Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

आ–आफ्नो प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीहरुको लबिईङ


२०७६ भाद्र २५ गते , बुधवार प्रकाशित

नेपाल पुर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका छन् । लगानीका लागि आवश्यक नीति नियम र पूर्वाधारको विकास गर्न आफूहरु तयार रहेको उनीहरुले उल्लेख गरे । गण्डकीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट यस्तो प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कृषि, पुर्वाधार, ऊर्जा, औद्योगिक क्षेत्र, स्याटेलाइट सीटी, स्मार्ट सीटी, अन्तर्राष्ट्रिय सभाहल, पदमार्ग, केवुलकार लगायतका पूर्वाधार निर्माण गर्ने जनाए । उनले प्रदेश १ का गेमचेञ्जर आयोजनाहरु पहिचान भइसकेको र त्यस्ता परियोजना कार्यान्वयनका लागि अन्तरराष्ट्रि संघसंस्था र लगानीकर्तालाई ती आयोजनामा लगानी गर्न आग्रह गरे । आफ्नो प्रदेशले औद्योगिक पार्क निर्माणका लागि ८६०० विगाहा जमीन तयारी अवस्थामा राखेको र यसलाई चाँडै नै लगानीका लागि खुला गरिसकेको उनले जनाए । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले निजी क्षेत्रको लगानी बिना मुलुकको विकास असम्भव रहेको जनाए । प्रदेश २ मा विविध उल्झनका कारणले विकास हुन नसकेको र त्यस्ता कमीकमजोरी प्रदेश सरकारले पहिचान गरिसकेको जनाए । उनले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको र सोही अनुसार नीति नियम तर्जुमा गर्ने तयारी भइरहेको उल्लेख गरे । औद्योगिक प्रतिष्ठानहरुलाई २० वर्षसम्म कर छुट दिने आफूहरुको रहेको उनले जनाए । 

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो प्रदेशमा निजी क्षेत्रको लगानीका लागि सबैकुरा सुधार गर्न आफू तयार रहेको बताए । प्रदेश ३ ले उद्योग, कृषि, विद्युत् लगायतका क्षेत्रमा जोड दिएकाले यसैअनुसार नीतिनियम तर्जुमा गरिसकेको जानकारी दिए । 

त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न कानूनी सुधारको प्रक्रिया अघि बढाएको जानकारी दिए । अवको ३ वर्षभित्रमा प्रदेश ५ मा ७५० अर्बको निजी लगानी हुने अपेक्षा गरेको भन्दै उनले त्यसका लागि प्रदेश स्तरमा समेत लगानी सम्मेलन गर्ने योजना बताउँदै आफ्नो प्रदेशमा १५०० विगाहा जमीन औद्योगिक पार्कका लागि तयारी अवस्थामा राखेको जानकारी दिए । प्रदेशलाई सूचना प्रविधिको हब बनाउने योजना रहेको उनको भनाई थियो । 
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्र आकर्षित गर्न आफूहरुले कानून बनाइरहेको र आफ्नो प्रदेशमा लगानी गर्न आउने बताए । उनले आफ्नो प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताए । उनले कृषिजन्य उत्पादन, फलफूल, माछापालन र जडिबुटीजस्ता क्षेत्रमा आफ्नो प्रदेश अब्बल रहेको भन्दै यिनै उत्पादनलाई प्रवर्द्धन गर्ने योजना बनाइरहेको उनले जनाए ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यातजन्य उद्योग खोल्न लगानीकर्तालाई आग्रह गरे । जलस्रोतको प्रचूर सम्भावना भएको प्रदेश भएकाले जलस्रोतमा लगानी गर्न पनि उनको आग्रह थियो । जडीबुटीको ठूलो उत्पादन हुने भएकाले औषधि कम्पनी खोल्नका लागि समेत लगानीकर्तालाई उनको आग्रह थियो ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाल पर्यटन, जलविद्युत्, कृषि, यातायातको क्षेत्रमा धेरै लगानीयोग्य स्थान भएको भन्दै संसारभरका लगानीकर्तालाई आग्रह गरे । उनले यस्ता पूर्वाधारमा लगानी गर्नका लागि स्वदेशी पूँजी पर्याप्त नभएको भन्दै विदेशी लगानीकर्तालाई भित्र्याउनुको विकल्प नरहेको उनको भनाई थियो ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif