Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

धर्मको नाममा जनता लडाउने काम अधर्म


२०७६ भाद्र २३ गते , सोमवार प्रकाशित

हामीले धर्मको इतिहासलाई हेरौं, धर्मका नाममा भएका अधर्म र लडाईहरु हेरौं, त्यस कारणले भएका अत्याचार, रक्तपात, क्रूरता र अमानबीयतालाई हेरौं, अनि त्यसै आधारमा खडा गरिएका अन्ध बिश्वास, कुरीति र भेदभावलाई हेरौ यो शासन सत्ताले जनतालाई बिभाजन गर्न र परस्पर लडाउन अनि सत्ता टिकाउन खडा गरिएको प्रपञ्च त्यसमा छर्लंग देखिन्छ ।

आज पनि हामी आ–आफ्नो धर्म ठिक हो र ठूलो हो भनेर नाक फुलाइरहेका छौं । किन ? यसको उत्तर खोजिनु पर्दछ । सबै धर्मले इश्वर सर्ब शक्तिमान छ भन्ने दाबी गर्छन् चाहे त्यो हिन्दू, बौद्ध, मुस्लिम, इसाई जे सुकै नामको धर्म किन नहोस् । ‘द गड इज अल्माईटी’ । हो, धर्मले समाज बिशेषमा सापेक्षरुपमा केही प्रगतिशील भूमिका पनि खेलेको देखिन्छ तर जसरी यसलई रुढ, अपरिबर्तनीय र सर्ब शक्तिमान भनेर जनतामा डर त्रासको खेती गर्ने माध्यम बनाइयो र स्वर्ग नर्कको रचना गरेर तर्साउन थालियो, पूर्व जन्म र पुनर्जन्मको कल्पना गरेर समेत जनतालाई लडाउने, अन्याय, अत्याचारका बिरुद्धमा बोल्नबाट बिमुख (पाप गरेको
भनेर) पारियो त्यसले आजसम्म पनि समाजमा जरा गाडेर बसेको छ । जनै र टुप्पीको लागि आज लडाई छ । दाह्री र जुँगाको निमित्त आज लडाई छ । मरेको खाने र मारेर खाने बीच लडाई छ । मानब जीवनलाई पृथ्वीमा नर्कतुल्य तुल्याउने, पृथ्वीको साझा सम्पत्ति मुठ्ठीभरले एकलौटी सबै सोहोर्ने होड चलाउने र त्यसा लागि बिध्वंसकारी आणबिक परमाणबिक हतयार बिकास र बिस्तार गर्ने, प्रकृतिको अति दोहन गरेर बातावरणनै खल्बल्याउने र बाच्नै कठिन हुने स्थिति सिर्जना गर्नेहरुको बिगबिगी आज संसरमा छ ।

त्यसको लागि जुनसुकै धर्म मान्ने पनि एक छन् । तर जनतालाई एकजुट पार्न, जगाउन, उठाउन र अघि बढाउन किन एकजुट छैनन् ? यस कुरालाई आज हामीले गम्भीररुपमा लिनु पर्दछ । छिचरो र सतही कुरा गरेर फेरि पनि जनतालाई अनेक बहानामा सही कुरा बुझ्न नदिने र त्यसबाट बिमुख गराउने अनि उनीहरुका बीच सन्देह र अबिश्वास पैदा गर्ने स्थिति बनाउने कुराहरु किन भइरहेका छन् भन्नेतिर हाम्रो गम्भीररुपमा ध्यानार्षण हुनु पर्दछ । खाशगरी यूवा पिढीमा । नत्र एउटा अनन्त र बेतुक लडाई झगडाको शिकार समाज जसरी आजसम्म हुदै आएको छ त्यसैले निरन्तरता पाउँछ । जनता राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शोषण र उत्पीडनको शिकार भइरह्छ । अनि हामीले ज्ञान बिज्ञानको कुरा गरेर नाक फुलाउनुको कुनै अर्थ रहदैन । गम्भीररुपमा सोचौं, अध्ययन गरौ र सही निष्कर्शमा पुगौं । जनताका बीच सचेत एकता र उनीहरुको बिकासलाई सबल बनाउने दिशामा अग्रसर होऔं !

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif