Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कृषिमा आधुनिकीकरण गरी सदस्यको जीवनस्तर उकास्न लागिपर्छौं


२०७६ भाद्र ५ गते , विहीवार प्रकाशित

रवि प्रसाद सिग्देल
कार्यकारी अधिकृत 
चिनारी बचत तथा ऋण सहकारी संस्था लि.
 

एक दशक अघि सानो पूँजीबाट स्थापना भएको चिनारी बचत तथा ऋण सहकारी संस्थाले यस अवधिसम्म आइपुग्दा समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको छ । ११ जना उत्साही युवाले देखेको सपना क्रमशः साकार हुँदै गएको छ । २५ हजार रुपैयाँबाट शुरु भएको संस्थाले गत असार मसान्तसम्म आइपुग्दा १४ करोड ५० लाखको कुल सम्पत्ति पुर्‍याएको छ भने संस्थामा १ हजार ६ सयको हाराहारीम सदस्य रहेका छन् । बचत तथा ऋणमा मात्र सीमित नरही संस्थाले विभिन्न सामाजिक क्रियाकलाप समेत सञ्चालन गरी सदस्य र समुदायलाई सेवासुविधा दिँदै आएको संस्थाका कार्यकारी अधिकृत रवि प्रसाद सिग्देल बताउँछन् । चिनारी समुह अन्तर्गत चिनारी साकोस, चिनारी यातायात, चिनारी घरेलु उद्योग, चिनारी कृषि फर्म, चिनारी इन्स्टिच्युट र उत्तर बाहिनी बोर्डिङ स्कुल रहेका छन् । ती संस्थाहरुमार्फत समुदायका सबै आवश्यकतालाई परिपूर्ति गर्ने प्रयास गरिरहेको सिग्देलले बताए । कृषि व्यवसायमा पनि हात हालेको बताउँदै उनले कृषिजन्य उत्पादन र बजारीकरणमा समेत लागेर मुलुकललाई केहि योगदान पुर्‍याउने सोच रहेको बताए । चिनारी साकोसको समग्र अवस्था, सहकारी अभियानका विभिन्न पाटा र सहकारीले समुदायको समृद्धिमा पुर्‍याउन सक्ने योगदान लगायतमा विषयमा कार्यकारी अधिकृत सिग्देलसँग नेपालपत्रन्यूजले गरेको कुराकानी: 

चिनारी बचत तथा ऋण सहकारी संस्थाको बारेमा केहि बताइदिनुस् न ? 

यस क्षेत्रमा रहेका यूवाहरुको आर्थिक स्तरलाई सुधार गर्न हामीले यो संस्था सुरु गरेका हौं । यहाँका अधिकांश यूवाहरु बेरोजगार भएकाले विदेश जान खोज्ने प्रवृत्ति बढ्दै गयो । त्यस सँगै यस क्षेत्रको शिक्षामा पनि सुधार गर्नुपर्छ भनेर हामीले बोर्डिङ स्कुल शुरु गर्‍यौं । यहाँका मानिसहरुको आम्दानीको श्रोत कृषि नै थियो । सिजनमा मात्र उनीहरुको आम्दानी हुने भएकाले बीचको समयमा विद्यार्थीको फि नउठ्दा शिक्षकहरुलाई तलब खुवाउनै गाह्रो हुने गथ्र्यो । दैनिक बचत संकलन गरी यी सबै कुरालाई सहज बनाउन शुरुमा हामीले बहुउद्देश्यीय सहकारी खोल्यौं । पछि बचतऋणको आवश्यकता महशुस गरी यो संस्था खोलेका हौं । ११ जना यूवाको सोचाइले शुरु भएको यस संस्थामा हाल १ हजार ५८० को हाराहारीमा सदस्यहरु आवद्ध छन् । २५ हजार रुपैयाँबाट शुरु भएको संस्थाको हालसम्म १४ करोड ५० लाखको कूल सम्पति बनाउन हामी सफल भएका छौं । 

स्थानीय समुदायलाई कसरी समेट्नु भएको छ ? 

हामीले यो भेगमा रहेका बच्चादेखि वृद्धवृद्धा सबैलाई लक्षित गरी बचत खाता सञ्चालन गरेका छौं । हामीले बालबचत खाता अन्तर्गत १६ वर्षे बचत खाता लिएर आएका छौं । आजको बच्चा नै भोलिको कर्णधार हो । मध्यम परिवारका कुनै बच्चा डाक्टर, इञ्जिनियर, पाइलट बन्छु भन्दा बाबुआमाले पैसा दिन सकेनन् भने त्यति बेला बच्चाहरु विद्रोही बन्न सक्छन् । त्यसैले भोलिको दिनमा कुनै समस्या आउन नदिन अहिलेदेखि नै बालबालिकाको लागि यो खाता सञ्चालन गरेका हौं । उनीहरुलाई जन्म दिनको अवसरमा बर्थ डे केक दिन्छौं । १६ वर्ष पुगेपछि उनीहरुको उच्च शिक्षामा सघाउन यसले मद्दत गर्छ भन्ने विश्वास हाम्रो छ । झण्डै एक करोड ५० लाख रकम बाल बचत खातामा जम्मा भएको छ । ज्येष्ठ नागरिक जसले वृद्ध भत्ता पाउँछन्, उनीहरुका लागि केहि बढि व्याज दिएर ज्येष्ठ नागरिक बचत खाता सञ्चालन गरेका छौं । एकल महिला बचत खाता, व्यापार–व्यवसाय गर्नेका लागि दैनिक, साप्ताहिक, मासिक खाता सञ्चालन गरेका छौं । नियमित मासिक बचत खाता शुरु गरेका छौं । थोरै–थोरै पैसा धेरै समयसम्म जम्मा गरेर भविष्यमा ठूलो बनाउन सकिने यो बचत खातालाई पनि हामीले अनिवार्य लागू गरेका छौं । मासिक बचतमा पनि ३ करोड पैसा जम्मा भइसकेको छ । 

सामाजिक उत्तरदायित्वका के कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ? 

बातावरण दिवसको दिन सरसफाई कार्यक्रम गर्ने गरेका छौं । रक्तदान, वार्षिकोत्सवको अवसरमा सदस्य शिक्षा कार्यक्रम र सञ्चालक समितिमा रहेकाहरुको लागि नेतृत्व विकासको लागि विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने गरेका छौं । जेष्ठ नागरीक लाई तिर्थयात्रा ,युवाहरुलाई र्‍याफ्टिङ्ग , महिलाहरुलाई तिज कार्यक्रम र बच्चाहरुकोलागि चिडियाघर तथा फनपार्क लैजाने गरेका छौँ । 

संस्थाले लिएको उद्देश्य प्राप्तिमा कत्तिको सफल हुनुभएको छ ? 

गर्‍यो भने यहि सहकारीले गर्छ भन्ने विश्वासले झण्डै १६ सय सदस्य संस्थामा आवद्ध भएका हुन् । आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा संस्थाले टेवा पु¥याउँछ भन्ने उनीहरुको विश्वास छ । सदस्यहरुको हरेक अवस्थामा हामीले साथ दिएका छौं । सदस्यहरुको आपतविपत्मा विभिन्न माध्यमले सहयोग पु¥याएका छौं । यसले समाजमा सकारात्मक सन्देश गएको छ । दुःखको बेलामा सहकारीले सहयोग गर्ने रहेछ भन्ने भावना उनीहरुमा विकास भएको छ । सुत्केरी हुँदा महिला सदस्याई २ पटकसम्म २÷२ हजार रुपैयाँ सुत्केरी खर्च दिँदै आएका छौं । सदस्यहरुको निधन हुँदा परिवारलाई ५ हजार आर्थिक सहयोग गर्छौं । 

संस्थाले कुनकुन क्षेत्रमा लगानी गरेको छ ? 

हामीले कृषिलाई बढि प्राथमिकता दियौं र यस क्षेत्रमा गरेको लगानी अलि अप्ठेरोमा छ । जतिखेर गोलभेँडाको सिजन हुन्छ त्यतिखेर भारतबाट गोलभेँडा आउँछ र सस्तो हुन्छ । जब यहाँका किसानको गोलभेँडा सक्किन्छ, त्यसपछि भाऊ आकाशिन्छ । यसले गर्दा कृषकले कृषिबाट उचित मुनाफा लिन सकिराखेका छैनन् । सेवा र व्यापार क्षेत्रमा गरेको लगानी राम्रो छ । सहकारीले ग्रास लेभलमा रहेको व्यापारव्यवसायलाई सघाउन कोल्ड स्टोर, डिपार्टमेन्टल स्टोर, मार्केटिङ जस्ता कार्य गर्नुपर्छ । यसका लागि ऐन नियमले बाटो खोलिदिनुपर्छ । यो भयो भने आम जनताको आर्थिक अवस्था सुधार गर्नको लागि टेवा पुर्‍याउन सकिन्छ । 

सहकारीहरु उत्पादनमूलक क्षेत्रमा जान सक्ने सम्भावना के देख्नुहुन्छ ? 

नेपाल प्राकृतिक श्रोतसाधनले धनी छ । बनजंगलदेखि खेतीपाती गर्न सक्ने भूगोल यहाँ छ । तितेपाती र बनमाराबाट मात्रै पनि केहि औषधीहरु बनाउन सकिने अध्ययनहरुले देखाएको छ । यार्सागुम्बाको त्यस्तै सम्भावना छ । यसतर्फ राज्यको ध्यान गएको छैन भने मानिसहरुमा छिटो धनी हुने र उत्पादनमा दलाली गर्ने प्रवृत्ति छ । यसले गर्दा मुलुक केहि पछाडि परेको छ । हामीले हाम्रो ग्रुपबाट कृषि फर्म शुरु गरेका छौं । आठ रोपनी क्षेत्रफलमा सिजन अनुसारको उत्पादन गर्छौं । यसलाई विस्तार गर्ने योजना छ । सबै कृषक सदस्यलाई सहभागि गरेर कृषिमा आधुनिकीकरण गराउने योजना हाम्रो छ । यसतर्फ हामी लागि परेका छौं । 

सहकारीले समुदायका विपन्न वर्गको अवस्थालाई सुधार गर्ने भनिए पनि यसबाट मध्यम वर्गले बढि लाभ लिइरहेका छन् नि ? 

झट्टै हेर्दा त्यस्तै देखिन्छ । । स्वभावैले मध्यम वर्ग चुलबुले हुन्छ । मध्यम वर्गले माथिल्लो वर्गसँग बढि सम्बन्ध राख्छ । तल्लो वर्गसँग काम लिन्छ र उसलाई माथि उठ्न दिँदैन । संसारको जुनसुकै क्षेत्रमा पनि मध्यम वर्ग चुलुबले नै हुँदो रहेछ । आफू माथि जान जति पनि चाप्लुसी गर्छ । तल्लो वर्गसँग पैसा हुँदैन । तर त्यो वर्ग मेहनती हुन्छ । मध्यम वर्गसँग पैसा हुन्छ तर आँट गर्दैन । तर हामीले त्यहि पैसा लगेर तल्लो वर्गलाई उठाउने प्रयत्न गरिराखेका छौं । जो किसान वर्गमा पर्छन् । उनीहरुसँग जमीन नभएपनि भाडामा लिएर भएपनि काम गरिराखेका छन् । ती किसानहरुलाई हामीले सहयोग गरिरहेका छौं । गोकर्णेश्वर नगरपालिका भित्र एकाध बाहेक जोसँग जमिन छ उसले काम गर्दैन, जोसँग जमिन छैन उसले भाडामा जग्गा लिएर टनेलिङ सिस्टमबाट तरकारी खेती गरिरहेका छन् । उनीहरुलाई हामीले सहयोग गरिराखेका छौं । कालान्तरमा त्यहि वर्ग नै माथि उठ्ने हो र त्यसैलाई उठाउने हाम्रो प्रयास हो ।

समाजवादमा जाने आधार सहकारी हो भनिन्छ नि ? तपाईंलाई के लाग्छ ? 

निसन्देह सहकारीले गर्नुपर्छ । अहिलेको अभियान त्यतातर्फ गइरहेको जस्तो मलाई लाग्दैन । पूँजीपतिले जसरी बैंक सञ्चालन गरेर जनतालाई शोषण गरे, अहिले सहकारीले पनि ससानो पैसालाई विकास बैंकको रुपमा परिचालन गरेको देखिन्छ । अहिले सञ्चालकले मात्र सहकारी बुझेका छन् । सदस्यहरुले बुझेका छैनन् । हामीले त्यस्तो सचेतनामूलक शिक्षा नदिएकै कारण यो अवस्था भएको हो । स्थानिय तह, प्रदेश र संघले सहकारी शिक्षालाई व्यापक बनाउनुपर्छ । सदस्यको अधिकार र कर्तव्य के हो भनेर नबुझाएसम्म समाजवाद एउटा कागजमा मात्रै सीमित हुन्छ । व्यवहारिक रुपमा उतार्ने हो भने सहकारीबाटै यो सम्भव छ । ३४ हजार सहकारी नेपालमा स्थापना भएका छन् । धेरै मानिस जानेर नजानेर सहकारीको सदस्य बनेका छन् । डराएर वा खुसीसाथ दुवै अवस्थामा सदस्य बनेका छन् । तर सहकारीमा मेरो अधिकार के त भन्ने अझै पनि उसले बुभ्mन पाएको छैन । जसले गर्दा तल्लो वर्ग अहिले पनि थिचिएकै अवस्थामा छ । विश्वमा  मजदुरहरुले आफ्नो जीवनस्तर माथि उकास्न मालिकलाई चुनौती दिँदै सहकारी शुरु गरेका थिए । त्यहि अवधारणामा नेपाली जनता उठे भने समाजवाद निश्चित छ । संविधानले भनेजस्तै नेपाली जनता सहकारी कै माध्यमबाट समाजवादमा पुग्न सक्छन् । 

शिक्षा, सूचना र तालिम सञ्चालन गरी सदस्यलाई सुशिक्षित बनाउने काम प्रत्येक संस्थाको होइन ? 

बैंक चलाउन नसकेका र टाठाबाठाहरु नै अधिकांश रुपमा सहकारीका सञ्चालक समितिमा छन् । विदेशमा आनन्दको जिवन (रिटायर्ड लाइफ) बिताउने क्रममा सहकारीको सञ्चालक बन्छन् । उनीहरु संस्था र सदस्यलाई केहि योगदान पु¥याउन सञ्चालक बस्छन् । तर नेपालमा स्वयंसेवी र आनन्दको जिवन बिताउनेहरुले सहकारीमा हात हालेका छैनन् । हात हाले पनि तलबी रुपमा काम गरिराखेका छन् । सञ्चालक भएपछि आफ्नै व्यवसाय फस्टाउने, बिनाधितो केहि न केहि प्रपञ्च मिलाएर संस्थाको बचतलाई अन्यत्र लगानी गर्ने प्रवृत्ति छ । ती सञ्चालकहरुले तल्लो स्तरका जनताको जीवनस्तर उठाउने कुराबाट ध्यान मोडिएको अवस्था छ । अहिलेसम्म तल्लो वर्गबाट सञ्चालक समितिमा प्रतिनिधित्व भएको खासै पाईंदैन । पहुँच र पैसावाल नै सहकारीको सञ्चालक भएका छन् । जब नीतिनियम बनाउने ठाउँमा नै तल्लो स्तरको व्यक्ति आउन सक्दैन भने त्यस्ता समुहको हितका लागि कसले काम गर्छ । सहकारीमा त्याग गर्ने समुह पनि छैन र निस्वार्थ भावले सञ्चालक समितिमा रहेर सदस्यको लागि काम गर्छु भन्ने समुह नहुँदा न्यून आय भएका वर्गले लाभ लिन नसकेको हो । शिक्षा प्रदानमा सबै तहको भूमिका बढ्ने र मध्यम वर्गले त्याग गर्ने हो भने मात्र तल्लो वर्गको मानिस नेतृत्वमा आउँछन् । त्यहि अनुसारको नीति नियम बनाउँछन् । त्यसबाट उनीहरुको जीवनस्तर माथि उठ्छ । 

सहकारी ऐनले एक व्यक्ति एक पदको अवधारणा ल्याएको छ नि ? 

धेरै विकृति देखिएर नै सहकारीमा यो नियमले बाँध्न खोजिएको होला । एउटा कुनै व्यक्ति ताप्लेजुङमा जन्मेको भएपनि उसको सम्बन्ध काठमाण्डौंमा छ । उसले ताप्लेजुङ र काठमाण्डौमा सहकारी चलाउँछ । दार्चुलाको पैसा ल्याएर काठमाडौंमा लगानी गरेको हुन्छ । तर त्यहाँका मानिसलाई त्यो कुरा थाहा हुँदैन । मध्यम वर्गको मानिस रातारात धनी हुने सपना देख्छ । र कति पटक असफल पनि हुन्छ । यस्ता कुराको प्रमाण विगतमा डुबेको केहि सहकारीका सञ्चालकको व्यवहारबाट प्रमाणित भएको छ । यसलाई रोक्न सरकारले यो नीति ल्याएको छ तर कार्यान्वयनमा भने समस्या छ । हाम्रो सूचना प्रणाली त्यति चुस्त छैन । कोपोमिस लागु गर्न खोजिएको छ, तर त्यो पनि प्रभावकारी रुपमा लागु हुन सकेको छैन । 

सहकारीको बजारमा एकिकरणको कुरा उठिरहेको छ नि ? 

सहकारीको कार्यक्षेत्रको विषयमा मेरो फरक धारणा छ र सहकारीको कार्यक्षेत्र खुम्च्याउनु हुँदैन । बैंकहरुलाई देशभर शाखा खोल्न र सेवा दिने अधिकार भएजस्तै सहकारीको पनि कार्यक्षेत्रमा बन्देज लगाउनु हुँदैन । अहिले सदस्य बन्ने भनेको ऋण लिन र ऋण लिएर हराउनका लागि भएजस्तो देखिन्छ । यसले सहकारीको बचत डुब्ने सम्भावना पनि बढेर गएको छ । यसले गर्दा सरकारले एक संस्था एक सदस्यको अवधारणा ल्याएको हो कि भन्ने मलाई लाग्छ । हामीले सानो पूँजीलाई संकलन गर्ने त भन्यौं तर सानो संस्थामा बस्नु हुँदैन । ठूलो पूँजीमा सहकारीलाई विस्तारित गनुपर्छ । सहकारीको संख्या धेरै भएकै हो । २८ वटा बैंक त धेरै भयो भनिराखेको अवस्थामा ३४ हजार सहकारी धेरै भएकै हो । एकिकरणमा जानु पर्छ भन्नेमा म पनि सहमत छु । यसकै थालनी स्वरुपमा हामीले गोकर्णेश्वर नगरपालिकाका १४ वटा संस्थाहरुबीच ५ दिने तालिम गर्‍यौं । १४ वटा संस्थाबीच एकिकरण गर्नुपर्छ । ठूलो पूँजी भएको संस्था भयो भने मात्रै आजको प्रतिस्पर्धात्मक बजारमा प्रविधि भित्राउन सकिन्छ । र त्यसपछि मात्रै ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ र संस्थाले सफलता हासिल गर्छ । उत्पादन लागत जति कम हुन्छ त्यति धेरै नाफा गर्न सकिन्छ । एकिकरण गर्ने सम्बन्धमा चिनारीले ३/४ वटा संस्थासँग कुरा गरिरहको छ । सहकारी ऐननियमले केहि प्रतिशत तरलता तथा जगेडा कोषहरुको व्यवस्था गरेको छ । पूँजीको आधारमा मात्रै बचत लिन र ऋण लगानी गर्न सहकारीहरु एकिकरण हुन जरुरी छ । सञ्चालक समितिलाई प्रतिष्ठा दिनकै लागि मात्र खुलेका साना सहकारीलाई विस्तार गर्न खोजियो भने अन्ततः यो बिलाएर जान्छ । सहकारीले जुन फड्को मार्नु पर्ने हो त्यो मार्न सक्दैन । अन्तर्राष्ट्रिय रुपमा सहकारीले जुन प्रगति गरेका छन् । नेपालमा पनि सोही अनुसार प्रगति गर्न सहकारीको संख्या कम गर्नुपर्छ । । सानो फर्सीमा भन्दा ठूलो फर्सीमा धेरै बियाँ अटाउँछ, धेरै गुदी हुन्छ । 

चिनारी नेफ्स्कुनको जोखिममा आधारित कार्यक्रम सहभागि भएको छ । यसले संस्थालाई के फाइदा पु¥याएको छ ?  

नेफ्स्कुनले आफ्ना सदस्यहरुलाई कसरी मजबुत बनाउने र दिगो रुपमा सञ्चालन गराउने भन्ने सोचकासाथ यो कार्यक्रम ल्याएको छ । यसलाई नेफ्स्कुनले नर्सरी भन्ने गरेको छ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा संस्थाको वित्तीय अवस्थालाई विश्लेषण गरिन्छ । यसमा पल्र्सको मापदण्ड पूरा नगर्दा आउने जोखिमहरु के के हुन सक्छन् भन्ने कुरा सिकाइन्छ । त्यसकारण पनि यो कार्यक्रम असाध्यै राम्रो छ । वित्तीय साक्षरताको कुरा मात्र नभएर अन्य सुशासनका कुराहरु, अन्य जोखिमहरु र संस्था सञ्चालनका लागि आवश्यक नितिहरुको बारेमा पनि सिकाइन्छ । संस्था व्यक्तिले होइन नीति, विधि र प्रविधिमा चलाउनुपर्छ भन्ने यसले सिकाएको छ ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif