Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

बालकुमारी भक्तपुरको पश्चिम भेगको एक अग्रणी संस्था बनेको छ


२०७६ आश्विन १ गते , बुधवार प्रकाशित

तुईलाल श्रेष्ठ
अध्यक्ष, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.


बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको गौरबमय दुई दशकको यात्रा पुरा गरेको छ । २०५७ साल अशोज २ गते मध्यपुर थिमी नगरपालिका, शंखधर चोकमा स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा ठूलै फड्को मार्न सफल भएको छ । संस्थामा ५ हजार सदस्य आवद्ध भएका छन् भने १ अर्ब १८ करोडमाथि बचत संकलन भएको छ । संस्थाले समुदाय र सदस्यको आर्थिक, सामाजिक एवं साँस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जसका कारण भक्तपुरको पश्चिमी भेगको एउटा उत्कृष्ट संस्थाको रुपमा बालकुमारी स्थापित भएको छ । संस्था स्थापनाको हुँदा दुई वर्ष लेखा समिति सदस्य र २०५९ देखि ७५ सालसम्म सचिवको रुपमा काम गरेका तुईलाल श्रेष्ठ २०७५ पौष २१ गते भएको अठारौं साधारण सभाबाट अध्यक्ष बनेका छन् । २० वर्ष एउटै संस्थामा बिताएका श्रेष्ठसँग सहकारीका बारेमा लामो अनुभव छ । अध्यक्ष श्रेष्ठसँग बालकुमारी साकोस र त्यसैको सेरोफेरोमा रहेर गरिएको कुराकानी:


बाल कुमारी बचत तथा ऋण सहकारी संस्थाको दुई दशको यात्रालाई कसरी सम्झनुहुन्छ ? 

हामीले २०५७ साल असोज २ गते यो संस्था स्थापना गरेका थियौं । जुन बेला हामीले संस्था शुरु ग¥यौं, त्यस समयमा फ्यूचर सहकारी संस्थाले यस क्षेत्रका सदस्यहरुको बचत लिएर भागेको थियो । त्यसकारण सहकारीप्रति स्थानीयकोे त्यति विश्वास थिएन । तर हामीले समस्या भएपनि समाधान गर्दै जानुपर्छ भन्ने सोचका साथ संस्था अघि बढायौं । २८ जना व्यक्तिहरुको सहभागितामा सात लाख  रुपैयाबाट संस्था शुरु गरिएको हो । जसमा समाजसेवी, शिक्षक, व्यापारी र वुद्धिजीवी हुनुहुन्थ्यो । हाम्रो उद्देश्य भनेको मध्यपुर थिमी क्षेत्र आसपासमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी, सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक उत्थान गर्नु थियो । सोही अनुसार हामीले संस्थाको क्रियाकलापलाई अगाडि बढायौं । स्थापनाकाल देखि नै स्थानीय समुदाय, टोलछिमेकका व्यक्ति र संस्थाप्रति सबैले गरेको विश्वासका कारण हामी यहाँसम्म आइपुग्न सफल भएका हौं । हामीले सदस्यको चाहना अनुसारको सेवा दिँदै आएका छौं भने छिटो छरितो रुपमा ऋण लगानी गर्दै आएका छौं । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएका छौ । दुई दशकको अवधिमा बालकुमारी साकोस भक्तपुरको पश्चिमी भेगको अग्रणी संस्थाको रुपमा स्थापित भएको छ । संस्था यो स्थानमा पुग्नुमा शेयर सदस्यको विश्वास, एवं सहकारी विभाग, नेफ्स्कुन, सहकारी बैंकको सक्रिय सहयोग रहेकाले नै हो । हामीले सहकारी ऐन नियम र मापदण्ड परिपालन गरेर अगािड बढेका कारणले नै सफल हुन सकेका हौं । 

संस्थाको समग्र अवस्था के छ ? 

संस्थामा ५ हजार सदस्य पुगेको अवस्था छ । ७ लाख पूँजीबाट शुरु भएको संस्थाको असार मसान्तसम्म ८ करोड ४७ लाख ६१ हजार शेयरपूँजी पुगेको छ । त्यसैगरी १ अर्ब १८ करोड २० लाख बचत संकलन तथा ९५ करोड ८३ लाख ९७ हजार ऋण लगानी रहेको छ । संस्थाको विभिन्न कोषहरुमा ४ करोड २ लाख १५ हजार रुपैया रकम जम्मा भएको छ । संस्थामा खराब ऋण छैन । संस्थाले आफ्नै भवन खरिद गरेको छ । कम्प्युटराइज्ड माध्यमबाट सदस्यहरुलाई सेवा दिँदै आएको छ । सदस्यहरुलाई हरेक वर्ष राम्रो प्रतिफल दिँदै आएका छौं । 

सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा कसरी लाग्नुभएको छ ? 

हामीले सदस्यहरुलाई सर्वसुलभ ब्याजदरमा ऋण लगानी गरेका छौं । ०७२ सालको भुकम्पबाट घर भत्केका सदस्यहरुलाई पुनःनिर्माणको लागि २÷३ प्रतिशत कम व्याजदरमा ऋण उपलब्ध गराएका छौं । शेयर सदस्यका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न सघाउने उद्देश्यले कम व्याजदरमा ऋण दिएका छौं । पसल चलाउनेहरुलाई बिना धितो १ लाखसम्म ऋण दिन्छौं । यसबाट उनीहरुको आर्थिक स्तर माथि उठ्दै गएको छ । त्यसैगरी विष्णु विर सामुदायिक बनमा २०६८ सालमा वृक्षारोपण गरी हराभरा जंगल बनाएका छौं । रेडक्रसबाट मध्यपुरमा शववाहन सञ्चालन गर्ने भएपछि हामीले अक्षयकोष खडा गरिदियौं । यी हामीले गरेका सामाजिक क्रियाकलापहरु हुन् । त्यसैगरी सँस्कृति जगेर्ना गर्ने उद्देश्यले ४५ वर्षसम्म लोप भएको लायकू भैला नाचलाई अक्षय कोष स्थापना गरी सञ्चालनमा ल्याएका छौं । मध्यपुर थिमी क्षेत्रमा रहेका साँस्कृतिक भजखल समुहलाई आर्थिक तथा बाद्यवादन सहयोग गरेका छौं । नित्य भजनलाई पनि सहयोग गरेका छौं । स्थानीय संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा पनि हामीले सक्दो रुपमा आर्थिक सहयोग पुर्‍याउँदै आएका छौं । अरनिको हाइवेमा दुर्घटना कम गर्न ट्राफिक प्रहरीसँग मिलेर होर्डिङ बोर्ड राख्ने र जनसचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दे आएका छौं । सदस्यहरुको सीप विकास गर्न हरेक वर्ष ५÷७ वटा तालिम सञ्चालन गर्छौं । शेयर सदस्यहरु हरेक क्षेत्रमा अगाडि बढ्न सक्षम बनुन् भन्ने उद्देश्यले वक्तृत्वकला, हाजिरजवाफ प्रतियोगिता, चित्रकला जस्ता कार्यक्रम गर्दै आएका छौं । सदस्यहरुलाई स्वस्थ बनाउने उद्देश्यले विगत १४/१५ वर्ष अगाडि देखि महिलाहरुको पाठेघर जाँच गराउँदै आएका छौं । बृहत् आँखा शिविर, नाक, कान घाँटीको शिविर र होलबडी चेकअप गराई स्वस्थ नागरिक तयार पानुपर्छ भन्ने भावनाबाट अघि बढेका छौं । 

संस्थाले दिएको सेवाप्रति सदस्य सन्तुष्ट छन् ? 

हामीले हरेक वर्ष २ पटक सहकारी शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छौं । त्यस अवसरमा हामी सदस्यको रायसुझाव माग्छौं र उनीहरुले संस्थाको सेवाप्रति सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् । सदस्यहरु संस्थाप्रति सकारात्मक भएको हामीले पाएका छौं । 

२ दशकको अनुभवमा सहकारी के रहेछ ? 

सहकारी भनेको वास्तवमै सहकार्य हो । शेयर सदस्य, सञ्चालक र कर्मचारीको बीचमा एक आपसमा मिलेर काम गर्नु नै सहकारी हो । सरकारले अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको छ । बैंकिङ पहुँचबाट टाढा रहेका धेरै मानिसलाई सहकारीले वित्तीय सुविधा दिएको छ । २०४६ सालअघि यस क्षेत्रका वासिन्दालाई ५० हजार रुपैयाँ जुटाउन निक्कै गाह्रो थियो । अहिले सहकारी स्थापना भएकाले रकम जुटाउन धेरै सजिलो भएको छ । ५० हजार होइन पाँचदश लाख पैसा तुरुन्तै पाउने अवस्था सृजना भएको छ । 

सदस्य सम्मान कार्यक्रम पनि सञ्चालन गर्नु भएको छ ? 

प्रत्येक वर्ष साधारण सभाका दिन जेष्ठ नागरिकलाई नगद र दोसल्लाले सम्मान गर्ने गरेका छौं । एसईई परीक्षामा सबैभन्दा बढि अंक ल्याउने छात्रछात्रालाई नगद सहित पुरस्कृत गर्दै आएका छौं । आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । 

बालकुमारी साकोसलाई कस्तो संस्था बनाउने योजना छ ? 

हामी नेफ्स्कुनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (सीयूआरबीएस) मा सहभागि भएको १ वर्ष भयो । त्यस कार्यक्रममा सहभागि भएपछि हामीले धेरै कुरा सिक्ने मौका पाएका छौं । समुदायमा आधारित संस्था भएको कारण २०६८ सालमा तत्कालिन डिभिजन सहकारी कार्यालयबाट भक्तपुर जिल्लाको उत्कृष्ट संस्थाको पुरस्कार प्राप्त गर्न सफल भयौं । त्यसैगरी राष्ट्रिय सहकारी बैंकले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको छ । हामीले सहकारी दिवसको अवसरमा वाकाथन कार्यक्रम गरेका छौं । वाकाथन कार्यक्रममा ५ हजारको हाराहारीमा सहभागिता थियो । त्यस कार्यक्रमको प्रमुख अतिथि यसै नगरपालिकाको मेयर हुनुहुन्थ्यो । यो कार्यक्रम समुदायकै लागि गरेका थियौं । समुदाय र सदस्यलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरेर संस्थालाई यस क्षेत्रकै नमूना संस्था बनाउने हाम्रो योजना छ । 

अहिलेको ऐन नियम कत्तिको सहकारी मैत्री छ ? 

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले सहकारी क्षेत्रका धेरै कुरालाई सम्बोधन गरेको छ । ऐननियमलाई हामी सबैले पालना गर्नै पर्छ । संस्थाको कार्यक्षेत्र मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका रहेको छ । ऐनले एक संस्था एक व्यक्तिको व्यवस्था गरेको छ भने एउटा संस्थामा ५ हजार सदस्य हुनुपर्छ भनेको छ । सोही अनुसार केवाईएम फर्म भरेर सदस्यको पहिचान लिई ५ हजार सदस्य पु¥याउने तयारीमा लागेका छौं । सहकारीमा सन्दर्भ व्याजदर लागू गर्नु ठिक हो । विभागले सूचना जारी गरेसँगै हामीले पनि सन्दर्भ व्याजदर लागू गरिसकेका छौं । जहाँसम्म एक संस्था एक व्यक्तिको कुरा छ त्यसमा हामी छलफलकै क्रममा छौं । सरकारको नियमलाई पालना गरेर नै हामी अगाडि बढ्छौं । ५ हजार सदस्य, शेयरपूँजी, बचत र ऋण लगानीमा हामी आफैं सबल भयौं भने एकिकरण आवश्यक पर्दैन । त्यसो गर्न सकेनौं भने सञ्चालक समितिमा छलफल गरेर एकिकरणलाई अगाडि बढाउँछौं । 

नेपाल जस्तो देशको लागि सहकारीको आवश्यकता कत्तिको देख्नुहुन्छ ? 

हाम्रो जस्तो मुलुकमा सहकारीको महत्व धेरै छ । सहकारी बिनाको समाज परिकल्पना पनि गर्न सकिँदैन । २०१३ सालमा नेपालमा औपचारिक रुपमा सहकारी शुरु भएको हो । सहकारी ऐन २०४८ आएपछि सहकारीको विकास तीब्र रुपमा भएको पाइन्छ । नेवारी समुदायमा त त्यो भन्दा पहिला देखि नै गुठीको रुपमा सञ्चालन भएको थियो । गुठीलाई हामीले सहकारीकै एउटा रुपमा मान्न सकिन्छ । सहकारी अपरिहार्य छ तर धेरै सहकारी भयो भन्ने कुरा उठेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयहरुले दर्ता गर्दाको बखतमा यो कुरामा विचार पु¥याएको भए राम्रो हुन्थ्यो । संस्थाहरु खुलिसकेका छन्, अब त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राज्यले नै ध्यान पुर्‍याउनुपर्छ । 

भक्तपुरको आर्थिक–सामाजिक रुपान्तरणमा सहकारीको योगदानलाई कसरी लिन सकिन्छ ? 

यहाँको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीको ठूलो योगदान रहेको छ । साँस्कृतिक उत्थानमा भक्तपुरका सबै सहकारीले काम गरेका छन् । समुदायमा आधारित संस्थाले समुदायलाई नै प्राथमिकतामा राखेर काम गर्छन् । स्थानीय जनताको आर्थिक सामाजिक रुपान्तरण सहकारीकै माध्यमबाट भएको छ । अब सहकारी उत्पादनमा जोडिनुपर्छ । कृषि, स्थानीय उद्योग, कलकारखाना, शिक्षा जस्ता क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यसतर्फ लगानी बढाउने हाम्रो पनि योजना छ । त्यसका लागि ६ वटा नीति बनाइसकेका छौं । विनियम पनि सोही अनुसार बनाइसकेका छौं । आगामी साधारणसभाबाट अनुमोदन गरेपछि क्रमशः उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँछौं । 

   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif