Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

महाभारत युद्धको यो अनौठो आरम्भ


२०७६ भाद्र ६ गते , शुक्रवार प्रकाशित

गीताका बारेमा ओशोको ब्याख्या रोचक र महत्वपूर्ण छ । उनले महाभारतको एउटा अनौठो पक्ष देखाएका छन् कि महाभारतको कथा एकजना अन्धा मानिसको जिज्ञाषाबाट शुरु हुन्छ । छन् त अन्धा, तर नाम छ धृतराष्ट्र - राष्ट्रलाई धारण गर्ने ! अनि महाभारतको पूरै कथा सञ्जयको आँखाबाट देखिएको छ र उनकै मुखबाट सुनाइएको छ । थाहा छैन धृतराष्ट्रको महलबाट युद्ध क्षेत्र कति टाढा थियो ? निश्चय नै, बालकोनीमा बसेर त त्यो संग्राम देखिदैनथ्यो होला ! जहाँ त्यो युद्ध भइरहेको थियो त्यस ठाउँलाई धर्म क्षेत्र भनिएको छ । धर्म क्षेत्रमा पनि यदि युद्धका लागि एकत्र हुनु पर्दछ भने त्यो त अधर्म क्षेत्र हुन गयो । पहिलै श्लोकमा सञ्जयले दुर्योधनको गतिबिधिका बारेमा बताइरहेका छन् । सञ्जय धृतराष्ट्रका नातेदार थिए भने त उनले उनका सेनाको स्थितिका बारेमा पहिला बताउने थिए ।

दूर्योधनले द्रोणाचार्यलाई बताइरहेका छन् कि पाण्डबहरुका सेनामा कुन कुन महारथी, कुन कुन महायोद्धा जम्मा भएका छन् अनि के पनि बताइरहेका छन् भने भीमबाट रक्षित उनीहरुका सेनाको शक्ति बडो सबल छ । यो अत्यन्तै प्रतीकात्मक कुरा छ । साधारणतः शत्रुको प्रसंशाबाट कुरा शुरु हुँदैन त्यसको बिपरीत शत्रुको निन्दाबाट कुरा शुरु हुने गर्दछ । दुर्योधनको खराबीमा पनि यो एउटा असल कुरा देखिन्छ । खराब र असल मानिस पहिला पनि थिए । यस्तो होइन कि आज खराब मानिस बढ्न गए र असल मानिस कम हुँन गए । तर आज राम्रोभन्दा राम्रो या असल मानिस पनि बाहिरबाट हेर्दा मात्र असल छ, भित्र त स्वय उ पनि आफु असल या राम्रो छु भन्ने कुरामा आश्वस्त छैन । जुन मानिसको भरोसा स्वयममा छैन उसको देखिने गरेको त्यो असलपना या राम्रोपना टिकाऊ या दीगो पनि हुनै सक्तैन । अलिकति धक्का खानासाथ उसको खराबी बाहिर निस्किहाल्छ । अनि जो खराब या नराम्रो मानिस आफ्नो खराबी हुँदाहुदै पनि आश्वस्त छ उसको त्यो खराबी कुनै दिन बद्लिन सक्तछ । यो कुरा महत्वपूर्ण छ कि दुर्योधन जस्तो नराम्रो या खराब मानिसले एउटा बहुतै शुभ किसिमले महाभारत युद्धको शुरु गरिरहेका छन् ।        

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif