Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

जीवनदीप साकोसको १०औं साधारणसभा सम्पन्न, ट्याब्लेट बैंकिङ शुरु गर्दै


२०७६ आश्विन १ गते , बुधवार प्रकाशित

इन्द्रचोक स्थित जीवनदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारणसभा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पानसमा दिप प्रज्ज्वलन गरी सभाको उद्घाटन गर्दै प्रमुख उप्रेतीले संस्थाले छोटो समयमा राम्रो प्रगति गर्न सकेकोमा प्रशंसा गरे । 

सभाका सभापति एवं संस्थाका अध्यक्ष छत्र बहादुर बस्नेतले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका थिए । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउनका लागि सहकारीसँग समन्वयात्मक सम्बन्ध राखी काम अगाडि बढाए मात्र सम्भव हुने उनले बताए । ससानो पूँजीलाई घर दैलोमा गई बचतको रुपमा संकलन गरी श्रम र सीप भएका तर सीमित आयश्रोत भएका सदस्यहरुको जीवनस्तर माथि उकास्न सरल र सहज ढंगबाट ऋण प्रवाह गरी सम्पूर्ण सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्नु नै संस्थाको उद्देश्य भएको बस्नेतले बताए । 



सहकारीको भावनालाई आत्मसात गर्दै संस्था अगाडि बढेको र विभिन्न समस्या र उतारचढावकाबीच पनि संस्थाले राम्रो प्रगति गर्न सकेको उनले जनाए । संस्थाले आ.व. २०७५।०७६ को अन्त्यसम्म ८ करोड ६ लाख शेयरपूँजी, १ अर्ब ३ करोड २० लाख बचत संकलन र ९३ करोड ८७ लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा १ करोड ८९ लाख सञ्चालन नाफा आर्जन गरेको छ । 

संस्थाले व्यवसायिक, स्वरोजगार, कृषि र निर्माण सामग्रीको कारोबार गर्ने सदस्यहरुलाई लगानी गर्दै आएको छ । विशेषतः साना व्यवसायी र न्यून आयआर्जन भएका सदस्यहरुलाई प्राथमिकतामा राखी संस्थाले लगानी गर्ने गरेको उनले बताए । 



संस्थाले जीवनदीप मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । उक्त एपको प्रयोग गरी खाताको रकम ट्रान्सफर, मोबाइल रिचार्ज, हवाई टिकट खरिद, बिजुली तथा इन्टरनेटको महशुल भुक्तानी जस्ता सुविधा प्राप्त गर्न सकिन्छ । संस्थाले बजार प्रवद्र्धन र नगद संकलनमा सहजीकरण गर्न यसै वर्षबाट ट्याब्लेट बैंकिङ शुरुवात गर्ने भएको छ ।

चालु आवमा शेयर पूँजी ११ करोड, बचत संकलन १ अर्ब २२ करोड र ऋण लगानी १ अर्ब ३ करोड पुर्‍याउने संस्थाको लक्ष्य रहेको छ । 



 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif