Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

“बहुउद्देश्यीय सहकारीहरु निर्धक्क भएर काम गर्नुस्” : कँडेल


२०७६ भाद्र २४ गते , मंगलवार प्रकाशित

राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले बहुउद्देश्यीय सहकारी संस्थाहरुले आत्तिएर बचत ऋणमा परिवर्तन गरिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । 

बहुउद्देश्यीय सहकारी संघ लि. काठमाण्डौको आयोजनामा भएको “बहुउद्देश्यीय सहकारी संघ र संस्थाहरुका साझा समस्या र चुनौतीहरुमा अभियानको साथ” विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष कँडेलले ७०/३० को विषयमा महासंघले समाधान निकाल्न पहल गरिरहेको भन्दै बहुउद्देश्यीय सहकारीहरुलाई निर्धक्कतासाथ काम गर्न सुझाए ।

बहुप्रकृतिका कार्य गर्ने उद्देश्यले खुलेका बहुउद्देश्यीय संघ संस्थाका लागि सहकारी ऐनले ७० प्रतिशत मुख्य उद्देश्यमा र ३० प्रतिशत मात्र बचत तथा ऋणमा लगानी गर्न समय तोकिदिएपछि कतिपय बहुउद्देश्यीय प्रकृतिका संस्था विनियम नै बदलेर बचतऋण सहकारीमा परिवर्तन हुन थालेका छन् । सहकारी ऐन २०७४ का कतिपय प्रावधान संशोधन गर्न महासंघले लबिइङ शुरु गरिसकेको र अभियानको अनुकूल हुने गरी ऐन संशोधन हुने उनले स्पष्ट पारे । 



कार्यक्रममा बोल्दै अर्का अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले बहुउद्देश्यीय सहकारीले बचतऋण बाहेक कुनै अर्को काम गर्नै पर्ने औंल्याए । बहुउद्देश्यीय भएपनि बचतऋणको मात्र कार्य गरेर बस्दा समस्या निम्तिएको उनले बताए । सहकारी पक्षधर एकजुट भएर अघि बढ्दा अभियानको पक्षमा माहोल बन्ने गरेको उनले सुझाए । 

अतिथिको रुपमा बोल्दै नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौडेलले नयाँ ऐन र नियमावलीमा भएका कतिपय व्यवस्थाले बचत ऋण बाहेकका संघसंस्थालाई फरक व्यवहार गरेको स्वीकार्दै त्यस्तो हुनुमा नेफ्स्कुनले वा नेफ्स्कुनका कुनै पदाधिकारीले भूमिका खेलेको भन्ने आरोप लागेकोमा खेद प्रकट गरे । नेफ्स्कुन बचत तथा ऋण सहकारीको केन्द्रिय संघ भएसँगै सिंगो अभियानको पनि अभिन्न अंग रहेको उनले प्रष्ट्याए । अस्तित्वमा रहेका संघहरु बीच प्रतिष्पर्धा हुने तर त्यो सहकारीको सिद्धान्त बाहिर गएर नहुने भनाई उनको थियो । 



महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले अभियान एकरुपताका साथ अघि बढे ऐन नियम सहकारी अभियान अनुकुल बनाउन मद्दत पुग्ने भन्दै एकापसमै द्वन्द गरी छिन्नभिन्न हुने भन्दा एकजुट भई अभियान सबल बनाउनु सबैको हितमा हुने उनले जनाए । 

काठमाडौं महानगरपालिकाका सहकारी विभागका प्रमुख नमराज ढकालले सुखी नेपाली समृद्ध नेपालको नारा पूरा गर्न सहकारीहरुले उत्पादनमा जानै पर्ने उल्लेख गर्दै महानगरपालिका सहकारी अभियानसँग मिलेर अगाडि बढ्न उत्सुक रहेको जनाए । 

जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष टेकप्रसाद चौलागाईंले आफूहरुले उचित मुद्दामा आन्दोलन उठाएको र सत्य कुरा उजागर भएरै छाड्ने उल्लेख गरे । 



कार्यक्रममा जिल्ला संघ काठमाण्डौका महासचिव खेमराज सुवेदीले बहुउद्देश्यीय सहकारी संस्थाका समस्याबारेमा कार्यपत्र पेश गरेका थिए । उनले ऐन र नियमावलीमा भएका अभियान अनुकुल र प्रतिकुलका व्यवस्थाहरुबारे प्रष्ट्याएका थिए । 

कार्यक्रमका सभापति एवं बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौका अध्यक्ष मनोज थापाले कार्यक्रम औचित्य प्रष्ट्याउँदै बहुउद्देश्यीय सहकारी समस्या बहुउद्देश्यीयको मात्र नभई सिंगो अभियानकै भएकाले तिनको समाधानका लागि अभियानले पूर्ण रुपमा साथ दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा कास्कुनका अध्यक्ष दिपक पनेरु, बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जन लगायतले मन्तब्य राखेका थिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif