Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

दशैको अर्थ–सामाजिक दिशा


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित

दशैं चाड नेपाल, भारत,म्यानमार र भूटानमा  पनि   मनाउने चलन छ । यद्यपि यसका रुपहरु फरक फरक छन् । सारमा भने शक्ति र शस्त्र पूजाकोरुपमा मनाइने यो चाडको साँस्कृतिक पक्ष आजकल औपचारिकतामा सीमित र सन्दर्भहीन जस्तै हुदै गएको छ । तर यसको भौतिक पक्ष भने बिस्तारित र बिकसित हुदै गएको पाइन्छ । वास्तवमा बिज्ञान र प्रबिधिको बिकासले गर्दा अन्य पर्वहरु जस्तै दशै पनि नेपालीहरु पुगेका प्रायः सबै देशमा मनाउने, खुशीयाली आदान प्रदान गर्ने  र मनोरञ्जन गर्ने गतिबिधिहरु ब्यापकरुपमा हुन थालेका छन् । यसरी दशैको बहानामा हुने अर्थ–सामाजिक गतिबिधिहरु बढ्दै गएका छन् । यस पर्बका साँस्कृतिक धार्मिक पक्ष कमजोर र असान्दर्भिक हुदै गए पनि यसरी भौतिक–सामाजिक अर्थ राख्ने यो क्रम निरन्तर चल्ने देखिन्छ ।  

नेपालमा, खाशगरी हिन्दू धर्मावलम्बी, नेपालीहरुले मनाउने यो चाडकै बेला सकेसम्म गरीष्ठ भोजन  बिशेष परीकार बनाएर खाने, नयाँ लुगा फेर्ने, आफन्तहरुसँग भेटघाट गर्ने र आशिर्बाद लिने दिने जुन चलन छ त्यसले यो पर्वलाई एउटा निकै ठूलो अर्थ–सामाजिक रुप दिएको देखिन्छ । यसमा अन्य धर्माबलम्बी मानिसहरु पनि आजकल सहर्ष सामेल र सहभागी हुन थालेको पाइन्छ । सामाजिक सद्भाव बिकसित गर्न र कायम राख्न यस्तो अन्तरमिलनले ठूलो मद्दत पु¥याउँदछ । यस्ता कुरालाई जिम्मेवार समुदायले, राज्यले र समाजको सचेत अंगले निरन्तर प्रश्रय र प्रोत्साहन दिनु पनि उत्तिकै जरुरी छ ।    

दशैको बेला गाउँ घरदेखि शहरबजारसम्म सर्बत्र ब्यापार चम्किने गर्दछ । दशैको अवसरमा नेपाली  बजारमा बिशेषगरी लत्ता कपडादेखि लिएर खसी बोका, हास, कुखुरा राँगा, चामल चिउरा, दूध दही आदि सामाग्रीहरु बढी बिक्री हुने गर्दछन् । यसरी यो चाडको बेला अर्बौंको ब्यापार हुने गरेको तथ्यांकहरुले बताउँदछन् । यसका अतिरिक्त यातायात ब्यवसाय पनि यतिबेला चम्किने गर्दछ । मानिसहरुको आवत जावत बढी हुने भएकोले थप यातायातका साधनहरु प्रयोगमा ल्याउने ब्यवस्था पनि गर्ने गरिन्छ ।  

वास्तवमा चाड पर्वहरु खाश समयका उपज हुने गर्दछन् र समय क्रमसँगै बद्लिदै पनि जान्छन्। तिनमा तत्कालीन समाजको अर्थ–सामाजिक तथा राजनीतिक झल्को पनि पाइन्छ । आम मानिसहरुको आजीबिका के कसरी चल्दै आएको छ र त्यसमा के भिन्नता देखापरेको छ त्यो पनि चाड पर्वहरुले  दर्शाउने गर्दछन् । दशैमा बिशेष बढी प्रयोग हुने कृषिजन्य बस्तुहरु चामल, चिउरा, दूध, दही, माछा–मासु, आदि खाद्य पदार्थ, पुराना शस्त्रास्त्रको पूजा, बलिप्रथा आदिले कृषि युगको चरणमा यो चाड बढी बिस्तार भएको प्रतीत हुन्छ । यद्यपि देवी दुुर्गाको पूजा पाठ र आराधनाले मातृसत्तात्मक समाजको बोलाबाला रहेको सामाजिक चरणको बेलादेखि नै यो पर्व बिकसित हुदै आएको मान्न सकिने ठोस आधारहरु  देखापर्दछन् ।  

हुन त हरेक समाजमा बिभिन्न किसिमका धार्मिक सामाजिक चाडपर्वहरु चलेर आएको देखिन्छ । तर तिनको अन्तर्यमा भने मानिसको मनोरञ्जनप्रियता नै रहेको मानबशास्त्री समाजशास्त्रीहरुको बिभिन्न अध्ययनले देखाएको छ । हुन पनि मानिसलाई पशु जगतबाट छुट््याउने बिभिन्न कारकहरुमध्ये एउटा प्रमुख कारक उसको यही मनोरञ्जनप्रियता पनि मानिन्छ । हाँसीखुशी रहने र काम गर्न शारिरीक–मानसिक पुनर्ताजगी ल्याउन मनोरञ्जनले मद्दत गर्ने कुरा त प्रमाणित कुरा नै हो । हिजोको अबिकसित समाजमा मानिसलाई मनोरञ्जन प्रदान गर्ने आजको जस्तो बिबिध सामाग्रिहरु उपलब्ध थिएनन् । त्यसले गर्दा चाड पर्वहरुप्रति बढी र बिशेष लगाव हुनु स्वाभाविक थियो र हुन्थ्यो ।        

समाज बिकासको क्रम अघि बढ्दै जाँदा चाड पर्वहरुको परिभाषा र महत्वलाई पनि परिवर्तन गर्न थालियो । यस्तै क्रममा दशैलाई  पनि असत्यमाथि सत्यको बिजयको रुपमा समेत अथ्र्याउन थालियो र अहिलेसम्म यही कुरामा नै बिशेष जोड दिने गरिएको छ । यस मान्यताले दशैंलाई अझ फराकिलो सामाजिक आयाम दिन पनि मद्दत पु¥याएको देखिन्छ । यद्यपि सामाजिक अन्तरघुलन बढ्दै जाँदा चाड पर्वहरुका पुराना यथास्थितिका परिभाषाहरु अपर्याप्त बन्ने र तिनले नयाँ नयाँ बाटो खोज्ने स्थिति सिर्जना हुन्छ । यसले साँस्कृतिक सामाजिक अन्तर सम्वन्धलाई बिकसित गरिनुपर्ने नयाँ  स्थिति उत्पन्न गर्दछ । यसलाई सही किसिमले आत्मसात गर्न सकेमा नै समाजमा रहेका बिबिध साँस्कृतिक चाड पर्वहरुलाई पनि सामाजिक हित र अन्तर सम्वन्धलाई अझ सबल बनाउन सकिने हुन्छ । वास्तवमा नेपालको सामुदायिक तथा राष्ट्रिय एकताका निमित्त यो ज्यादै महत्वपूर्ण पक्ष हो । यसलाई कसैले पनि हलुकारुपमा लिएर उपेक्षा गर्नु हुदैन। सम्बद्ध सबैले यस महत्वपूर्ण कुरामाथि गम्भीररुपमा ध्यान दिउन् । बिजया दशमी २०७६ ले सबै समुदायका नेपाली जनताका बीच परस्परपर मैत्री, सद्भाव र एकतालाई अझ सम्बृद्ध पार्न र नेपालको राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन प्रेरित गरोस् । बिजया दशमी २०७६ को यही मंगलमय शुभकामना !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif