Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ


२०७६ भाद्र २९ गते , आईतवार प्रकाशित



कृष्णहरि भट्ट




आज २०७६ भाद्र २९ गते तद्अनुसार १५ सेप्टेम्बर २०१९ । नेपालमा कम्युनिष्ट पार्टी विधिवत स्थापना भएको दिन । यो दिन श्रमजीवी नेपाली जनताले मुक्तिको आकाङ्छालाई वैज्ञानिक निष्कर्ष सहित निकास दिने विचारधारा, संगठन र नेतृत्व प्राप्त गरेको दिन । यसरी आन्दोलनले विचारधारा, संगठन र नेतृत्व प्राप्त गरेको पनि आज ७० बितेको छ । पार्टीले आफ्नो स्थापना कालमा राखेको लक्ष्य उद्देश्य केके पुरा भए केके पुरा हुन बाँकी छ, पार्टी स्थापनाको सान्दर्भिकता थियो कि थिएन, यो अवधिमा पार्टी वा आन्दोलनमा केके विवाद देखा परे, केकस्ता भड्कावमा आन्दोलन फस्न पुग्यो र अबको दिशा के हुने भन्ने बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

उद्देश्य र लक्ष्य

नेपाल कम्युनिष्ट पार्टीको जन्मको गर्भाधान २००६ बैशाख १२ गते पहिलो पर्चा प्रकाशनबाट भयो । यसले ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई अत्यावश्यक, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ !’ भन्ने शीर्षकमा आह्वान गरेको थियो । मजदुरलाई स्वतन्त्रता यस कारणले चाहिएको छ कि उसको रोजिरोटी बढाउन महंगी घटाउन संघर्ष गर्न सकुन, किसानलाई स्वतन्त्रता यस कारणले चाहिएको छ कि आफ्नो भोक हटाउन, जमिनमाथिको स्वामित्व स्थापित गराउन, आफ्नो फसलको सुरक्षा र उचित भाउ पाउन संघर्ष गर्न सकुन, नारीहरुलाई स्वतन्त्रता यस कारणले चाहिएको छ कि उनीहरुमाथि थोपरिएको दोहोरो दासताविरुद्धको संघर्षलाई अगाडि बढाउन सकुन र विद्यार्थीहरुलाई स्वतन्त्रता यस कारणले चाहिएको छ कि उसले विना फिस वैज्ञानिक शिक्षा पढ्न पाउने वातावरण बनाउन सकुन । यसैगरी पूर्ण नागरिक स्वतन्त्रताको लडाइँलाई पूर्णता दिन, लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार, देशमै रोजगारीको ग्यारेन्टी, भर्तिको खारेजी लगायतका मुद्दा पुरा गराउन सवै श्रमजीवी जनता एक भई सानदार संघर्षमा आउन भनिएको थियो । 

दोश्रो विश्वयुद्धको अन्त्यसंगै विश्वभरी स्वतन्त्रताको लहर चलेको थियो । विश्व नयाँ युगमा प्रवेश गर्दै थियो । शक्ति राष्ट्रको उपनिवेशको अन्त्य हुँदै औपनिवेशिक शोषण उत्पीडनको अन्त्य एकातिर हुँदै थियो भने अर्कोतिर घरेलु प्रतिक्रियावादी आत्मसर्मपणवादीहरु, मरेको इष्ट इन्डीया र एण्ड कम्पनि र स्वतन्त्र भारतीय नेताहरु नेपालमा अप्रत्यक्ष उपनिवेशीक शोषण उत्पीडनमा आधारित सम्बन्ध स्थापित गर्न पुनः सफल भएको अवस्थामा सामन्तवादी शासन व्यवस्थालाई समुल नष्ट गर । विदेशी साम्राज्यवाद र भारतीय प्रभुत्ववादी पुँजीवादको घेरा र प्रभावदेखि अलग होऊ । मजदुर किसानको शासन खडा गर । जनविरोधी शक्ति केन्द्रसंग टाढा होउ जनपक्षीय शक्तिसंग सहकार्य गर । जनताको नयाँ जनवाद र समाजवाद प्रति प्रतिबद्ध होऊ । जस्ता राजनीतिक उद्देश्य र लक्ष्यहरु निर्धारीत गरिएका थिए । 

आज यी मध्ये सामन्तवादको केन्द्र राजतन्त्र ढलेको छ । तर सामन्तवादका अवशेषहरु ज्यूँका त्यूँ छन । बरु अर्ध सामन्तवादको चरित्र फेरिएर नव सामन्तवादी भएको छ । राष्ट्रिय पुँजीपतिहरु अस्तित्व रक्षाको संघर्षमा छन । राज्यसत्तामा सामन्ती तथा दलाल पुँजीवाद शीर देखि पुच्छरसम्म कायम भएको छ । कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य उद्देश्यको ठीक विपरित भएको छ ।

सान्दर्भिकता 

नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको सादर्भिकता ज्यादै रहेको छ । सम्पूर्ण श्रमजीवी जनताको हित र मुक्तिसंग जोडिएको प्रश्न भएकाले पनि यसको महत्व र सान्दर्भिकता बढेको हो । मानव समाजको विकास र रुपान्तरणको इतिहासमा नै आमुल परिवर्तन ल्याइदिएको थियो सन् १८४८ मा भएको कम्युनिष्ट घोषणापत्रको प्रकाशनले । घोषणापत्र प्रकाशनको अगाडिको सिंगो मानव समाजको इतिहास र पछाडिको इतिहासको मुल्यांकन गर्ने हो भने यो १७१ बर्षको अवधिमा मानव समाजको राजनीतिक, दार्शनिक चिन्तनमा शुद्धता, विकास र रुपान्तरणको तुलना गर्दा स्पष्ट हुन्छ । नेपालमा यति दुरगामी महत्व बोकेको घोषणापत्रको युग चिन्तनको अनुवाद भई प्रकाशन हुनभने सय वर्ष कुर्नु पर्यो । यस्तो महत्वपूर्ण काम पुष्पलालबाट भयो । यसमा लेखिएको भूमिकाले नेपालमा चलिआएको समग्र प्रणाली माथि प्रश्नमात्र उठाएन वैज्ञानिक समाधानका आधारहरु समेत प्रदान गर्यो । र नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्यो । सारमा भन्नु पर्दा कम्युनिष्ट चिन्तन प्रणाली भनेको समाजमा मान्छेद्वारा मान्छेमाथि गरिने सवै प्रकारका विभेद र शोषणको अन्त्य गर्ने चिन्तन, संगठन र राजनीतिक प्रणाली भएकाले यो मानव समाज र जीवनकै उत्कृष्ठ प्रणाली ठहरिन पुगेको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाले न्याय र समानता मुलक समाज निर्माणमा यसको वैज्ञानिक चिन्तन पद्धतिका कारण महत्व र सान्दर्भिक अझ बढेको छ । 

कम्युनिष्ट पार्टीको लक्ष्य उद्देश्य र चरित्र अनुरुपको पार्टी संगठन र आन्दोलन हुन नसक्नु, आन्दोलनलाई कहिले उग्र दक्षिणपन्थी संसदवादमा पतन गराउनु त कहिले उग्र बामपन्थी दुश्साहसवादमा पतन गराउनु नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्याको रुपमा रहेको छ । यस्ता प्रकारका भडकाउलाई सच्याउँदै, अव उपरान्त यस्तो समस्याबाट जोगिदैं जोगाउँदै जनतालाई प्रशिक्षित, संगठित र आन्दोलित गराउँदै अगाडि बढ्नु सवै क्रान्तिकारीको कर्तव्य बनेको छ । 

विवाद वा समस्या 

नेपाली कम्युनिष्ट आन्दोलन विवादै विवदले भरिपूर्ण आन्दोलन हो । किन भने यसले प्रश्न गर्न सिकाउछ । र समाधान पनि सिकाउछ । समाधान मात्र सिकाउदैन वैज्ञानिक तरिकाले विषयवस्तु बुझ्न र यसका आयामहरुमा पनि प्रकाश पारी अगाडि बढ्न सिकाउछ । कम्युनिष्ट पार्टी स्थापना र कम्युनिष्ट घोषणापत्र प्रकाशित हुनु भन्दा पहिले यस्तो व्यवस्थित चिन्तन प्रणाली थिएन । धार्मिक अन्धविश्वासमा आधारित सामन्ती उत्पादन सम्बन्ध, सामाजिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध र राजकीय संरचना भएको समाजमा जन्मी हुर्केका मानिसहरुमा पूर्ववत चिन्तन र संस्कृति हुने हुन्थ्यो । व्यवस्था विरोधी हुनु एउटा कुरा हो टिक्नु अर्को कुरा हो । यही अन्तरविरोध नै समाज, व्यक्ति र पार्टी संगठनको पनि अन्तरविरोध हुन्थ्यो । व्यक्तिगत लाभहानी प्रभावि हुनु, आफैंले निर्माण गरेका नीतिमा पनि टिक्न नसक्नु र देशी विदेशी प्रतिक्रियावादीको जुठोपुरोमा रमाउनु नै नेतृत्वको मुल समस्याको रुपमा रह्यो । 

कम्युनिष्ट आन्दोलनका ऐजेण्डाहरु उठाउन र टिक्न सक्नु नै महान काम हुन्थ्यो । उठाउन सक्ने तर टिक्न नसक्ने ठूलो विवाद र समस्याको कारण बन्थ्यो । पुष्पलाल नै कम्युनिष्ट आन्दोलन र पार्टी संगठनमा त्यस्ता व्यक्तित्वको रुपमा विकास भए जसले आफुले उठाएका ऐजेण्डाहरुलाई न्याय गर्न सके त्यसलाई समृद्ध गर्न र सोही अनुरुप जीवन संघर्ष गरी टिक्न पनि सफल भए । यसरी टिक्न सक्नुमा पृष्ठभूमिको महत्वपूर्ण भूमिका हुँदो रहेछ । पहिलो त पुष्पलालको इच्छाशक्ति नै हो, दोश्रो पुष्पलालका सहोदर दाई महान अमर शहीद गंगालालको प्रेरणा । आफुलाई फाँसी दिदैं गर्दा पुष्पलालले आफ्ना भाईलाई भनेका थिए ‘राणा शासनले मलाई बाँच्न दिएन । माईला भाई तिमीले आफ्नो ज्यान छउन्जे जनतालाई पूर्ण अधिकार सम्पन्न बनाउने काममा लागि रहनु यी शोषक सामन्तलाई नछोड्नु’ । यसले पुष्पलालमा गहिरो छाप पा¥यो । फलत ः उनी राणा विरोधी संघर्षमा सरिक भए । काँग्रेशमा लागे । बनारसमा कार्यालय सचिवको काम पनि गरे । काँग्रेशका नेताहरु पार्टीले उठाएका ऐजेण्डामा गद्दारी गर्दै भारतका नेता र शक्ति परस्त भए । नेतृत्वमा देखा परेको यस्ता किसिमका अयोग्यता र वेइमानीको समाधान त्यहीं भित्र रहेको यथास्थितिवादी र सम्झौतावादी चिन्तन र प्रबृत्ति हुन सक्दैन थियो । माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा मात्र हुन सक्थ्यो । जो पुष्पलालले दरोसंग पकड्नु भयो । र जीवन पर्यन्त अविचलित रुपमा त्यसलाई समृद्ध गर्न लागि रहनु भयो । यसमा रहन नसक्नेहरु कहिले दरवारको पोल्टामा, कहिले सम्झौतावादी रुझानमा त कहिले दक्षिणपन्थी अवसरवादमा पतन गराउने÷हुने विषयहरु नै विवादका विषय बने ।

तेश्रो, पुष्पलालको शिक्षा पनि समस्याको रुपमा रहेको देखियो । पुष्पलाल एसएलसी पास नेता हुन । दाजु गंगालाललाई राणाहरुले हत्या गरेपछि दाजुले दिएको कार्यभार पुरा गर्न र आफ्नो अध्ययनलाई अगाडि बढाउन बनारस पुगे । बनारस पुगेपछि उनी काँग्रेशको कार्यालय सचिव बने । भारतीय नेता लोहिया, आजाद, नेहरु आदि नेताहरुसंगको विपि, गणेशमान, कृष्णप्रसाद, सुवर्ण शम्शेर आदि नेपाली टोपी लगाएका नेताहरुले गरेका आन्दोलन विपरित र भारत परस्त नीति र व्यवहारका कारण पुष्पलालमा असन्तोस बढ्न गयो । यो देश र जनता प्रति गद्दारी हो भन्ने निष्कर्ष निकाले पछि पनि अनेक प्रयत्न गर्दा पनि नेताहरु नसच्यिए पछि यो बाटोबाट नेपाली जनताको हित नहुने र नेपाली जनताले अर्कै बाटो लिनुपर्ने ठहरकासाथ कम्युनिष्ट घोषणापत्रको अनुवाद गर्ने काम गरे । यहाँसम्म आइपुग्दा अव अगाडिको पढाई भन्दा समाजको, आन्दोलन र संघर्षको पढाई जरुरी छ भन्दै औपचारिक शिक्षा नपढ्ने निष्चय गरी नेपाली जनताको मुक्ति आन्दोलनमा होमिन पुगे । तर पुष्पलालका समकालीन मध्यम र सामन्त वर्गबाट आएकाहरु उच्चशिक्षा हासिल गरिसकेका अवसरवादीहरु पार्टीमा हावी भए र पुष्पलाल र उनको हुटहुटिलाई होच्याउने काम गरे । जुनकुरा आजसम्म पनि आन्दोलनमा समस्याको रुपमा छ । अहिलेसम्म पनि पुष्पलालको स्तरको नेपाली समाज र विश्व राजनीतिको अध्ययन र विष्लेशण गरेको पाइदैन । र आज पुष्पलाल विरोधीहरु सवै पुष्पलालको नाम नभजाई आफ्नो भातभान्छा चलाउन नसक्ने अवस्थामा पुगे । चौथों संस्थापकहरु सवै जनजाति हुनु । उतिका पढालेखा बाहुनहरु हुँदाहुँदै पुष्पलालले आफ्ना वरिपरिकाहरुलाईमात्र समेटेर पार्टी स्थापना गरे भन्ने पनि छ । यो आन्दोलनमा को रह्यो को रहेन त्यो महत्वपूर्ण होईन । आन्दोलनलाई कस्ले वर्गीय रुपमा बुझ्यो र तद् अनुरुप आफुलाई उभ्याउन सक्यो कि सकेन भन्ने कुरा महत्वपूर्ण हो । घटनाक्रमले यही कुरा सिद्ध गरेको छ ।

भड्काव
नेपाली कम्युनिष्ट आन्दोलनमा माथिका भड्काव वा समस्या शुरुआती समय देखि नै रहे । राजाराणासंग सम्झौतावादी रुझान २००७ देखि नै देखा पर्यो, २००८ बाट शुरु गरिएको किसान संघर्षको षड्यन्त्रमुलक विसर्जन २०१२ सम्ममा पुग्दा गरियो, मजदुर संघर्ष विघटन गरियो । विधानसभाको निर्वाचनका बारेमा सहि दृष्टिकोणको अभाव हुनु र संसदीय निर्वाचनलाई वर्ग संघर्षको विकाससंग जोड्ने कुरामा समस्या हुनु, प्रधान दुश्मन र गौण दुष्मन पहिचानमा समस्या रहनु र जनसंघर्ष, जनविद्रोह र जनयुद्धमा वर्गसंघर्षलाई विकास गर्ने काममा विचलन आजसम्म पनि अतिवादी कोणबाट कायम छ । 

पहिलो पटक कम्युनिष्ट पार्टीको नीति विपरित काम गर्ने र नेतृत्व हडप्नेहरुको नेता २००८ देखिए र राजाकोमा विन्तिपत्र हाल्ने नेता मनमोहन अधिकारी हुन पुगे । पार्टीको क्रान्तिकारी कार्यक्रमलाई परिवर्तन गर्दै ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ?’ भन्ने पुस्तिका मार्फत पार्टीलाई दुश्मनसंग मिलेर जाने कार्यक्रम निर्धारण गरे । विधानसभाको निर्वाचन त्याग गरी संसदवादी निर्वाचनमा जाने माझी राजा नै अन्तिम सत्य भन्दै केशरजगं रायमाझी २०१७ मा दरवार पसे । पार्टी भित्रको दुईलाइन संघर्ष वा भनौ अन्तरविरोधहरु पार्टी विभाजनको तहसम्म यहीँ देखि शुरु भयो । राजाको फौजी काण्डका विरुद्ध काँग्रेश सहितको संयुक्त संघर्षको नीति विरुद्ध टिएल अमात्य लगायतको भूमिका पार्टी आन्दोलन विपरित रह्यो । यसरी पार्टी दृष्टि विहिन अकर्मण्ड्यको कब्जामा परेपछि २०२५ मा पुष्पलालको प्रयत्नमा भएको गोरखपुर सम्मेलनले नेपाली जनवादी आन्दोलनको गम्भीर समिक्षा गर्दै अतिवादी दृष्टिकोणका विरुद्ध सिद्धान्तनिष्ट सांगठानिक संघर्षलाई व्यवस्थित गर्यो । माक्र्सवाद लेनिनवाद र माओ विचारधारालाई मार्ग दर्शक सिद्धान्तको रुपमा तय गर्दै नेपाली क्रान्तिको कार्यक्रम ‘नयाँ जनवाद’ निर्धारण गर्दै पञ्चायतको अन्त्यका लागि संयुक्त जनसंघर्षको कार्यनीति तय भयो । यसबाट पार्टी भित्र र बाहिरका अत्तालिन पुगे । गद्दार पुष्पलाल, पुष्पलालका १२ अपराध, काँग्रशको पुच्छर, अकरमण्ड्य जस्ता आरोप लगाई व्यवस्थित विकास हुन खोजेको आन्दोलनलाई भ्रमित गराउन सफल भए । झापा विद्रोह किसान विद्रोहको रुपमा विकास गर्न खोजिए पनि यो सफल भने हुन सकेन । कोकेको विकास, दरवारबाट र विदेशीहरुबाट परिचालित कम्युनिष्ट वीचमा संघर्ष देखिनु, २०३७ को जनमत संग्रहमा पार्टी निर्दलको पक्षमा पुग्नु अस्पष्ट नीति र नेतृत्व रहेको देखिनु, २०४६ को संयुक्त संघर्षबाट बहुदलीय संसदवादी अधिकार प्राप्त तर आर्थिक निर्भरता बढ्दै जाने नीतिको स्थापना हुनु, यसका विरुद्ध २०५२ को जनयुद्धको घोषणा भयो ।  जसले यसलाई झापा विद्रोहको निरन्तरताको रुपमा विकास गरिएको उद्घोस गर्यो । अन्तत ः यी सवै आन्दोलन (असफल संसदवादी र उग्रबाम वा माओवादी) पुनः संसदवादमा पतन हुन पुग्यो । 

साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलनको दुईवटा धार वा शिविरलाई लगानी गर्दै आई रहेको छ । पहिलो संसदवादी सुधारवादी धार दोश्रो उग्र बामपन्थी धार जो माओवादी र क्षेत्रीयतावादीको नाममा रहेको छ । अन्य राजनीतिक दल र शक्तिलाई पनि लगानी गरेका छन । 

अबको बाटो

नेपाली जनताको संघर्षलाई कथित जनताको हित र मुक्तिको नाममा क्षतविक्षत पारिएको छ । कहिले उग्र बामपन्थी दुश्साहस जन्य भड्काव वा अतिवादका कारणले त कहिले उग्र संसदवादी अवसरवादजन्य अतिवादका कारणले । यस्तो अतिवादका कारण जनवादी क्रान्तिकारी धारको निर्माण हुनै सकेन । फलतः नेपाली समाज आजको यो दुर्दशा भोग्न अभिसप्त बन्यो । कम्युनिष्ट आन्दोलन पञ्चायतको राजाको व्यवस्था अन्त्य गर्नमात्र सीमित थिएन । प्रबृत्तिको अन्त्यका लागि थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी ‘जनवादी गणतन्त्र नेपाल’ को स्थापना गर्नु थियो । तर यसको ठीक विपरित पुरानो पञ्चको ठाउँमा नयाँ पञ्च, पुरानो राजाको ठाउँमा नयाँ राजा र पुरानो खेतालोको ठाउँमा नयाँ खेतालोको अवस्था बनेको देखिन्छ ।  सिद्धान्तको क्षेत्रमा रहेको उग्रता र व्यवहारमा रहेको दुश्साहसीक कार्यले जनताको न्यायपूर्ण संघर्षलाई बिथोल्नमात्र सक्छ । खुद माओको भनाई अनुसार भन्ने हो भनेपनि ‘उग्रबामपन्थी दुश्साहसवाद अन्तत्तोगत्वा दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ’ । यो कुरा विश्व राजनीतिक मञ्चमा र नेपालमा पटकपटक भएका यस्ता प्रकारका संघर्षहरुले पुष्ठी गरी सकेका छन । झापा विद्रोह २०४७ को परिवर्तन पछि संसदवादमा पतन भयो भने रोल्पा विद्रोह २०६३ को परिवर्तन पछि पुनः असफल सिद्ध भई सकेको संसदवादमा पतन भयो । यसरी २००७ साल देखि अहिलेसम्म सम्झौतामा टुंगिएर भएका संघर्षले मात्रात्मक मात्र परिवर्तन गर्न त सक्थ्यो गुणमा परिवर्तन गर्न सक्दैनथ्यो । जवसम्म गुणमा परिवर्तन हुदैन तवसम्म क्रान्ति हुदैन । गुणमा परिवर्तन भन्नाले स्वाधीन विचार र अर्थमा निर्भर भई हुने क्रान्ति हो । यसको सहि तालमेल र सदुपयोग गर्न सक्दामात्र क्रान्तिकारी व्यक्ति, संगठन पार्टी र आन्दोलन निर्माण हुन सक्छ ।

एकमात्र बाटो 

समाज विकासको वैज्ञानिक अबधारणा अनुसार नेपाल नव सामन्ती, नव औपनिवेशिक आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धको जाँतो मुनि छ । बर्तमान राज्यसत्ताको चरित्र सामन्ती दलाल नोकरशाही पुँजीवादी उत्पादन सम्बन्ध कायम रहेको अवस्थामा छ । जुन समयमा राज्ययन्त्र नै दलालीको दलदलमा हुन्छ त्यहाँ राजकीय पुँजीको समेत निर्माण हुन नदिने यसको मुल चरित्र हुने गर्छ । जो हामी नेपालीले भोगिरहेका छौं । जवसम्म राष्ट्रिय उत्पादनको विकास, स्वदेशी पुँजीको विकास, राष्ट्रिय पुँजीपतिको विकास गर्न सकिदैन तवसम्म नेपालीले स्वाधीन हुन पाउने छैनन । साम्राज्यवादले निर्माण गरेको वित्तीय पुँजीवाद, भूमण्डलीकृत पुँजीवाद, निजीकरण र उदारिकरण जस्ता शोषण र विभेदकारी वित्तीय चुुङ्गुलबाट मुक्त हुन र साँचो अर्थमा सुखि नेपाली, खुसी नेपाली र स्वाधीन समृद्ध हुने आकाङ्छा पुरा हुन सक्दैन । यो आकाङ्छा पुरा गर्ने एकमात्र बाटो जनताको जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने बाटो हो । नयाँ खाले जनवादी क्रान्तिको बाटो हो । यो बाटो एक स्वाधीन र स्वाभिमानि नेपालीहरुमात्र हिड्न सक्छन । आफुमाथि शोषण र विभेदको जाँतो घुमाउनेहरुलाई एकएक गरेर परास्त गर्न सक्छन । र, शोषण र विभेद रहित मानव समाज निर्माण गर्न सक्छन । यस्तो राज्यव्यवस्था हेर्नका लागि विश्वमञ्च आतुर छ । नेपाली दृढ छन ।
(लेखक नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हुन्)

khbhatta@gmail.com  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif