Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

आयाम बचत तथा ऋण सहकारीको सातौं साधारणसभा सम्पन्न


२०७६ भाद्र २५ गते , बुधवार प्रकाशित

ललितपुरको ताल्छिखेलमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले सातौं साधारणसभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको अध्यक्षतामा साधारणसभा सम्पन्न  भएको हो । 
कार्यक्रममा अतिथिहरुमा जिल्ला सहकारी संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेत, ललितपुर महानगरपालिकाका सहकारी शाखा अधिकृत चिरञ्जीवी पौडेल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष दिपक घिमिरे लगायत रहेका थिए । 
प्रमुख अतिथि उप्रेतीले शुभकामना मन्तब्य राख्दै आयाम साकोसले छोटो समयमा उल्लेख्य प्रगति गर्न सकेकोमा बधाई दिए । सहकारी बैंक सबै संघसंस्थाको बैंक भएकाले राम्रोसँग सञ्चालन भएका संस्थाहरुलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने सो अवसरमा उनले जानकारी दिए । 
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले संस्थाले सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई अँगालेर बढेको बताउँदै शेयर सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि निरन्तर क्रियाशील रहेको उल्लेख गरे । 



‘तपाईको आजको बचत उज्ज्वल जीवनको आधार,  सहकार्य, सहयोग र सद्भावको प्रतीक आयाम सहकारी’ भन्ने  नाराका आत्मसात संस्थागत सुशासनलाई कायम गरी अघि बढेको समेत उनले सभामा जानकारी दिए ।  संस्थामा संकलित बचतलाई अधिकतम उपयोग गरी न्यायोचित रुपमा वितरण गरी अभावमुक्त समाजको परिकल्पना  र सामाजिक असमानतालाई हटाउन सहकारी पद्धति नै एउटा विशिष्ट माध्यम हो भन्ने अभिप्रायका साथ आफूहरु अगाडि बढेको उनले बताए । 
संस्थाका कोषाध्यक्ष नवीन खकुरालले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन सभामा पेश गर्दै संस्थामा २ हजार १५४ सदस्य पुगेको बताए । त्यसैगरी शेयर पूँजी रु.३ करोड ६७ लाख ९२ हजार, बचत  संकलन रु. २० करोड १५ लाख र ऋण लगानी रु.२० करोड ८२ लाख रहेको जानकारी उनले गराए । 

सभामा ज्येष्ठ नागरिक मध्ये ८३ वर्षीय कृष्णप्रसाद पौडेललाई अभिनन्दन गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने अनुशा हुमगाई र रमिला खपाङ्गीलाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. ३ बाट सहभागी भई महिला सुटिङतर्फ १० मीटर एयर राइफलमा नयाँ कीर्तिमान बनाई स्वर्ण पदक प्राप्त गर्न सफल सुस्मिता नेपाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी सोही संस्थामा बचत तथा ऋण कारोवारमा उत्कृष्ट हुने सत्तम कोइराला, मनिषा कार्की , राजेशकुमार उपाध्याय, मानबहादुर कटुवाल, ओमप्रकाश ढुंगेल र गजेन्द्र तोम्वायोलाई सम्मान गरिएको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, सरसफाई जस्ता गतिविधि गर्दै आएको छ भने सदस्यहरुलाई उद्यमशील बनाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ लागिपरेको छ । त्यसैगरी सदस्य राहत कार्यक्रम, सुत्केरी भेटघाट, स्थायी बन्ध्याकरण गराउन प्रोत्साहन गर्ने जस्ता सदस्यमुखी विविध कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif