Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

कतारबाट दसैंमा घर फिर्ने तयारीमा एउटा परदेशी


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित


—इन्द्रनारायण सुबेदी



आएको छ दसैं उता मुलुकमा नेपाल मेरो घर।
यो नौलो छ कतार गाउँ घरको श्रद्धा कहाँ मिल्छ र।
छिट्टै उठ्छु बिहान पुग्नु छ छिटै उड्ने बिमानस्थल।
होला गाउँ चिटिक्क स्वच्छ अहिले शृङ्गारले झल्मल।१।

पैसा साट्छ यता बगेर पसिना लत्रेर मेरो श्रम ।
मेरो त्यो सपना रहेछ अघिको त्यो कल्पनाको भ्रम।
साथीभाइ थिए खुला हृदयका आत्मीयताका धनी।
एक्लो छु तर आज यो मुलुकमा झन् बेसहारा बनी।२।

हाम्रा चाड दशैं तिहार रसिला मान्दैन कोही यहाँ ।
हाम्रा संस्कृति सभ्यता गहकिला ठान्दैन कोही यहाँ।
आमाको हँसिलो मुहार नजिकै झल्किन्न आँखा मनि।
बैनीको मिहिनेतले मखमली गाँसिन्न माला बनी।३।

लाग्यो भोक थकाइ प्यास कि भनी सोध्दैन कोही यहाँ।
पीडा मर्म अनेक कष्ट कति छन् बुझ्दैन कोही यहाँ।
पैसाले किनिदैन प्रेम ममता स्वाधीन सद्भावना ।
खुल्दैनन् परदेशका महलमा आनन्द लाग्ने दिन।४।

ओ हो ! भोलि बिहान कै प्रहरमा नेपाल फिर्छु म ता।
चौतारी पनि पर्खिएर अहिले हेर्दैछ बाटो यता।
छोडी देश बिदेशको बगरमा फर्कन्न फर्कन्न म।
छिट्टै हिड्छु हतारिएर घरमा,पर्खन्न पर्खन्न म।५।

========११ असौज २०७६ इलाम =======
शुभ रात्रि

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif