Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अन्तर्राष्ट्रिय यूवा दिवस र नेपाली यूवाको दुर्दान्त अबस्था


२०७६ श्रावण २७ गते , सोमवार प्रकाशित

लोकनारायण सुबेदी

आज अन्तर्राष्ट्रिय यूवा दि
स हो । हरेक बर्ष अगस्ट १२ का दिन नेपालले पनि यो अन्तर्राष्ट्रिय यूवा दिवस बिभिन्न कार्यक्रम गरेर मनाउने र औपारिकता निर्वाह गर्ने काम गर्छ । सन् २००० देखि संयुक्त राष्ट्र संघकै आहृवानमा यो दिवस मनाउन थालिएको हो । यद्यपि नेपालले भने २००४ देखि मात्रै यो अन्तर्राट्रिय यूवा दिवस मनाउने गर्दै आएको इतिहास रहेको छ ।   हुन त यूवा दिवस मनाउनु आफैमा एउटा राम्रो काम हो नै । तर यूवाहरुको मूख्य समस्यालाई ओझेलमा पारेर त्यसका केही संबेदनशील पक्षमा मात्र केन्द्रित हुनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न सर्बत्र उठ्छ र हामीकहाँ पनि उठेकोछ, उठाउनु पर्दछ । किनकि आज बिश्वब्यापी रुपमा र बिशेष गरेर हाम्रो देशमा ठूलो यूवा शक्ति बेराजगारी, अभाव, अशिक्षा, अन्धबिश्वास, कुरीति र असुरक्षाले अत्यन्तै आक्रान्त छ । त्यसमाथि भूमण्डलीकरणले थपिएको बिकृति र बिसंगतिले गर्दा हाम्रो यूवा समुदाय उपभोक्तबादको अत्यन्तै नराम्रो किसिमले शिकार भइरहेको छ । यस्तो स्थितिमा हाम्रो देशबाट आज घोषितरुपमा नै दिनको २००० को संख्यामा यूवा शक्ति बिदेशतिर पलायन भएर गइरहेको छ भने अघोषित रुपमा अबैध बाटो भएर कति यूवाहरु बिदेशिन्छन् त्यसको कुनै लेखाजोखाछैन । यो वास्तवमा अत्यन्तै दयनीय स्थितिको द्योतक हो ।  

यद्यपि यही यूवा शक्तिले कमाइ गरी पठाएको पैसा(बिप्रेषण)ले हाम्रो राष्ट्रिय आमदानीमा करीब २८ प्रतिशत योगदान गरिरहेको गर्बकासाथ सरकारले उल्लेख गर्ने गरेको छ र नेपालमा बिदेशी मुद्रा सञ्चिति र बजेट धान्न तथा अर्थतन्त्रलाई टेवा दिन यसले ठूलो मद्दत पुगिरहेको हाम्रा अर्थमन्त्री र एकथरी अर्थ्बिद्हरु सगौरब अर्थ लगाउने गर्दछन् । हुन पनि कृषिपछि राष्ट्रिय आयमा ठूलो योगदान गर्ने क्षेत्र नै यही रहेको पनि देखिन्छ ।तर बिदेशमा जाने हाम्रा ऊर्जाशील यूवा यूवतिहरु लुटिने, पिटिने, मारिने, बलात्कृत हुने र लज्जित बनेर र कतिपय बेलामा त लाश बनेर फर्किनु परेको अत्यन्तै दारुण र पीडादायक स्थिति ब्याप्त छ । न आफ्नो देशमा रोजगारी, शिक्षा, स्वास्थ्यको क्षेत्रको हक अधिकारमा हाम्रो यूवा शक्ति सुरक्षित छन् न बिदेशमा नै उनीहरु सुरक्षित छन् । अत्यन्तै कष्टप्रद अबस्थाबाट उनीहरु गुज्रिरहनु परेको कटु यथार्थ हाम्रो राष्ट्रका अगाडि ठिंग उपस्थित छ । तर हाम्रो राज्य र सरकार रमिते भएर बसेको छ । आज देशमा चौतर्फी सन्तुलित समुन्नतिका लागि आधाभूत र अपरिहार्यरुपमा गरिनै पर्न बैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरण गर्ने कुनै ठोस, प्रष्ट र ब्यवहारिक राष्ट्रिय नीति अख्तियार गर्न सकिरहेको छैन । फलत हाम्रो राष्ट्रिय बजार अभिबृद्धि हुन, राष्ट्रिय औद्योगिक बातावरण सिर्जना हुन र युवा पलायन रोकिन सकिरहेको छैन ।

त्यसमा पनि जुन बिप्रेषण हाम्रा यूवा यूवतिले स्वदेशमा पठाउँदछन् त्यो उनीहरुको रगत र पसिनाको कमाई कुनै उत्पादनशील क्षेत्रमा लाग्न लगाउन नसकिरहेको अबस्था छ । त्यस सम्वन्धि कुनै योजना, नीति र कार्यक्रम नै देशसँग छैन । त्यसैले त्यस यूवा कमाईको सबैभन्दा धेरै अंश भारतबाट बिभिन्न बस्तु आयात गर्न र आन्तरिक उपभोगमै समाप्त भएर गएको छ । बिज्ञहरु के भन्दछन् भने नेपाली यूवाहरुले कमाएको बिप्रेषणको केवल १० प्रतिशत मात्रै अंश नेपालको बिद्यूतिकरणमा लगाउने हो भने पाच बर्षभित्र नेपाल झलमल्ल हुने मात्र होइन, नेपालमा औद्योगिकरण, रोजगारी सिर्जना,सिञ्चाइ सुविधा, उत्पादनबृद्धि, बन तथा बातावरण संरक्षणमा ठूलो र अपूर्व सहयोग पुग्न सक्ने थियो । तर राज्य सत्ताको नेतृत्व गर्नेहरु यी सबै रचनात्मक काम गरेर राष्ट्रलाई भित्रैदेखि बलियो र सुदृढ बनाउने र यूवा समुदायलाई देशप्रति गौरब गर्ने खालको बातवारण बनाउने भन्दापनि ’ऋण गरेर घिउ खाने’ मगन्ते प्रबृत्तिको मात्रै भएको र तिनको राष्ट्रिय राष्ट्रिय चरित्र नै संदिग्ध देखिने र रहने गरेकोले यस्तो सकारात्मक बिकल्पको बिकास पनि हुन सकिरहेको छैन । देशले चौधवटा पञ्च बर्षीय योजना पार गरिसक्दा पनि बिश्वका १० वटा गरीब राष्ट्रमा देश दरिन पुग्नुको कारण नै यही भएको छ ।  

देशको पछिल्लो जन गणना हेर्दा र केलाउँदा नेपालको जनसंख्यामा ४०.३४ प्रतिशत संख्या १६ बर्षमाथि ४० बर्षमुनिको यूवाहरुको मात्र छ । कुनै पनि देशका अर्थबेत्ता हरु जनसंख्याको यत्रो ठूलो हिस्सा यूवाहरुको हुनुलाई अत्यन्तै ठूलो आर्थिक शक्तिकोरुपमा लिन्छन् र यस्तो यूवा शक्ति भएको देशलाई बिकासको तीब्र गति दिनसक्ने अत्यन्तै प्रबल सम्भावना भएको देशको श्रेणीमा राख्ने गर्दछन् । आजका बिश्वका बिकसित, मध्यम बिकसित देशहरुको यथार्थले पनि यो कुराको राम्रोसँग पुष्टी गरिरहेको र गरिसकेको पनि छ ।
   
तर हामीकहा न देशको अर्थतन्त्रले सही दिशाबोध र गति पाएको छ न देशको यूवा शक्तिलाई नै देशको चौतर्फी बिकास प्रकृयामा सामेल गर्ने कुनै दिशा प्रदान गर्न नै सकेको छ । आज देशमा ब्याप्त भयावह भ्रष्टाचार, माफियातन्त्र, तस्रकी, कालोबजारी जसरी चलिरहेको छ त्यसका बिरुद्ध सशक्तरुपमा यूवाहरु उत्रिन नसक्नुको कारण पनि यही हो । यस्तो स्थितिमा हाम्रा यूवाहरुको मानसिक स्थिति के कस्तो होला र हुन्छ कसैले पनि सहजै अनुमान गर्न सक्ने कुराल छ ।  

आजको पछिल्लो समयको देशको यूवाहरुको स्थितिलाई हेर्ने र केलाउने ज्ञाताहरुले सामाजिक बिभेद, बिषमता, बेरोजगारी र कुलतका कारणले नेपाली यूवाहरुको मानसिक र शारिरीक स्वास्थ्यको समस्या नराम्रोसँग बढ्दै गएको औंल्याएका छन् । त्यस्तो अबस्थामा एकातिर सरकारले मानसिक स्वास्थ्योपचारका लागि पर्याप्त बजेट प्रदान गर्न सकेको छैन भने अर्को्तिर ऊर्जाशील नेपाली यूवाहरुको मानसिक स्वास्थ्य उपचार सम्वन्धि कुनै ठोस र प्रभावकारी राष्ट्रिय नीति नै बने बनाएको देखिदैन । अनि जे जस्तो फितलो र कमजोर नीति यस सम्वन्धमा बनाइएको छ त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

यस्तो अबस्थामा यूवा समुदायलाई मानसिक स्वास्थ्यमा कुनै बिकृति र बिसंगति आउन नदिने के गर्नु पर्दछ भन्ने कुरा एकदमै प्रष्ट छ । उनीहरुको मानसिक स्वास्थ्यमा किन कमजोरी आयो भन्ने प्रश्नको उत्तर के हुन्छ भने उनीहरु बिभेदमा परे पारिएका छन् बेराजगार छन्, कुलत र कुबेशनमा लाग्न बाध्य भएका वा बनाइएका छन् । यी गम्भीर समस्याको ठोस निराकरणका कदम चाल्नतिर आजै र अहिलेदेखि नै अग्रसर हुनु नै वास्तवमा अन्तर्राष्ट्रिय यूवा दिवसहरु मनाएको पनि सार्थकता हुन्छ ।अन्यथा यी दिवसहरु फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय कुरामा सीमित हुन पुग्दछन् । तिनले यूवा समाजमा सुनिश्चित र सुन्दर भबिष्यको कुनै आशा र बिश्वासको सञ्चार गर्न सक्तैनन् । यूवाहरुको जोश र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने बातावरण पनि बनाउन सक्तैनन् । यो एकदमै अकाट्य र यथार्थ कुरा हो 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif