Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

अमेरिकाले जमिन मुनि किन लुकाउँछ तेल ?


२०७६ आश्विन १ गते , बुधवार प्रकाशित


  यतिबेला अर्थात साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्नका लागि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने अबस्था सिर्जना भएको बताइरहेका छन्।  

तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताइसकेका छन् ।    अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको बताइएको छ ।   तेलका यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा अघि सारिएको थियो ।  

हुन त अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई यसरी भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्‌कालीन इन्धन भण्डार हो।  

यो तेलको भण्डारण स्थापना गर्ने अबधारणा अमेरिकी राजनीतिज्ञहरूले  सन् १९७० को प्रारम्भमा ल्याएका हुन् । मध्यपूर्वका देशहरूले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको परिवेशमा अमेरिकाले तेल भण्डार गर्ने योजना त्यतिबेला बनाएको थियो ।  

हुन पनि पेट्रोल निर्यात गर्ने देशहरूको समूह अर्गनाइजेशन अफ अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजमा रहेका इराक, कुवेत, कतार र साउदी अरेबियाले सन् १९७३ मा भएको अरब– इजरायली युद्धका क्रममा इजरायललाई समर्थन गरेको भन्दै अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए।  

त्यसै वर्षको अक्टोबर महिनामा भएको उक्त युद्ध ३ हप्ता मात्रै चलेको थियो। तर उक्त तेल आपूर्तिको नाकाबन्दी जसले अन्य देशलाई पनि निशाना बनाएको थियो १९७४ को मार्च महिना सम्म निरन्तर रह्यो। त्यसका कारण उतिबेला प्रति ब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रति ब्यारेल पुगेको थियो । नाकाबन्दीबाट प्रभावित देशमा पेट्रोल पम्पहरूमा कार लाम लागेका केही तस्वीरले त्यसबेलाको उक्त सङ्कटलाई राम्रोसँग चित्रण गरेका थिए ।  

त्यसैको सेरोफेरोमा सन् १९७५ मा अमेरिकी संसदले उर्जा नीति र संरक्षण कानून अनुमोदन गर्यो। त्यसकै आधारमा आपूर्तिमा अर्को ठूलो सङ्कट आउनसक्ने अवस्थाका लागि तयार रहन रणनीतिक इन्धन जगेडा केन्द्र स्थापना गरियो।  

अहिले अमेरिकाका ४ वटा शहरहरूमा त्यसरी तेल भण्डारण गरिएको छ । टेक्ससमा फ्रिपोर्ट र विन्नी अनि लुइजियानामा लेक चार्ल्स र बेटन रोगमा यस्ता रणनीतिक तेल रिजर्भहरू रहेका छन् ।  

ती प्रत्येक ठाउँमा मानव निर्मित नुनिला चट्टान सहितका गुफाहरू निर्माण गरिएका छन् र तेल भण्डार गरिएका ठाउँ जमिनको सतहभन्दा १ किलोमिटर मुनिसम्म रहेको बताइन्छ। यो जमिनमाथि ट्याङ्की बनाएर तेल भण्डार गर्नुभन्दा सस्तो र सुरक्षित रहेको पनि ठानिन्छ । नूनको मिश्रण र भौगर्भिक चापका कारण भूमिगत रूपमा भण्डारण गरिएका तेल चुहावट हुने सम्भावना पनि रहँदैन भनिन्छ ।  

फ्रिपोर्ट नजिकैको सबैभन्दा ठूलो तेल भण्डारमा २५ करोड ४० लाख ब्यारेल तेल अटाउन सक्ने क्षमता छ । रिर्जभको वेबसाइटका अनुसार यी गुफाहरूमा १३ सेप्टेम्बरमा ६४ करोड ४८ लाख ब्यारेल तेल सञ्चित गरिएका थिए । अमेरिकाको इनर्जी इन्फरमेशन एडमिनिस्ट्रेशनका अनुसार अमेरिकीहरूले सन् २०१८ मा प्रतिदिन २ करोड ५ लाख ब्यारेल तेल खपत गरेका थिए। जसको अर्थ त्यहाँ ३१ दिनलाई पुग्ने तेलको परिणाम सुरक्षित रहेको छ ।

  अमेरिकामा जेराल्ड फोर्डले सन् १९७५ मा हस्ताक्षर गरेको कानुन अनुसार इन्धनको आपूर्तिमा गम्भीर समस्या देखिए राष्ट्रपतिले मात्रै यी रिजर्भहरूबाट तेलको प्रयोग गर्न आदेश दिन मिल्ने व्यवस्था छ । भौतिक कठिनाइको अर्थ प्रत्येक दिन यी गुफाबाट सानो परिमाणमा मात्रै तेल बाहिर ल्याउन मिल्छ । यसको अर्थ राष्ट्रपतिले आदेश दिए पनि त्यसलाई बजारसम्म आइपुग्न करिव दुई हप्ता लाग्छ।  

यो भण्डारण गरिएको तेल कच्चा तेल हो। यसलाई थप प्रशोधन गरेपछि मात्रै कार, जहाज र विमानहरूमा प्रयोग गर्न मिल्छ । साउदी प्रशोधन केन्द्रमा भएका हमलापछि सोमवार अमेरिकी उर्जा मन्त्री रिक पेरीले प्रसारक संस्था सिएनबीसीलाई ती रिजर्भहरूको प्रयोग गर्ने विषयमा कुरा गर्न समय परिपक्व नभइसकेको बताएका थिए । 


यसको प्रयोग कसरी गरिदै आएको छ ?

यो भन्दा अघि अन्तिम पटक अरब स्प्रिङ रिभ्योल्युशन भनिने अरब देशहरूमा सन् २०११ मा भएको क्रान्तिका समयमा यो रिजर्भको प्रयोग गरिएको बताइन्छ । त्यसबेला इन्धन आपूर्तिमा समस्या कम होस् भन्नका लागि आइइएका सदस्य देशहरूले संयुक्त रूपमा छ करोड ब्यारेल तेलको प्रयोग गरेका थिए ।तर विभिन्न समयमा अमेरिकाले ठूलो परिमाणमा ती तेलको प्रयोग गर्ने गरेको बताइन्छ ।  

नब्बेको दशकमा सन् १९९१ मा गल्फ युद्धका बेला राष्ट्रपति जर्ज एच डब्लु बुसले उक्त भण्डारको प्रयोग गर्न आदेश दिएका थिए । उनका छोरा जर्ज डब्लु बुसले पनि क्याट्रिना नामक शक्तिशाली आँधीपछि १ करोड १० लाख ब्यारेल तेलको प्रयोग गर्न अनुमति दिएका थिए।  

हुन त अमेरिकामा नै इन्धनको उत्पादनको क्रम बढिरहेको सन्दर्भमा त्यत्रो विशाल भण्डारको उपयोगिताबारे पनि प्रश्नहरू उठ्ने गरेका छन् । वासिङ्टनमा कतिपयले त्यसलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने सुझाव पनि दिएका छन् । सरकारलाई जवाफदेही बनाउने निकायको एउटा प्रतिवेदनले सन् २०१४ मा त्यस्तो सुझाव दिदैँ त्यसबाट अमेरिकी उपभोक्ताका लागि तेलको मूल्य घट्नसक्ने बताएकोे थियो।  

दुइ बर्ष अघि सन् २०१७ मा पनि ट्रम्प प्रशासनले संघीय घाटा पूर्ति गर्न यो भण्डार गरिएका तेलमध्ये आधा तेल विक्री गर्ने विचार राखेको थियो । सन् १९९७ मा राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा पनि घाटा कटौती गर्ने उद्देश्यले २ करोड ८० लाख ब्यारेल तेल विक्री गरिएको अभिलेखले देखाउँदछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif