Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

भ्रष्ट ब्याख्या भएको धर्म निरपेक्षता र लोकतन्त्रको भबिष्य


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित


नेपालको संविधानले धर्मनिरपेक्षताको ब्याख्याको स्पष्टीकरण यस्तो दिएको छ ः सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक,सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । यो ब्याख्याप्रति राजनीतिक शास्त्रका बिद्वानहरु, संविधानबिद् या बिज्ञहरुको ध्यान गएको पाइदैन । उनीहरुले या त यतातिर पटक्कै ध्यान दिनुपर्ने ठानेकै छैनन् या यो भ्रमित ब्याख्याले नै जनतालाई अल्मल्याइराख्न पाइने भएकोले त्यसैमा सन्तुष्ट छन् । त्यसैले गणतन्त्रका राष्ट्रपतिहरु चाड पर्वको बेला खुरुक्क हिन्दू मठ मन्दिरहरु घुम्छन्, भोटो देखाउने जात्रामा जान्छन् र संविधानले दिएको भूमिका निर्बाह गर्दछन् ।
राष्ट्रपति कुनै ब्यक्ति होइन, यो नेपालको संविधान अनुसार सर्बोच्च संस्था हो । राष्ट्रपति – ब्यक्तिको रुपमा कुनै निजी आस्था, बिश्वासको हुन सक्तछ र त्यसमा कसैले प्रश्न उठाउने कुरा पनि आउँदैन । तर गणतन्त्र नेपालको संविधान भन्ने नाम राख्न पनि नरुचाउनेहरुले बनाएको संविधानले संविधानमा राखिने शब्दहरुको मर्म र भावना बिपरीत भ्रष्ट ब्याख्या गर्न उद्यत देखिएको र त्यस्तो ठाउँ बनाएको कुरा धर्म निरपेक्षताको स्पष्टीकरण सन्दर्भले प्रष्ट पारेको छ ।

बिश्वको इतिहासलाई सर्सरी मात्रै हेरे मात्रै पनि धर्म निरपेक्षता कुनै धर्म बिशेषको बिरोधी कुरा होइन भन्ने प्रष्ट हुन्छ । यो सामन्ती ब्यबस्थामा राजालाई इश्वर मान्ने,(नेपालमा बिष्णुको अवतार) राजाको शासन बिरुद्ध कुरा उठान नपाइने र उसको आज्ञाको उल्लंघन इश्वकरको आज्ञाकै उल्लंघन हुने राज्यको दैबी सिद्धान्त(डिभाइन थ्योरी)को आधारमा खडा गरिएको शासन ब्यबस्था हो । किनभने इश्वर सर्बशक्तिमान छ । इश्वरको बिरोध गरिनु हुदैन भन्ने मान्यता बिश्वभरीकै सबै धर्महरुको मूल मन्त्र हो । यसले निरंकुश शासनको लागि ठाउँदिन्छ र शासनलाई इश्वरसँग गाँसेपछि दीर्घजीवी हुन पाइनछ भन्ने यसको अन्तरनिहीत अभिष्ठ हो ।

तर लोकतान्त्रिक ब्यबस्थाले खोजेको इश्वरको शासन होइन । मानिस मानिस मिलेर चलाउने शासनको परिपाटी, ब्यबस्था, प्रबन्ध हो । त्यसैले यसलाई समाजिक सम्झौताको सिद्धान्त (सोशल कन्ट्र्याक्ट थ्योरी) भनिएको हो । धर्मनिरपेक्षताको जग नै यही हो । इश्वरको शासन कि मानिसको शासन ?भन्ने सन्दर्भमा धर्म निरपेक्षताले इश्वरको शासनलाई इन्कार गरेर मानिसको शासनको स्वीकार गरेको हो । त्यसैले राज्यको कुनै धर्म हुँदैन भन्ने मान्यता बिकसित भएको हो । यो शपथ ग्रहण गरिदा कुनै धर्म ग्रन्थ मानिएका किताबको नाम – पुराण, कुरान, बाइबल, या गीताको नाम लिइन्छ लिइदैन भन्ने सतही र पाखण्डी कुरा मात्र होइन् । यो लोकतन्त्र मान्ने कि निरंकुशत मान्ने भन्ने गम्भीर प्रश्नसँग जोडिएको कुरा हो ।

त्यसैले आफुलाई लोकतन्त्रबादी भन्ने दाबी गर्नेहरुले संविधानमा यो ‘‘धर्म निरपेक्षता, गणतन्त्र’’ जस्ता शब्द कताबाट घुसाइएछ या घुसेछन् भनेर आफै तर्सेको जस्तो गरेर प्रस्तुत हुनु जनतामाथि अर्को भ्रम फैलाउनु बाहेक केही होइन । त्यसको साटो बरु गणतन्त्र र धर्मनिरपेक्षताको ब्याख्या र मान्यता बिश्वब्यापीरुपमा जे हो त्यसमा कुनै कुरा नथपी र त्यसबाट कुनै कुरा ननिकाली जस्ताको तस्तै ब्याख्या गर्नु जनता, राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ । शब्द र शब्द तत्वप्रति पनि न्याय हुन्छ । आज हामीले सबै क्षेत्रमा भ्रम, भय र भ्रष्टाचारबाट मुक्त हुन आवश्यक छ । नत्र लोकतन्त्रलाई लूटतन्त्रकै प्रतिबिम्ब बनाउने काम बाहेक अरु केही हुदैन । लोकतन्त्रमा कानुनभन्दा माथि कोही हुदैन भन्ने मान्यतालाई तोड्ने र बितण्डालाई आकार दिने जुन कुरा अहिले भइरहेको छ त्यसले पनि हामी कता गइरहेका छौं या जान खोजेका छौं भन्ने संकेत गरेकै छ ।
धर्म निरपेक्षताको स्पष्टीकरण जस्तै गणतन्त्रको पनि भ्रष्ट ब्याख्या गरेर यसलाई माफिया, कमिशन खोर र भ्रष्टहरुको समेत शासन ब्यवस्था मान्न सकिने छ भनेर स्पष्टीकरण दिन थालियो भने के हुन्छ गम्भीर प्रश्न खडा हुनछ । ब्यबहारमा त त्यो चलेकै र त्यसलाई चलिआएको चलन भनेर प्रथाकोरुपमा प्रत्यक्षरुपमा स्वीकार गरिदैन भन्न सकिन्न ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif