Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

अमर छ १५ सेप्टेम्बरको ऐतिहासिक दिन !


२०७६ भाद्र ३० गते , सोमवार प्रकाशित

 तथ्य सत्यको कसीमा १५ सेप्टेम्बरलाई हेर्दा

-लोकनारायण सुवेदी

नेपाल कम्युनिष्ट पार्टीको जन्म १५ सेप्टेम्बर १९४९ मा भएको हो । २०१९ साल अघिको सिंगो पार्टीका दस्ताबेजहरु, मुखपत्रहरु, सभा सम्मेलनहरुका पर्चाहरु र तत्कालीन निस्कने गरेका पत्रपत्रिकाहरु मात्रै होइन त्यतिबेला सत्तामा रहेका बिश्वका शक्तिशाली सोभियत संघ, चीन र भियतनामका कम्युनिष्ट पार्टीहरु र अबिभाजित भारतीय कम्युनिष्ट पार्टीहरुले समेत नेपाल कम्युनिष्ट पार्टीलाई पठाउने गरेका शुभकामना सन्देशहरु पनि यसका जिउँदो जाग्दो प्रमाणको रुपमा रहेका छन् । पार्टीको कार्यक्रम ( नयाँ जनवादी कार्यक्रम र पार्टीको जन्म दिन १५ सेप्टेम्बर नै हो भनेर त २००८ सालमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मलेन र अन्य धेरै दस्तावेजहरुमा प्रष्टसँग लेखिएको छ । यद्यपि यो उदाङ्गो, यथार्थ र प्रष्ट वास्तविकतालाई मार्क्सवादी बिश्लेषणत्मक बिचार पद्धति( द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबादका अनुयायी हौं भनेर दावी गर्ने धेरैले आज स्वीकारेका छैनन् । इतिहासका तथ्यहरुमा केही नथपीकन र तिनबाट केही नझिकन यथार्थ वास्तविकताका आधारमा त्यसको ब्याख्या बिश्लेषण गर्ने र सारतत्व निकाल्ने द्वन्दात्मक तथा ऐतिहासिक मार्क्सवादी पद्धतिलाई आफुखुशी र जथाभावी भद्दा र भ्रष्ट बिश्लेषण गर्न उद्यत हुँदा मात्र भौतिक परिस्थितिले प्रमाणित नगर्ने एउटा रहस्यमय कल्पनाको कुरालाई खडा गर्न र जनचेतना नजागेसम्म अल्मल्याउन र त्यसै झूटो कुरामा अभ्यस्त गराउन सकिन्छ । वास्तवमा लामो समयदेखि हाम्रो देश नेपालमा यसै हुँदै आएको छ । नेपालमा कसैले २२ अप्रिल त कसैले २२ सेप्टम्बर भनेर छुट्टै रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिबस मनाउने गर्दछन् । हिजोसम्म १५ सेप्टेम्बर नै पार्टी स्थापना दिवस हो भनेर मान्नेहरु पनि त्यसबाट पछि फर्किएर के कारणले २२ अप्रिल भन्न थालेका हुन् औसरबाद अँगालेको बाहेक त्यसको कुनै बस्तुगत आधार र ऐतिहिसक तथ्य प्रमाण केही छैन । पार्टी गठन गर्न बनेको ५ सदस्यीय संस्थापन कमिटीको नाममा निस्केको पर्चा - जसलाई क.पुष्पलाल सवयमले लेखेका थिए र त्यसलाई कम्युनिष्ट आन्दोलनको पहिलो पर्चा नं.१ भनेर चिनिन्छ, को आधारमा २२ अप्रिललाई नै पार्टी दिवसको रुपमा पार्टी गठनको झण्डै ३ दशकभन्दा बढी समय पछिदेखि आएर बल्ल मान्न थालिएबाट पनि इतिहासलाई अस्वाभाविकरुपमा तथ्यहीन तरीकाले तोडमोड गर्न र बंग्याउन खोजेको देखिन्छ र बुझिन्छ ।

तत्कालीन चौथो महाधिवेशनले पार्टी स्थापना गर्न क. पुष्पलालको नेतृत्वमा बनेको संस्थापन कमिटीका तीनजना सदस्यहरुलाई पार्टी जन्म दिन २२ अप्रिल हो भनेर त्यसबेला बक्तब्य दिन सहमत गरायो जतिबेला 'रातो तरबार प्रकाशन बिरबास नेपाल', को तर्फाट 'गद्दार पुष्पलाल' (आज पनि सच्च्याइको नाममा त्यसको नाम फेरेर ‘क्रान्ति कि भ्रान्ति’ राखिएको छ र पुष्पलालले क्रान्ति गर्न खोजेको होइन, भ्रान्ति फैलाउन खोजेका सन्देश दिन खाजिएको छ )भन्ने झण्डै १०० पानाको किताब प्रकाशित भयो र पुष्पलालका बिरुद्ध देश र प्रबासमा समेत त्यो पुस्तक ब्यापकरुपमा बाँडियो । यसले सिंगो नेपाली कम्युनिष्ट आन्दोलन, सामन्तबाद खासगरी राजतन्त्र बिरोधी आन्दोलनलाई सहयोग पुर्यायो कि भ्रम सिर्जना गर्यो गम्भीरुपमा बिश्लेषण गर्नुपर्ने बिषय छ र धेरै कुरा उजागर पनि भइसकेको छ । यसभन्दा अघि नै पार्टीले दरबारपरस्त 'गद्दार' रायमाझीलाई पार्टीबाट निकालिसके पछि ( जुन रायमाझी वास्तवमा राजाकै गुमस्ता रहेछन् भन्ने कुरा त उनले राजाबाट पाएको पारितोषिक -२०४६ सालको अन्तरिम कालमा शिक्षामन्त्री र पछि राजसभाको अध्यक्ष आदिले सबैलाई नाङ्गो आँखाले देखिने गरी प्रष्ट पारेकै हो, उनले २२ सेप्टेम्बर पार्टीको जन्म दिन भन्न थालेका हुन् । १५ सेप्टेम्बरको दिनलाई आफुतर्फ केन्द्रिय समितिको बहुमत रहेको दाबी गर्ने माझी गुटले किन छाड्नु पर्यो त्यो पनि कम रहस्यमय र महत्वपूर्ण प्रश्न छैन । अनि १५ सेप्टेम्बरलाई यसरी दरबारिया कम्युनिष्टले सर्लक्कै छोडेर पञ्छिन त मिल्छ नै । त्यस कार्यले कम्युनिष्ट आन्दोलनप्रति र कम्युनिष्ट पार्टीको जन्म दिनप्रति अनावश्यक बिवाद पैदा गरेर नेपालमा जनता बीच लोकप्रिय हुँदै जनताको संघर्षको नेतृत्व खाशगरी कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लागेपछि ८ सालदेखि २०१३ सालसम्म सामन्तबादका बिरुद्ध किसान संघर्षको नेतृत्व गर्दै आएको संघर्षशील कम्युनिष्ट पार्टीलाई 'कोपिलामै निमोठ्ने (nip in bud) र जनतामा भ्रम र्छर्ने बाहेक अरु के हुन सक्तछ - स्वय रायमाझीले '१५ सेप्टबरलाई अभिनन्दन गरौ' पार्टीको जन्म दिवस भब्यरुपमा मनाउँ' भनेर पर्चा निकाले थिए २०१९ साल अघि उनी पार्टीको महासचिवको पदमा आसीन भएको बेला ।

यहाँ के कुरा उल्लेख गर्नै पर्दछ भने मार्क्सवाद, लेनिवाद मात्रै मान्छौ भन्ने - तर ब्यवहारमा दरबारिया शक्तिलाई सहयोग पुर्यउने, रायमाझी पन्थीहरु र मार्क्सवाद,लेनिनवाद र माओ बिचारधारा मान्ने अरु समूहहरु एक समानरुपले क. पुष्पलालप्रति किन खनिए ? क. पुष्पलाल स्वयमं मार्क्सवाद-लेनिनवाद र माओ बिचारधाराका नेपालका प्रबक्ता थिए । त्यसै आधारमा उनले नेपाली समाजको बर्गीय बिश्लेषण गरेका थिए र सामन्तबादका बिरुद्ध र खाशगरी राजतन्त्रका बिरुद्ध त्यससँग अन्तरबिरोध राख्ने सम्पूर्ण राजनीतिक तथा बर्गीय शक्तिहरुलाई एकजुट पार्न र संयुक्त जन आन्दोलनको सृष्टि गर्न उनी निरन्तर कस्तै कठिन घडीमा पनि एकाग्र र तल्लिन थिए । क. पुष्पालाल सामन्तबाद बिरोधी किसान आन्दोलनको पक्षमा निरन्तर कृयाशील थिए । वास्तवमा कामरेड पुष्पलालले जुन 'नेपाली जन आन्दोलन एक समीक्षा' नामक अत्यन्तै पठनीय र आजको सर्न्दर्भमा पनि अत्यन्तै उपयोगी पुस्तक लेखेका छन् त्यसमा जन आन्दोलनको समीक्षा मात्रै छैन, जनताका पक्षधर शक्तिहरुको एकलकाँटे, संकीर्ण र बिचलनकारी प्रबत्तिको आलोचना पनि त्यसमा रहेको छ । ती सबै कुरा गरेर उनले कसरी आन्दोलनलाई एउटा साझा, सशक्त र अग्रगामी आन्दोलनको निर्माण गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरेका छन् र बिगतका गल्ती कमजोरीहरुबाट कम्युनिष्ट तथा काग्रेस मुक्त भएर राजाको ०१७ सालको प्रतिगामी कदमका बिरुद्ध जन अन्दोलन केन्द्रित गर्नु पर्दछ भन्ने कुरा प्रष्ट पारेका छन् । यसरी सम्पूर्ण आन्दोलनको केन्द्र सामन्ती ब्यवस्था र त्यसको नेतृत्व गर्ने राजतन्त्रका बिरुद्ध केन्द्रि गर्नु पर्दछ र त्यसका निमित्त काग्रेस कम्युनिष्ट एक हुनु पर्दछ भन्ने प्रष्ट र दूरदर्शी धारणा राख्ने र तदनुकूलको ब्यवहार गर्ने उच्च राजनीतिक नैतिकता र समर्पण भाव भएका क. पुष्पलालका बिरुद्ध किन अनर्गल आरोप लगाउने षडयन्त्रका तानाबाना बुनियो ? त्यसै अन्तरगत १५ सेप्टेम्बरलाई अस्वीकार गरेको त होइन भन्ने गम्भीर प्रश्न पनि स्वाभाविकरुपमा खडा हुन्छ ।


वास्तवमा यी सबै कुरा देखे भोगेका क. पुष्पलालले तीतो अनुभव गरेपछि त्यसको सार खिच्दै प्रष्टरुपमा भनेका थिए : 'राजनीति जालझेल होइन, बास्तविक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो' । यसबाटै प्रष्ट हुन्छ कि उनी जालझेल र त्यसका आधारमा शक्तिको खेलमा लाग्ने कुनै पनि गतिबिधिको बिरुद्ध थिए । त्यस्ता गतिबिधिले आमूल र अग्रगामी परिवर्तनलाई कदापि मद्दत पुर्याउँन र योगदान दिन सक्तैन भन्ने उनको सुस्पष्ट बिचार थियो । यो आजको यथार्थले पनि सबैलाई दशाईरहेको छ । आज पनि कुन कुन शक्तिहरु सजातीय हुन् र कुन कुन शक्तिहरु बिजातीय हुन त्यसको बर्गीय दृष्टिकोण्का आधारमा ठोस बिश्लेषण गरेर अघि बढ्न नसक्दा अहिलेको राजनीतिक गतिरोध पैदा भएको र त्यो झन पछि झन् जटील बन्दै गएको छ । यसको समाधानका लागि कामरेड पुष्पलालको चिन्तन, बिचार र अबधारणालाई आत्मसात गर्नु पर्दछ । जनताका क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुहरुले आफ्ना गल्ती कमजोरीहरुको आत्म आलोचना गरेर आफुलाई केवल जनताको शक्तिको रुपमा प्रस्तुत गर्दै एकजुट हुनपर्छ जनताका साझा समस्या, राष्ट्रका साझा समस्या समाधान गर्नका  निमित्त । यो क. पुष्पलालले कोरेकोे र १५ सेप्टेम्बरले मार्गदर्शन गरेको राष्ट्रिय राजनीतिक परिवर्तनको सही र मूलबाटो हो । १५ सेप्टेम्बरको मर्मलाई आत्मसात गर्न नसक्ता र यसलाई बिस्मृतिको गर्भमा धकेल्न खोज्दा समस्याको समाधान हुँदैन भन्ने कुरा प्रष्ट छ । जनताका क्रान्तिकारी कम्युनिष्ट शक्तिलाई आत्म आलोचनाकासाथ एकजुट पार्ने यस दिनले प्रेरणा देओस् । अमर छ १५ सेप्टेम्बर !

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif