Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

शस्त्रास्त्रको नयाँ दौड बिश्वमा शुरु हुँदै ?


२०७६ श्रावण २५ गते , शनिवार प्रकाशित

    आई.एन.एफ. सन्धि यद्यपि तत्काली समाजबादी सोभियत संघ र संयुक्त राज्य अमेरिकाका बीच भएको थियो तर त्यससको समाप्ति हुने बित्तिकैदेखि बिभिन्न देश अन्तरिक्ष सैन्यिकरणको कार्यक्रम नै घोषित गर्न थालेका छन् । यसबाट लाग्दछ कि आउँदो दशक अब पुनः शस्त्रास्त्रको होडको एउटा नयाँ क्रम शुरु हुने र बिश्व यसको नयाँ साक्षी हुनु पर्ने स्थिति खडा हुँदैछ ।   बिगतको शीत युद्धको परिवेशबाट बिश्वलाई अपेक्षाकृत शान्ति र सह–अस्तित्वको चरणमा लिएर आउने श्रेय जुन एक दुइवटा सन्धिलाई दिइने गन्छि या दिन सकिन्छ भनिन्छ ती सन्धिमध्ये प्रमुख रहेको इण्टरमिडिएट रेञ्ज न्यूक्लिएर फोर्सेज(आईएनएफ) सन्धि गएको शुक्रबार अर्थात् १ अगस्ट २०१९ देखि समाप्त भएको स्थितिमा पुग्यो ।

  यो ५०० देखि ५५०० किलोमिटरसम्मको क्षेत्रमा पुग्ने र मार हान्न सक्ने यो आणबिक प्रक्षेपास्त्रको तैनाथीमा रोक लगाउने यो सन्धिबाट पहिला अमेरिका बाहिर निस्कियो र त्यसपछि रुसले पनि यसलाई निरस्त मान्यो । यद्यपि दुबै देशले एक अर्कालाई यो सन्धि उल्लंघन गरेको आरोप लगाउँदै यसबाट बाहिर निस्केका हुन्  । तर सबैभन्दा ठूलो कुरा के हो भने महिनौ पहिला जारी गरिएका परस्परका आरोप प्रत्यारोप गर्दा गर्दै पनि दुइ पक्षमध्ये कसैले पनि अर्कोलाई यस सम्वन्धमा सम्झाउने बुझाउने या परस्परको सन्देह हटाउने कुनै कोशिश गरेन । त्यति मात्रै होइन, ती दुइ बाहेक अरु कुनै शक्तिशाली देशहरुको तर्फबाट पनि यस बारे कुनै पहल र प्रयास पटक्कै भएन । अमेरिका र रुसका बीच मध्यस्थता गर्ने प्रयत्न गरिएन ।


  यसबाट नै प्रष्ट हुन्छ कि बिश्वका सबैजसो शक्तिशाली देशहरु बद्लिदो परिस्थितिको पेचिलो अबस्थाप्रति वाकिफ या चनाखो छन् र यसलाई स्वीकार गरिसकेका छन् । यसकारण आई एन एफ सन्धिको ठाउँमा त्यसैसँग मिल्दोजुल्दो कुनै अर्को नयाँ सन्धिलाई पनि एउटा ठट्टाको रुपमा लिदै गरेको देखिन्छ ।   

      यस सम्वन्धमा अमेरिका के भन्दछ भने त्यस्तो कुनै सम्झौता त्यतिबेला  मात्र हुन्छ जब त्यसमा चीनलाई पनि सामेल गराइन्छ या सामेल हुन्छ । तर चीन भने यो कुरा सुनेको नसुने झै गरेर टार्दिन्छ । चीनको आशय के देखिन्छ भने यस्तो सन्धि या सम्झौतासँग उसलाई कुनै लिनुदिनु नै छ्रैन, त्यसैले चीनलाई त्यसमा सामेल गर्ने कुरा नै कसरी आउँदछ र ! स्पष्टै छ कि परमाणु सशस्त्रीकरणमा अंकूश लगाउने चरण अब अन्तिममा पुगेको र समाप्त हुन थालेको छ । अनि सन्देहपूर्ण एउटा नयाँ चरण शुरु हुन लागेको संकेत देखखिदैछ र  त्यो संकेत कुन तथ्यमा पाइन्छ भने अमेरिका एउटा नयाँ अन्तरिक्ष बल(सैन्य शक्ति)को गठन गर्ने प्रस्ताबमा काम शुरु भइसकेको छ । यस सम्वन्धि अर्को ठूलो संकेत फ्रान्सले गरेको यो घोषणाले दिएको छ कि फ्रान्सको एयर फोर्समा शिघ्र नै एउटा ‘स्पेश कमाण्ड’ गठन गरिने छ, जसको कामा बिशेष गरेर फ्रान्सीसी उपग्रहरुको रक्षा गर्नु हुनेछ  ।

  यस्तो परिवेशमा केही देशले शस्त्रास्त्र र सैनिक संगठन बिस्तार गर्दै जाउन् र अरु बाँकी देश चुपचाप रमिता हेरेर बसुन्  र आफ्नो सुरक्षाप्रति नै उदासीन बसुन् । त्यसैले यो बिश्व हलचलको सोझो र प्रष्ट अर्थ हो कि शीत युद्धबाट मुक्ति मिलेको भनिएको तीन दशक जति पछि पुनःबिश्व अन्तरिक्ष सैन्यकरण र परमाणु शस्त्रीकरणका नयाँ नयाँ चरणमा प्रवेश गर्न लागेको छ । त्यतिबेला र अहिलेको चरणमा एउटा ठूलो भिन्नता मात्र के छ भने बिश्व अहिले दुइ ध्रबीय नरहेर बहु–ध्रुबीय छ । अनि यस कुराले बिश्वको आउदो समयलाई पनि अझ गम्भीर र खतरनाक बनाउने जस्तो देखिदैछ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif