Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

‘वार एण्ड पिस’ मा किन आपत्ति ?


२०७६ भाद्र १४ गते , शनिवार प्रकाशित

यतिबेला भारतमा महात्मा गान्धिले सबैभन्दा मन पराएको उपन्यास ‘युद्ध र शान्ति’ तथा उनले आदर्श मानेका त्यसका लेखक ‘लियो टोल्स टोय’ दुब निकै ठूलो र गम्भीर बौद्धिक चर्चामा छन् । किन भने टोल्सटोयको त्यो किताब राख्नु पनि भारतमा अब अपराध जस्तो मानिए पछि अहिले त्यस बारे मात्रै होइन पठन–सँस्कृतिमाथि नै ठूलो प्रश्न खडा भएको प्रतीत हुदैछ ।   हुन त आजको युग इण्टरनेट र मोबाइलको युग हो । हात हातमा मोबाइल भएको र सामाजिक सञ्जालमा हरेक कुरा आउन, पाउन  र ज्ञान बढाउन सकिने युगमा पुगिएकोले पहिलाको जस्तो पढ्न चाहनेहरुको हात हातमा कुनै महत्वपूर्ण किताब आजकल रहन र देखिन छाडेको छ । अनि ठूला ठूला ग्रन्थ र किताब पढ्ने धैर्य पनि अबको समाजमा हुन छाडेको छ । झन नयाँ पिढीले त यस्ता लामा रचनाहरु पढ्ने आदत बस्ने कुरा त टाढाको कुरा त्यसतर्फ ध्यान दिने कुराबाट पनि मुख मोड्न थालेको देखिन्छ । आज यस्ता ज्ञानका अनेक नयाँ माध्यमहरुको जथाभाबी छ्यालब्यालले गर्दा पनि हुनसक्छ तर्क, तथ्य, बैज्ञानिताका हिसाबले पुष्टी पुनर्पुष्टी नभएका आधा, अधूरा जानकारी, सन्देश, लेख, रचना पढ्ने चलन चल्ती आज बसेको छ ।यसैबाट ज्ञान बढाउन सजिलो लाग्न थालेको छ । यद्यपि नेटमा पाइने सामाग्रीहरु, एप्स्हरु पनि मानिसले नै बनाउने भएकाले ती सबै तथ्य र तर्कहीन छन् भन्ने निष्कर्शमा पुग्नु गलत हुनेछ । धेरै राम्रा र उपयोगी एबं  गम्भीर प्रकृतिका सामाग्रीहरु पनि बनाएको र राखेको पनि पाइन्छ । कतिपय किताबैहरु पनि खोजेर डाउनलोड गरेर पढ्न सकिने स्थिति बनेको छ । मूख्य कुरा के कस्ता सामाग्री या किताब, लेख रचना आदि पढ्ने भन्ने कुरा हामी के आधारमा चयन गर्दछौं  खाश कुरा त्यसमा  भर पर्दछ । यसरी जसलाई जे मन पर्छ, त्यही हेर्ने, पढ्ने या सुन्ने कुरा त स्वभाविकै भइहाल्यो । पहिला पहिला घरका बैठक कोठाहरुको एउटा कुनामा या आलमारीमा किताबहरुको खात हुने गर्दथ्यो र यो परम्परा एक पिढीदेखि अर्को पिढीमा हस्तान्तरण पनि हुने महत्वपूर्ण मानिएका किताबहरु त्यहाँ सजिएका हुन्थे । तिनमा कतिपय इतिहासका, कतिपय धार्मिक, कतिपय खाना बनाउने ब्यञ्जन बिधिका त कतिपय घरेलु औषधीमूलका महत्वपूर्ण किताहरु हुने गर्दथे । यसरी किताब ब्यक्ति वा परिवारको एउटा हैसियत, शान र मानको कुरा भएर रहन्थ्यो र हस्तान्तरित हुन्थ्यो । अनि त्यस्ता बैठक कोठाका टेबुलमा महिला, बालबालिका र प्रौढ मानिसहरुलाई मन पर्ने बेग्ला बेग्लै पत्रपत्रिका दैनिक, साप्ताहिक या मासिक जे पनि देख्न पाइन्थ्यो । अहिले घरको साथसाथै तिनको आन्तरिक साज सज्जा पनि परिबर्तन हुँदै गएको छ । जसमा यस्ता  किताबहरु आज फिट हुन छाडेका छन् । आज त बिद्यार्थीहरुका लागि साहित्य केवल पाठ्य पुस्तकमा राखिएका कबिता, कथाहरु मात्रैमा सीमित हुन थालेका छन् । तिनलाई शिक्षकहरुले बर्षौदेखि एकै किसिमले पढाउने गर्दै आएकाछन् । अनि तिनलाई बिद्यार्थीहरुले  केवल परीक्षामा पास हुने किसिमले मात्र पढ्दै र बुझ्दै आएका पनि छन् । आजको समाजमा जस्तो किसिमको बैचारिक पत्तन हामीले देखिरहेका छौं त्यहाँ तर्कको गुञ्जायश समाप्त प्रायः छ अनि सर्बत्र कुतर्कको बिगबिगी ब्याप्त भएको दृष्यहरु नै देखिने गरेका छन् । यी सबैमा पठन पाठनको असल परम्परा हट्नुको ठूला हात रहेको अनुभव गर्न सकिन्छ ।   ‘वार एण्ड पिस’ बिश्व प्रसिद्ध उपत्यासको यो कुरा आज बिशेष चर्चाको बिषय किन बनेको छ भने भारतको बम्बे उच्च न्यायालय अर्थात् हाई कोर्टद्वारा हालै एउटा मुद्दा — ‘एल्गार परिषद(भीमा कोरेवाउ मुद्दा)का आरोपी – बर्णन गोन्साल्भेजसँग के सोधियो भने उनले आफ्नो घरमा बिश्व चर्चित प्रसिद्ध रुसी लेखक लियो टोल्सटोयको किताब ‘वार एण्ड पिस’ अर्थात् ‘युद्ध र शान्ति’ अनि केही सिडी जस्ता आपत्तिजनक(?) सामाग्रीहरु किन राखेको थियो ? भारतको एउटा अदालतले उठाएको यो गम्भीर प्रश्न पछि भारतमा यो ‘वार एण्ड पिस’ उपन्यास कहिलेदेखि आपत्तिजनक भयो भन्ने प्रश्न तीब्र गतिमा अहिले आश्चर्यको बिषय बनेको छ । यसरी यो ठूलो चर्चाको बिषय बस्तु किन बनेको हो भन्ने प्रश्न उठिरहेको छ । हालैसम्म त भारतमा यसको गिन्ती बिश्वका अमर साहित्यिक रचनाहरुको पंक्तिमा उच्च स्थानमा थियो । इलियड, वान हण्ड्रेड एयर अफ सोलिच्यूड, टु किल ए माकिङ्ग बर्ड, ब्रदर्स अफ कमाजोभ, द ट्रायल, अन्ना केरेनिना,मदर अर्थात आमा, हेमलेट, डन क्वीजेट, द डिभाइन कमेडी, क्राइमा एण्ड पनिसमेण्ट जस्ता कालजयी मानिएका बिश्व रचनाहरुमध्येमा नै यो ‘वार एण्ड पिस’ पर्दथ्यो र पर्दछ । यी उल्लिखित रचनाहरुले कुनै पनि देश र समयको सीमा पार गरेर आफ्नो प्रभाव छोडेका पनि छन् । त्यसैले यिनलाई कालभेदी रचना भनिएको पनि हो ।
  यी मूल्यबान साहित्यिक रचनाहरु हरेक किसिमले पठनीय,संग्रहणीय र सर्ब स्वीकार्य जस्तै सामाग्री मानिएका हुन् । रुसी,चिनी, फ्रान्सेली, ल्याटिन, अग्रेजी, इटालियन भाषा जुनसुकै हुन् तर मानिसको जीवन,तिनका मनोबाभाबनाहरु, तत्कालीन समाजको परिस्थितिहरुको जस्तो चित्रण यी सुप्रसिद्ध र चर्चित साहित्यिक कृतिहरुमा भएको छ तिनमा भाषाको कुनै पर्खालले काम गरेको छैन अर्थात् भाषाको सीमा पनि भत्किएको छ । त्यसैले यी रचनाहरु बिश्वभरीका पाठकहरुले हाताहात लिएको देखिएको, सुनिएको पनि हो । उसै पनि मानबीय सम्बेदनाहरु, मानबीय मनका पत्रहरु, तिनका गुत्थीहरुलाई बुझ्नमा यस्ता किताबहरुभन्दा उत्तम मार्गदर्शन गर्ने र गर्न सक्ने अरु सामाग्री बिकसित भएका पनि छैनन् । कतिपय भारतीय बिद्वानहरुले भन्ने गरेका थिए कि तुलसीदास, शेक्सपियर र गालिब – यी तीनजनाका रचनाहरु अबश्य पढ्नु पर्दछ,तिनले अन्तरदृष्टिको बिकासमा ठूलो मद्दत मिल्दछ ।



      जहासम्म लिओ टोल्स टोयको ‘वार एण्ड पिस’को कुरा छ यो त भारतभरीका सबै पुस्तकालयहरुमा सर्बत्र पाइन्छ । अनि केवल बर्णन गोन्साल्भेजका घरमा मात्रै होइन,यो प्राय धेरै भारतीयहरुको घर–घरमा पाइने किताब पनि हो । हुन पनि लिओ टोल्सटोयको यो बिश्व प्रसिद्ध उपन्यासले — युद्धको बिभिषिका र  समाजमा त्यसको प्रभावको बेजोड बर्णन गरेको छ । नेपोलियनको काल खण्डमा रुसमा भएको फ्रान्सको हमला, रुसको सामन्ती ब्यवस्था, अन्याय र शोषणको महागाथा बर्णन गरिएको यो किताब लेख्नमा लियो टोल्सटोयलाई ७ बर्षको लामो समय लागेको थियो । अनि भारतका डा. मदनलाल मधुले ३ बर्ष लगाएर यस बिश्व प्रसिद्ध उपन्यासको हिन्दी अनुबाद गरेका थिए । सबैलाई थाहा भएकै कुरा हो कि टल्सटोय हर तरीकाले अहिंसा र न्यायको पक्षधर रहेको प्रमाण उनका रचनाहरुमा देख्न पाइनछ र उनको आफ्नो निजी जीवन नै पनि यसको सबैभन्दा ठूलो उदाहरण रहेको पनि हो । उनी सम्पन्न जमिन्दार परिवारको वारिस भएर पनि उनले धन सम्पत्ति गरीबका लागि दान दिएका थिए । आफुसँग रहेका त्यतिबेलाका दासहरुलाई मुक्ति प्रदान गरेका थिए, गाउँमा किसानका छोराछोरीहरुका लागि बिद्यालय खोलेका थिए । अनि अन्त्यमा उनी आफु सन्यासीजस्तो जीवन बिताउन थालेका थिए । उनको मृत्यु उनी निर्धन अबस्थामा रहेको बेला एउटा रेलको स्टेशनमा भएको थियो । यति कुराले नै उनको त्यो बेलाको जीवनचर्यामाथि पर्याप्त प्रकाश पार्दछ ।
  भारतका अग्रेजी साम्राज्यबाद बिरोधी अग्रज योद्धा महात्मा गान्धिी आफ्नो जीवनमा जो बिश्वका केही प्रसिद्ध मानिसहरुबाट प्रभावित थिए भने त्यस्ता मानिसहरु  मध्येका एक प्रसिद्ध रुसी साहित्यकार लियो टोल्स टोय नै थिए । ९ सेप्टेम्बर १९२८ का दिन टोल्सटोयको १००औं जयन्तिका बेला गान्धिले उनका बारेमा  भनेका थिए  – ‘उनले जे सिकाए त्यस्तै जीवन आफुले बाँचे । उनको सादा जीवन असाधारण थियो । उनी कुनै सम्झौता नगरीकन सत्यको मार्गमा हिड्ने अबिश्रान्त पथिक थिए । उनी आफ्नो समयका अहिंसाका सबैभन्दा ठूलो वकालतकर्ता थिए । भारतमा या अन्त कतै पनि बिश्वमा त्यतिबेला कसैले यस्तो आदर्शको त्यस्तो निष्ठापूर्बक पालन गरेनन् जस्तो लियो टोल्सटोयले गरेका थिए’ ।
  यसरी त्यतिबेला लिओ टोल्सटोयको महानता के कस्तो रहेको थियो यो गान्धिको मूल्यांकनबाट पनि प्रष्ट हुन्छ र बुझ्न सकिन्छ । उनको बिश्व प्रसिद्ध उपन्यास ‘वार एण्ड पिस’मा के ग्राह्य छ के अग्राह्य छ यसलाई निर्धाण गर्नका लागि किन यो उपन्यास पढ्ने अभियान नचलाउने ? समाजमा यस्ता उपन्यासहरुमाथि बौद्धिक बिचार बिमर्श भयो भने त्यो बौद्धिक मन्थनबाट समाजका लागि अमृत निस्कने सम्भावना कायम रहने छ । भारतको बम्बे अदालतले उठाएको प्रश्नले भने बर्तमान भारतीय समाजको मनोदशालाई एक किसिमले प्रतिबिम्बित गरिरहेको छ र यो कता जान खोज्दैछ भन्ने संकेत अबश्य गरेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif