स्वतन्त्रतापछिका पहिलो प्रधानमन्त्री बनेका पण्डित जवाहरलाल नेहरु अनि नेपालका राजा महेन्द्र, इण्डोनेशियाका नेता सुकार्णो र घानाका नेता वामे एनक्रुमा लगायत अन्य नेताहरु समेतको अग्रसरतामा बिश्वका यस्ता नबोदित राष्ट्रहरुको यो असंलग्न बिश्व संगठन अस्तित्वमा आएको थियो । यसमा संलग्न हुने सबैको आवाजलाई समान मानिएको थियो । यसरी आजभन्दा ५८ बर्ष पहिला १९६१ यस असंलग्न आन्दोनलको पहिलो सम्मेलन बेलग्रडमा आरम्भ भएको थियो । अहिलेसम्ममा त यसमा बिश्वका १२० देश सामेल भइसकेका छन् । यतिबेला यो असंलग्न आन्दोलनका सदस्य देशहरुमा अफ्रिकाका ५३ एशियाका ३९ ल्याटिन अमेरिका तथा क्यारेबियन द्विप समूहबाट २७ र यूरोबाट दुइ (बेलारुस र अजुरबैजान) शामेल रहेका छन् । यस प्रकार सदस्य देशहरुको संख्या, सदस्य देशहरुको जनसंख्या, तिनको क्षेत्रफल, प्राकृतिक श्रोत र संसाधन आदिको दृष्टिबाट हेर्ने हो भने यो एउटा अत्यन्तै शक्तिशाली संगठन मान्नु पर्ने हुन्छ । तर यो शक्ति बिश्व पूँजीवादी शक्ति र तिनका हितैषीहरुका लागि स्वीकार्य, सैह्य र पाच्य पनि छैन । यसै कारणले त्यो पूँजीवादी प्रबृत्तिको प्रभावमा परेर यो असंलग्न आन्दोनलको प्रासांगितलाई निरन्तर उपेक्षाभावबाट हेरिने गरिन्छ र गरिदै अएको छ । त्यसमा पनि १९९० यता बिश्वमा बजारमुखी उदारबादी अर्थतन्त्र हाबी भएर आए पछि बिदेश नीतिमा प्रभावी रहेको असंलग्न आन्दोलनमाथि पनि त्यसको अझ बढी असर परेको देखिएको छ । यद्यपि घोषितरुपमा कतै लागे जस्तो नदेखिए पनि अब बिश्वका अधिकांश देशहरु बिश्व पूँजीवादलाई खुलेरै साथ दिनका लागि बिश्वका कुनै पनि देशका सरकारमा कुनै हिच्किचाहट रहेको कुरा बिरलै पाइन्छ । यसै कारण हिजो रुस र अमेरिका कतै पनि संलग्न नहुने भनेर तटस्थ जस्तै रहेका देशहरु आज सोभियत संघको बिघटन पछि अमेरिका परस्त भएर गएका छन् । उससँग सामरिक लगायत बिभिन्न सौदाबाजी गर्ने गर्दै आएका छन् ।

हुन पनि १९९० को दशकमा सोभियत संघको बिघटन पछि अमेरिका नै बिश्वमा एक मात्र महाशक्ति राष्ट्रको रुपमा रह्यो आफु शक्तिमान रहेको दम्भ एकदमै बढी गर्न थाल्यो । पश्चिम एशिया, अरब र अफ्रिकाका कयौं देशहरुमाथि अमेरिकी हस्तक्षेपले समेत यो कुरा प्रष्ट पार्दछ । यद्यपि सोभियत संघ बिघटन भएको स्थितिमा पनि रुस भने अमेरिकाको बिश्व बर्चश्वलाई स्वीकार गर्न सकिरहेको छैन र बिश्व राजनीतिक रंगमञ्चमा पुनः सशक्त उपस्थिति दर्शाउन थालिसकेको छ । अर्कोतिर चीन आज एशियामा मात्र होइन सारा बिश्वमा एउटा सशक्त शक्ति राष्ट्रको रुपमा खडा भएको छ । कसैले स्वीकारे या नस्वीकारे पनि बिश्वको दोश्रो आर्थिक महाशक्ति भइसकेको चीनको भूमिकाले अमेरिकालाई चूनौति दिन थालेको छ । त्यसै कारणले अमेरिका भारतसँग आफ्नो निहीत स्वार्थका आधारमा मित्रताको हात बढाए जस्तो गरिरहेको छ । तर भारतमा यो कुरा धेरैलाई पचिरहेको छैन र त्यसका बिरुद्ध आवाज पनि उठाइरहेका छन् र उत्पीडित राष्ट्रहरुको बिश्व मञ्च —असंलगन आन्दोनललाई उपेक्षा गरिनु हुन्न भन्ने कुरामा जोड पनि दिइरहेका छन् । कुनै अज्ञात कारणले यस अघि भेनेजुएलामा भएको असंलग्न बिश्व शीखर सम्मेलनमा भाग नलिने भारतका प्रधानमन्त्री मोदीको निर्णयको भारतमा निक्कै बिरोध पनि भएको थियो । ब्रिक्स, जी — २० आदि जस्ता सम्मेलनहरुमा सामेल हुने समय उनलाई मिल्छ भने किन असंलग्न बिश्व सम्मेलनमा सहभागी हुन अनिच्छुक रहेका हुन् भन्ने प्रश्न त्यहाँ उठेको र आलोचना भएको थियो । असंलग्न आन्दोलनको संस्थापक रहेको नेपालले पनि केवल यसमा सहभागिता मात्र दर्शाउने गर्दै आएको छ । यो बिश्व मञ्चमा सरकार प्रमुख या राष्ट्र प्रमुखको सक्रिय सहभागीता महत्वपूर्ण र गरीमामय मानिन्छ । हुन पनि तेश्रो बिश्वका अधिकांश देशहरु एकत्रित हुने यो आन्दोलनलाई उपेक्षा गरिनु हुन्न र यसलाई जगाउन, उठाउन र सशक्त तुल्याउन आवश्यक छ भन्ने कुरा पनि उठ्दै आएको र बिचारणीय छ । यसलाई कुनै हालतमा पनि बेवास्ता गरिनु साना र नबोदित राष्ट्रहरुका लागि आत्मघाती कुरा हो भन्ने पनि कुरा पनि उठिरहेको छ । नब उदारबादको बिश्व बर्चश्व र हाल हुकुम चलिरहेको आजको बिश्वमा त्यसका दुष्परिणाबाट देश र जनतालाई कसरी जोगाउने, बचाउने र बिकासको मूल बाटो – रोजगारी बढाउने, आर्थिक बृद्धि गर्ने र सशक्त सार्वजनिक बितरण प्रणालीको अवलम्बन गर्ने भन्ने दिशामा दृढताकासाथ क्रियाशील नभइ कुनै सुखै छैन । बिश्वका सबै देशका अनुभवहरुले बस्तुतः प्रष्ट पारेको यो आजको एकदमै अखण्डनीय कुरा हो ।

यस सन्दर्भमा यस अघि भेनेजुएलामा आयोजित १७औं असंलग्न राष्ट्रहरुको शीखर सम्मेलनमा आतंकबादका बिरुद्धको संघर्षमा ठोस कदम उठाउने सामयिक कुरा पनि उठेको थियो । साथै, संयुक्त राष्ट्र संघलाई अझ प्रभावकारी बनाइनु पर्ने माग पनि सदस्य देशहरुले अबश्य गरेका थिए । हुन पनि बिश्वमा यतिबेला आतंकबादकोरुपमा तेश्रो बिश्व युद्ध जस्तै संघर्ष चलिरहेको छ । शक्ति राष्ट्रहरुले नै आतंकबाद थोपर्ने र यसलाई बढावा दिने अनेक ब्यूह रचना गरिरहेको कयौं घटनाक्रमहरुले पुष्टी पनि गरिरहेको छन् । त्यसैले यो असंलग्न आन्दोलनलाई पुनर्जीबित गर्ने र सशक्त तुल्याउने हो भने यसले आफ्ना स्वभाविक मित्रहरु को हुन् त्यसको पहिचान गरेर यसलाई नयाँ सिराबाट आर्थिक समुन्नति र सामाजिक न्यायको दिशामा सार्थक र प्रभावकारी बनाउन अग्रसर हुनै पर्दछ । यस बाहेक अरु कुनै सही बिकल्प पनि यसका अगाडि छैन । वास्तवमा अब त सुस्त सुस्त सकिदै र खिइदै जाने कि सम्हालिने यो भन्दा अर्को रोजाई यस आन्दोलनका अगाडि अहिले रहेको छैन । वास्तवमा गुट–निरपेक्ष यो आन्दोलनले बिश्वका कमजोर, अल्पबिकसित र बिकासशील राष्टहरुको राष्ट्रीय स्वतंत्रता, सार्वभौमिकता, क्षेत्रीय एकता एवं सुरक्षालाई अक्षुण्ण राख्ने र साम्राज्यवाद, उपनिवेशबाद, नब उपनिबेशबाद, प्रभुत्ववाद, जातिवाद, रंगभेद एवं विदेशी आक्रमण, सैन्य अतिक्रमण, हस्तक्षेप आदि महत्वपूर्ण र गम्भीर सबालका बिरुद्ध ती राष्ट्रहरुको बिश्वब्यापी आवाज बुलन्द गर्ने एउटा बिश्व मञ्च रहेको हो । अझै पनि परस्पर मिलेर बिकासको गतिलाई जन हितमा तीब्र तुल्याउनु यसको एउटा महत्वपूर्ण उदेश्य जीबन्त नै छ । त्यसैले आज पनि यी सान्दर्भिक कुराहरुलाई दृढताकासाथ पक्रदै असंलग्न आन्दोलनले सही दिशा, गति र जीवन्तता लिनु सार्थक बिश्व शान्ति, चौतर्फी समानता र अग्रगामी प्रगतिका निमित्त अनिवार्य र अपरिहार्य छ । यस वस्तुगत वास्तबकिता र आवश्यकतालाई मध्यनजर राखेर यसमा संलग्न सदस्य राष्ट्रहरुले अत्यन्तै गम्भीरतापूर्वक बिचार बिमर्श गर्नु र तार्किक निष्कर्शमा पुग्नु सर्बथा जरुरी छ र यसो गर्न बिलम्ब भइसकेको छ । अजुरबैजानको १८ असंलग्न सम्मेलनले यस दिशामा कत्तिको ध्यान केन्द्रित गर्ला प्रतिक्षाको बिषय छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif