Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

बिश्व शान्तिको आजको सार्थक मूल बाटो


२०७६ आश्विन १० गते , शुक्रवार प्रकाशित


लोकनारायण सुवेदी


बिश्व आज बिभिन्न क्षेत्रमा बिल्कुलै अस्वीकार्य र अमान्य हिंसा हत्या र अशान्ति बढिरहेको छ । हुन त यसकोे मूल कारण बर्गीय शोषण र सामाजिक उत्पीडनका कारण उत्पन्न बिषमता, बिकृति र बिसंगतिनै हो सामान्यरुपमा हेरे पनि गहिराईमा पुगे पनि यही कुरा प्रष्ट देखिन्छ । यद्यपि अहिले सर्सरी हेर्दा यो अशान्ति बिश्वका तीनवटा क्षेत्रमा केन्द्रित भएको देखिन्छ । पश्चिम एशिया, दक्षिण एशिया र उत्तर अफ्रिका नै हिंसा यतिबेला बढी केन्द्रित रहेका क्षेत्रहरु देखिएका छन्  । निश्चय नै आज हिंसा केन्द्रित बनेका यी तीन ठूला क्षेत्रहरुमा बिभिन्न क्षेत्रीय बिबिधता हँुदाहुँदै पनि केही ठूला समानताहरु पनि पाइन्छन् ।
 
        एउटा सामान्य कुरा  के छ भने हिंसाका यी तीनवटै क्षेत्रहरुमा औपनिवेशिक शक्तिहरुद्वारा आफ्नो शासनको समयमा या आफुले ती क्षेत्र छोडेर जान बाध्य भएको बेलामा जुन सीमाहरु बनाइएका थिए त्यसमा धेरै नै कृत्रिमता थियो र तिनले कतिपय उल्झनयुक्त जटील समस्याहरु पनि छोडेर गएका थिए । खाशगरी दोश्रो बिश्व युद्ध पछि स्वयम थाके हारेका औपनिवेशिक शक्तिहरुले जल्दिबाजी या हडबडीमा यस सन्दर्भमा जुन र जे जस्ता गतिबिधि र निर्णयहरु गरे तिनले कतिपय समस्याहरु आगाडिका लागि पनि छोडेर जाने निश्चितै जस्तो थियो र भयो पनि त्यस्तै ।

       अर्को एउटा  सामान्य कुरा यी क्षेत्रहरुमा के रहेको छ भने जहाँ जहाँ धर्म, नस्ल या यस्तै कुनै संकीर्ण आधारको कट्टरबाद हाबी भएको छ त्यहाँ आज नभए भोली हिंसा भड्किन सक्ने गम्भीर स्थिति छ र त्यो कुनै पनि बेला भड्किन सक्तछ । हुन पनि धर्म आधारित या अन्य किसिमका कट्टरता तथा संकीर्णतालाई कम गर्ने खालका दीर्घकालीन सफल प्रयासहरु पनि यी क्षेत्रहरुमा ब्यापक स्तरमा भए गरिएका या हुन सकेका छ्रैनन् । बरु उल्टै, कतिसम्म भने बिकसित पश्चिमा देशहरुले  कतिपय सन्दर्भमा ती कट्टर तथा संकीर्ण शक्तिहरुलाई समय समयमा आफ्नो आफ्नो स्वार्थका लागि उचाल्ने, उराल्ने र अगाडि बढाउने गर्दै आएका छन् ।

  निश्चय  पनि यी दुइ मूख्य कारक तत्वलाई ध्यानमा नराखीकन जुन शान्ति तथा समाधानमा कतिपय प्रयासहरु हुँदै आएका या भइरहेका छन् ती स्वभाबिक रुपमा बिफल नै भइरहेका छन् । सर्सरी हेर्दा दक्षिण सुडान होस् या सीरिया, इराक होस् या लीबिया हर देशमा हिंसा बढिरहेको छ । दक्षिण एशियामा हेर्ने हो भने पनि अफगानिस्तान, पाकिस्तान, भारत, बंगालादेश, श्रीलंका, नेपाल, माल्दीभ्स, तथा भूटान यी सार्कमा आवद्ध सबै आठै सदस्य देशहरुमा बिभिन्न सन्दर्भका गम्भीर खालका आन्तरिक हिंसा या तनाबहरु बढिरहेका छन् । हामीले चाहे भारतको कश्मिरको समस्यालाई हेरौ या पाकिस्तानको बलुचिस्तान क्वेटाको केही बर्ष पहिलको घातको हिंसालाई, चाहे तालिबानका बिभिन्न हमलाहरु हुन् चाहे फेरि पेलेस्टीनको गहिरिदो समस्यालाई हेरौ कटु सत्य के हो भने यी क्षेत्रका समस्या समाधानका प्रयासहरु एक कदम अघि बढे भने दुइ कदम पछि  हटेको जस्तो स्थिति हामी प्रत्यक्ष  देखिरहेका छौं ।

  त्यसो भएको हुनाले हामीले करोडौं मानिसहरुको गहिरिदो दुःख कष्टको कारण बनेको यो हिंसात्मकम स्थितिको अन्त्य गर्ने बिश्वसनीय,किटाऊ र दीर्घकालीन समाधान खोज्ने हो भने यसका लागि पहिलाभन्दा मूर्तरुपमा बिश्वास जगाउने खालका भरपर्दा प्रयासहरु गरिनु अत्यावश्यक छ । यस सम्वन्धमा पहिलो महत्वपूर्ण आवश्यकता त के छ भने यी सबै क्षेत्रहरुमा स्थायीरुपमा शान्तिका लागि जन अभियान नै चलाइनु पर्दछ र तिनलाई बिभिन्न देशका सरकारहरुले अर्थपूर्णरुपले मान्यता पनि दिनु पर्दछ । यस्तो शान्ति अभियानको कार्य केवल बन्दूक बन्द गर्ने र तत्कालको आगो निभाउने खालको मात्र नभएर त्यसले अब हिंसाको आगो भड्किन नदिने स्थिति सिर्जना गर्नु बढी आबश्यक र बुद्धिमानी हुन्छ । अर्को शब्दमा भन्नु पर्दा त्यस्ता अभियानले के प्रयास निरन्तर गर्नु र दोहो¥याइ रहनु पर्दछ अनि हिंसा भड्किनुभन्दा पहिला नै तनाब तथा असन्तोषलाई मेटाउने या सुल्झाउने किसिमको परिवेश निर्माण गर्ने कार्य गरिनु पर्दछ । 

  अनि यसैसँग जोडिएको अर्को एउटा महत्वपूर्ण समाधानको पक्ष के हुन सक्छ भने हिंसाबाट नराम्रोसँग प्रभावित यी माथि उल्लिखित सबै क्षेत्रमा बिभिन्न देशहरुलाई परस्परमा मिलाएर एउटा यस्तो संयन्त्र बनाउनु उपयुक्त हुन्छ जसले यी सबै देशमा शान्ति स्थापित गर्नका लागि तथा युद्ध एवं गृह युद्धको सम्भावनालाई टार्नका लागि ती मिलेर समर्पित हुन सकुन् । यो सयन्त्र यस आधारमा बनाइनु पर्दछ कि यी देशमा परस्पर कुनै युद्ध हुने छैन न यी देशहरुले आपसमा युद्ध भड्काउने खालका वा यस्तै कुनै पनि किसिमका हिंसा भड्काउने जस्ता अबाञ्छित  प्रकृतिका कार्य गर्ने छैनन् ।   निश्चय नै यस सन्दर्भमा पश्चिम एशियामा अरब देशहरुका बारेमा बिभिन्न बिद्वानहरुले पहिलादेखिनै के भन्दै आइरहेकाछन् भने एकातिर त बिभिन्न देशहरुका सीमाहरु कृत्रिम आधारमा  औपनिवेशिक शक्तिहरुले आफ्नो संकीर्णतम् हितहरुका कारण खडा गरेका थिए  । अर्को समस्या भनेको  बिभिन्न अरब देशहरुमा कुर्द समुदायले प्रायः सधैं के भन्दै आएको छ भने उनीहरुलाई कहिले पनि न्याय मिलेन । त्यसैले आज बिभिन्न अरब देशहरुको एउटा साझा संघ या त्यस्तो संयन्त्र बनाउने हो भने लामो समयदेखि रहँदै र उल्झिदै आएका समस्याहरुको एउटा सही समाधानको बाटो भेटाउने र समस्या मेटाउने ढोका खोल्न सकिन्छ । 

  अर्कोतिर उत्तरी अफ्रिकामा सुडानको गृह युद्धमा पहिला नै लाखौं मानिसहरु काल कलबित भइसकेका छन् । तर सुडानको बिभाजन पछि पनि दक्षिणी सुडानमा समेत अहिले पनि अत्यन्तै हि«ंसक गृह युद्ध चल्दै आइरहेको छ । यता लीबियाको स्थिति पनि अत्यन्तै अस्थिर हुन पुगेको छ र त्यसको असर वरिपरीका छिमेकी देशहरुमा समेत नराम्रोसँग परिरहेको छ । त्यसैले उत्तरी अफ्रिकाका बिभिन्न देशहरुमा पनि बढ्दो युद्धका सम्भावनाहरुलाई समाप्त पार्नका लागि साझा संयन्त्र बन्न  बनाउन सकेमा समस्या समाधानका लागि माथि भनिए जस्तै यो एउटा निक्कै सार्थक प्रयासको आरम्भ हुन सक्ने देखिन्छ ।

  यसरी नै दक्षिण एशियाका आठ देशहरु सार्क जस्ता निक्कै कमजोर किसिमको  संयन्त्रमा  त पहिलादेखि नै बाँधिदै आएका छन् । तर यो कामकाजी र परिणाममुखी हुन सकेको छैन । यसमा खाशगरी भारत र पाकिस्तानको निरन्तरको मनोमालिन्य र भारतको दादागिरी प्रबृत्तिको छाया पर्दै आएको छ । यस क्षेत्रमा खाशगरी भारत र पाकिस्तान शस्त्रास्त्रको होडबाजीमा पनि उत्तिकै अग्रसर छन् । यदि यो क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धिको खोजी गर्ने हो र युद्ध एवं गृह युद्धबाट जोगिने या मुक्त हुने हो भने परस्पमा सम्मानपूर्ण र अझ बढी ब्यापक, बिश्वासिलो र कामकाजी साझा संघ बनाएर जान सक्नु पर्दछ । यसो गर्न सकेमा नै यो क्षेत्रमा ब्यापक जनताको दुःख कष्ट कम गर्न र यो क्षेत्रलाई सही दिशामा अघि बढाउन सकिने अनुकूल बातावरण बन्न सक्तछ । अन्यथा सार्कमा भारत–पाक छाया परेजस्तै परिणति सधै नै भोगिरहनु पर्ने यथास्थिति कायम रहने छ । यस्तो साझा कामकाजी संयन्त्र बनाउन सकियो भने यसमा नवौं सदस्यका रुपमा म्यानमार अर्थात् पूर्व बर्मालाई पनि समावेश गर्न सकिन्छ र चीनलाई सक्रिय पर्यबेक्षकहरुमा स्वीकार गरेर अघि बढ्न सके यस्तो संयन्त्र साझा समुन्नतिका निमित्त अझ बढी सार्थक हुन सक्ने सम्भावना रहेको छ ।

  यस्तो साझा संयन्त्र बन्न सकेमा या बन्ने निष्र्कशमा पुग्न सकेमा  यसमामा आवद्ध देशहरु आपसमा युद्ध नगर्ने र एकले अर्कोलाई आक्रमण नगर्ने पञ्चशीलको परिपालानको सुनिश्चितता र प्रतिबद्धता गर्न तयार हुनु पर्दछ । अनि एक देशले अर्को देशमा हिंसा भड्काउने, उक्साउने र आडधापन दिने जस्ता कुनै पनि गतिबिधि नगर्ने दृढ प्रतिबद्धता जनाउने र त्यसको ठोस र प्रभावकारी परिपालना गर्ने दिशामा निरन्तर अग्रसरताको पहल गरिरहनु पर्दछ । अनि परस्पर  रचनात्मक सहायता र सहयोग उपलब्ध गराउन अग्रसर रहने ब्यवस्था गरिनु पर्दछ । तेश्रो कुरा के भने सबै देशहरुले कट्टरताबाद, साम्प्रदायिकता, धर्म तथा नस्ल आदिको नाममा हुने हिंसालाई न्यूनतम तुल्याउने र समाप्त पार्ने दिशामा लाग्ने र यसको स्थानमा परस्पर भाइचारा, साझा सँस्कृतिको निर्माण र अभिबृद्धिका लागि शतत प्रयास गर्ने दिशामा सचेत र सक्रिय रहनुपर्दछ । चौथो, आधार के भने गरीबी, अभाव, प्राकृतिक तथा अन्य आपत्ति–बिपत्ती तथा पर्याबरण बिनाशका समस्याहरुलाई कम गर्नका लागि उनीहरुले आपसमा सहयोग आदान प्रदान गर्ने कुरामा प्रतिबद्ध र तत्पर रहनु पनि उत्तिकै आवश्यक छ  । अनि के पनि स्पष्ट हुनु पर्दछ भने सबै सदस्य देशहरु र तिनका नागरिकहरुलाई उत्तिकै समानताको सम्मानपूर्ण स्थान प्राप्त हुने र जाति, धर्म, नश्ल, रंग आदिका आधारमा कुनै पनि प्रकारको भेदभाव, बिषमता र अन्याय नहुने, नरहने ब्यबस्था गरिनु पर्दछ । यस प्रकारको साझा संयन्त्र बनाउने सबै देशहरु तथा तिनका सबै नागरिकहरुलाई शान्ति र सम्बृद्धिको नयाँ चरणमा प्रवेश गर्ने समान अवसर प्रदान गरिने या मिल्ने सुनिश्चितता हुने र सबै तनाबग्रस्त क्षेत्रहरुमा जुन पनि समस्याहरु उठ्न सक्छन् तिनलाई आबद्ध देशहरुको ब्यापक र साझा सहमतिको माहोलमा राम्रो किसिमले सुल्झाउने परिपाटी बसाल्ने बिश्वासिलो आधार निर्माण गर्न सकिन्छ र गर्नु पर्दछ । बिषमता बिनाको स्थाई तथा दीगो एवं दूरगामी शान्तिको आजको बिश्वको मूलबाटो नै यही हो ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif